Navigation
मुक्त हलिया–कमैया समुदायका किशोरीहरू शोषण र बेचबिखनमा Ishwari Negi | Apr 03, 2025

भारतसँगै सीमा जोडिएको सुदूरपश्चिमको भीमदत्त नगरपालिका । नगरपालिकाको बीचतिर पूर्व–पश्चिम राजमार्ग छ । राजमार्गको दक्षिणतिर नगरपालिकाको मध्यभागमा छ– वडा नं. १८ ।

features-1719398032.pngयही वडाको पश्चिमी क्षेत्रमा सालघारीको छेउमा महाकाली सिँचाइ आयोजनाको खाली जमिनमा खरले छाएका, टिन र त्रिपाल बेरिएका छाप्राहरू छन् । यी छाप्रामा २०६५ मा मुक्त घोषणा गरिएका हलिया र साउन ३, २०७० सालमा मुक्त भएका कम्लरीका परिवारको बसोबास छ ।  

खुना बस्ती भनेर चिनिने यहाँका हलिया समुदायका व्यक्तिहरूले मजदुरी गरेर नै आफ्नो परिवार र घरखर्च धान्दै आइरहेका छन् ।

यहाँ ३० वटा छाप्रामा ३० परिवारका २ सय ५१ जनाको बसोबास छ । १ सय २४ जना महिला रहेको यो बस्तीमा किशोरकिशोरीको संख्या भने न्यून देखिन्छ । अधिकांश परिवारका किशोरकिशोरी कमाउनका लागि भारत गएको अभिभावकहरू बताउँछन् ।  

अभिभावकले कमाउन गएको भने पनि भारत गएका किशोरीहरू मानव ओसारपसार र बेचबिखनको जोखिममा परेको पाइन्छ । घरको आर्थिक अवस्था कमजोर भएको र दैनिक जीवनयापन गर्न नै मुस्किल हुने भएपछि कतिपयलाई त अभिभावकले नै बेचबिखन गरेकोसमेत पाइन्छ । यसको भुक्तभोगी हुन्– पूजा (परिवर्तित नाम) ।

झन्डै २० वर्षअघि स्याउ टिप्न भनेर ठेकेदारको पछि लागेर भारतको सिमला पुगेकी पूजा त्यहाँ शोषण, हिंसा र दुर्व्यवहार भएको बताउँछिन् । १५ वर्षको उमेरमा सिमला गएकी उनी भारतबाट आएका ठेकेदारसँग बुबाआमाले पैसा लिएर आफूलाई बेचेको दाबी गर्छिन् ।

“बुबाले त्यो ठेकेदारसँग मलाई कति पैसामा बेचेका थिए, त्यो त मलाई थाहा भएन,” उनी स्मरण गर्छिन्, “ठेकेदारले स्याउ टिप्ने काममा लगाइदिन्छु भनेपछि मलाई बाआमाले उसँगै पठाएका थिए ।” जतिबेला उनलाई बाबुआमाले भारत पठाएका थिए, त्यतिबेला उनका बाबुआमा कसैको घरमा बँधुवा श्रमिक थिए ।

त्यतिबेला अरुको घरमा कम्लरी बस्ने थारू समुदायका धेरैजसो किशोरीहरू बेचबिखनमा पर्ने गरेको मुक्त कम्लरी विकास मञ्च, कञ्चनपुर जिल्ला अध्यक्ष सीता डंगौरा बताउँछिन् ।

सरकारले मुक्त घोषण गर्नुअघि आफू पनि ७ वर्ष कम्लरी बसेको बताउने उनका अनुसार घरको अवस्था कमजोर भएकै कारणले पैसा तथा रोजगारीको लालचमा परेर, अशिक्षा र अबुझका कारणले थुप्रै किशोरी बेचबिखनमा परे । मुक्त कम्लरी विकास मञ्च र माइती नेपालको समन्वयमा भारतमा लगेर बेचबिखनमा परेका कतिपय किशोरीको उद्धार गरेको सीताले बताइन् ।

Maheshori-Bhatta-Maiti-Nepal-1743667948.jpg
महेश्वरी भट्ट । तस्बिर : ईश्वरी नेगी/निमजिन

माइती नेपाल कञ्चनपुर प्रमुख महेश्वरी भट्टले आफूहरूले बेचबिखनको जोखिममा रहेका र बेचबिखनमा परेकाको उद्धार गर्दा कुन समुदायको हो भनेर नहेर्ने गरेका कारण मुक्त हलिया कमैया समुदायका व्यक्ति कति परेका छन् भनेर कुनै तथ्यांक नराखिएको बताइन् ।

“सर्वप्रथम त मुक्त हलिया कमैया समुदायको व्यक्ति हो कि होइन भनेर पत्ता लगाउन नै गाह्रो पर्छ,” महेश्वरीले भनिन्, “प्रायःजसो व्यक्तिहरूले आफ्नो थर थारू, चौधरी लेखाउने गरेकाले छुट्याएर राख्ने गरेका छैनौँ ।” उनका अनुसार बेचबिखनमा पर्नेहरू आर्थिक रूपमा कमजोर परिवारका धेरै हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले हालैका दिनमा मुक्त हलिया कमैया समुदायका किशोरी बेचबिखनमा परेको कुनै जानकारी नरहेको बताए । उनले बेचबिखन रोक्न सचेतना कार्यक्रम गर्ने, सीमा नाकामा गस्ती र चेकिङ गर्ने र शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने र दोषि भेटिए कानुनी दायरमा ल्याउने गरिएको बताए । 

स्याउ टिप्ने भनेर लगे पनि यौन व्यवसायमा लगाए

हलिया–कमैया समुदायको परिवारकी पूजालाई बिहान बेलुकाको छाक टार्नसमेत धौधौ थियो । भारतबाट आएको ठेकेदारले स्याउ टिप्ने काम हो, पैसा पनि राम्रो पैसा कमाइ हुन्छ भनेपछि आफू स्याउ खान पाइने लोभले निकै खुसी भएको उनी अहिले पनि सम्झन्छिन् । सिमला पुगेर उनले स्याउ त खान पाइन् । तर स्याउसँगै जीवनमै नसोचेको शोषणको सामना पनि गर्नुपर्‍यो । “त्यहाँ पुगेर मैले स्याउ त खान पाएँ, तर‍‍‍...,” उनी निःशब्द बनिन् ।

उनलाई ठेकेदारले एउटा कोठीमा लगेका थिए । त्यहाँ उनीजस्ता अरू किशोरीहरू पनि थिए । “मजस्ता धेरै किशोरीहरू पहिले नै ठेकेदारले कोठीमा राखेको थियो,” उनले भनिन् । उनका अनुसार केही किशोरी नेपालकै थिए भने केही भारतका विभिन्न ठाउँका । सबैलाई स्याउ टिप्ने काम भनेर जम्मा गरिएको थियो ।

कोठीमा उनको शोषणसँगै हातपात र कुटपिटसमेत हुन्थ्यो । “ठेकेदारले सिम्लाको त्यो कोठीमा राखेपछि हरेक दिन फरक–फरक मान्छेहरू आउने जाने गर्थे,” उनी भन्छिन्, “भनेको जस्तो नमान्दा र नगर्दा खुट्टाले, पेटीले पिट्ने गर्थे ।” पटक–पटकको शोषण र दुर्व्यवहार सहन नसकेपछि आफूमा आत्महत्या गर्ने सोचसमेत आएको उनी बताउँछिन् ।

कोठीमा परेको १० वर्षपछि स्याउ टिप्ने कामकै लागि सिमला पुगेका नेपाली युवकसँग भेट भएको र उनीसँग प्रेममा परेपछि भागेर नेपाल आएको उनी बताउँछिन् । नेपालमा घरजम गरेर दुःखजिलो गर्दै जीवनयापन गरिरहेकी उनका विगतबारे श्रीमान् पनि अवगत छन् । श्रीमानले विगतलाई कोट्याएर कहिलेकाहीं शंका गर्ने गरेको उनले बताइन् ।

चिनेकी दिदीबाटै बेचिनबाट जोगिएकी किशोरी

हलिया–कमैया समुदायकै मनीषा (परिवर्तित नाम) २० वर्षको उमेरमा २०७४ सालमा आफन्त दिदीबाट बेचबिखनमा परिन् । ५ सन्तानमध्ये जेठी मनीषालाई आफूले पाएको दुःखभन्दा पनि भाइबहिनी र बुबाआमाको कष्ट देखेर चिन्ता लाग्थ्यो । त्यसैले उनले कतै गएर काम गरेर केही पैसा कमाउने र भाइबहिनीलाई खुस दिने सोचिन् । मनीषाले काम खोजिरहेको थाहा पाएपछि आफन्त दिदी पर्नेले उनलाई भारतमा गएर काम गर्ने प्रस्ताव राखिन् ।

मनीषाका अनुसार ती दिदी आफूले भारतमा नै लामो समयदेखि काम गर्दै आएको र पैसा पनि निकै कमाएको सुनाउने गर्थिन् । ती दिदीले महिलाहरूले भारत गएर पुरुषको भन्दा पनि बढी पैसा कमाउन सकिन्छ भनेपछि आफू लोभिएको मनीषाले बताइन् । उनले भनिन्, “ती दिदीले ‘आफूले चाहेअनुसारको काम पाइन्छ र भनेजति नै पैसासमेत दिने गर्दछन्’ भनेपछि मैले बुबाआमालाई घरमा आफन्त दिदीसँग भारत गएर रोजगारी गर्ने बताएकी थिएँ ।”

सुरुमा उनलाई बुबाआमाले भारत जान दिएनन् । तर निक्कै कर गरेपछि बुबाआमाले भारत जाने अनुमति मनीषालाई दिएका थिए । “भागेर भए पनि जान्छु भनेपछि छैटौं पटकमा बुबाआमा सहमत हुनुभएको थियो,” उनले भनिन् ।

जेठ १७, २०७४ मा ती दिदीसँग भारत गएकी मनीषाले मितिसमेत सम्झेकी छन् । “भारत जाने समयमा दिदीले मलाई नगद ५ हजार रुपैयाँ दिएकी थिइन्,” उनले भनिन्, “दिदीले त्यो पैसा भारतमा मलाई काम दिने मालिकले नै दिएको भनेपछि त मलाई निकै खुसीसमेत लागेको थियो ।”

वनबासा हुँदै बरेली पुगेपछि ती दिदीमाथि शंका लाग्न थालेको उनले बताइन् । “बाटोमा ती दिदीलाई धेरै फोन आइरहेको थियो, बरेली पुगेपछि पनि ३ जना अनुहार ढाकेका मान्छे हामीलाई लिन आएका थिए,” उनले शंकाको कारण खुलाइन् ।

ती दिदीले काम दिने उनै हुन् भनेर तीन जनालाई चिनाएकी थिइन् । “तीनै जना भारतका थिए, उनीहरूसँगै जाने कुरा गरेपछि मेरा पाइला अगाडि बढ्न नै सकेनन्,” मनीषाले भनिन् ।

आफूले जान आनाकानी गरेपछि ती दिदीले ३ जनामध्येको एक जनासँग एकान्तमा गएर कुराकानी गरिन् । त्यसपछि उनीहरूले मनीषालाई सँगै जान झनै दबाब दिए । मनीषा भन्छिन्, “मैले  जान्नभन्दा ‘काम गर्नुअघि नै ५ हजार रुपैयाँ दिएका छन्, यत्रो खर्च गरेर तिमीलाई घरदेखि यहाँसम्म ल्याएकी छु, अहिले आएर जान्न भन्छेऊ,’ भनेर दिदीले मलाई थर्काउन थालेकी थिइन् ।”

उनीहरूको रुखो बोलीले आफूलाई डर र शंका लागिरहेको मनीषा बताउँछिन् । त्यसपछि आफूले हिम्मत जुटाएर ‘म जादिनँ, जबरजस्ती गरे सबैलाई भन्छु’ भनेपछि उनीहरूले कर गर्न छाडेको र आफू बस चढेर घर फर्केको उनले जानकारी दिइन् । “त्यसपछि ती दिदीसँग सम्पर्क भएन,” मनीषाले भनिन्, “हिम्मत नगरेको भए भारतको कुनै कोठीमा पुग्थेँ होला ।”

यसबारेमा अहिलेसम्म आफूले घरपरिवार र बाबुआमालाई पनि भन्न नसकेको बताउँदै मनीषाले ती दिदीको नाम नखुलाइदिन आग्रह गरिन् ।

जुवातासले पनि बेचबिखन

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरमा बसोबास गर्दै आएकी हलिया कमैया समुदायकै कुसुम (परिवर्तित नाम) बुबाले रक्सी खाने र जुवातास खेल्ने पैसाका लागि आफूलाई बेचेको बताउँछिन् । “म ७ वर्षकी हुँदा बुबाले जुवातासमा बेचेका थिए,” उनले भनिन्, “जब म ठूली भए अनि बुबाले बेचेको ठाउँबाट भागेर आएँ ।”

Victim-Haliya-Mukta-Kamaiya-Community-1743667761.jpg
कुसुम । तस्बिर : ईश्वरी नेगी/निमजिन

उमेर बढ्दै गएपछि सबै कुरा बुझेको र आफू भागेर आएको उनले जानकारी दिइन् । भारतमा बेचिएकी उनले आफू भागेर आउँदा बुबाको निधन भइसकेको बताइन् ।

आफूलाई भारतमा घरको काम गर्न लगेको र धेरै दुःख पाएको उनी बताउँछिन् । “मैले निकै दुःख पाएको थिएँ,” कुसुमले भनिन्, “बुबाले गर्दा मेरो पूरै बाल्यकाल अन्धकारमा बितेको थियो ।”

सानो उमेरमा अरूको घरमा पाएको त्यो कष्टकर समयलाई अहिले पनि सम्झिँदा निकै पीडा हुने उनले बताइन् । उनले भनिन्, “त्यो कलिलो उमेरमा आफूमाथि भएको त्यो शोषण मेरा लागि एक मृत्युसरह नै थियो ।”

एचआईभी संक्रमणपछि कोठीबाटै निकालिन्छन्

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को नगर विकासको जमिनमा बसोबास गर्दै आइरहेकी ३९ वर्षीया बिमला (परिवर्तित नाम) साउन २७, २०६३ सालमा सिमलाको कोठीबाट निकालिएकी हुन्  ।

एचआईभी एड्सको संक्रमण देखिएपछि २० हजार भारतीय रुपैयाँ दिएर कोठीबाट घर पठाइदिएको उनले बताइन् । कोठीमा लामो समय बसेर बुढी हुन लागेका महिलाहरूलाई झाडु, पोछा, भाँडा मजाउने र लुगा धुवाउने काममा लगाउने गरिन्छ । रोगी, बिरामी हुँदा अलिकति पैसा दिएर कोठीबाट नै निकालिने गरिन्छ ।

१८ वर्षको उमेरमा आफ्नै बुबाले दुई बहिनीसहित आफूलाई बेचेको बिमला बताउँछिन् । भारतबाट आएका ३ जना व्यक्तिलाई बुबाले केराउ टिप्ने कामका लागि भन्दै सिमला पठाएको उनले बताइन् । केराउ टिप्ने काम भने पनि ती व्यक्तिले सिमलाको कोठीमा पुर्‍याएको उनले सुनाइन् ।

कोठीमा पुगेपछि ३३ हजार नेपाली रुपैयाँमा बुबाले ३ छोरीलाई बेचेको थाहा पाएको उनले बताइन् । सुरुमा बहिनीहरूसँगै एउटै कोठीमा भए पनि पछि उनीहरूलाई कोठी सञ्चालकले अन्तै पठाएको बिमलाले बताइन् ।

भाग्ने कोसिस गरे पनि नसकेपछि लामो समय कोठीमै बस्न बाध्य भएको बिमला बताउँछिन् । उनी भन्छिन्, “कोठीमा एउटा महिला थिइन्, जसलाई सबैले ठकुराइन भनेर बोलाउने गर्दथे । हरेक व्यक्तिहरूले उसले भनेको आदेशअनुसार नै चल्नुपर्ने हुन्थ्यो । उसलाई देख्दा नै परैबाट डर लागेर आउँथ्यो ।”

(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments