सूर्यविनायक—धुलिखेल बिस्तारका क्रममा पाटी, पौवा, कुवा, ढुंगेधारा, मठमन्दिरलगायतका ऐतिहासिक सम्पदा मासिएका छन् ।
काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीका राजुकुमार मधिकर्मी श्रेष्ठ (५२) को बाल्यकाल घरछेउकै कुवाको पानी खाएर बित्यो । उनी बिहान उठ्नेबित्तिकै कुवामा पुग्थे । त्यहाँबाट घरमा खानका लागि पानी ल्याउने मात्र होइन, नुहाउने र लुगा धुने पनि गर्थेे । “त्यो कुवाको पानी सफा र भरिभराउ हुन्थ्यो,” राजुकुमार सम्झिन्छन्, “तर, अहिले त्यो कुवा छैन, त्यो ठाउँमा डोजर चलेको छ ।”
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक विस्तार गर्दा त्यो कुवा भत्कियो । त्यसपछि उनीसहितका स्थानीय बासिन्दालाई खानेपानीको असुविधा भएको छ ।
“सडकको ७५ मिटरभित्र पर्छ भन्दै सडक विभागले हाम्रो २ सय वर्ष पुरानो ऐतिहासिक ३ वटा कुवा भत्काइदियो,” राजुकुमार भन्छन्, “कुवा भत्काउँदा पानी रसाएर खेर गइरहेको छ । तर, गाउँ काकाकुल छ ।”
काठमाडौं उपत्यका प्रवेशको मुख्य मार्ग सूर्यविनायक—धुलिखेल सडकलाई ६ लेनको आधुनिक ‘एक्सप्रेस–वे’ बनाउने क्रममा कुवा मात्र होइन, ऐतिहासिक सम्पदामा क्षति पुगेको भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् । १५.८ किलोमिटर लामो दुई लेनको साँघुरो सूर्यविनायक–धुलिखेल सडकलाई ६ लेनमा विस्तार गर्दा इतिहास र सम्पदा पुरिँदै गएको सम्पदा संरक्षणकर्मी भीषण मधिकर्मी श्रेष्ठ बताउँछन् । उनका अनुसार यो क्षेत्र नेवारी बस्ती, मल्लकालीन घर, पुराना मठमन्दिर, पाटी–पौवा, हिटी, फल्चा र ढुंगेधाराहरूले भरिएको सम्पदाको क्षेत्र हो । “सडकमा परेका सम्पदालाई बेवास्ता गर्दै सडक विस्तार गरिँदा सम्पदाहरूमा क्षति पुग्यो,” उनी भन्छन्, “विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणको विषय पनि उत्तिकै महत्त्वपूर्ण हो ।”
संरक्षणकर्मी श्रीकृष्ण धिमालका अनुसार यो सडक बिस्तार गर्दा ढुंगेधाराहरू पुरिएका छन् । कतिपय ढुंगेधारा सारेर सिमेन्टले पुनर्निर्माण गरिएको छ । साना पाटीहरू नालीमुनि परेका छन् । जुन गतिविधि प्रचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत भएको उनको भनाइ छ । सडक विस्तारका क्रममा ऐतिहासिक सम्पदाहरू पाटी, पौवा, कुवा, ढुंगेधारा, मठमन्दिर बीचमा परेमा त्यसलाई जोगाउने स्पष्ट मापदण्डहरू छन् । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ तथा युनेस्को विश्व सम्पदा केन्द्रको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्पदाको मौलिकता जोगाउँदै संरक्षण गर्नुपर्छ ।
तर, यो सडक विस्तार गर्दा संरक्षणको पहल नै भएन । सम्पदा प्रभाव मूल्यांकन (एचआईए) प्रारम्भिक प्रतिवेदनले सडक विस्तार गर्दा बनेपा, जनागाल, भैँसेपाटी, साँगा र पलाँसे क्षेत्रका ३५ ऐतिहासिक ढुंगेधारा, पाटी, कुवा, फाल्चा, हिटी राणाकालीन चेकपेस्ट र मन्दिरहरू जोखिममा रहेको देखाएको छ ।
त्यसैगरी, १२ वटा सम्पदामा क्षति पुगेको छ । जसमध्येको एउटा सम्पदा भैँसेपाटीको कुवा हो । कुवा मासिएकाले भैँसेपाटी क्षेत्रमा पानीको हाहाकार छ । “अहिले इनारमा पानी नआउनेले पानी आउने छिमेकीसँग सापटी मागेर खाइरहेका छौँ,” राजुकुमार भन्छन्, “वडाको सिमाना छुट्याउँदा छिमेकी वडाले पानी दिएन, आफ्नो गाउँको स्रोत सडकले पुरिदियो ।”
उनका अनुसार त्यो कुवा पानीको स्रोत मात्रै थिएन, सदियौँदेखि प्रयोग हुँदै आएको सामुदायिक पानीको स्रोत पनि थियो । अभिलेखअनुसार जुद्ध शमशेरको पालामा बटुवा र स्थानीय बासिन्दाका लागि यो कुवा खनिएको थियो ।
कुवा र आसपासका सम्पदालाई सडक विभागले अवरोधका रूपमा बुझ्यो । त्यसपछि डोजर लगाएरै अस्तित्व समाप्त पारियो । ती कुवा जोगाउनुको साटो सिधै हटाउनुले आयोजना सम्पदाप्रति संवेदनशील रहेनछ भनेर बुझेको राजु मधिकर्मी श्रेष्ठ बताउँछन् ।
भैँसेपाटीको पश्चिमी क्षेत्रमा रहेको अर्को ऐतिहासिक ढुंगेधारा (हिटी) पनि सडक विस्तारका क्रममा भत्काइएको छ ।स्थानीय बासिन्दाका अनुसार पहिलेदेखि नै सुक्दै गएको उक्त हिटी पुनःसंरक्षण गर्नुको सट्टा पूर्ण रूपमा हटाइएको हो ।
आर्किटेक इन्जिनियर संजोक अधिकारीका अनुसार सडक डिजाइन तयार गर्दा सम्पदालाई संरक्षण गर्नुपर्ने संरचनाका रूपमा नभई अवरोधका रूपमा हेर्ने प्रवृत्तिका कारण समस्या भएको छ । “पुरातत्त्व विभागसँग समन्वय नगरी सडक विभागले सिधै डोजर चलायो,” उनी भन्छन्, “कुवा र ढुंगेधाराहरू ढुंगाका संरचना मात्रै होइनन्, यी पुरानो जल व्यवस्थापन प्रणालीका महत्त्वपूर्ण उदाहरण हुन् ।”
बनेपा नगरपालिका–१३ का वडाध्यक्ष रामलाल दुवाल भने स्थानीय सहमतिमै कुवा र ढुंगेधाराहरू स्थानान्तरण गरी नयाँ धारा निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताउँछन् । उनका अनुसार सडकको किनारमा परेका संरचनाहरूलाई जोगाउन नसकिएपछि वैकल्पिक रूपमा सार्ने निर्णय गरिएको हो । तर, यो प्रक्रिया प्राचीन स्मारक संरक्षण ऐन ,२०१३ विपरीत देखिन्छ । ऐनअनुसार ऐतिहासिक संरचनालाई मूल स्थानबाट स्थानान्तरण गर्न पाइँदैन । क्षति पुगेको अवस्थामा पनि त्यसलाई सोही स्थानमा पुरानै स्वरूपमा पुनर्निर्माण गर्नुपर्ने प्रावधान छ । तर, यसलाई बेवास्ता गरेर सडक आयोजनाले कुवाहरू भत्काएपछि नयाँ धारा बनाइदिने सहमति गरेको छ ।
सूर्यविनायक—धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतो स्थानीय बासिन्दा र वडा कार्यालयकै सहमतिमा संरचनाहरू हटाएको दाबी गर्छन् । भत्काइएका ढुंगेधारा र कुवामा प्रयोग भएका प्राचीन इँटा, ढुंगा, माटो, गोही, भैरव र गणेशका कलात्मक मूर्तिहरू अहिले बेवारिसे छन् । स्थानीय तहले यसको संरक्षण गरेको देखिँदैन ।
पुरातत्त्व विभागका अनुसार सडक विभागले आवश्यक समन्वयबिना नै त्यहाँ काम गरेको हो । सम्पदा संरक्षण शाखाका पुरातत्त्व अधिकृत सन्दिप खनाल भन्छन्, “सडक विभागले पुरातत्त्व विभागसँग कुनै सहमति नगरी डोजर प्रयोग गरेर संरचना भत्काएको हो ।”
आयोजनाको सम्पदा प्रभाव मूल्यांकन (एचआईए) प्रारम्भिक प्रतिवेदन तयार हुनुअघि नै सडक खन्ने काम सुरु गरिएको थियो । संरक्षणकर्मीहरूको दबाबपछि मात्र पुरातत्त्व विभागले उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन नआउँदै गरिएको निर्माणका क्रममा कुवा र ढुंगेधाराहरू भत्काइएको सम्पदा संरक्षणकर्मी श्रीकृष्ण धिमाल बताउँछन् ।
आस्था र विकासको द्वन्द्व
सूर्यविनायक–धुलिखेल सडक विस्तारले विकास र सम्पदा संरक्षणबीचको द्वन्द्वलाई सतहमा ल्याएको छ । आयोजनाको सम्पदा प्रभाव मूल्यांकन (एचआईए) प्रारम्भिक प्रतिवेदनमा भैँसेपाटी, जनागाल, साँगा र बनेपाका थुप्रै ऐतिहासिक संरचनाहरू जोखिममा रहेको, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मन्दिर, कुवा, भत्काएको उल्लेख छ । स्थानान्तरण गर्नै नमिल्ने भैँसेपाटीको सिद्धि विनायक स्थानान्तरण गरिएको छ ।
पुरातत्त्व विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यका अनुसार ढुंगेधारालगायत ऐतिहासिक सम्पदाको पुनर्निर्माण प्राचीन स्मारक ऐन, २०१३ (पाँचौँ संशोधन) अनुसार गर्न र प्रगति विवरण विभागलाई बुझाउन निर्देशन दिइएको छ ।
सूर्यविनायक—धुलिखेल सडकखण्डअन्तर्गत ८.४ किमि क्षेत्रभित्र पर्ने ८ वटा ऐतिहासिक संरचनाको व्यवस्थापनमा कठिनाइ देखिएको आयोजनाले जनाएको छ । साँगाको पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुंगेधारा तथा भैँसेपाटी र जनागाल क्षेत्रका कुवा, ढुंगेधारा, गणेश मन्दिर, महादेव मन्दिर र कुण्ड जोखिममा छन् । जसमध्ये गणेश मन्दिर र तीनवटा ढुंगेधारा स्थानान्तरण भइसकेका छन् । बाँकी ७ स्थानका ८ वटा सम्पदाको संरक्षण, व्यवस्थापन तथा स्थानान्तरणका लागि वैकल्पिक डिजाइन तयार गरी स्थानीय बासिन्दासँग छलफलपछि काम अघि बढाइने आयोजनाका प्रमुख विजय कुमार बताउँछन् ।
सडक निर्माणका क्रममा केही सम्पदामा क्षति पुगेको उनले स्वीकार गरेका छन् । उनका अनुसार सडकको क्षेत्रभित्र पाटी, पौवा, ढुंगेधारा, फल्चा र कुवा गरी करिब ९० वटा संरचना परेका छन् । “सुरुमा पुरातात्त्विक अध्ययन नगरी सडक खन्न सुरु गरिएकाले केही संरचनामा क्षति पुगेको हो,” आयोजना प्रमुख विजय कुमार भन्छन्, “हाम्रो कमजोरी त्यही भयो ।”
उनका अनुसार हालसम्म करिब ६६ प्रतिशत काम सम्पन्न भइसकेको छ भने आयोजनाको म्याद २०८३ मंसिरसम्म थपिएको छ । सडक विस्तारका क्रममा केही संरचना जोगाउन डिजाइन परिवर्तन गरिएको पनि उनले बताए । “साँगाको नासिका मन्दिर जोगाउन हामीले सडकलाई पाँच लेनमा सीमित गरेका छौँ,” उनले भने ।
सडक डिजाइन गर्दा सम्पदालाई अवरोधको रूपमा हेरेका कारण साँगाको वासुकी पोखरी मासिने जोखिम छ । सडक विस्तारले यसको २० प्रतिशत भाग मिचेपछि पानीको सन्तुलन बिग्रिएको छ । पोखरी सुक्ने खतरा बढेको साँगाका मनोज श्रेष्ठ बताउँछन् । जनागालका पाटी तथा ढुंगेधाराहरू भत्किएका छन् । कतिपयको अवशेष मात्र बाँकी छ ।कतिपयको मौलिकता स्थानान्तरणसँगै मौलिक पहिचान मेटिएको उनको भनाइ छ ।
भैँसेपाटीको दमै पाटी स्थानीय बासिन्दाले भारी बिसाउने, जमघट गर्ने र छलफल गर्ने स्थल थियो । अहिले त्यो जगमा मात्रै सीमित छ । आयोजनाको सम्पदा प्रभाव मूल्यांकन (एचआईए) प्रारम्भिक प्रतिवेदनले समेत यसलाई महत्त्वपूर्ण सम्पदा मानेको छ । यी सम्पदा नजोगिनुले संरक्षण गर्ने दायित्व बोकेको पुरातत्त्व विभाग र स्थानीय तहको कमजोरी देखिएको संरक्षणकर्मी भीषणको भनाइ छ ।
स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको दबाबले केही सम्पदा जोगिएका छन् । यसमा पुरातत्त्व विभागको उपस्थित भने कमजोर देखिएको छ । तर, विभागले भने बारम्बार समन्वयको आग्रह गरेको बताएको छ । “सम्पदा यथास्थानमै जोगाएर सडक बनाउन हामीले पटकपटक पत्राचार गरेका छौँ, सडक विभागबाट कुनै प्रतिक्रिया आएको छैन,” पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत सन्दिप खनाल भन्छन् । पुरातत्त्व विभागले नासिका भगवती मन्दिरपछि भक्तपुरको हिटी र फाल्चालाई बचाउन लागिपरेको उनले बताए ।
एचआईए प्रतिवेदन, पुरातत्त्व विभागले सडक आयोजना, नगरपालिका, प्रशासन कार्यालयलाई लेखेको पत्रहरूलाई आधार मान्ने हो भने बनेपा र साँगा क्षेत्रका प्राचीन ढुंगेधारा, पाटी र पोखरीहरूलाई जोगाउन सडकको मार्ग परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । पुरातत्त्व विभागले असार ३, २०८० मा बनेपा नगरपालिकालाई लेखेको पत्रमा बनेपा– १४ स्थित फल्चाहिटीमा प्राचीन इँटा र कालीमाटी भेटिएकाले त्यहाँको ऐतिहासिक संरचनालाई जोगाएर सडकलाई मोडेर लैजान निर्देशन दिएको थियो ।
माघ १७, २०८२ मा विभागले सूर्यविनायक—धुलिखेल सडक आयोजनालाई पत्र लेख्दै साँगाको नासिका मन्दिर र भैँसेपाटी क्षेत्रका पुरातात्त्विक स्थलमा क्षति पुगेकोमा कडा आपत्ति जनाएको थियो । माघ ३, २०८१ मा विभागले आयोजनालाई अर्को पत्र लेख्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा सिमेन्ट प्रयोग नगरी प्राचीन सामग्री मात्र प्रयोग गर्न आदेश दिएको छ ।
पुल बजारको ऐतिहासिक हिटी, राणाकालीन सत्तल, भैँसेपाटीको कुवा, वासुकी पोखरी, बचामरी फल्चा र नासिका भगवती मन्दिर परिसरजस्ता सम्पदाहरू प्रत्यक्ष जोखिममा छन् । पुरातत्त्व विभागका अधिकृत सन्दिप भन्छन्, “हामीले प्राचीन स्मारक संरक्षण ऐनअनुसार काम गर्न निर्देशन दिएका छौँ, ढुंगेधाराको पानीको स्रोत र पाटीहरूको मौलिकता जोगाउन सडकको मार्ग परिवर्तनमा सम्झौता गरिनु हुँदैन ।”
विभागले पत्रमा सुरुमा ‘निर्माण कार्य अघि नबढाउनु’ भन्दै कडा भाषा प्रयोग गरे पनि पछि ‘सर्तसहितको सहमति’ दिएको देखिन्छ । संरक्षणकर्मी श्रीकृष्ण धिमाल भन्छन्, “बचामरीको फल्चा सार्न सकिएला, तर मुहान सार्न सकिँदैन । मुहान जमिनमुनि हुन्छ । त्यसलाई १० मिटर पर सार्न भन्नु नियमविपरीत काम हो ।” विभागले राष्ट्रिय गौरवको आयोजनाको दबाबमा परेर पानीको मुहानै सार्ने अनुमति दिएको उनको आरोप छ ।
प्रतिवेदनले भौतिक संरचना मात्र नभई बनेपाको परम्परागत दाहसंस्कार मार्ग, नवदुर्गा नाच, यासिन जात्राजस्ता संस्कृतिमा समेत असर पर्ने जनाएको छ । सम्पदा संरक्षणकर्मी इतिहासकार प्रा.डा.महेशराज पन्तका अनुसार सडक विस्तारले सवारी आवगमनमा सहजता ल्याए पनि पहिचान र इतिहास मेटिने खतरा उत्तिकै छ ।
सडक कति मिटर सार्ने भन्ने प्राविधिक कुराभन्दा पनि ऐतिहासिक र सांस्कृतिक मूल्यलाई केन्द्रमा राखेर डिजाइन परिमार्जन गर्नु अहिलेको मुख्य आवश्यकता देखिन्छ । उनी भन्छन्, “विकासको विरोध गरेको होइन, ६ लेनको सडक बनाउँदा हाम्रा पुर्खाले बनाएका ढुंगेधारा र पाटीहरूलाई मेटाउनु हुँदैन, अन्य देशहरूले सम्पदालाई बचाएर पनि सडक विस्तार गरेका छन्, हामीले पनि बचाउन सकिन्छ ।”
सडक अलिकति मोडेर, साँघुरो बनाएर पनि पानीका मुहान जोगाउन र सम्पदा बचाउन सकिन्थ्यो । तर, ती विकल्पहरू अपनाइएन । सम्पदा संरक्षणकर्मी सुनिल प्रजापतिका अनुसार सम्पदालाई योजनाको सुरुदेखि नै समेटिएको भए त्यस्तो क्षति देख्नु पर्दैनथ्यो । उनी भन्छन्, “विकासलाई प्राथमिकता दिँदा संरक्षणतिर ध्यान दिइएन ।”
पुरातत्त्व विभागले बीचमै हस्तक्षेप गर्दै भैँसेपाटी क्षेत्रमा डोजर रोक्न परिपत्र जारी गरेको थियो । तत्कालीन पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार प्राचीन इँटा, पानीका स्रोत र अन्य पुरातात्त्विक सामग्री भेटिएपछि काम रोक्न निर्देशन दिइएको थियो । तर, ती निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेनन् ।
विकासभन्दा महत्त्वपूर्ण हुन् सम्पदा ?
विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तर्राष्ट्रिय मापदण्डहरू बनेका छन् । जसले विकासको काम सुरु गर्नुअघि नै सम्पदामा पर्ने प्रभावको मूल्यांकन अनिवार्य मानेको छ । युनेस्कोको विश्व सम्पदा केन्द्रले ऐतिहासिक सहरी परिदृश्य (पुरानो सहरको सम्पदा, संस्कृति, वातावरण मिलेको समग्र स्वरूप) को अवधारणाले ऐतिहासिक सहरमा विकास गर्दा सांस्कृतिक र वातावरणीय सन्तुलन कायम गर्नुपर्नेमा जोड दिन्छ ।
काठमाडौंको कलंकी—थानकोट—नागढुंगा सडक निर्माणका क्रममा सम्पदा र वातावरणमा प्रभाव परेको भन्दै परेको उत्प्रेषण रिटमा सर्वोच्च अदालतले असोज २, २०७४ मा परमादेश जारी गर्दै वातावरण र प्राकृतिक महत्त्व राख्ने पुरातात्त्विक स्थलहरूको संरक्षणलाई केन्द्रबिन्दुमा राखेर विकास आयोजना सञ्चालन गर्न र निर्माण गर्न भनेको छ । तर, व्यवहारमा भने अदालतका आदेश, कानुन र मापदण्डहरू बेवास्ता गरिएको देखिन्छ ।
ढुंगेधारा (हिटी) र कुवाहरू पानीका स्रोत मात्र होइनन् । यी परम्परागत जल व्यवस्थापन प्रणालीका जीवित उदाहरण हुन् । आधुनिक प्रविधि नभएको समयमा विकसित भएको यस्तो प्रणालीले स्थानीय वातावरणअनुसार पानी व्यवस्थापन गर्ने ज्ञान र सीपलाई प्रतिनिधित्व गर्छ । इतिहासकार प्रा.डा. महेशराज पन्त भन्छन्, “यी संरचनाहरू हराउनु भनेको ढुंगा वा इँटा हराउनु मात्र होइन, हाम्रो इतिहास, ज्ञान र पहिचान नै हराउनु हो ।”
त्यस्ता संरचनाहरू नष्ट हुँदा पानीको मुहानमा प्रत्यक्ष असर पर्छ । मनोज श्रेष्ठका अनुसार सदियौँदेखि हुँदै आएका पानीका स्रोत अहिले सुक्ने अवस्थामा पुगेका छन् । “ढुंगेधारा, कुवाहरू पानी भर्ने ठाउँ मात्र होइनन्, स्थानीय बासिन्दाहरू भेटिने, सम्बन्ध जोडिने ठाउँ पनि हुन्,” सम्पदा अभियन्ता भीषण भन्छन् ।
त्यस्तै, पाटी र फल्चाहरू स्थानीय बासिन्दाको भारी बिसाउने र मेलमिलापको स्थल थियो । जनागालको दमै पाटीजस्ता संरचनाहरू हराउँदा स्थानीयबीचको मेलमिलाप पनि कमजोर हुने देखिन्छ । सांस्कृतिक दृष्टिले पनि यी सम्पदाहरू महत्त्वपूर्ण छन् । यिनै संरचनाहरूले ऐतिहासिक सहरको पहिचान बनाउने उनको भनाइ छ ।
विकाससँगै संरक्षण सम्भव थियो ?
आर्किटेक्ट इन्जिनियर संजोक अधिकारीका अनुसार सडक बिस्तार गर्नुअघि डीपीआर तयार गर्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) त गरियो । तर, सम्पदामा पर्ने प्रभाव अध्ययन गर्ने सम्पदा प्रभाव मूल्यांकन (एचआईए) भने गरिएन । उनका अनुसार यही नै ठूलो कमजोरी भयो ।
“सडक बनाउँदा ऐतिहासिक र पुरातात्त्विक संरचनामा कस्तो असर पर्छ भन्ने कुरा नै हेरिएन,” उनी भन्छन्, “यदि सुरुमै एचआईए गरेको भए कुवा, ढुंगेधारा, पाटी, फल्चा र मठमन्दिरलगायत संरचना जोगाउन सकिन्थ्यो ।”
सडकको विस्तारका क्रममा डोजर चलाएपछि मात्रै विभिन्न स्थानमा कुवा र ढुंगेधारा भेटिन थाले । तर, संरक्षणका प्रयास प्रभावकारी हुन सकेनन् । विकासको नाममा पुराना संरचनालाई बाधाका रूपमा हेरिएको उनको भनाइ छ । “पुरानो संरचना जस्तो छ, त्यसको मौलिकता जोगाएर पुनर्निर्माण गर्नुपथ्र्यो,” संजोक भन्छन्, “तर, नयाँ बनाउँदा ऐतिहासिक कला र स्वरूप हरायो ।”
संजोकका अनुसार सडक डिजाइन चरणमै सम्पदालाई जोगाउने विकल्पहरू उपलब्ध थिए । सडकलाई अलिकति घुमाउने, चौडाइ समायोजन गर्ने वा संरचनालाई ‘आइल्यान्ड’ स्वरूपमा सुरक्षित राख्ने उपाय सम्भव थियो । काठमाडौंका सिनामंगल, महांकाल र भद्रकाली मन्दिर आसपास सडक निर्माणमा यस्तै अभ्यास गरिएको छ । “त्यही तरिका यहाँ पनि अपनाउन सकिन्थ्यो,” उनी भन्छन्, “कतिपय संरचनालाई बस्तीभित्र सारियो, जुन सही अभ्यास होइन ।”
उनको भनाइमा स्ट्रक्चरल इन्जिनियर प्रा. राजन सुवाल पनि सहमत छन् । उनका अनुसार सडक सिधा हुनैपर्छ भन्ने सोच गलत हो । “कुनै ठाउँमा सम्पदाले बाटो छेक्यो भने सडकलाई घुमाएर पनि बनाउन सकिन्छ,” उनी भन्छन्, “आवश्यक परे सडकलाई खण्ड–खण्डमा विभाजन गरेर व्यवस्थापन गर्न सकिन्छ ।” कुनै ठाउँमा दुई लेन, कहीँ चार लेन बनाएर पनि सम्पदा जोगाउन सकिने उनको भनाइ छ ।
पानीका स्रोत जोगाउन पनि प्रविधि प्रयोग गर्न सकिने उनले बताए । “मूल भएको ठाउँमा ढलान गर्नु हुँदैन, पाइप वा कल्भर्ट प्रयोग गरेर पानीको प्राकृतिक बहाव जोगाउन सकिन्छ । “निकास बन्द गरियो भने अर्को ठूलो समस्या उत्पन्न हुन्छ,” राजन भन्छन् ।
संरक्षणकर्मीहरूको भनाइमा पुरातात्त्विक संरचनालाई स्थानान्तरण गर्नु दीर्घकालीन समाधान होइन । संरचना जहाँ छ, त्यहीँ संरक्षण गर्नु हो । तर, व्यवहारमा यस्तो भएको देखिँदैन । कतिपय स्थानमा संरचनाहरू हटाइएका छन् । सिमेन्ट प्रयोग गरेर नयाँ रूपमा बनाइएका छन । जसले मौलिकता कमजोर बनाएको छ । “विकास र संरक्षणबीचको सन्तुलन हुनुपर्छ,” प्रा. राजन भन्छन् “त्यसैले बाटो सर्छ, तर सम्पदा सार्नु हुँदैन ।” उनी ५० मिटर चौडाइको यो ६ लेनको सडक आयोजनाले ट्राफिक व्यवस्थापन गरे पनि आफ्नो मौलिक पहिचान गुमाउने बताउँछन् ।
कभर तस्बिर - सडक बिस्तारको क्रममा स्थानान्तरणमा परेको भक्तपुरको पलाँसे नजिकैको फल्चा । तस्बिर : कल्पना भट्टराई/निमजिन
यो सामग्री हाम्रो पुन: प्रकाशन नीति अनुसार तपाईँले पनि आफ्नो सञ्चार माध्यममा प्रकाशन गर्न सक्नुहुने छ । पुन: प्रकाशन नीति यहाँ छ ।
टिप्पणीहरू