डोल्पामा शारीरिक रूपमा अपांगता भएकी रूपा (परिवर्तिन नाम) साउन २५, २०८१ मा बलात्कारमा परिन् । १८ वर्षकी रूपा उमेरअनुसार परिपक्व छैनन् । शारीरिक र मानसिक रूपमा अलिक कमजोर रहेकी उनी स्पष्ट बोल्न र राम्रोसँग हिँड्न सक्दिनन् । उनको खुट्टामा समस्या छ ।
रूपा बलात्कारमा परेको थाहा भएपछि आरोपी रोल्पाका २९ वर्षीय जितमान रोकालाई प्रहरीले पक्राउ गरेर एक रात थुनामा पनि राखेको थियो । तर आरोपीले रूपालाई विवाह गर्छु भन्ने आश्वासन दिएपछि मौखिक रूपमा मिलापत्र गरेको रूपाका हजुरबुबाले बताए । मिलापत्रपछि आरोपी थुनाबाहिर आए र फरार भए ।
”अपांगता भएकी नातिनीलाई विवाह गर्ला र सुख देला भनेर मिलापत्र गरेको,” हजुरबाले पश्चात्ताप गर्दै भने, “तर केटाले धोका दियो, प्रहरीमा उजुरी त गरेको छु, तर केटा फरार हुँदा नातिनीले न्याय पाउन सकिनँ ।”
रूपाको मुद्दामा बलात्कारका आरोपीसँगै पीडितको विवाह गराउने गरी मौखिक मिलापत्र भएको थियो, जुन आफैंमा गम्भीर अपराध हो ।
मुलुकी अपराध संहिता, २०७४ ले करणीसम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न नहुने व्यवस्था गरेको छ ।
कसैले मिलापत्र गराएमा त्यस्तो व्यक्तिलाई ३ वर्ष कैद, ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि मुलुकी अपराध संहिता, २०७४ मा गरिएको छ । तर पनि भौगोलिक रूपमा विकट डोल्पामा बलात्कार तथा महिला हिंसाका घटना भइरहेका छन् र ती घटना कानुनविपरीत मिलापत्र गराइन्छ भन्ने एउटा उदाहरण माथिको घटना हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले भने यो मुद्दामा केटाले मादक पदार्थ खाएर होहल्ला गरेको भन्ने मौखिक उजुरीका आधारमा पक्राउ गरिएको र भोलिपल्ट रिहा गरिएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता राजेश बस्नेतले घटना हुँदा आफू यो कार्यालयमा नरहेको बताउँदै भने, “त्यो घटनाका बारेमा बुझ्दाखेरी केटाले रक्सी खाएर होहल्ला गरेको भनेर उजुरी परेको र भोलिपल्ट छाडेको भन्ने छ ।”
केही गरी घटना बाहिरिएमा पछि गएर महिलालाई समाजमा बाँच्नै गाह्रो पर्ने भएकाले पनि पीडित मौन रहने गरेका छन् । कुनै–कुनै घटनामा बल्लतल्ल उजुरी गर्न आए पनि मुद्दा दर्ता भएपछि अदालतलमा पीडितले बयानसमेत फेर्ने गरेका छन् । असोज १५, २०८१ मा जिल्ला अदालत डोल्पामा दायर भएको एउटा बलात्कारको मुद्दामा पीडित किशोरीले बयान फेरेकी थिइन् ।
पीडित किशोरीले अदालतमा बयानमा भनिन्, “घटनास्थलमा प्रतिवादीले ममाथि ज्यादती गरेको हो, जबर्जस्ती करणी उद्योग गरेको होइन, म बिरामी भएको कारण र गाउँलेहरूले यसलाई जाहेरीसँग मेल खानेगरी लेखाउ भनेकाले उक्त व्यहोरा लेखाएकी हुँ ।”
पीडितकै बयानलाई आधार मानेर डोल्पा जिल्ला अदालतले फागुन २०, २०८१ मा आरोपीलाई सफाइ दिएको थियो । न्यायाधीश चन्द्रदेव भारतीले गरेको फैसलामा लेखिएको छ, “घटनाको मुख्य व्यक्ति स्वयं पीडित जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिवादीले ममाथि ज्यादती गरेको हो, जबर्जस्ती करणी उद्योग गरेका होइनन्, प्रतिवादीले हातपात मात्र गरेको हुँदा जबर्जस्ती करणी उद्योगमा सजाय हुनुपर्ने होइन भनी स्पष्ट रूपमा आफैंले दिएको जाहेरीविपरीत लेखाइदिएकी....”
अदालतमा बयान फेरेकी किशोरीका बुबाले भने त्रासका कारण छोरीले बयान फेरेको बताए । “घटना भएको केही दिनमै प्रहरी उजुरी दिएको हो,” उनले भने, “तर बारम्बार धम्की दिँदै फोनहरू आउन थालेपछि छोरीको सुरक्षा नहुने देखिएपछि बयान फेरेको हो ।”
उनले डोल्पामा पीडितले न्याय पाउनु निक्कै नै जटिल रहेको बताए । उनले पछि गएर छोरीलाई नै गाह्रो पर्लाजस्तो लागेपछि घटनालाई पुष्टि गर्ने प्रमाणहरू संकलन गर्न छोडेको र आरोपीले सफाइ पाएको स्पष्टीकरण पनि दिए ।
गैरसरकारी संस्था महासंघका सचिव रणबहादुर कार्की डोल्पासहित भौगोलिक रूपमा विकट ठाउँहरूमा अझै पनि बलात्कारलाई जघन्य अपराधका रूपमा नलिने गरिएको अनुभव सुनाउँछन् । ‘‘पीडित आफैं सक्रिय भएर कानुनी उपचार खोज्ने परिपाटी देखिँदैन,’’ कार्कीले भने, ‘‘कहाँ जाने, कसरी कानुनी उपचार खोज्ने र भोलि गएर कसले बहस गर्नेजस्ता कुराको जानकारीको अभावले गर्दा यस्ता घटना बाहिर नै आएका छैनन् ।’’
न्याय दिने प्रणालीप्रति विश्वास नभएकाले पनि पीडितहरू अन्याय सहेर बस्ने गरेको कार्की बताउँछन् । ‘‘जिल्लामा गएर के गर्ने ? त्यहाँ भनसुन गरिहाल्छन्, हाम्रो मान्छे कोही छैन, हाम्रो नेता कोही छैन भन्ने छ,” कार्कीले भने, “बरु यतै गाउँमा बस्ने, सकेसम्म नभन्ने र यही मिल्ने बुझाइ पीडितमा छ ।’’
बाहिर आएका घटना पनि सकभर मिलापत्र गराउन खोज्ने र नभएपछि मात्रै मुद्दा मामिलामा जाने गरेको पनि पाइन्छ । भदौ ११, २०८१ र त्यसको भोलिपल्ट गरी २ पटक बिन्दु (परिवर्तित नाम) बलात्कारमा परेकी थिइन् । तर उनी बलात्कारमा परेको झन्डै डेढ महिनापछि मात्र थाहा भयो, त्यो पनि उनी गर्भवती भएर पेट दुखेपछि अस्पताल जँचाउन गएकाले ।
“तपाईंकी छोरी गर्भवती छिन्, पेटमा बच्चा छ,” पेट दुख्यो भनेर अस्पताल आएकी १५ वर्षकी बालिका बिन्दुको स्वास्थ्य जाँचपछि डाक्टरले भनेका कुरा उनकी आमा माया (परिवर्तित नाम) ले अहिले पनि सम्झिरहेकी छन् ।
डोल्पा जिल्ला अस्पतालका डाक्टरको भनाइ सुनेर उनलाई आकाश खसेजस्तै भयो । ‘‘हो कि हैनजस्तै लाग्यो, एकछिन् त म अक्क न वक्क भएँ,’’ बालिकाकी आमा मायाले त्यो दिन सम्झिँदै भनिन् ।
दुनैमा भाडाको कोठमा बसेर व्यापार व्यवसाय गर्दै आएकी मायाले त्यसपछि छोरीलाई कोठामा ल्याएर सोधपुछ गर्न थालिन् । सोधपुछका क्रममा गाउँकै यज्ञ विकले छोरीलाई बलात्कार गरेको खुलेको मायाले बताइन् ।
गर्भवती नभएको भए उनीमाथिको यो अपराध कहिल्यै सार्वजनिक नहुन पनि सक्थ्यो । किनकि आफूभन्दा दोब्बर बढी उमेरको व्यक्तिले बिन्दुलाई घटना सार्वजनिक गरेमा मार्ने धम्की दिएका थिए । “उसले ‘डाक्टर अनि मम्मी कसैलाई भनिस् भने काटिदिन्छु’ भनेको थियो,” हामीसँगको कुराकानीमा बिन्दु एकछिन् चुपचाप भइन् ।
छोरी गर्भवती भएको थाहा पाएपछि मायाले आरोपी यज्ञलाई कोठामा बोलाएर छलफल गरिन् । छलफलकै क्रममा ५ मिनेटमा आउँछु भनेर कोठाबाट निस्किएका यज्ञ फर्केर आएनन् । त्यसपछि मात्र माया छोरीमाथि बलात्कार भएको भन्दै उजुरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन् ।
आरोपी यज्ञ अहिले थुनामा छन् भने यो मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । प्रहरीसँगको बयानमा यज्ञले तीजको जात्रा नाच हेर्ने क्रममा भदौ १० गते चिनजान भएको ११ र १२ गते भेट भएको र भदौ १७ गते सहमतिमै शारीरिक सम्बन्ध राखेको स्विकारेका छन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्, “...१७ गते निजपीडित मेरो कोठामा आई मेरो आमा हुनुहुन्न तपाईं मेरो कोठामा आउनु, सँगै बसौँला भनेपछि सोही राति म १ बोतल मादक पदार्थ (रक्सी) सेवन गरी निजको कोठामा गई ....दुवै जनाको सहमतिमा निज पीडितसँग शारीरिक सम्बन्ध राखेको हुँ ।”
यज्ञले सहमतिकै शारीरिक सम्बन्ध राखेको दाबी गरे पनि यो जबर्जस्ती करणी अर्थात बलात्कार नै हो । मुलुकी अपराध संहिता, २०७४ ले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने भनेको छ ।
परिवार र छिमेकीबाट मिल्न दबाब
प्रहरीमा गरेको उजुरी फिर्ता लिन मायालाई त्यो बेलामा नै परिवारका सदस्य र छिमेकीहरूले दबाब दिएका थिए । अहिले अदालतमा मुद्दा विचाराधीन हुँदा पनि उनले यस्तो दबाबको सामना गरिरहनुपरेको छ ।
‘‘केटा पक्षले ४/५ लाख दिएर कुरा मिलाएर केसलाई साइड लगाउने भन्छन् रे,’’ मायाले भनिन् । उनी अहिले आफ्नी नाबालक छोरीलाई जबर्जस्ती करणी गरेर गर्भवती बनाउने प्रतिवादीले कानुनबमोजिम हदैसम्मको सजाय होस् भन्ने चाहन्छिन् । बयान बदल्ने र मिल्ने सोचमा आफू नरहेको मायाले बताइन् ।
रूपाकै मुद्दामा पनि आरोपी पक्षबाट मिल्न दबाब आएको उनका हजुरबुबा बताउँछन् । आरोपी थुनामा परेपछि मिल्न दबाब आएकैले आफूले सहमति गरेको र आरोपी थुनामुक्त भएपछि फरार भएको उनले बताए ।
पीडित पक्षलाई मिलेसम्म मेलमिलाप गराउने र पैसाको पावर देखाएर मुद्दालाई पाखा लगाउने प्रवृत्ति रहेको सामाजिक अभियन्तासमेत रहेका कार्की स्वीकार गर्छन् ।
डोल्पामा बलात्कार तथा घरेलु हिंसाका घटना बाहिर नआउनुको मुख्य कारण भनेको यहाँको सामाजिक तथा पारिवारिक संरचना हो । कुनै कुनै घटनामा राजनीतिले पनि फरक पार्ने कार्की बताउँछन् । ‘‘त्यो आफ्नो गाउँको हो, आफ्नो पार्टीको मान्छे हो भन्ने हिसाबले पीडितलाई अलिअलि पैसा र दबाब दिएर मिलाउने चलन त देखिन्छ,’’ कार्की भन्छन् ।
पीडित सधैं समस्यामा
बलात्कारमा परेर गर्भवती भएको थाहा भएपछि डोल्पा जिल्ला अस्पतालले बिन्दुलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा रेफर गरेको थियो । कात्तिक ११, २०८१ मा सुर्खेतमा भिडियो एक्स–रे गर्दा उनको पेटका बच्चा ८ हप्ता ६ दिनको देखिएकाले डाक्टरले १२ हप्तापछि मात्रै गर्भपतन गर्ने भनेको उनकी आमा माया सम्झिन्छिन् । “त्यसपछि म छोरीलाई सुर्खेतकै एउटा सुधार केन्द्रमा छाडेर डोल्पा फर्केको थिएँ,” मायाले भनिन् ।
त्यसपछि मंसिर ५ मा अस्पताल भर्ना गरेर ६ गते औषधिको सहायताले छोरीको गर्भपतन गरिएको मायाले जानकारी दिइन् । गर्भपतन गराएपछि छोरी अझै पूर्ववत् स्थितिमा नआएको उनले सुनाइन् । गर्भपतन गरेको ४ महिना बढी भइसक्दा पनि बिन्दुलाई पेट दुख्नुको साथै रक्तश्राव पनि हुने गरेको मायाले बताइन् ।
सुर्खेत प्रादेशिक अस्पतालका वरिष्ठ नर्सिङ अफिसर कल्पना थापा कम उमेरका बालिकाको गर्भपतन गराउँदा पछिसम्म मानसिक र शारीरिक जटिलता देखिने गरेको बताउँछिन् । रगत बग्ने, पेट दुख्ने र कसैमा पाठेघरमा प्वाल पर्ने समस्यासमेत देखिने गरेको थापाले बताइन् ।
बलात्कारले एउटा किशोरीमाथि कतिसम्म असर गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण रूपा पनि बनेकी छन् । उनलाई त्यो घटनाले यतिसम्म पीडा दियो कि उनी घटना भएको करिब ८ महिना भइसक्दा पनि सामान्य अवस्थामा फर्किन सकिरहेकी छैनन् ।
‘‘दुई/तीन चोटि भेरीमा हामफाल्नसमेत गई,’’ रूपाका हजुरबुबाले भने, “नातिनीलाई सम्हाल्न निकै गाह्रो भएर मैले प्रहरी र स्थानीय सहायतासमेत मागेको थिएँ ।”
त्यसपछि उनलाई सुर्खेतको सुधार केन्द्रमा लगिएको थियो । अहिले उनलाई दिदीले काठमाडौं लगेको रूपाका हजुरबुबाले बताए । अपांगता भएकी रूपालाई सहयोग गरेर बस्न र खान दिने संस्थाको खोजीमा रहेको पनि उनले बताए ।
दुर्गम डोल्पामा कुनै पनि आघात पर्ने घटनामा परेका व्यक्तिहरूलाई परामर्शका लागि कुनै निकाय छैनन् । “जिल्लामा परामर्श दिने, सरसल्लाह दिने संघसंस्था नहुँदा पनि समस्या भयो,” रूपाका हजुरबुबाले भने ।
(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।