अछामकी सुनिता (परिवर्तित नाम) लाई भारत जाँदै गर्दा नेपालगन्जबाट माइती नेपालको टोलीले भदौ २५, २०८१ म उद्धार गर्छ । उनलाई गाउँकै भरत शर्माले फकाएर भारत लैजाँदै गरेका थिए ।
काभ्रेकी रिता (परिवर्तिन नाम) को चैत ८, २०७९ मा शान्ति पुनःस्थापना गृहको टोलीले नेपालगन्जबाटै उद्धार गर्छ । उनलाई भारत हुँदै तेस्रो देश पठाउने भनेर दैलेखका प्रकाश विष्टले नेपालगन्ज पुर्याएका थिए ।
रूपन्देहीकी पुनम (परिवर्तित नाम) लाई पनि फागुन २३, २०८० मा बाँकेको डुडुवाबाट गृहकै टोलीले उद्धार गर्छ । उनलाई दैलेखका सुनिल सुनारले भारत लैजाँदै थिए ।
२२ वर्षीया सुनिता तथा २० वर्षकी रिता र पुनमको पारिवारिक आर्थिक पृष्ठभूमि एउटै छ । तीनै जनाको परिवारको आर्थिक अवस्था कमजोर छ । उनीहरू तीनै जना कामका लागि नेपालबाहिर जान लागेका थिए । तर मानव बेचबिखनको जोखिममा रहेकाहरूमाथि निगरानी गर्न सीमा नाकामा बसेका माइती नेपाल तथा शान्ति पुनःस्थापना गृहका प्रतिनिधिले उनीहरूलाई उद्धार गरे ।
सीमा नाकाबाट उद्धार हुने उनीहरू ३ जना मात्र होइनन् । नेपालगन्जको सीमा नाकाबाट दैनिक रूपमै उनीहरूजस्ता किशोरीको उद्धार हुने गरेको माइती नेपालका बाँके जिल्ला संयोजक केशव कोइराला बताउँछन् । सीमा नाकामा दर्जन बढी संघसंस्थाले बेचबिखनको जोखिममा रहेकाहरूको उद्धार गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यमबहादुर मल्लले गरिबी र बेरोजगारीका कारण रोजगारको बहानामा भारतका विभिन्न सहरमा बेचिने गरेको घटनाहरू आफूहरूकहाँ आउने गरेको बताए । “गरिबी, बेरोजगारी, प्रेमविवाह र रोजगारको खोजीमा बाहिरिनुपर्ने बाध्यता बेचबिखनको कारण बनेको छ,” उनले भने ।
नेपालगन्जमा उद्धार गरिएकी सुनिताको परिवारमा दुई दिदी, एक भाइ र बुबाआमासहित ६ जना छन् । सुनिताका भाइ र दिदीहरूले गरिबीकै कारण पढ्न पाएनन् । सुनिताले पनि ९ कक्षामै पढाइ छाड्नुपर्यो । घर चलाउन सुनिताका भाइ र बुबा रोजगारीका लागि प्रायः भारतमै हुन्छन् ।
सुनिताले दिएको जानकारीअनुसार एक दिन उनलाई अमन खनाल नाम भएको फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । रिक्वेस्ट पठाउने भरत पण्डित भनिने भरत शर्मा हुन्छन् । फेसबुकमा कुराकानी हुँदै गर्दा सुनिताले आफ्नो पारिवारिक र आर्थिक अवस्थाबारे भरतलाई जानकारी दिन्छिन् ।
भरतले आफू भारतको बैंग्लोरको होटलमा काम गर्ने गरेको भन्दै सँगै भारत लैजाने र बिहे गर्ने प्रस्ताव गर्छन् । “उसले ‘तिमी मसँग हिँड, बिहे गरी माया दिन्छु, मेरो विश्वास गर, यो कुरो कसैलाई नभन’ भनेर सुनितालाई आश्वास्त पारेको रहेछ,” माइती नेपालका बाँके जिल्ला संयोजक केशवले भने ।
आफूले अस्वीकार गरे पनि भरतले बारम्बार लोभलालच देखाएर प्रस्ताव गरिरहेको सुनिताले बताइन् । “उसले ‘तिमीले मेरो कुरो मानिनौं भने तिमीले मसँग गरेका कुराकानी र फोटो फेसबुकमा हालेर बेइज्जत गर्दिन्छु र तिम्रो नाम लेखेर आत्महत्या गर्छु, तिमीलाई पाउन जे पनि गर्न सक्छु’ भन्दै धम्क्याएको थियो ।” सुनिताले उद्धारपछि माइती नेपालका प्रतिनिधिसँग भनिन् ।
धम्क्याएपछि सुनिता भरतसँग आएको पाइएको संयोजक केशवले जानकारी दिए । भदौ २३, २०८१ म राकमबाट गाडी चढेर धनगढी पुगेको र भदौ २५ मा धनगढीबाट नेपालगन्ज आएर भारततिर जाँदै गर्दा माइती नेपालले उद्धार गरेको सुनिताले बताइन् ।
आफ्नो मोबाइलसमेत खोसेर घरपरिवारसँग कुराकानी गर्न नदिई आफूलाई धाकधम्की दिएर भारत लैजान लागेको बताइन् । उनलाई अहिले परिवारको जिम्मा लगाइएको छ भने भरतविरुद्ध जिल्ला अदालत बाँकेमा मानव बेचबिखनको मुद्दा दर्ता गरिएको माइती नेपालले जनाएको छ ।
भरतले विवाह गर्ने उद्देश्यले सुनितालाई भारत लैजान लागेको बयान प्रहरीमा दिएका छन् । “सुनिता मलाई मन परेकाले मैले बिहे नै गर्ने हो, म मान्छे बेच्ने मान्छे होइन,” पण्डितले प्रहरीलाई दिएको बयानमा भनेका छन्, “म होटलमा काम गर्छु, मैले सुनितालाई बेच्ने वा एक्लै छोड्ने सोचेको छैन । मैले सुनितालाई बिहे गरेर सँगै राख्ने हो ।”
तर अनुसन्धानका क्रममा भरतको पहिला नै विवाह भइसकेको र उसले अरू युवतीलाई पनि भारत लगेको सुनिताको परिवारले दाबी गरेको संयोजक केशवले बताए । परिवारको दाबीअनुसार कुनै प्रमाण नपाएकाले भरतमाथि अरू मुद्दा चलाउन नसकिएको प्रहरीले जनाएको छ ।
दाजुसँग पठाएकी रिता फेरि नाकामा भेटिइन्
८ कक्षासम्म मात्र पढेकी रिता कामको खोजीमा काभ्रेबाट काठमाडौं आउँछिन् । उनले एउटा घरमा खाना पकाउने काम पाउँछिन् । त्यहीबिचमा गाउँकै भाउजू पर्ने अनु थापाले रिताको परिचय दैलेखका प्रकाश विष्टसँग गराउँछिन् ।
उनै प्रकाशले रितालाई भारत हुँदै तेस्रो देश पठाउन नेपालगन्ज लगेका थिए । नेपालगन्जमा रितालाई शान्ति पुनःस्थापना गृहका प्रतिनिधिले सीमाबाट उद्धार गरी दाजुसँग घर पठाएका थिए । तर दुई दिनपछि उनी भारत जानका लागि फेरि नाकामै पुगिन् ।
नेपालगन्जमा दोस्रो पटक उद्धार भएपछि प्रहरीमा दिएको बयानमा रिताले भनेकी छन्, “प्रकाशले ‘तिमी टेन्सन नलेऊ, म तिम्रो भिसा–पासपोर्टलगायतका कागजपत्रमा लाग्ने जति खर्च म दिन्छु, विदेशमा यहाँ जत्तिको दुःख गरे योभन्दा बढी कमाउन सकिन्छ’ भनेर आश्वासन दिएका थिए ।”
प्रकाशले कुवेतबाट कामदारको माग आएको र त्यहाँ खाना पकाउने मान्छेहरूलाई राम्रो पैसा दिन्छन् भनेपछि आफू विदेश जान तयार भएको रिताले बताइन् ।
पासपोर्ट–भिसालगायत कागजपत्र प्रकाशले नै तयार गरिदिएर उनले नेपालगन्ज हुँदै भारत जाने र त्यहाँबाट कुवेत उड्ने भनेर ल्याएको रिताले बताएकी उद्धारकर्ता शान्ति पुनःस्थापना गृहका बाँके जिल्ला संयोजक निर्मल सुवेदीले बताए ।
चैत ८ को बिहान सबेरै नेपालगन्जको पुष्पलाल चोकमा काठमाडौंबाट बसमा आएकी रितामाथि शंका लागेर सोधपुछ गर्दा विदेश जान लागेको पत्ता लागेर उद्धार गरिएको उनले जानकारी दिए । संस्थाका प्रतिनिधिले सोधपुछ गर्नेबित्तिकै प्रकाश भने झोला छाडेर भागिसकेका थिए । प्रकाशको झोलामा रितासहित अन्य महिलाको पासपोर्ट फेला परेको संयोजक निर्मलले जानकारी दिए ।
गृहले उद्धारपछि रिताका दाइलाई नेपालगन्ज बोलाएर साथै घर पठाएको थियो । रिताका दाइले कुनै कानुनी कारबाही नगर्ने भन्दै बहिनी लिएर गएका थिए ।
तर उनीहरू घर पुग्दैनन् । प्रकाशले नेपालगन्जमै यी दाजुबहिनीलाई फेला पार्छन् र जसरी पनि कुवेत पठाइदिने आश्वासन दिँदै चैत १० गते रिताका दाइलाई फर्काइदिन्छन् ।
रितासहित प्रकाश र उनका साथीहरू विकास शर्मा र सुनिता अधिकारी नेपालगन्जमै हुन्छन् ।

चैत १२ को बिहान ११ बजे बाँकेको जानकी गाउँपालिका–१ शिवपुरीको बाटो भएर रितालाई लिएर उनीहरू भारततिर गाइरहेका हुन्छन् । त्यहाँ गृहका कर्मचारीले फेला पारेर रितालाई फेरि उद्धार गर्छन् ।
“हामीले रंगेहात पक्राउ गर्ने भनेर उनीहरूको गतिविधि हेरिरहेका थियौं,” संयोजक निर्मलले भने, “अन्त्यमा उनीहरू शिवपुरी नाका भएर जान लाग्दा हामीले प्रहरीको सहायताले पक्राउ गरी उद्धार गरेको हो ।”
बेचबिखनको जोखिमा परेका व्यक्तिहरूमाथि निगरानी गर्ने गरेको जानकारी दिँदै उनले रितालाई उनको दाइले लिएर गएपछि पनि गृहका कर्मचारीले निगरानी गरिरहेको बताए । त्यही निगरानीका कारण प्रकाशसहित ३ जनालाई रंगेहात फेला पारिएको गृहका संयोजक निर्मलले बताए ।
प्रहरीले प्रकाशसँगै विकास र सुनितालाई पक्राउ गरेर बाँके जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेको छ ।
प्रकाशले प्रहरीसँगको बयानमा रितालाई आफूले बेचबिखनका लागि नभई कुवेत पठाइदिन ल्याएको बताएका थिए । रितालाई कुवेत पठाउन प्रकाशले तयार पारेका सबै कागजात नक्कली रहेको प्रहरीको दाबी छ ।
तीर्थ गर्ने बहानामा ओसारपसार
भारत जान नेपालगन्ज पुग्नुअघि पुनमले रूपन्देहीको एउटा होटलमा खाना पकाउने काम गर्थिन् । वृद्ध आमाबुबाको औषधोपचार र घरखर्चमा उनको तलब सबै सकिन्थ्यो । त्यसैले उनी थप रकम कमाउने सोचमा हुन्छिन् ।
यस्तैमा उनको भेट दैलेखका ५० वर्षीय सुनील सुनारसँग हुन्छ र उनीहरू साथी बन्छन् ।
एक दिन सुनीलले आफू भारतको सिद्धिविनायक मन्दिरमा जान लागेको भन्दै पुनमलाई सँगै जान प्रस्ताव गर्छन् । उचाइ र तौल मिलेको पुरुष र महिलाको जोडीले सँगै तीर्थ गरे आर्थिक लाभ हुने सपना देखाउँदै उनले आफ्नो तौल र उचाइको नापसमेत लिएको पुनमले बताएकी छन् । त्यसपछि दुवैको तौल र उचाइ मिलेको भएर सँगै दर्शन गर्न जाऔँ भनेर सुनीलले बारम्बार फकाउँछन् ।
पैसा छैन भन्दा पनि सुनीलले आफैं खर्च हाल्छु भनेपछि भारत जान तयार भएको पुनमले बताइन् ।
फागुन २२, २०८० को बेलुकी रूपन्देहीबाट गाडी चढेका उनीहरू भोलिपल्ट बिहान नेपालगन्जको पुष्पलाल चोकमा ओर्लिन्छन् ।
नेपालगन्जमै उनीहरूको भेट अर्जुन क्षेत्री र सुजिता रोकायासँग हुन्छ । जसलाई सुनिलले साथी भनेर चिनाएको पुनमले जानकारी दिइन् । चारै जनाले सँगै खाजा–खाना खान्छन् र घुलमिल हुन्छन् ।
सुजिताले पुनमलाई रुपैडिया नाकाबाट नभई बाँकेकै डुडुडा गाउँपालिकाबाट सीमा पार गर्ने प्रस्ताव राख्छिन् । रुपैडियामा धेरै जाँच हुने र लामो लाइन बस्नुपर्ने भन्दै उनीहरूले डुडुवाबाट जाने र केही गरी कसैले सोधेमा मन्दिर दर्शन गर्न जान लागेको भन्नू भनेर सिकाएको पुनमले जानकारी दिइन् ।
खडैचामा शान्ति पुनःस्थापना गृहका उद्धारकर्ताले सोधपुछ गर्दा पनि पुनमले सानीआमासँग मन्दिर दर्शन गर्न भारत जान लागेको बताएकी गृहका बाँके जिल्ला संयोजक निर्मलले बताए ।
गृहको टोलीले पुनमलाई उद्धार गरेपछि घरमा फोन गरेको थियो । निर्मल भन्छन्, “हामीले फोन गर्दा उहाँ (पुनमकी आमा) ले छोरी मन्दिर दर्शन गर्न जान लागेको बारेमा जानकारी नभएको बताउनुभयो ।” त्यसपछि गृहले उनलाई छोरी बुझ्न नेपालगन्ज बोलाएको थियो ।
उद्धार गरेर आवधिक गृहमा ल्याएर सहज वातावरण बनाएपछि पुनमले सबै कुरा बताएको निर्मलले जानकारी दिए । उनका अनसार प्रहरीको सहयोगमा सुनिलसहित अर्जुन र सुजितालाई पक्राउ गरेर मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ ।
प्रहरीसँगको बयानमा सुनिलले आफू एक्लै भएर पुनमलाई साथी लैजान लागेको र आफूले बेचबिखनको कुनै नियत नराखेको बताएका थिए ।
बेचबिखनका घटना बढ्दो
प्रहरी र सामाजिक संघसंस्थाले जोखिमपूर्ण यात्रा न्यूनीकरणका लागि विभिन्न अभियान र कार्यक्रम गरे पनि बेचबिखनका घटना कम भएका छैनन् । माइती नेपालको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार बेचबिखनको घटना बढ्दो छ । नेपाल भारत सीमा नाकामा जोखिमपूर्ण आवागमन उस्तै छ ।
यात्रा गरिरहेको व्यक्तिलाई जाने ठाउँ थाहा नभएको, यात्राको उद्देश्य नखुलेको, घरबाट भागेको भन्ने पूर्वसूचना आएकालगायतका घटनालाई बेचबिखनका विरुद्धमा काम गरिरहेका संघसंस्थाले जोखिमपूर्ण यात्रा भन्ने गरेका छन् । माइती नेपालका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५ सय ९८ जनाले जोखिमपूर्ण यात्रा गरेका छन् ।
योभन्दा अगाडि आर्थिक वर्ष २०७९/८० मा ५ सय ९ जनाले जोखिमपूर्ण यात्रा गरेका थिए । जबकि आर्थिक वर्ष २०७६/७७ मा जोखिमपूर्ण यात्रा गर्ने २ सय ६७ जना मात्र थिए । जोखिमपूर्ण यात्रा गर्नेलाई मानव बेचबिखनविरुद्ध काम गर्दै आएका संस्थाका प्रतिनिधिले गन्तव्यमा जान नदिई सीमाबाटै उद्धार गर्ने गरेका छन् ।
माइती नेपालले गत आर्थिक वर्षमा मात्रै ६ सय १३ जनालाई उद्धार गरेर परिवारका सदस्यसँग पुनर्मिलन गराएको छ । जोखिमपूर्ण यात्रामा परेका ४ सय ३८ जनालाई परामर्श दिई घरफिर्ता गरेको माइती नेपालका बाँके जिल्ला संयोजक केशव बताउँछन् ।
(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।