Navigation
सांस्कृतिक पहिचान र अस्तित्व गुमाउने खतरामा उपल्लो मुस्ताङ Ghanshyam Khadka | Mar 24, 2025

दक्षिणतिर लहरैका नीलगिरि नर्थ, तिलिचो पिक, हिउँथुम्को, मनाङ, दामोदर हिमाल, भृकुटी शैल हिमाल, गौगिरि र लुगुला हिमाल । दक्षिणपश्चिमतर्फ चीनको सीमावर्ती छुआमा पिक शृंखला, चुङ्गेन चाङ्गम, घ्युन हिमाल, मनसयललगायतका हिमाल । दक्षिणबाट उत्तरतिर होचिँदै गएको भूबनोट । खैरो र क्षारीय माटोका पहाड । सुक्खा हावापानी । बोटबिरुवा र हरियालीविहीन चिसो मरुभूमिको भौगोलिक बनावट भएको उपल्लो मुस्ताङ ।

investigation-1719398034.pngयही उपल्लो मुस्ताङमा माटोको पर्खालले घेरिएको एउटा बस्ती छ– लोमन्थाङ ।

बस्तीभित्रै छ– लोमन्थाङ दरबार ।

बस्तीको नामबाटै यो गाउँपालिकाको नाम राखिएको छ– लोमन्थाङ ।

उपल्लो मुस्ताङका लोमन्थाङ र छिमेकको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको भूबनोट उस्तै छ ।

उपल्लो मुस्ताङमा माटोका पहाड खोपेर मानिसले बसोबास गरेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका गुफाहरू पनि छन् । पुरातत्त्वविद्हरूका अनुसार यहाँ फेला परेका सामग्रीले यी गुफा नवपाषाण युगका भएको प्रमाणित गरेको छ । धातु युग प्रारम्भ हुनुभन्दा पहिले र मध्य युगभन्दा पछि ढुंगाका हतियार र सामान प्रयोग गर्ने समयलाई नेपाली बृहत् शब्दकोषले नवपाषाण युग भनेको छ ।

दरबार र गुफामाथि उपल्लो मुस्ताङका बौद्ध गुम्बाहरूले ऐतिहासिक र पुरातात्त्विक महत्त्व थपेका छन् । यहाँका गुम्बा, दरबार तथा निजी घरहरू परम्परागत शैलीले बनेका छन्, जुन ऐतिहासिक र पुरातात्त्विक हुन् । दरबार, गुफा र गुम्बाले लोमन्थाङ स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पनि परिचित छ ।

तर उपल्लो मुस्ताङका मध्ययुगीन बस्ती र यहाँका सांस्कृतिक सम्पदा जलवायु परिवर्तनका कारण देखिने संकटसँग जुधिरहेका छन् । आन्तरिक र बाह्य पर्यटक लोभ्याउने लोमन्थाङका पुरातात्विक सम्पदा मात्र नभएर पछिल्लो समयमा समग्र उपल्लो मुस्ताङकै अस्तित्व संकटमा पर्ने चिन्ता स्थानीय बासिन्दाले गर्न थालेका छन् । अध्ययन र अनुसन्धानले पनि उपल्लो मुस्ताङका प्राकृतिक तथा ऐतिहासिक सम्पदा संकटमा पर्न सक्ने औंल्याएका छन् ।

lomanthang-1-1742615790.jpg
लोमन्थाङ बस्ति । तस्बिर : घनश्याम खड्का/निमजिन

नेपाल सरकारले विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि सन् २००८ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) समक्ष सिफारिस गरेकोइतिहास, संस्कृति र कला वास्तुकलाको दृष्टिले महत्त्वपूर्ण सम्पदा हो । नेपाली बृहत् शब्द कोषले सम्पदालाई सम्पत्ति, वैभव वा धन भनेर अर्थ्याएको छ । सम्पदाको अंग्रेजी रूपान्तरण हेरिटेज शब्दले पूर्वजहरूबाट हस्तान्तरित हुँदै आएको अवस्था वा परिस्थिति भन्ने अर्थ दिएको छ ।

युनेस्कोले गरेको व्याख्याअनुसार पुर्खाहरूबाट परम्परागत रूपमा हस्तान्तरण हुँदै आएको परम्परा, कला, सामाजिक अभ्यास, ज्ञान, सीप, शिल्पी, धर्म जसले मानिसलाई पहिचान र आफ्नोपना अनुभूति गराउँछ । सांस्कृतिक सम्पदाले विगत, वर्तमान र भविष्यसँग जोड्छ, आफ्नो पहिचान गराउँछ र अपनत्वको बोध गराउँछ ।

सांस्कृतिक सम्पदा कुनै वस्तु मात्र हैन, एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका स्थानीय समुदायको भाषा, ज्ञान र पहिचानका विषय हुन् । सम्पदा हेरेर अघिल्लो पुस्ताको जीवनशैली, संस्कृति बुझ्नेदेखि समाजको उत्पत्तिदेखि वर्तमानसम्मको परिवर्तनको शृंखला स्पष्ट हुन्छ ।

जलवायु परिवर्तनको प्रभावले घट्दो हिमवर्षा, बढ्दो तापक्रम र वर्षा तथा पग्लदो हिउँका दृश्यले हिमालपारिको मुस्ताङको प्राचीन सभ्यता, संस्कृति र पहिचानमा ‘मन्दविष’ साबित हुँदै छ ।

जलवायु परिवर्तनको प्रभाव र असरले उपल्लो मुस्ताङमा आर्थिकसँगसँगै गैरआर्थिक क्षतिहरू भइरहेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय ढाँचामा आधारित सम्मेलन, २०१२ अनुसार सामाजिक, सांस्कृतिक धरोहर नष्ट हुने, रैथाने सीप र ज्ञान तथा पहिचान नासिने तथा जैविक विविधता र पारिस्थितिक प्रणालीमा हानि नोक्सानी पुग्नु गैरआर्थिक क्षति हो । जुन क्षति उपल्लो मुस्ताङले भोगिरहेको छ ।

माटोका घर हराउने चिन्ता

पानी पार्ने बादललाई अन्नपूर्ण–धौलागिरि हिमशृंखलाले छेक्ने हुँदा मुस्ताङमा छायावृष्टि हुन्छ र यहाँ सुक्खा चिसो हावा बहने गर्छ । हिउँ, वर्षा र चिसो हावाको असरबाट अनुकूलित हुन मुस्ताङका परम्परागत घर र गुम्बाहरू काँचो माटोको इँटाले बनाइएका छन् ।

घरका छाना पनि माटोकै हुन्छन् । पानीले माटो बग्न नदिन छानाको डिलमा दाउराको चौघेरा राखेर बनाइएका मुण्डेघर मुस्ताङवासीको पहिचान र संस्कृति बनेको छ । पुर्खाहरू पाषाण युगीन गुफामा बस्ने गरे पनि सन्ततिहरूले गुफाबाट निक्लेर माटोको पर्खाल, माटोकै छाना र माटैले लिपपोत गरी घर बनाएर बसेको पाइन्छ ।

lomanthang-1742615542.jpg
लोमन्थाङका घरहरू । तस्बिर : घनश्याम खड्का/निमजिन

परम्परागत पुराना घरहरू पानी कम पर्ने र हिउँ धेरै पर्ने मौसमले असर नगर्ने खालका छन् । रैथाने सीप, ज्ञान र प्रविधिमा माटो जमाएर बनाइने काँचो माटोको इँटाबाट निर्माण गरिएका मुस्ताङका घरले स्थानीय जलवायु र वातावरणसँग गहिरो सम्बन्ध राख्छन् ।

तर जलवायु परिवर्तनको कारणले बढ्दो खडेरी, अनियमित र अस्वाभाविक वर्षाले काँचो माटोले बनेका यी घरका छत र पर्खालहरूमा असर परिरहेको छ । पुर्खाले हस्तान्तरण गरेको रैथाने सीप, ज्ञान र वास्तुकलायुक्त माटोका घरहरू जोगाउन नयाँ पुस्तालाई हम्मे परेको बताउँछन्, लोमन्थाङ गाउ“पालिका– ५ का वडा सदस्य छवाङ रिन्जिन लोवा । लोवा आफैं पनि परम्परागत माटोका घर निर्माण गर्ने सीप भएका सिकर्मी हुन् ।

उनका अनुसार सामान्यतः मुस्ताङका माटोका घरहरू पनि पहाडका ढुंगेघरहरूजस्तै जगमा ढुंगा राखेर माटोले जमाइन्छ । घरको जग राखेपछि जमिनभन्दा माथिको पर्खाल भने खास प्रकारको चिम्ट्याइलो माटोको लेदो ठूला र लामो आकारका काठका फ्रेममा राखेर इँटाजस्तै जमाइन्छ ।

बेंसी क्षेत्रका इँटा आगोमा पोलिन्छ, तर यहाँका इँटा भने एक हप्तादेखि १० दिनसम्म घाममा सुकाएपछि तयार हुन्छ । यसरी बनेका माटोको इँटा पर्खालमा राखेर माटोको लेदोले नै जमाइन्छ । यसरी बनाएको घरको पर्खाललाई माटोले भित्र बाहिरबाट चिम्ट्याइलो माटोले राम्ररी लिपे (आरसीसी घरमा प्लास्टर गरेझैँ) पछि घर बलियो हुन्छ ।

उपल्लो मुस्ताङका सबै प्राचीन दरबार, आवासीय घर, गुम्बा, विद्यालय वा अन्य सामुदायिक भवनहरू यसरी नै निर्माण भएको दाबी गर्छन् लोवा । मुस्ताङी माटोका भवनहरूमा प्रयोग हुने ढोका, झ्याल, दलिन, निदाल, छानामा एउटै मात्र ज्याङ्मा (भोटे पीपल) जातको काठ प्रयोग हुन्छ । अर्थात मुस्ताङका घरहरूको भार थेग्ने एक्लो काठ हो, भोटे पीपल । यो काठको मूल रूख काटेपछि सोही ठाउँबाट धेरै अरू काइना पलाउँछन् ।

परम्परागत शैलीका मुण्डे घर बनाउन छानामा रैथाने प्रविधिमा सुधार गरी निदालहरू राखेपछि निदालमाथि ज्याङ्माको हाँगा, काठसँगै टुक्च्यमा, म्याँ, तोरा र छेम्मा काँडा राखेर गिलो/लेदो माटो राख्दै थिच्दै साह्रो बनाउने गरिन्छ ।

तर पछिल्लो समयमा जलवायु परिवर्तनको असर र आधुनिकीरणको प्रभावबाट अनुकूलित हुन परम्परागत रैथाने ज्ञान र सीपमा आधुनिकता जोड्न थालिएको छ । माटोको सहर लोमन्थाङका साथै चराङ, घमी, छोसेरसमेतका मुख्य बस्तीमा नयाँ घर/भवन बनाउँदा रड, सिमेन्ट र कंक्रिट राखिएको आरसीसी पिलर राख्ने र परम्परागत माटोको काँचो इँटामा सुधार गरी इन्टरलक इँटा बनाई पर्खाल लगाउने र माटोले नै लिपपोत गर्ने गरिएको छ ।

घरको छाना पनि परम्परागत शैलीका मुण्डे बनाउने, छानामा रैथाने प्रविधिमा सुधार गरी निदालहरू राखेपछि निदालमाथि प्लाइउड राखेर त्यसमा जस्तापाता वा प्लास्टिक राखेर माटो नै राख्न थालिएको छ । यसो गर्दा छतबाट पानी रसाएर चुहिने समस्या टरेको छ ।

तर स्थानीय बासिन्दालाई नयाँ प्रविधिले परम्परागत सीप र शैली हराउने चिन्ता थपिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट भन्छन्, “हामीले गर्दै नगरेको गल्ती, जलवायु परिवर्तनको नकारात्मक असर मुस्ताङमा देखिन थालिसक्यो, अहिलै ठूलो समस्या नआउला, तर एक–दुई सय वर्षपछि मुस्ताङको अहिलेको यो चिनारी र पहिचान नासिन्छ कि भन्ने डर छ ।”

उपल्लो मुस्ताङजस्ता सांस्कृतिक बस्तीहरूमा जलवायु परिवर्तनले पारेको प्रभाव र असर तथा भविष्यमा विकास पूर्वाधारसमेतका संरचना कसरी बनाउने भनेर गाइड लाइन बनाउने तयारी भइरहेको पुरातत्त्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले बताइन् ।

माटो आफैं तापको कुचालक वस्तु (इन्सुलेटिङ मेटिरियल) नभए पनि यसमा रहेको तापीय पिण्ड (थर्मल मास) ले गर्दा माटोले तातो, चिसो सोसेर राख्छ, सञ्चार गर्दैन, त्यसैले माटोको गारोबाट बनेका घरमा  जाडोमा न्यानो र गर्मीमा शीतल महसुस गर्छौं । ढुंगा र सिमेन्टले चिसो र तातो सोसेर राख्न सक्दैनन्, सञ्चार गर्ने भएकाले बढी चिसो हुन्छ ।

वस्तुहरूको विशिष्ट तापधारण क्षमताको कारण छिटो तात्ने वस्तु छिट्टै सेलाउने र ढिलो तात्ने वस्तु ढिलो सेलाउने भएकाले आरसीसी घरहरू गर्मीमा धेरै तातो र चिसोमा अति चिसो तथा ढुंगामाटोका घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णु पौडेल बताउँछन् । उनी भन्छन्, “आरसीसी घरहरूमा बाक्लो भित्ता बनाउने, भित्ता प्लास्टर गर्दा बालुवाको सट्टा भुस वा काठको धूलोको मिश्रणबाट गर्न सके घरलाई न्यानो राख्न सकिन्छ ।”

पुरातत्त्व विभागका पुरातत्त्वविद् देवेन्द्र भट्टराईका अनुसार मुस्ताङीहरू जलवायु परिवर्तनको मारबाट जोगिन स्थानीय बासिन्दाले महँगो मूल्य तिरेरै कंक्रिट घर बनाउने गरेका भए पनि त्यो वातावरणमैत्री भएन भन्ने गुनासा पनि छन् ।   

मुस्ताङजस्तो अधिक चिसो हुने उच्च हिमाली क्षेत्रमा आरसीसी भवनहरू सांस्कृतिक तथा आर्थिक रूपमा मात्र होइन, स्वास्थ्यका लागिसमेत अनुपयुक्त हुन् । यसले पहिचान गुमाउने खतरा बढेको गुनासो स्थानीय राजनीतिकर्मी तथा अगुवा इन्द्रधारा विष्टको छ ।

प्रयोगविहीन दरबारको गोठालो कुकुर

lomanthang-Darbar-1742613939.jpg
लोमन्थाङ दरबारको बार्दलीमा भोटे कुकुर । तस्बिर : घनश्याम खड्का/निमजिन

लोमन्थाङको मुख्य आकर्षण मध्येको एक हो– लोमन्थाङ दरबार । दरबारलाई स्थानीय भाषामा टशि ल्हुनढुव लिङ भनिन्छ । लोमन्थाङ बस्तीको पूर्वभागमा लोमन्थाङका प्रथम राजा अम पालले इस्वी सम्वत् १४४० मा यो दरबार निर्माण गरेका हुन् ।

लोमन्थाङ गाउँपालिका–५ मा पर्ने पाँचतले लोमन्थाङ दरबारलाई ०७२ सालको भूकम्पले क्षति गरेपछि जीर्णोद्धार गरिएको भए पनि प्रयोगहीन छ ।

दरबारको स्वामित्व मुस्ताङका सांस्कृतिक राजा जिग्मे सिग्मे परवल विष्टसँग छ । विष्ट र उनको परिवारका साथै स्थानीयबासिन्दाको सहयोगमा दरबार मर्मत गरिएको थियो । उनी कहिले कहीँ उपल्लो मुस्ताङ आउँदा दरबारकै क्षति नभएको भागमा बस्छन् । विष्टले पुरानो लोमन्थाङ बस्तीबाहिर ‘रोयल मुस्ताङ रिसोर्ट’ पनि खोलेका छन् । 

दरबारको रेखदेका लागि हेरालु राखिएको छ । ती हेरालुले दरबारको भोटे कुकुरलाई खोलेपानी दिने र दरबारको रेखदेखको काम गर्छन् । स्थानीयबासिन्दाका अनुसार ती हेरालु बाहिर गएको बेलमा त्यो भोटे कुकुरले नै यो ऐतिहासिक तथा प्राचीन पुरातात्त्विक महत्त्व राख्ने लोमन्थाङ दरबार रुँघ्दै आएको छ ।

लोमन्थाङबाहेक घमी, चराङ र ठेंगरमा पनि दरबारहरू छन् । यी सबै दरबारको छाना तिब्बती मुण्डे शैलीका छन् । लोमन्थाङका निर्वतमान राजपरिवारको स्वामित्वमा रहेका यी दरबारहरू अहिले उपयोग, संरक्षण, ममर्तसम्भार नहुँदा खण्डहर बन्न पुगेका छन् । दरबारको धेरै भाग भत्केका छन् ।

lomanthang-Darbar-wall-1742616253.jpg
लोमन्थाङ दरबारको चर्किएको पर्खाल । तस्बिर : घनश्याम खड्का/निमजिन

जलवायु परिवर्तन र ग्लोबल वार्मिङको प्रभावसँगै आद्रता, तापक्रम र प्रकाशजस्ता वातावरणीय प्रभावले हिउँ पर्न छोड्नु र तापमान वृद्धिसँगै वर्षाको मात्रा बढ्न गएर माटोको पर्खाल (संरचनाहरू) भिजेर यी दरबार भत्कने स्थितिमा पुगेका हुन् ।

गुफासँगै लोप हुने खतरामा प्राचीन सभ्यता

स्थानीय भाषामा फुग् भनिने गुफाहरू लोमन्थाङ र मुस्ताङको धार्मिक एवं सामाजिक जीवनमा आकर्षणका केन्द्रहरू हुन् ।

यी गुफाहरू आफैंमा अद्वितीय मात्र छैनन्, यिनले प्राचीन मुस्ताङको जीवनलाई रहस्यमय बनाएका छन् । अक्करे भीरहरू खोपेर बनाइएका गुफाहरू विश्वकै रहस्यमयी पुरातात्त्विक विचित्रता हुन् ।

Jhong-cave-1-1742617715.JPG
झोङ गुफाको बाहिरी आवरण । तस्बिर : घनश्याम खड्का/निमजिन
Jhong-Cave-inside-1742617809.jpg
झोङ गुफाको भित्री भाग । तस्बिर : घनश्याम खड्का/निमजिन

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार मुस्ताङका विभिन्न गाउँछेउका भीरहरूमा करिब एक सयको हाराहारीमा मानव निर्मित गुफा छन् । यीमध्ये झोङ, मार्चुङ, निफु, गार्फुग, लुरी, चुन्सी, छ्योजोङ, मेद्राक, चैले, छुक्साङ, टुक्चे, कोवाङ, साम्जोङ प्रमुख हुन् । पाँचतले र १५० कोठा रहेको छोसेरको झोङ गुफा पर्यटकको आकर्षणको केन्द्रसमेत हो ।

लोमन्थाङका विभिन्न पहाड खोपेर निर्मित गुफाहरू लामा र झुमाहरूले आश्रयका रूपमा प्रयोग गरेको देखिन्छ । किम्बदन्तीअनुसार धेरै समयअघि तिब्बतबाट आउने लुटेराबाट बच्न गाउँलेहरू भीरको गुफामा लुक्थे र त्यहाँ आउने बाटो भत्काउने गर्थे ।

गुफाहरू प्रायः बस्तीनजिकका अक्करे भीरमा रहेकाले किम्बदन्ती निकट रहन्छन् । त्यसैगरी बौद्धधर्मका गुरुहरूले साधना गर्न पनि भीर खोपेर गुफा बनाई ध्यान, साधना र अध्ययन गर्ने गरेको पनि भनाइ छ ।

“पहिला–पहिला तिब्बततिरबाट आउने लुटेराबाट धर्मको रक्षा गर्न र धार्मिक गुरुहरूको साधनालाई सिद्धि प्राप्त गर्न यस्ता गुफाहरू बनाइएको हो,” लोमन्थाङका ८९ वर्षीय छिमी गुरुङले भने ।

मुस्ताङका गुफामा लुकेका मानव सभ्यता खोज्ने क्रममा पहिलो पटक सन् १९९२–१९९७ सम्म जर्मन र नेपालको पुरातत्त्व विभागका पुरातत्त्वविद्ले मुक्तिनाथको पारी मेद्राक पहाडको गुफामा ‘बाल ममी’ फेला पारेका थिए ।

पुरातत्त्व विभागको डीएनए परीक्षण अभिलेखअनुसार उक्त छालासहितको अस्थिपञ्जर २ हजार ४ सय १४ वर्ष पुरानो थियो । अध्ययनले इसापूर्व  ८०० सम्म यी गुफामा मानिसको बसोबास रहेको र ती गुफाहरू ढुंगेयुगदेखि प्रयोगमा आएको निष्कर्ष निकालेको छ ।

मुस्ताङका गुफाहरूमा मानव सभ्यताको अध्ययन, अन्वेषण तथा अनुसन्धानमा प्रत्यक्ष संलग्नमध्ये एक संस्कृति तथा पुरातत्त्वविद् डा.मदन रिमालका अनुसार मुस्ताङमा फेला परेका गुफा भगवान् बुद्ध जन्मनुभन्दा २ सय वर्षअघि अर्थात् इसापूर्व आठौं शताब्दीसम्मका पहिचान भएका छन् ।

“म संलग्न भै अध्ययन, अन्वेषण गरिएको मुक्तिनाथमुनि झारकोट पारिको गुफामा भेटिएका मानव कंकाल नै ३ हजार वर्षभन्दा पुराना थिए, गुफा अझ धेरै पुरानो हो,” डा. रिमालले भने ।

अमेरिकाको पश्चिम मिसिगन विश्वविद्यालयका जैवपुरातत्त्वविद् डा. ज्याकलिङ इङ, अमेरिकाकै क्यालिफोर्नियास्थित मर्सेट विश्वविद्यालयका डिन मानवशास्त्री मार्क एडलेन्डरपरसमेतको टोलीले पुरातत्त्व विभागको सहकार्यमा सन् २०११–२०१२ मा उपल्लो मुस्ताङका साम्जोङ गाउँ छेउको उर्केन री पहाडमा रहेका गुफा अन्वेषण गरेका थिए ।

त्यतिबेला प्राचीन मानव सभ्यता (पाषाणयुगकालीन) पुष्टि गर्ने इसापूर्व ७ सय वर्ष पुराना शव गृहमा मानव कंकाल, सुनका मुकुन्डो, मोतीका दानाहरूसमेतका पुरातात्त्विक महत्त्वका वस्तु फेला पारेको अन्वेषणमा संलग्न पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिए ।

जलवायु परितर्वत तथा ग्लोबल वार्मिङका कारण मनसुनी वर्षाको सट्टा हिउँदमा हिउँ मात्र पर्ने ठाउँमा हिउँदमा हिउँ पर्न छोडेर मनसुनमा भारी वर्षा हुन थालेपछि सृृष्टिको संरचनामै उल्टोपना देखिएको छ । जसले गर्दा गुफा अहिले नासिने जोखिममा छन् ।

माटोका दरबार, घर, गुम्बा र छोर्तेनसँगै गुफाहरू पानीले भिजेर भत्कन थालेको मुस्ताङका गुफाहरूको अध्ययन गरेका पुरातत्त्वविद् प्रकाश दर्नाल बताउँछन् । उनका अनुसार लोमन्थाङ गाउँपालिका २ मा पर्ने पुरानो साम्जोङ गाउँ पछाडिको उर्केनी पहाडमा रहेका इसापूर्व ७ सयभन्दा वर्ष बढी पुराना गुफाहरू वर्षापछिको भेलले बगाउँदै खोल्सा बनाएर गुफा भत्काएको छ ।

Samjong-Cave-1742616847.jpg
मानव कंकाल भेटिएको साम्जोङको गुफा, यो गुफा पानीले भत्कने जोखिम उच्च छ । तस्बिर : घनश्याम खड्का/निमजिन

दर्नालसँग सहमत रहेका डा. रिमाल पनि पानी नै नपर्ने मुस्ताङमा जलवायु परिवर्तनका कारण पानी पर्नेक्रम बाक्लो भएपछि जमिन गलेर भत्कने र माटोको पहाड खोपेर बनाइएका गुफा पनि भत्कने जोखिम उच्च रहेको बताउँछन् ।

पुरातत्त्वविद् भट्टराईका अनुसार उपल्लो मुस्ताङमा पानी पर्नेक्रम बढेसँगै पहाड नै भत्कन थालेको प्रमाण हो, चराङ बस्तीको पूर्वी डिलमा अवस्थित मध्ययुगीन चराङ दरबार पछाडिको पहिरो । त्यसैले पहाड खोपेर बनाएका गुफाहरू अहिले हेर्दा राम्रो देखिए पनि कालन्तरमा पानीको कारण पहाड नै भत्कने जोखिम बढेको छ ।

पुरातत्त्वविद् दर्नाल भन्छन्, “प्राचीन सम्पदा र विकासबीच द्वन्द्व देखिन थालेको छ । पुरातत्त्व विभाग नै अग्रसर भएर लोमन्थाङका बस्ती/घर, दरबार, गुम्बा र यहाँका गुफाहरूको अन्वेशष गर्ने, अभिलेखीकरण गर्ने र संरक्षणमा काम थाल्न आवश्यक छ ।”

उपल्लोे मुस्ताङको पुरातात्त्विक, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टले भने, “यी पहाडका गुफा केवल गुफा मात्र होइनन्, पुर्खाले छाडेको मुस्ताङी सभ्यताको नासो पनि हो । अब स्थानीय सरकारहरू यी गुफा संरक्षणमा जुट्नु आवश्यक छ ।”

के होला गुम्बाको अवस्था ?

मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रमा ऐतिहासिक गुम्बाहरू पनि काँचो माटो जमाएर बनाइएका हुन । बौद्धधर्म संस्कृतिमा गुम्बालाई तपो कुटी भनिन्छ । गुम्बा वास्तु शैलीले सबैलाई लोभ्याउँछ । गुम्बैगुम्बाको जिल्ला मुस्ताङमा लोमन्थाङको ज्याम्पा गुम्बा नेपाललकै एउटा सांस्कृतिक सम्पदा मानिन्छ ।

Charang-monestry-1742618189.jpg
मुस्ताङको चराङमा सिमेन्ट प्रयोग गरेर बनाइएको आधुनिक गुम्बा । तस्बिर : घनश्याम खड्का/निमजिन

मुस्ताङ कोवाङमा जन्मिहुर्केकी प्रकृति रिसोर्स सेन्टरकी जलवायु अध्येता प्राज्ञ शेरचनले उपल्लो मुस्ताङको धे गाउँमा जलवायु परिवर्तनको असर र प्रभाव अध्ययन गर्दा मुस्ताङमा पानी पर्ने क्रम बढेसँगै काँचोेमाटोले बनेका घरहरूजस्तै गुम्बा, प्राचीन दरबारहरूजस्ता पूर्वाधारको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएको र मक्किएका देखेको बताइन् ।

आफू जन्मिहुर्केको घर, बस्तीमा जस्तै गुम्बामा पनि माटोको छाना भएका घर चुहिन थालेसँगै छानामा जस्तापाता वा प्लास्टिक बिछ्याएर जोगाउने प्रयास गरेका उल्लेख गर्दै शेरचनले भनिन्, “प्रयोगहीन प्राचीन गुम्बाहरू संरक्षण अभावमा केही वर्षमै भत्कने छन्, अस्तित्व संकटमा छन् ।” मुस्ताङ ग्लेसियर पग्लने, बाढी आउने र पहिरो चल्ने बहुविपद्को जोखिमपूर्ण क्षेत्र हो ।

जति धेरै वर्षा उत्ति नै खतरा

जल तथा मौसम विज्ञान कार्यालय पोखराले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार मुस्ताङको सबैभन्दा माथिल्लो लोमन्थाङ गाउँपालिका–१ छोसेरस्थित मौसम मापन केन्द्रको रेकर्डअनुसार सन् २००९ सम्म उपल्लो मुस्ताङमा अधिकतम वार्षिक वर्षा २ सय मिलिमिटरभन्दा तल थियो ।

तर, त्यसयता वर्षाको मात्रा बढेर सन् २०२३ सम्म आइपुग्दा अधिकतम ३ सय ३१ मिलिमिटरसम्म वर्षा भएको छ ।

जोमसोमस्थित एरोसिनप्टिक स्टेसनको विवरणअनुसार सन् २०१० सम्म जोमसोम क्षेत्रमा अधिकतम वर्षा ३ सय मिलिमिटरभन्दा तल रहेकोमा सन् २०२३ सम्म आइपुग्दा वर्षाको मात्रा बढेर वार्षिक अधिकतम ६ सय ६५ मिलिमिटरसम्म पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक औसत तापक्रम ०.०५६ डिग्रीले वृद्धि भइरहेको छ । सुन्दा थोरै र सामान्यजस्तो लागे पनि यो स्तरको तापमान वृद्धिले ठूलो असर गर्न थालिसकेको छ । इसिमोडको अध्ययनअनुसार अहिले विश्वको तापक्रम १.१ डिग्री बढ्दा पनि हिमाली क्षेत्रको हिउँ पग्लनेक्रम तीव्र भएको छ ।

प्रकृति रिसोर्स सेन्टरका निर्देशकसमेत रहेका जलवायुविज्ञ प्रवीनमान सिंहका अनुसार प्राकृतिक रूपमै मुस्ताङको भूगोल पानी सहने क्षमताले बनेकै हैन । गण्डकी प्रदेशको राजधानी पोखरा र त्यहाँबाट मात्र डेढ सय किलोमिटर टाढाको मुस्ताङ सदरमुकाम जोमसोमकै भूगोलको पानी सहने क्षमता एउटै छैन ।

पोखरामा प्रतिघण्टा ५० मिमि वर्षा सामान्य हो, लोमन्थाङमा प्रतिघण्टा ५० मिमि वर्षा हुँदा अकल्पनीय क्षति हुन्छ । त्यसैले मुस्ताङमा वर्षाको मात्रा बढ्नु खतराको संकेत भएको सिंह बताउँछन् । उनी भन्छन्, “मुस्ताङको बस्ती बस्ने आफ्नै मौलिकता भएको माटोको मुण्डे हो, अति सामान्य वर्षा हुने ठाउँमा ठूलो वर्षा हुन थालेपछि माटोले गलेर गिलो भयो अनि विस्तारै चुहिन थाले, घरको मौलिकता नासिन थाल्यो । गर्मी बढेपछि बख्खुजस्ता पहिरन हराए ।”

लोमन्थाङ गाउँपालिका–२ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याले अनुभवमा पहिला–पहिला मंसिरदेखि नै पटक–पटक ४ फिटसम्मै बाक्लो हिउँ पर्थो तर यो वर्ष फागुन दोस्रो साता एक दिन पाइलासम्म बस्ने गरी मात्र हिउँ पर्‍यो । यसले हिउँदभरि हिउँले ढाक्नुपर्ने मुस्ताङमा हिउँ पर्न कम भएको देखिन्छ ।

हुन पनि हो, पछिल्लो दुई दशकदेखि हिमपात न्यून हुँदा हिउँ छिटो पग्लने र तापक्रममा वृद्धि हुने भइरहेको छ । तापक्रम बढेसँगै हिमपात हुने क्रम घट्दै पानी पर्ने क्रम बढेकोले माटोको पर्खाल (संरचनाहरू) भिजेर भत्कने अवस्था आउन थालेको छ ।

संरक्षणको खाँचो

मुस्ताङका सम्पदाको अवलोकनका लागि हरेक वर्ष ४ हजारभन्दा बढी विदेशी पर्यटक कठिन र रोमाञ्चक यात्रामार्फत उपल्लो मुस्ताङमा पुग्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लोमन्थाङ कार्यालयका अनुसार सन् २०२३ मा ३ हजार ४ सय ८४ र सन् २०२४ मा ४ हजार ६१ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका छन् । आन्तरिक पर्यटकको हिसाब किताब राख्ने गरिएको छैन, तर उपल्लो मुस्ताङ उक्लिनेमा विदेशीभन्दा स्वदेशी धेरै हुन्छन् ।

Chorten-1742618189.jpg
मुस्ताङको छोर्तेन । तस्बिर : घनश्याम खड्का/निमजि 

मानिसको बढ्दो उपस्थितिले पनि उपल्लो मुस्ताङमा जीवित रहेका मध्ययुगीन मानव सभ्यताको चिनोमा प्रभाव पर्ने खतरा छ ।  त्यसैले मुस्ताङी संस्कृतिको धरोहर माटोका घर, गुम्बा र पुर्खाले खोपेर बनाएका गुफा संरक्षण आवश्यक रहेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष नसी नर्बु गुरुङ बताउँछन् । उनी भन्छन, “प्राचीन/मध्ययुगीन मानव सभ्यता हेर्न पर्यटकको ओइरो त लाग्यो, स्थानीयले आम्दानी लिँदै छन् तर संरक्षणमा हानि पुग्ला कि भन्ने त्रास भने बढेको छ ।”

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जलवायु परिवर्तनको असरबाट बच्न र हाम्रा सम्पदा जोगाउन स्थानीय अनुकूलन कार्ययोजना बनाउन लागिपरेको बताए ।

पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले लोमन्थाङ र उपल्लो मुस्ताङका दरवार, गुम्बा र बस्तीसमेत जलवायु परिवर्तनका कारणले असर गरिरहेकाले माटोको सहर संरक्षणमा केही न केही उपाय खोज्नै पर्ने देखिएको बताउँछन् ।

भट्टराई भन्छन्, “पानी पर्नेक्रम बढेसँगै स्थानीयले माटोको विकल्प कंक्रिट खोज्दै छन् । पुरातात्त्विक महत्त्व राख्ने माटोले बनेका यहाँका घरका, दरबार र गुम्बाका छानामा जस्तापाता राख्नु वा कंक्रिट घर बनाउनुको सट्टा परम्परागत घरको छतमा वाटरप्रुफ विटुमिन टायरफेल्ट राख्नु उपयुक्त हुन्छ ।”

जलवायु परिवर्तनबाट लोमन्थाङमा परेको असरबारे अध्ययन गर्न बाँकी रहेको र यहाँका सम्पदालाई पुनरावलोकन गर्नेबारे कुराकानी भइरहेको युनेस्को नेपालकी सांस्कृतिक इकाइ प्रमुख नभा बस्नेत थापाले बताइन् । “पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय बासिन्दाकै हो, संरक्षणमा बाह्य सहयोग आवश्यक परे युनेस्को सहकार्य गर्न तत्पर छ,” थापाले भनिन् ।

यो सामग्री निमजिन-कान्सा फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो । यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments