Navigation
कोभिड–१९ महामारीको असर Renuka Giri Ranjita Adhikari | Nov 08, 2021 10 mins read

बुटवल १० की ७ वर्षीया रुप्सा आमाबाबुसँग झर्किरहन्छिन् । खाजा–खानामा उति रुचि देखाउँदिनन् । अरूसँग घुलमिल पनि गर्दिनन् । कक्षा २ की विद्यार्थी उनले पढाइलेखाइमा ध्यान दिन छाडेकी छन् । बरु दिउँसोभरि र राति अबेरसम्म मोबाइलमा गेम खेल्छिन् । ‘पहिले त फरासिली थिई । सबैसँग घुलमिल हुन्थी,’ उनकी आमाले भनिन्, ‘कोरोना महामारीका कारण स्कुल र बाहिर घुमफिर बन्द भएपछि छोरीको बानी बिग्रियो ।’
रूपन्देही तिलोत्तमा १ शंकरनगरका ८ वर्षीय रूपेश घरमा प्रायः एक्लै बस्छन् । अरूले बोलाउँदा चिढिन्छन् । पढ्न मन गर्दैनन् । लकडाउनअघि उनी यस्ता थिएनन् । रूपेशको बदलिएको व्यवहार देखेर उनका बुबा–आमा चिन्तित छन् ।
रुकुमपूर्वको भुमे गाउँपालिका ३ भुम्लावाङका प्रकाश सुनार दाङको घोराहीस्थित बालविकास माविमा कक्षा १० मा पढ्छन् । कोभिड–१९ महामारी सुरु भएपछि उनी जहिल्यै चिन्ताग्रस्त मुद्रामा देखिन्छन् । ‘कहिले स्कुल खुल्ने, कहिले बन्द हुने भइरहन्छ । समयमा परीक्षा होला/नहोला, राम्ररी कोर्स पूरा गर्न सकिएलानसकिएला भन्ने कुरा मात्र मनमा खेलिरहन्छ, भविष्य नै बिग्रने पो हो कि भन्ने पनि लाग्छ,’ उनले भने, ‘साथी र सरहरूसँग सरसल्लाह गर्दै पढ्दा बेग्लै ऊर्जा आउँथ्यो ।’
कोभिड–१९ महामारी सुरु भएपछि लकडाउन र निषेधाज्ञा भन्दै विद्यालय बन्द गरिँदा बालबालिका घरभित्रै थुनिए । संक्रमण सर्ने जोखिमका कारण उनीहरूले घुमफिर गर्न र छरछिमेकमा रहेका साथीसँग खेल्न पनि पाएनन् । साना उमेरका अधिकांश बालबालिकामा मोबाइल, टीभीको लत बसेको छ । जसका कारण उनीहरूमा रुप्सा र रूपेशको जस्तै झर्किने, चिढिने, अरूसँग घुलमिल नगर्नेजस्ता बानी विकास भएका छन् । प्रकाशजस्ता अलि हुर्किएका बालबालिका भने महामारीका कारण पढाइ चौपट भएर आफ्नो भविष्य नै लथालिंग हुने हो कि भन्ने चिन्ताले सताइएका छन् । कोरोना संक्रमण सर्ला कि, ज्यान तल–माथि होला कि भन्ने डर पनि उनीहरूमा छँदै छ ।
सरकारले २०७६ चैत ११ देखि देशव्यापी लकडाउन गरेसँगै विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । जोखिम कम भएपछि २०७७ मंसिर दोेस्रो सातादेखि भौतिक रूपमा विद्यालय सञ्चालन भए । तर महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख दोस्रो साताबाट ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गरियो । संक्रमण मत्थर भएसँगै असोज पहिलो साता विद्यालय खुल्न थालेका छन् । तर विज्ञहरूले महामारीको तेस्रो लहर आउने चेतावनी दिइरहेकाले विद्यालय कहिलेसम्म यसरी खुल्छन् भन्ने अन्योल कायमै छ ।
विद्यालय लामो समयसम्म बन्द हुँदा र घरमै बस्नुपर्दा बालबालिकामा गम्भीर मानसिक स्वास्थ्य समस्या देखा परेको विज्ञहरू बताउँछन् । बिर्सने, दिक्क मान्ने, हैरानी महसुस हुने, अरूसँग कुरा गर्न मन नलाग्ने, व्यक्तिगत सरसफाइ गर्न मन नलाग्नेजस्ता समस्या बालबालिकामा बढेको उनीहरूको भनाइ छ । ‘विद्यालय बन्द हुँदा र घरबाहिर साथीहरूसँग खेल्न, घुम्न नपाउँदा बालबालिकालाई समय बिताउन गाह्रो भयो,’ समाजशास्त्री डा गितु गिरीले भने, ‘यसले गर्दा उनीहरूमा टाउको दुख्ने, झर्किनेजस्ता समस्या देखा परेका छन् ।’
अभिभावकबाट पर्याप्त समय नपाएका बालबालिकामा मानसिक समस्या बढी देखिएको विज्ञहरू बताउँछन् । बुटवलकी रुप्साका बुबा प्रहरीमा जागिरे हुन् । उनी बेला–बेला मात्र घर आइपुग्छन् । रुप्साकी आमालाई घरधन्दा सम्हाल्नै भ्याइनभ्याइ हुन्छ । उनी छोरीलाई समय दिनै भ्याउँदिनन्, आफ्नै सुरमा छाडिदिन्थिन् । घरमा रुप्साको खेल्ने साथी पनि छैन । त्यसैले रुप्साको आनीबानी पूरै बदलिएको हो । रूपेशका बुबा भने पेसाले ड्राइभर हुन्, आमा भने लुगा सिलाउने गर्छिन् । बुबा–आमाले आफ्नो काममा व्यस्त रहँदा छोराको व्यवहार बदलिएको चालै पाएनन् ।
बुटवलका चार वर्षीय स्वरूप परिवारको एक्लो छोरा हुन् । अभिभावकले आफूहरू कामधन्दामा व्यस्त रहेका बेला उनलाई मोबाइल र टीभीमा अलमल्याउँथे । विस्तारै स्वरूपलाई जति बेला पनि मोबाइल वा टीभी चाहिने भयो । पहिले सवारीसाधन चढ्न मरिहत्ते गर्ने उनी गाडी देख्दा नै डराउने भए । ‘घरबाट बाहिर निस्कन नखोज्ने भयो, राति निदाएका बेला एक्कासि चिच्याएर रुने गर्न थाल्यो,’ उनकी आमाले सुनाइन्, ‘डाक्टरलाई देखाएपछि पो छोरालाई मानसिक समस्या भएको रहेछ भन्ने थाहा भयो । अहिले डाक्टरको सल्लाहमा उपचार र ख्याल गरिरहेका छौँ ।’
लकडाउन/निषेधाज्ञाको जस्तो परिस्थिति आइपरेका बेला बालबालिकालाई घरभित्रै खेल्ने, रमाउने ठाउँको व्यवस्था मिलाइदिनुपर्ने र अभिभावकले पनि समय दिएर उनीहरूलाई पढाउन, खेलाउन, रमाइलो गराइदिन ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । अधिकांश अभिभावकले बालबालिकालाई अलमल्याउनका लागि मोबाइल दिएर र टीभी सधैँ खोलिदिएर बानी बिगारिदिने गरेको उनीहरूको भनाइ छ । ‘अभिभावकले आफ्नो बच्चाको पहिले र अहिलेको व्यवहारमा कुनै अन्तर आयो कि आएन भनेर निकै ख्याल गर्नु जरुरी छ । फरक देखिन थाल्यो भने बेवास्ता गर्नै हुन्न,’ डा. गिरीले भने, ‘बालबालिकालाई पढ् पढ् भनेर बारम्बार दबाब दिइरहे पनि उनीहरूमा मानसिक असर पर्न सक्छ ।’
घोराही–१५ भरतपुरकी १३ वर्षीया बालिकाले कोरोना संक्रमणका कारण आमाको मृत्यु भएपछि आफूलाई सम्हाल्न धेरै गाह्रो भएको सुनाइन् । उनकी ४३ वर्षीया आमाको गत असार ८ मा मृत्यु भएको हो । ‘आमा गुमाउँदा एकातिर घरव्यवहार भत्कियो, अर्कातिर आमाको सुर्ताले न पढ्न सकिन्छ न अरू कुरा सोच्न,’ उनले भनिन् । अरू पनि थुप्रै बालबालिका छन्, जसले कोरोना महामारीकै कारण आमा–बुबालगायत परिवारजन गुमाएका छन् । उनीहरू मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगेका छन् । कोरोनाका कारण लुम्बिनी प्रदेशमा मात्र ४४ बालबालिकाले बाबुआमा गुमाएको राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांक छ ।
घोराही १७ का सबिन शर्माले आफू संक्रमित भएका बेला साह्रै डर र चिन्ता लाग्ने गरेको अनुभव सुनाए । कक्षा ९ मा अध्ययनरत उनले भने, ‘कोभिड पोजिटिभ रिपोर्ट आएपछि त म आत्तिएँ । के कसो हुने हो भन्ने भयो । यस्तो बेला सान्त्वना दिने, परामर्श दिने मान्छे चाहिने रहेछ ।’ चिकित्सकहरूका अनुसार बिरामीले मनोबल कमजोर बनाउँदा रोगले बढी च्याप्न सक्छ । घोराहीकै १५ वर्षीय बालकले कोभिड–१९ का कारण ज्यान गुमाए । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा गत वर्ष असोज २३ मा उनको मृत्यु भएको हो ।
विज्ञहरूका अनुसार बालबालिका संक्रमित भएर आइसोलेसनमा राखेका बेला उचित मनोसामाजिक परामर्श हुन सकेन भने उनीहरूमा मानसिक समस्या बढ्ने सम्भावना अधिक हुन्छ । मनोविद्हरूका अनुसार आत्महत्या मानसिक स्वास्थ्य समस्याकै उपज हो । बेलैमा ध्यान दिन नसके मानसिक समस्यामा गुज्रेका बालबालिकाले आफ्नो ज्यान आफैँ लिन सक्छन् भन्नेमा अभिभावक सचेत रहन आवश्यक छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको साउनयता मात्र ३१ बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश मामिला सूचना केन्द्रका बाबुराम पन्थीका अनुसार आर्थिक वर्ष २०७७/२०७८ प्रदेशमा १ सय ३० जना र अघिल्लो आर्थिक वर्षमा १ सय १५ बालबालिकाले आत्महत्या गरेका थिए ।
बालबालिकासम्बन्धी ऐनले १८ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ । कोरोना कालमा युनिसेफले २०७७ कात्तिकसम्म नेपालमा गरेको अध्ययनमा १० देखि १७ वर्षसम्मका बालबालिकामध्ये २ प्रतिशतमा निराशाको समस्या पाइएको छ ।

जिम्मेवार अभिभावक
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नसा तथा मानसिक रोग विशेषज्ञ डा. एन्जिल क्षत्रीका अनुसार मानसिक स्वास्थ्य समस्या १३ वर्षभन्दा मुनिका बालबालिकामा धेरै देखिएको छ । ‘बिस्तारामा पिसाब फेर्न छाडिसकेका बच्चाले फेरि पिसाब गर्न थाल्नु मानसिक समस्याको संकेत हुन सक्छ,’ उनले भने, ‘बच्चाले घरभित्रै खेल्न खोज्दा धेरै झिझिने, रुँदा वा बोलाउँदा रेस्पोन्स नगरिदिने गरे ५ वर्षभन्दा मुनिको बालबालिकामा यस्तो समस्या देखिन पुग्छ ।’ डा. क्षत्रीका अनुसार मानसिक समस्या भएका बालबालिकामा पेट दुख्यो, टाउको दुख्यो भन्ने, निद्रामा बर्बराउने, साबिकभन्दा धेरै वा कम सुत्ने, खानपिनमा गडबड हुने, धेरै खाने वा खानै नखाइदिने लक्षण देखिन्छन् ।
लकडाउन वा निषेधाज्ञाका कारण घरको वातावरण बदलिएका बेला अभिभावकले बालबालिकाको विशेष ख्याल गर्नुपर्ने डा क्षत्री बताउँछन् । ‘स्कुल जान नपाएर, साथीभाइसँग बाहिर गएर खेल्न नपाएर बालबालिकामा त्यसै पनि एक खालको तनाव हुन्छ । यस्तो बेला अभिभावकले उनीहरूमा अरू कुनै तनाव नहोस् भनेर घरभित्रको वातावरण गरिदिनुपर्छ,’ उनले भने ।
डा. क्षत्रीले मानसिक समस्याका लक्षण भएका बालबालिका लिएर अभिभावक उपचारका लागि आउने क्रम पछिल्लो समय बढेको जानकारी दिए । ‘मानसिक समस्या भएका बालबालिकाको राम्ररी उपचार भएन र अभिभावकले राम्रोसँग हेरचाह गरेनन् भने दीर्घकालीन असर पर्न सक्छ,’ उनले भने, ‘बालबालिकाले भोलि औषधि नै सेवन गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’
बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक युवराज कँडेलका अनुसार बालबालिका स्वभावैले बाहिरी वातावरणसँग घुलमिल हुन खोज्छन्, नयाँ–नयाँ कुरा जान्न, सिक्न चाहिरहेका हुन्छन् । यसका लागि लकडाउन/निषेधाज्ञाले घुलमिल/सिकाइको वातावरण बिथोलिदियो । अभिभावकले पनि घरभित्रै सिकाउने, बुझाउने वातावरण तयार नगरिदिँदा बालबालिकामा मानसिक समस्या देखिएको छ । ‘बच्चाहरू एकोहोरो हुने, रिसाउने, झर्किने, काममा ध्यान नदिने, एकाग्रता नहुनेजस्ता समस्या देखिएका छन्,’ कँडेलले भने, ‘पछिल्लो समयमा १०/१२ वर्षका बच्चाले समेत आत्महत्या गरेको, आत्महत्याको प्रयास गरेको सुन्न थालिएको छ ।’
शिक्षक कँडेल अनलाइन पढाइले पनि बालबालिकामा मोबाइल र ल्यापटपको लत बसाएको बताउँछन् । मोबाइल वा ल्यापटप हात परेपछि बालबालिकाले मौका पर्नासाथ भिडियो हेर्ने वा गेम खेल्ने गरेको उनले बताए । ‘मोबाइल, ल्यापटपसँग लामो समय रहने बच्चामा चिढचिढाहपन हुने, रिसाउने, बाआमाले भनेको नमान्नेजस्ता समस्या देखिएको छ । कतिपयमा आपराधिक मनोवृत्ति पनि विकास भएको हुन सक्छ,’ उनले भने । मोबाइल वा ल्यापटपसँग मात्र अलमलिन दिइराखे बालबालिकाको व्यक्तित्व विकासमै असर पर्ने शिक्षक कँडेल बताउँछन् । ‘यो दूरगामी सामाजिक समस्या नै बन्न सक्छ,’ उनले भने ।
विज्ञहरूका अनुसार बच्चाहरूको आनीबानी सुधार्ने शैली पनि महत्त्वपूर्ण हुन्छ । हप्काउने, धम्क्याउने वा कुटपिट गर्ने गरे उनीहरू मानसिक समस्या उल्टै बढ्दै जान्छ । गत फागुनमा रूपन्देहीको देवदहमा १४ वर्षीय बालकले मोबाइल चलाउने विषयमा बुबाको गाली खाएपछि गोठमा झुन्डिएर आत्महत्या गरे । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले सामान्य झैभगडामा पनि बालबालिकाले आत्महत्या गर्ने क्रम बढिरहेको बताए । ‘यसमा परिवार बेलैमा सजग हुनुपर्छ,’ उनले भने ।
मनोसामाजिक विमर्शकर्ता बेबी शाह कोभिडको त्रासका बेला बालबालिकालाई भावनात्मक रूपमै गाह्रो भइरहेको हुन सक्ने भएकाले अभिभावक सजग हुनुपर्नेमा जोड दिन्छिन् । ‘कतिपयले कोरोनाकै कारण बुबाआमा गुमाएका छन् । त्यस्तो अवस्थाका बालबालिकाका लागि विशेष ध्यान दिनुपर्छ,’ उनले भनिन् । उनका अनुसार एउटै कुरा दोहो¥याइरहनु पनि मानसिक समस्याको संकेत हो । ‘जस्तो– चुकुल लगाएर पस्ने, एकछिनपछि चुकुल लगाइनँ किन भनेर फेरि हेर्न जाने, यस्तो पटक–पटक दोहो¥याइरहने गर्नु मानसिक समस्याको लक्षण हुन सक्छ,’ उनले भनिन् ।
मनोविमर्शकर्ता एवं स्वास्थ्यकर्मी राधा पौडेलले पछिल्लोे समय बालबालिकामा मानसिक स्वास्थ्य समस्या चिन्ताको विषय बन्दै गएको बताइन् । ‘बच्चाको मानसिक स्वास्थ्य समस्यालाई लिएर परामर्शका लागि अस्पताल आउने अभिभावक धेरै देखिएका छन्,’ उनले भनिन् ।
के गर्ने त ?
विज्ञहरू बालबालिकामा मानसिक समस्या निम्तिन नदिन अभिभावककै भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । महामारीका बेला बालबालिकामा डरत्रास बढाउने सन्देश प्रवाह गर्न नहुनेमा उनीहरूको जोड छ । ‘बच्चाहरूलाई कोभिडबाट यति मरे, उति मरे भनेर सुनाउनुभन्दा पनि कोरोना भाइरस के हो, यसबाट कसरी जोगिन सकिन्छ भन्ने हिसाबले ज्ञानगुन दिनुपर्छ, सतर्क भए खतरा हुँदैन भन्ने सन्देश दिनुपर्छ,’ नसा तथा मानसिक रोग विशेषज्ञ डा. एन्जिल क्षत्रीले भने, ‘परिवारमा रहेका ठूला मान्छे पनि मानसिक रूपमा स्वस्थ रहे बालबालिकाको मनोबल उच्च रहन्छ ।’ डा. क्षत्री लकडाउन/निषेधाज्ञाका बेला बालबालिकालाई अभिभावकले रचनात्मक क्रियाकलापमा सामेल गराउनुपर्ने बताउँछन् । ‘चित्र बनाउन लगाउने, गीत गाउन तथा नाच्न सिकाउने हुन सक्छ, सानातिना घरायसी काममा सहभागी गराउन सकिन्छ,’ उनले भने ।
दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयका शिक्षक शरद आचार्य सरकारले पनि बालबालिकाको मानिसक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । बालबालिकाका लागि खोप तयार हुनासाथ भित्र्याएर लगाउने गरी सरकारले बेलैमा तयारी थाल्नुपर्ने पनि उनले बताए । महामारीको परिस्थितिमा विद्यालयले विद्यार्थीको सिकाइ र मूल्यांकन पद्धतिमा समेत परिमार्जन गर्नुपर्ने उनले औँल्याए । ‘महामारीको त्रास फैलिइरहेका बेला परीक्षा र पढाइले मानसिक चिन्ता नबढाओस् भन्नेमा चनाखो हुन जरुरी छ,’ उनले भने ।
शिक्षक युवराज कँडेल अनलाइन कक्षालाई अन्तरक्रियात्मक र प्रयोगात्मक बनाउनुपर्नेमा जोड दिन्छन् । ‘यसले विद्यार्थीलाई सक्रिय बनाउँछ, पठनपाठनमा केन्द्रित गराउँछ,’ उनले भने, ‘अभिभावकले बच्चाको सामाजिकीकरणमा ध्यान दिनुपर्छ ।’ उनले पनि बालबालिकामा कोरोना महामारीबारे उपयुक्त सूचना बालबालिकामा प्रवाह गर्नुपर्ने बताए । ‘ज्वरो आउनेबित्तिकै कोभिड नै भइहाल्यो कि, बाँचिँदैन कि भन्नेजस्ता बुझाइ/सोचाइबाट अभिभावक र बालबालिका मुक्त हुनुपर्छ । नत्र यसले तनाव मात्रै बढाउँछ,’ शिक्षक कँडेलले भने ।
मनोसामाजिक विमर्शकर्ता बेबी शाह बालबालिकालाई घरमा उनीहरूले गर्न सक्ने काममा आफूले ‘गाइड’ गरेर सहभागी गराउनुपर्ने बताउँछिन् । ‘बालबालिकालाई सन्देशमूलक कथा सुनाउने, उनीहरूलाई पनि भन्न लगाउने गर्नुपर्छ, ड्रइङ गर्न लगाउन सकिन्छ,’ उनले भनिन्, ‘यस्ता क्रियाकलापले उनीहरूमा सिर्जनशील क्षमता बढ्न सक्छ ।’ अनलाइन कक्षा लिँदा बालबालिकालाई अभिभावकले पूरै छाड्न नहुने शाहको धारणा छ । ‘बच्चाले के गरिरहेको छ, ख्याल गर्नुप¥यो । कतिपयले अनलाइन बसेजस्तो गरेर भिडियो गेम खेलिरहेका हुन सक्छन्,’ उनले भनिन्, ‘बच्चाहरू नजानीकनै साइबर क्राइमको सिकार भइरहेका हुन सक्छन् ।’ मनोविमर्शकर्ता राधा पौडेल बालबालिकाको कुरा सुन्ने र उनीहरूलाई समय दिने बानीको विकास अभिभावकले गर्नुपर्नेमा जोड दिन्छिन् ।

हिमालखबरसंगकाे सहकार्यमा

https://www.himalkhabar.com/news/126430?fbclid=IwAR35nfGApAkKQhvALq6atuu3jwP9rFiRX2St6Z8Xrk4I0V7Lht-D3oC3PnM

Comments