Navigation
आफन्तबाटै बेचिन्छन् बालिका र किशोरी Krishna Bahadur Bist | Apr 15, 2025

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी दीक्षा (परिवर्तित नाम) गाउँकै नाता पर्ने सानीआमा सरस्वतीसँग मेलापात गर्थिन् । उनीहरूको एक–अर्काको घरमा आउजाउ थियो । १४ वर्षकी दीक्षा सानीआमा सरस्वतीसँग किनमेलका लागि बजार र मेलाजात्रा पनि सँगै जाने गर्थिन् ।

investigation-1719398034.pngसरस्वतीले दीक्षाको भारतमा रहेका एक जना केटासँग बिहे गरिदिने प्रस्ताव राखिन् र भदौ २०, २०८१ मा भारत लगिन् । सरस्वतीका श्रीमान् भारतको पिथौरागढमै रोजगारी गर्छन् र सरस्वती पनि नेपाल–भारत आउजाउ गरिरहन्थिन् ।

गाउँमा लागेको बिश्रती मेला हेर्न गएकी दीक्षालाई सरस्वतीले भेटेर भारतको पिथौरागढमा रहेका केटासँग विवाह गराइदिने प्रस्ताव राखेकी थिइन् । ‘मेरै चिनजानको केटा हो, तिमीलाई राम्रो हुन्छ’ भनेर सरस्वतीले ती केटाको तस्बिरहरू देखाउँदै विवाह गर्न कर गरेको दीक्षा बताउँछिन् । “तर, मैले विवाहको विषयमा हुँदैन भनेँ,” घरमा बुबाकै सामुन्ने हामीसँग दीक्षाले भनिन् ।

“मेलामा धेरै कर गरिन्, ‘तिम्रो घरमा पनि झगडा भइरहन्छ, केही दिन घुमेर आउँला’ भनेकी हुन्, नाइँ भन्दाभन्दै पनि आफ्नै सानीआमा मान्ने गरेकी सरस्वतीले लगेकी हुन्,” दीक्षाले भनिन् ।

नेपाल–भारत जोड्ने टनकपुर नाकाबाट दीक्षालाई सरस्वतीले भारत लगेकी थिइन् । आफू १४ वर्षकी मात्रै भएकाले उमेर पुगेकी अर्की एक किशोरीको जन्मदर्ताको कागज देखाएर सीमा कटाएको दीक्षा सुनाउँछिन् । “प्रहरीले मलाई नाम बताऊ भनेर सोध्दा सरस्वतीले नै आफू बोल्नुभन्दा अगाडि जन्मदर्ताको कागजमा उमेर पुगेकी अर्कैको नाम लिएर भन्थिन्, बुबाआमाको नाम पनि उनैले बताएर आफूलाई त्यहाँबाट भारत लगियो,” दीक्षा भन्छिन् ।

दीक्षाले जान्न भन्दा पनि सरस्वतीले फकाएर र लोभलालच देखाउँदै उनलाई भारतमा लगिन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ विरुद्ध उनको ओसारपसार भएको थियो । ऐनले वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाँझ गरी, प्रपन्च मिलाई, करकापमा पारी कसैले ऊ बसिरहेको घर, स्थान वा व्यक्तिसँगबाट छुटाई लैजाने वा आफूसँग राख्ने कार्यलाई मानव ओसारपसारको कसुर भनेको छ । यो कानुनअनुसार दीक्षालाई उनकी सानीआमाले ओसारपसार गरेकी थिइन् । दीक्षाजस्ता धेरै किशोरीको यसरी आफन्तैबाट ओसारपसार र बेचिबिखन हुने गरेको पाइन्छ ।

महिनावारी भएको अवस्थामै भारतको पिथौरागढ पुगेकी दीक्षा बिरामी परिन् । पिथौरागढ पुगेको दोस्रो दिन सरस्वतीसँगै दीक्षामाथि धामीझाँक्रीले झारफुक गरे । त्यसपछि उनी बेहोस भएकी थिइन् । “मलाई त्यहाँ पुग्ने बेला नै निकै अनकन्टार महसुस भएको थियो, मलाई केही थाहा थिएन, रुन्थेँ मात्रै, त्यहाँ धामीले झारफुक गरेपछि म बेहोस भएँ,” उनी सम्झन्छिन् ।

हराएपछि सरस्वतीले नै लगेको शंकामा खोजी गर्दै दीक्षाका बुबा पिथौरागढ पुगेका थिए । माइती नेपाल र प्रहरीको सहयोगमा दीक्षा भदौ २५ मा घर फर्केकी थिइन् । “सरस्वतीले नै लगेकी होला भन्ने पूर्ण शंका थियो, पिथौरागढ पुगेपछि प्रस्ट भयो,” दीक्षाका बुबाले भने, “आफन्तहरूको समन्वयमा छोरीलाई पत्ता लगाएर नेपाल ल्याएको हुँ ।”

सरस्वतीले दीक्षाको पिथौरागढको एक युवकसँग विवाह गराइदिएको र केटा पक्षबाट ५० हजार भारतीय रुपैयाँ लिएको परिवारको आरोप छ । “सरस्वती हाम्रै घरमा आउँथिन्, यहीँ बस्थिन् तर छोरीलाई बिहेको नाममा बेचबिखनमा पारिदिइन्,” दीक्षाका बुबा भावुक हुँदै भन्छन्, “उनलाई घुम्टो ओढाएर सिन्दुर हालेर सजाएकै अवस्थामा उद्धार गरेर यहाँ ल्याइपुर्‍याएँ ।”

घुमाउन भन्दै भारत लगिएकी दीक्षालाई सरस्वतीले यस्तो अवस्थामा पुर्‍याइन् कि हिजोआज दीक्षा खुलेर परिवार र समाजमा बस्नै अप्ठ्यारो हुने स्थितिमा पुगेकी छन् । उनका बुबा भन्छन्, “अहिले छोरी विद्यालय जान र समाजमा खुलेर बोल्न सकेकी छैनन् ।”

पढ्दै गरेकी छोरीलाई बेचबिखनमा पारेर अहिले भविष्य नै बर्बाद पारेको दीक्षाका बुबा बताउँछन् । “छोरीलाई पढाइरहेको थिएँ, ठूलो मान्छे बनाउने सोचेको थिएँ, अहिले यो अवस्थामा पुर्‍याइदिइन् ।”

दीक्षाको परिवारले जिल्ला अदालत कञ्चनपुरमा सरस्वतीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरेका थिए । तर अदालतका न्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको इजलासले माघ ७, २०८१ म दाबी नपुग्ने भन्दै सरस्वतीलाई सफाइ दिएको छ ।

दीक्षासँग विवाह गरेका भनिएका पिथौरागढका युवकलाई नाबालिग भन्दै अदालतले सुधार गृहमा राख्न आदेश दिएको छ ।

प्रहरीसँगको बयानमा ती नाबालिगले आफू भारतको पिथौरागढबाट कञ्चनपुरमा रहेको ठूलीआमाको घरमा आएको बेला दीक्षासँग भेटघाट भइरहेको र उनले ‘मेरो घरमा दुःख छ, म माया गर्छु, मलाई विवाह गरी तपार्ईंसँगै लैजानुहोस् भनेको’ र त्यसमा आफू सहमत भई भदौ २०, २०८१ का दिन उनलाई लिएर भारत गएको बताएका थिए ।

त्यस दिन भारत जाने क्रममा सरस्वतीले आफूहरूलाई ब्रह्मदेवको पुलपारिसम्म पुर्‍याइदिएको दीक्षाले बताइन् । सरस्वतीले पनि प्रहरीसँगको बयानमा आफूले ब्रह्मदेव पुलसम्म पुर्‍याइदिएको र उनीहरू पिथौरागढ जान्छु भनी हिँडेका र आफू घर फर्किएको बयान दिएकी थिइन् । कञ्चनपुरको सीमावर्ती गाउँ ब्रह्मदेवबाट पिथौरागढ १ सय ५० किलोमिटर टाढा छ ।

अदालतबाट सफाइ पाएकी सरस्वती लगत्तै पिथौरागढ नै पुगेको दीक्षाका परिवारका सदस्यहरू बताउँछन् । भीमदत्तमा रहेका सरस्वतीका वृद्धा आमा र परिवारका अरू सदस्यले उनी अहिले सम्पर्कमै नरहेको जानकारी दिए ।

सरस्वतीले गाउँका अन्य बालिका र किशोरीहरूलाई समेत भारत जाने प्रस्ताव गर्दै आएको दीक्षाले सुनाइन् । तर प्रहरीले भने यो घटनाबाहेक अरू घटनामा सरस्वतीको नाम नजोडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

आमाबाटै बेचिए दिदीबहिनी

सुदूरपश्चिममा मानव बेचबिखनका घटना आफन्तबाटै भइरहेको सीमा नाका तथा उद्धारमा खटिएका संघसंस्था र प्रहरीको निष्कर्ष छ ।

घरपरिवारकै सदस्य तथा चिनजान भएकाहरूबाटै ललाइफकाई बेचबिखन हुने गरेका घटना थुप्रै छन् । बैतडी घर भएका १२ र १३ वर्षीया दुई दिदीबहिनी माया र दिव्या (परिवर्तित नाम) त आफ्नै आमा धनमाया (परिवर्तित नाम) बाट बेचबिखनमा परेका थिए ।

Pithoragarh-Child-home-1744695650.jpg
माया र दिव्यालाई राखिएको पिथौरागढस्थित बालिका गृह । तस्बिर : कृष्ण विष्ट/निमजिन

भारतको राजस्थानको एक कोठीमा बेच्न लागेको थाहा पाएपछि पिथौरागढको बालिका गृहले प्रहरीको सहायतामा अगस्ट १६, २०२१ म उनीहरूको उद्धार गरेको थियो ।

“हाम्रा सूचनादाताहरू हुन्छन्, उनीहरूले बेचिन लागेको हामीलाई जानकारी गराए र प्रहरीको मद्दतमा उद्धार गरी यहाँ ल्याएर राखेका हौँ,” कार्ड बालिका गृह पिथौरागढकी अध्यक्ष हिमा कापडीले भनिन् । दुवै छोरीलाई राजस्थानको एक व्यापारीकहाँ पठाउने क्रममा उद्धार गरेको उनको भनाइ छ ।

उद्धार गरेको तीन दिनपछि अगस्ट १९ मा बालिकाकी आमा धनमाया पिथौरागढमा पक्राउ परेकी थिइन् । त्यतिबेला उनको साथमा ६ वर्षकी छोरी पनि थिइन् । यस घटनामा उनको पनि संलग्नता रहेको भन्दै मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको हो । त्यहाँको अदालतले धनमायालाई अहिले धरौटीमा छाडेको छ । ६ वर्षकी छोरीलाई भारतकै अल्मोडामा राखिएको छ ।

मायाले बालिका गृहका कर्मचारीलाई दिएको जानकारीअनुसार उनीहरूलाई आमाले भारतकै एक चिनजानका रोहित भनिने मान्छेसँग कुरा गरी राजस्थान लैजान लागेकी थिइन् । “रोहित नाम गरेका एक व्यक्ति आमाका चिनेका मान्छे हुन्, उनी आफन्त पनि हुन्, उनीसँग नै कुराकानी गर्दै हामीलाई राजस्थान लगिँदै थियो,” मायाको भनाइ उद्धृत गर्दै बालिका गृहकी मनोपरामर्शकर्ता ललिता पन्तले भनिन् ।

रोहितका बारेमा थप जानकारी पाउन नसकेको उनले बताइन् । सुरुमा बालिका गृहमा पुग्दा निक्कै डराएका बालिकाहरूले २ हप्तापछि मात्रै आफूमाथि भएको घटनाका बारेमा बताउन थालेको ललिताले बताइन् ।

हामी बालिकालाई भेट्न भनेर पिथौरागढ नै पुगेका थियौं । तर बालिका गृहले ती बालिकासँग विगतबारे कुराकानी गर्दा मानसिक तनाव उत्पन्न हुने र विचलनसमेत आउन सक्ने भन्दै कुराकानी गर्न दिइएन । बालिका गृहकी अध्यक्ष हेमाले भनिन्, “अब उनीहरूको विगतलाई कोट्याउन दिँदैनौँ, त्यो घटनालाई लिएर कुनै कुराकानी गरिँदैन र गर्न दिइँदैन पनि ।” हेमाका अनुसार बालिका गृहकै संरक्षणमा रहेका दुवै दिदीबहिनी पिथौराढकै एक विद्यालयमा पढ्दै छन् ।

मनोसामाजिक परामर्शकर्ताबाट बेलाबेलामा उनीहरूलाई परामर्श दिइने बालिका गृहको दाबी छ । “दिव्या चञ्चल स्वभावकी छन्, उनी खेल्न रुचाउँछिन्, तर यहाँ सुरक्षाका कारणले बाहिर खेल्न घुम्न निकै कम हुन्छ,” मनोपरामर्शकर्ता ललिता भन्छिन् ।

विवाहको प्रलोभनमा फसेको भन्दै धनमायाले विगतको घटनालाई बिर्सन चाहेको बताइन् । “यस्तो हुनु रै’छ, फसिहाल्यौँ, आफूले समेत सबै कुरा ठम्याउन सकिरहेकी छैन, अहिले ठूलो तनावमा छु, यस्तो अवस्था आएपछि पश्चात्ताप भएको छ,” उनले बताइन् । अदालतको अन्तिम आदेश पर्खिरहेको बताउने उनी पिथौरागढमै ज्यालादारीमा काम गरेर बस्ने गरेकी छन् । उनका श्रीमान् पिथौरागढमै छुट्टै बस्दै आएका छन् ।

विदेशी भूमिको पिथौरागढमा यो मात्र होइन, नेपालसँग जोडिएका अरू ६ वटा बेचबिखनका मुद्दा अनुसन्धानका क्रममा रहेका त्यहाँको प्रहरीले जनाएको छ । रोजगारीका लागि भनेर नेपालबाट किशोरीहरू पिथौरागढ ल्याउने र कुनै व्यापारीसँग साँठगाँठ गरेर बेचबिखनमा पार्ने गरेको जिल्ला प्रहरी कार्यालय पिथौरागढको मानव बेचबिखन रोकथाम इकाइका निमित्त इन्चार्ज, हेड कन्स्टेबल दीपक खनकाले जानकारी दिए ।

माया र दिव्याजस्तै धेरै बालिका तथा किशोरीहरू राजस्थान, हरियाणालगायत राज्यमा बेचिने गरेको उनले बताए । “भारतमा छोरीको संख्या कम भएको राज्यअन्तर्गत पर्ने राजस्थान र हरियाणामा बढी बालिका र किशोरीहरू बेचिने गरेको पाएका छौँ,” दीपकले भने ।

आफन्तले प्रलोभनमा पारेर र रोजगारीका लागि पिथौरागढ आउने र त्यसपछि बेचबिखनमा परेका घटनाहरू बढी हुने गरेको उनको भनाइ छ । “हिजोआज सोसल मिडियाको प्रयोग गरेर पनि फकाएर ल्याउँछन् र आफन्तहरूसँग पनि आउँछन्,” दीपक भन्छन्, “बढीजसो रोजगारीका लागि यहाँ ल्याउने र त्यसपछि बेचबिखनमा पार्ने गरेको पाएका छौँ ।”

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार पछिल्लो ५ वर्षमा मानव बेचबिखनका ८५ वटा घटनाहरू दर्ता छन् । आर्थिक वर्ष २०७६/०७७ मा १९, २०७७/०७८ मा २५, आर्थिक वर्ष २०७८ /०७९ मा १०, आर्थिक वर्ष २०७९/०८० मा १६ र आर्थिक वर्ष २०८०/०८१ मा ११ वटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा छन् ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४ वटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा छन् । बालबालिका उमेर समूहका बढी जोखिममा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला ५ वर्षमा प्रदेशभरिबाट ४८ जना २० वर्ष उमेरमुनिका बेचबिखनमा परेका छन् । २५ वर्ष उमेर समूहका २३ जना बेचबिखनमा परेका छन् भने बाँकी ३५ वर्ष उमेर समूहका रहेका प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

माइती नेपाल कञ्चनपुरले पछिल्ला ५ वर्षमा भारतमा बेचबिखनमा परेका ९० जनालाई उद्धार गरेको छ । त्यसमध्येमा ८ वटा मात्रै उजुरी प्रहरीमा पुगेको छ । “कतिपय अपराधी पत्तै लाग्दैन, फोनका माध्यमबाट बेचिएकाहरूको हकमा झन् समस्या हुने गरेको छ, केही आफन्तहरू नै संलग्न हुने भएकाले प्रहरीमा सबै पुग्दैनन्,” माइती नेपाल कञ्चनपुरकी प्रमुख महेश्वरी भट्टले भनिन् ।

मानव बेचखबिनमा आफन्तहरू नै प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न हुने गरेको माइती नेपाल कञ्चनपुरकी प्रमुख महेश्वरी बताउँछिन् । “बाहिरको मान्छेले विश्वस्त गराउन सक्दैनन्, आफन्तहरूले फकाउन र लोभ देखाउन सक्ने गर्छन्, त्यसैले आफन्त नै बढी संलग्न भेटिन्छन्,” उनी भन्छिन् ।

बेचबिखन र ओसारपसारका घटना कम गर्न सीमा क्षेत्रमा आधिकारिक तथ्यांक राख्नुपर्ने र दलालहरूलाई ट्र्याक गर्नका लागि सफ्टवेयर निर्माणदेखि सबै विवरण चुस्त राख्नुपर्ने अवस्था आएको महेश्वरीले बताइन् । “अहिले कुनै मान्छे हराएको अवस्थामा प्रहरीमा निवेदन दिने काम मात्रै हुन्छ, सीमा क्षेत्रमा दलाललाई ट्र्याक गर्ने त्यस्तो मेकानिजम नै हुँदैन,” उनी भन्छिन्, “हामीसँग भएको नीति र कानुन सुस्त छ, दबाबमुक्त भएर काम गर्ने गरी तौरतरिका अपनाउन सकिन्छ ।”

सुदूरपश्चिममा मानव बेचबिखनमा पर्नेमा बालबालिकाहरू बढी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्की बताउँछन् । “बढीजसो बालबालिकाहरू बेचबिखनको चपेटामा छन्, रोजगारीको बहानामा भारत लगेर बेच्ने गरेका घटनाहरू पनि छन्, त्यसमा पनि आफन्तबाट पनि यस्ता घटना भइरहेका छन्,” प्रहरी उपरीक्षक कार्की भन्छन् ।

भारत जानेहरूको तथ्यांक संकलन हुन नसक्दा मानव बेचबिखनका घटना न्यूनीकरणमा थप चुनौती थपिएको प्रहरी उपरीक्षक कार्कीको भनाइ छ । “अहिले प्रहरीमा नआएका केसहरू पनि छन्, भारत गएकाहरूको वास्तविक तथ्यांक हँुदैन, तथ्यांक नै नभएपछि कति आए, कति गए भन्ने विवरण थाहा हुने भएन, त्यसबाट यस्ता घटनाको आधिकारिकता हुन सकेको छैन,” प्रहरी उपरीक्षक कार्कीले भने ।

मानव बेचबिखनका घटना नियन्त्रणका लागि परिवारबाटै सचेतना फैलाउनुपर्ने प्रहरीको भनाइ छ । पछिल्लो समयमा सामाजिक सञ्जालको माध्यमबाट पनि ललाइफकाई गरेर बेचबिखनमा पार्ने गरेका उदाहरण रहेकाले घरका सदस्यहरूले आफ्ना छोराछोरीहरूको निगरानी तथा सचेतीकरण गर्न आवश्यक रहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पालिका तहबाट मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । “आजसम्म कुनै कार्यक्रम गर्न सकेका छैनौँ, यस विषयमा हामले ध्यान नै दिन सकेनौँ,” मेलौली नगरपालिका, बैतडीका नगर प्रमुख भीमबहादुर चन्दले भने ।

पालिकामा कुनै कार्यविधि र यससँग जोडिएका कुनै पनि तथ्यांक उपलब्ध नरहेको डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय बताउँछन् । “संघीय कानुनअनुसार केही काम गरिएन, मानव बेचबिखनसँग सम्बन्धित कुनै कार्यविधि पनि छैन, कुनै तथ्यांक पनि छैन,” उनले भने ।
 

(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments