काठमाडौं । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईकी माया कोहार (२१) सधैंझैं असोज २२, २०८१ मा पनि दिनभर खेतमा काम गरेर सुतेकी थिइन् । उनलाई मध्यरातमा असह्य पेट दुख्न थाल्यो । त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो र भर्ना गरियो । राति २ बजेतिर उनले बच्चा जन्माइन् ।
माया स्वास्थ्यकर्मीले तोकेको भन्दा ५ हप्ताअघि अर्थात् ३४ हप्ता ६ दिनमै सुत्केरी भइन् । उनको शिशु पनि सामान्य (२.५ केजी) भन्दा कम तौल (१ केजी ८ सय ग्राम) का थिए । विश्व स्वास्थ्य संगठनले जन्मँदा २ किलो ५ सय ग्राम (५.५ पाउन्ड) भन्दा थोरै तौल भएमा कम तौल भनेर परिभाषित गरेको छ ।
मायाले योभन्दा १६ महिनाअघि जेठ ११, २०७९ मा स्वास्थ्यकर्मीले तोकेकै समयमा र सामान्य रूपमै पहिलो बच्चा जन्माएकी थिइन् । दोस्रो पटक समयभन्दा पहिला नै बच्चा जन्मिएकोमा उनी चिन्तित छिन् । उनले भनिन्, “डाक्टरले तोकेको समयभन्दा अगाडि (छिटो) नै पेट दुख्यो । त्यही दिन बच्चा भयो, किन अगाडि जन्मेको बुझ्न सकेको छैन ।”
मायाको समस्याका बारेमा कुनै वैज्ञानिक अध्ययन नभए पनि अहिले विश्वभर नै बढ्दो गर्मीले गर्भवती महिलालाई प्रभाव पार्ने हुँदा जन्ममा असर परिरहेको पाइन्छ । अध्ययनहरूले अत्यधिक गर्मीले शिशुको विकासमा असर गर्ने र समयपूर्व नै बच्चा जन्मने जोखिम बढाउने गरेको पनि देखाएका छन् ।
वेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनकी अनुसन्धाता एना बोनेलसहितको ‘अत्यधिक गर्मी, गर्भावस्था र मृत शिशुको जन्मसम्बन्धी विशेषज्ञ समीक्षा’ प्रतिवेदनले तापक्रम बढ्दा गर्भवती महिलाहरूमा असर परिरहेको देखाएको छ । यो अध्ययनमा गर्मीका कारण मृत शिशु जन्मने, नवजात शिशुको मृत्युको जोखिम बढाउने तथा जन्मनुअघि नै बच्चामा असर गर्ने पाइएको छ ।
नेचर मेडिसिनमा प्रकाशित ‘मातृ, भ्रूण र नवजात शिशुको स्वास्थ्यमा गर्मीको जोखिमको प्रभावको प्रणालीगत समीक्षा र मेटा विश्लेषण अध्ययन’ मा पनि तापक्रममा प्रत्येक एक डिग्री सेल्सियस वृद्धि हुँदा समयपूर्व जन्मको जोखिम ४ प्रतिशतले बढ्ने उल्लेख छ । गर्मीको लहरको समयमा यो २६ प्रतिशतसम्म पुग्ने अध्ययनले देखाएको छ ।
साउथ अस्ट्रेलिया युनिभर्सिटी र टेलिथन किड्स इन्स्टिच्युटको वाल–यान रेस्पिरेटरी रिसर्च सेन्टरका अनुसन्धानकर्ता डा. लुइस विडा र फ्लिन्डर्स विश्वविद्यालयका ग्लोबल इकोलोजीका प्रोफेसर म्याथ्यु फ्लिन्डर्स र कोरी ब्राडसको नेतृत्वमा गरिएको अध्ययनले अत्यधिक तापक्रमको सम्पर्कबाट समयपूर्व जन्मको जोखिम औसतमा ६० प्रतिशतले बढ्ने देखाएको छ । विश्वव्यापी रूपमा भएका अनुसन्धानलाई केलाएर गरिएको यो अध्ययन समयपूर्व जन्मदरमा चिन्ताजनक वृद्धि भएको दाबी गरेको छ ।
गर्मी बढ्दा प्रिटर्म बर्थ अर्थात् समयपूर्वको जन्म, स्टिल बर्थ अर्थात् मृत शिशुको जन्म र कम तौलको शिशु जन्मने खतरा बढाएको ‘गर्भवती महिलाहरूको गर्मी लहर जोखिम मूल्यांकनका लागि स्केल र वस्तुहरूको विकास, प्रमाणीकरण र विश्वसनीयता’ नामक अध्ययनले देखाएको छ ।
अध्ययनमा संलग्न जनस्वास्थ्यविज्ञ सुजिना महर्जन भन्छिन्, “तापक्रममा आएको उतारचढावले मानसिक तनाव हुने र तनाव हर्मोन निस्कन सक्छ, जसले गर्दा झिल्ली समयभन्दा पहिले नै फुट्न सक्छ । यसले समयभन्दा पहिले नै जन्म हुन्छ । यस्तो अवस्थामा कम तौलका बच्चाहरू जन्मन्छन् ।”

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसी) ले बढ्दो तापका कारण मानव स्वास्थ्यमा देखिएका र देखिन सक्ने यस्ता प्रभावलाई जलवायु परिवर्तनले हुने गैरआर्थिक हानिमा समावेश गरेको छ ।
बुटवलस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विजय लम्साल गर्मीले गर्भवतीलाई प्रभाव पार्ने विषय अध्ययन गर्नुपर्ने विषय रहेको भन्दै अप्रत्यक्ष रूपमा यसको प्रभाव पर्ने बताउँछन् ।
उनका अनुसार अस्पतालमा कामकाजी महिला आउने गर्छन् । उनीहरूले गर्मीमा काम गर्दा सरसफाइमा ध्यान दिँदैनन्, जसका कारण भजाइनल इन्फेक्सन र युरिन इन्फेक्सन हुने गर्छ । यो इन्फेक्सन प्रिटर्म बर्थको एक कारण हुने डा. विजयले बताए ।
सामान्यतः गर्भावस्थाको ४० हप्ता अर्थात् २ सय ८० दिनमा बच्चा जन्मिन्छन् । चिकित्सकीय भाषामा ३७ हप्ताअघि नै भएको जन्मलाई प्रिटर्म बर्थ अर्थात समयपूर्वको जन्म भनिन्छ ।
‘प्रिटर्म र कम तौलको जन्म रोकथाम र हेरचाहसम्बन्धी प्रोफाइल’ अनुसार नेपालमा १४ प्रतिशत शिशु समयपूर्व नै जन्मने गरेका छन् । वर्षमा ५ लाख ७७ हजार शिशु जन्मने गरेकामा करिब ८१ हजार शिशुको जन्म ३७ हप्ताभन्दा पहिला नै हुन्छ । जसमध्ये ४ हजार १ सय शिशु त २८ हप्ताअघि नै जन्मिन्छन् ।
विश्वमा हरेक वर्ष २ करोडभन्दा बढी कम तौलका शिशु जन्मिने अक्सफोर्ड एकेडेमीमा प्रकाशित ‘४७ समयपूर्व जन्म र कम जन्म तौल वातावरणीय जोखिमसँग सम्बन्धित अध्ययन’ मा उल्लेख छ । अध्ययनका अनुसार कम तौल जन्मको ९५ प्रतिशत जन्म विकासशील देशहरूमा हुन्छ । जनसांख्यिक अध्ययनअनुसार नेपालमा १८ प्रतिशत कम तौलका शिशुहरूको जन्म हुन्छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्रमुख कन्सल्टेन्ट डा. कल्पना उपाध्याय सुवेदीका अनुसार २८ हप्ताअघि नै जन्मेको शिशु बचाउन धेरै कठिन हुन्छ ।
उनका अनुसार २८ देखि ३२ हप्तामा जन्मेको शिशु बचाउन पनि समस्या हुन्छ । ३२ देखि ३६ हप्ताको शिशु प्रि–म्याचुअर हुन्छ । तिनलाई बचाउन अलि सहज हुन्छ । ३७ हप्तादेखि ४० हप्ताको बीचमा जन्मेका बच्चा हुर्काउन त्यति गाह्रो हुँदैन । डा. कल्पना भन्छिन्, “जति अगाडि जन्मियो त्यति समस्या हुन्छ ।”
‘अत्यधिक गर्मी, गर्भावस्था र मृत शिशुको जन्मसम्बन्धी विशेषज्ञ समीक्षा’ प्रतिवेदनका अनुसार समयपूर्व जन्म, कम तौल र भ्रूणको असामान्य विकासजस्ता समस्याहरु अत्यधिक गर्मीका कारण हुन सक्छन् ।
यो समस्या नेपालमा मात्र नभई विश्वमा नै एक संकटको रूपमा देखा परिरहेको नेचर मेडिसिनमा प्रकाशित ‘मातृ, भ्रूण र नवजात शिशुको स्वास्थ्यमा गर्मीको जोखिमको प्रभावको प्रणालीगत समीक्षा र मेटा विश्लेषण अध्ययन’ ले देखाउँछ । यो अध्ययनले तापक्रम वृद्धिले मृत जन्म, जन्मजात विसंगति र प्रसूतिसम्बन्धी जटिलताहरूजस्ता अन्य प्रतिकूल परिणाम बढेको देखाएको छ ।
समयपूर्व जन्मेका बच्चाको विकासमा असर गर्छ । साथै उनीहरूलाई बचाउन पनि कठिन हुने हुँदा बाल तथा शिशु मृत्यु कम गर्ने दिगो विकासको लक्ष्य पनि प्रभावित हुने देखिएको डा.कल्पना बताउँछिन् ।
नेपालमा मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य सुधार आए पनि नवजात शिशु मृत्यु भने २०१६ देखि स्थिर रहेको नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।
२०२२ को यो सर्वेक्षण अनुसार १ हजार जना सुत्केरी हुँदा २१ जनाले मृत बच्चा जन्माउँछन् । जीवितै जन्मेका ३० बालबालिकामध्ये एक जनाले पाँचौं जन्मदिन मनाउन पाउँदैनन् । यसले नेपालको दिगो विकास लक्ष्य (एसडीजी) अनुसार सन् २०३० सम्ममा प्रति १ हजार जीवित जन्ममा नवजात शिशु मृत्युदर १२ मा झार्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको स्त्रीरोग विशेषज्ञ डा. स्वराज राजभण्डारी र डा. कल्पना बताउँछन् ।
डा. कल्पना भन्छिन्, “प्रिटर्म, कम तौललगायतका समस्या सम्बोधन गर्ने कार्यक्रम सरकारले ल्याएको छ । नियोनेट, प्रिटर्मलाई सेवा दिने विशेष तालिम प्याकेज भइरहेको छ । यसमा केन्द्रित भएर कामहरू भएका छन्, तर पनि २१ बाट १२ मा झार्न कठिन छ ।”
जलवायु परिवर्तनले पोषणमै हुन्छ असर
समय पुग्नुभन्दा ५ हप्ताअघि नै सुत्केरी भएकी माया किसान हुन् । विवाह भएको ३ वर्षमै दुई सन्तानको आमा बनेकी उनलाई घरधन्दा र खेती किसानीको कामले कहिल्यै छोडेन ।
प्रसूति हुने दिनसम्म पनि खेतमा काम गरेको बताउने उनले त्यो वर्ष गर्मी बढेको महसुस गरेको सुनाइन् । गर्भवती भएर बढी गर्मी अनुभव भएको हो कि भन्दा उनले अघिल्लो पटक त्यस्तो नभएको बताइन् ।
“यो वर्ष गर्मी झेल्न निकै सकस भयो, घरमा नै बस्न नसक्ने गर्मी हुन्थ्यो, खेतमा जाँदा झनै उकुसमुकुस हुन्थ्यो, एक बोतल पानी बोकेर गयो, एक घण्टालाई पुग्दैनथ्यो,” मायाले भनिन् । उनका अनुसार शरीर गल्ने, पानी तिर्खा लाग्ने र आलसतालस धेरै हुन्थ्यो ।
एना बोनेलसहितले गरेको अनुसन्धानले चर्को गर्मीले गर्भवती महिलाको शरीरमा तातो नियन्त्रण (थर्मोरेगुलेसन) प्रणालीमा असर गर्ने, रक्तप्रवाह ५० प्रतिशतसम्म बढ्ने र यसले शरीरलाई चिसो राख्न कठिन बनाउने देखाएको छ । निर्जलीय, रक्तचाप वृद्धि र भ्रूणमा अक्सिजनको आपूर्ति घट्न सक्ने पनि त्यो अध्ययनमा पाइएको छ ।
मायाले जस्तै रूपन्देहीकै मायादेवी गाउँपालिका–२ महादेवाकी मुस्कान मल्लाह (२० वर्ष) पनि गर्भवती भएको ३३ हप्तामा सुत्केरी भइन् । स्वास्थ्यकर्मीले उनलाई मंसिर २६ गते प्रसूतिको समय तोकेका थिए । तर, ७ हप्ताअघि कात्तिक २, २०८१ मै उनलाई प्रसूति व्यथा लाग्यो र सामान्यभन्दा कम तौल (२ केजी) को शिशु जन्माइन् ।
उनलाई सुत्केरी हुँदा सहयोग गरेकी कम्हरिया बर्थिङ सेन्टरकी अनमी मनीषा बडुवाल खड्का भन्छिन्, “मुस्कानको डेलिभरीमा मेरो ड्युटी थियो । उनको बच्चा समयभन्दा अघि जन्मिएको हो, कम तौलको पनि थियो ।”

मनीषाका अनुसार मुस्कानको स्वास्थ्य अवस्था नाजुक भएकाले भीम अस्पताल भैरहवा रेफर गरिएको थियो । भीम अस्पतालमा शिशुलाई एनआईसीयूमा राखेर उपचार गरियो । तर शिशुको स्वास्थ्यमा सुधार देखिएन, कात्तिक ४ मा शिशुको मृत्यु भयो ।
“मेरो बच्चा किन तोकेको समयभन्दा अघि जन्मियो होला ? जन्मिँदा मान्छेको स्वरूप मात्र बनेको थियो, समाउँदा पनि गिलोगिलो थियो,” मल्लालले दुःखेसो पोखिन्, “आमा भएर पनि मेरो काख रित्तो छ ।”
मायादेवी–१ कोम्रहियाकी सरस्वती कोहार (२५) को व्यथा पनि उस्तै छ । दुई छोरीकी आमा उनले दुवै पटक समयभन्दा अघि नै बच्चा जन्माइन् । पहिलो पटक असार २, २०७७ मा ३० हप्तामै सुत्केरी भएकी थिइन् । कात्तिक २६, २०८१ म दोस्रो पटक उनी ३२ हप्ता २ दिनमा सुत्केरी भइन् ।
दुवै छोरी समयअघि नै जन्मिएकाले कम तौलका थिए । उनले जेठी छोरीभन्दा कान्छीलाई हुर्काउन धेरै सकस भइरहेको सुनाइन् । सरस्वती भन्छिन्, “खुवाउन नै गाह्रो छ ।”

माया र मुस्कानजस्तै सरस्वती पनि किसान हुन् । उनीहरूको शैक्षिक, सामाजिक र आर्थिक अवस्था मात्र समान छैन, उनीहरूले गर्भावस्थामा भोगेका समस्या पनि साझा छन् ।
उनीहरूको गाउँ नेपालकै धेरै गर्मी हुने क्षेत्रमा पर्छ । धान, गहुँ र तरकारी उत्पादन हुने ठाउँका उनीहरूले तरकारी खेती गरेर गुजारा चलाउँदै आएका छन् । उनीहरूले गर्भावस्थामा पनि अरु सामान्य बेलाकै जस्तो खाना (भात, तरकारी र कहिले कहीँ दाल) खाने गरेका थिए । “पोसिलो खानेकुरा त के हो ?” मायाले भनिन्, “भोक लागेको बेला त खान पाइँदैन ।”
कपिलवस्तुको मायादेवी गाउँपालिका–३ को कम्हरियामा रहेको स्वास्थ्य चौकीको तथ्यांकअनुसार २०८१ को मंसिर महिनासम्म ९१ जना प्रसूति भएकामा १३ जनाले कम तौलको शिशु जन्माएका छन् । प्रिटर्म बर्थको तथ्यांक भने स्वास्थ्य चौकीले राखेको छैन ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २०७८⁄७९ मा २ हजार ३०७ प्रसूति भएकामा ८१८ (३५.४५ प्रतिशत) शिशु कम तौलका जन्मिए । २०७९⁄८० मा १ हजार ७ सय ९१ प्रसूतिमा ६ सय ३० (३५.१७ प्रतिशत) जना र २०८०⁄८१ मा १ हजार ३ सय २४ प्रसूति भएकामा ४ सय ९८ (३७.६१) जना कम तौलको शिशु जन्मिएको अस्पतालको तथ्यांक छ ।
मायादेवीको स्वास्थ्य चौकीमा आधिकारिक तथ्यांक नभए पनि प्रिटर्म बर्थ भइरहेको नर्स संगीता शर्माले बताइन् । उनका अनुसार जटिल अवस्था देखिए भीम अस्पताल भैरहवामा रेफर गरिन्छ ।
प्रिटर्म बर्थको कारण यही नै हो भन्ने आफूले थाहा पाउन नसकेको अनमी मनीषा बताउँछिन् । कम तौलको शिशु जन्मनुको एउटा कारण भने समयपूर्व जन्म रहेको उनको भनाइ छ ।
अनमी मनीषाका अनुसार धेरै महिलाहरू किसान भएका कारण उनीहरू अधिकांश समय घाममा काम गर्छन्, पोसिलो खानेकुरा पर्याप्त नखाने भएकाले कम तौलको शिशुको जन्म हुने गरेको छ ।
नेपालको जनगणना २०७८ अनुसार ६८ प्रतिशत महिला कृषक छन् । कृषक परिवारमध्ये ४४ प्रतिशत मात्र जलवायु परिर्वतनबारे जानकार रहेको उल्लेख छ । तीमध्ये ९१ प्रतिशत कृषक परिवारले जलवायु परिवर्तनले कृषिमा प्रभाव पुर्याएको बताएका छन् । जसमध्ये ८५ प्रतिशतले उत्पादनमा कमी आएको सुनाएका छन् ।
जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ल्याएको गिरावटले पोषणमा प्रभाव पार्ने थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्रमुख कन्सल्टेन्ट डा.कल्पना उपाध्याय सुवेदीले बताइन् ।
फेरिएको वातावरण
नेपालमा वार्षिक ०.०५६ सेन्टिग्रेडले तापक्रम वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले २०७४ मा सार्वजनिक गरेको अध्ययनले देखाएको छ ।
कपिलवस्तु, रूपन्देही, नवलपरासी–पश्चिम, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्लाका केही स्थानमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि हुन्छ ।
मध्य वैशाखदेखि तराईका अधिकांश भागमा हल्कादेखि गम्भीर गर्मीको लहर चल्छ । सन् २०२३ मा केही ठाउँमा अधिकतम तापक्रमले नयाँ कीर्तिमान नै बनाएको छ ।
लुम्बिनी प्रदेशका जिल्लामा वार्षिक न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको जलवायु परिवर्तन र विपद् जोखिम र जोखिमको सन्दर्भमा अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अध्ययनले पनि देखाएको छ । अध्ययनले जलवायुको प्रवृत्ति र परिदृश्य विश्लेषणका आधारमा तातो दिन र न्यानो रातका चरम घटनाहरू बढिरहेको र भविष्यमा अझै बढ्ने अनुमान गरेको छ ।
रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया गर्मीको उच्च जोखिममा छन् । बढ्दो तापक्रम प्रवृत्तिले गर्मीको लहर निम्त्याउने र गर्मीको लहरले स्वास्थ्य जीवनलाई ठूलो मात्रामा खतरामा पार्ने अध्ययनमा समेटिएको छ ।
अध्ययनले जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र गरिब तथा सीमान्तकृत व्यक्तिहरूमा असमान प्रभाव पर्ने देखाएको छ ।
गर्भावस्थामा गर्मीको प्रभाव
गर्भवती महिला अर्थात् विकासशील भ्रूण बोक्ने शरीरमा शारीरिक थकान र हर्मोनल परिवर्तनले थर्माेरेगुलेसनलाई असर गर्दा हिट स्ट्रोकको उच्च जोखिम हुने ‘द गार्डियन’ मा प्रकाशित सामग्रीमा उल्लेख छ ।
भ्रूण, एम्नियोटिक फ्लुइड (एक स्पष्ट वा थोरै पहेँलो तरल जसले गर्भाशयमा विकासशील भ्रूणलाई घेर्छ र सुरक्षा गर्छ), प्लेसेन्टा (एउटा अस्थायी अंग जसले आमाको पाठेघरलाई उसको विकासशील बच्चासँग नाभीको माध्यमबाट जोड्छ) सबै त्यहाँ हुन्छ । र, त्यसले गर्मी उत्पन्न गरिरहेको हुन्छ ।
चरम गर्मीले थकान र निर्जलीय हुन्छ । जसका कारण पाठेघर संकुचनमा संलग्न हर्मोनलाई ट्रिगर गर्छ । यसले अरू समस्या पनि थपिँदै गएमा प्रसव निम्त्याउँछ र समयपूर्व प्रसूति, कम तौल र मृत जन्मको जोखिम हुन सक्छ ।
प्लेसेन्टा र भ्रूणमा रक्तप्रवाह कायम राख्न, गर्भावस्थाको समयमा गर्भवती व्यक्तिहरूको रगतको मात्रा लगभग ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म बढ्छ । रगतको मात्रा र एम्नियोटिक फ्लुइड र अन्य शारीरिक परिवर्तन, भ्रूणको वृद्धि गराउन र निर्जलीय नहुन गर्भवतीले धेरै झोलिलो खान आवश्यक छ ।
विश्वभर नै गर्मीले गर्भवती महिलालाई प्रभाव परेका विषयहरू बहसमा आउन थालेका छन् । तर यससम्बन्धी पर्याप्त अध्ययन र अनुसन्धान अझै भएको छैन ।
‘गर्भवती र नवजात शिशुहरूमा अत्यधिक गर्मी एक्सपोजरको प्रभाव अध्ययन’ ले गर्भावस्थाको समयमा भ्रूणको वृद्धि नहुनु उच्च तापमानसँग जोडिएको देखिएको छ ।
गर्भावस्थाको समयमा उच्च तातोले भ्रूणको अक्सिडेटिभ तनाव ( शरीरमा फ्रिरेडिकल र एन्टिअक्सिडेन्टको असन्तुलनले कोशिका र तन्तुहरूलाई क्षति पुर्याउने अवस्था) र सुजनमा योगदान पुर्याउन सक्छ । जसले भ्रूणको वृद्धिलाई असर गर्न सक्छ र अन्ततः कम तौल निम्त्याउन सक्छ ।
‘ल्याटिन अमेरिकाको तापक्रम र प्रिटर्म बर्थवेटबीचको सम्बन्धको अध्ययन’ ले गर्भावस्थाको समयमा उच्च ताप एक्सपोजर कम जन्म तौलसँग सम्बन्धित रहेको देखाएको छ ।
गर्भवती कामदारहरू, विशेष गरी, अत्यधिक गर्मीको जोखिममा बढी संवेदनशील हुने ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ को अध्ययनले देखाएको छ । अध्ययनका अनुसार गर्भवती व्यक्तिहरूलाई गर्मीको थकान र गर्मी स्ट्रोकको सम्भावना बढी हुन्छ ।
गर्मीमा शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता कम हुँदा, गर्भवती महिलाहरूलाई सामान्य मानिसको तुलनामा गर्मीको तनावको बढी जोखिम हुने ‘नेपाली गर्भवती महिलाहरूमा गर्मीको लहरको जोखिम धारणा र हेरचाह अनुकूलनसँग सम्बन्धित अध्ययन’ ले देखाएको छ ।
अध्ययनले गर्भावस्थाको समयमा मातृत्वको लामो र छोटो अवधिको गर्मीको जोखिम र गम्भीर मातृ मृत्युदरका बढ्दो जोखिमबीच सम्बन्ध रहेको देखाएको छ ।
उक्त अध्ययन स्वास्थ्य व्यवहारको भविष्यवाणी गर्न प्रयोग गरिने सैद्धान्तिक ढाँचा हेल्थ बिलिफ मोडेल (एचबीएम) प्रयोग गरी गरिएको हो । जसले गर्भवती महिलाहरूको गर्मीको जोखिम र सम्बन्धित रोकथाम र न्यूनीकरण रणनीतिहरू र त्यस्ता व्यवहारहरू अपनाउने बाधाहरूको पहिचान गर्नका लागि अनुसन्धान गरेको हो ।
अध्ययनमा सहभागी अधिकांश उत्तरदाताहरूले गर्मीको लहरमा उच्च जोखिम महसुस गरको उल्लेख छ । गर्भवती महिलाहरूले निर्जलीकरण, शरीरको तापक्रम बढेको, शरीरको कमजोरी र सन बर्नजस्ता जोखिमहरू रिपोर्ट गरेका थिए । यो गर्भवती महिलाहरूले सामना गर्ने ज्ञात शारीरिक चुनौतीहरू हुन् । जसले थर्मोरेगुलेसन क्षमताहरू कम गरेको छ ।
अध्ययनले गर्मीको गम्भीरता उच्च भएको फेला पारेको छ । धेरै महिलाहरूले गर्मीसँग सम्बन्धित अवस्थाहरूले अस्पताल भर्नासहित गम्भीर स्वास्थ्य परिणामहरू निम्त्याउन सक्ने देखाएको छ ।
उपचारमा समस्या
विश्व स्वास्थ्य संगठनले विभिन्न शारीरिक, क्लिनिकल, सामाजिक र व्यावहारिक कारकहरूका कारण जलवायु परिवर्तनले गर्भवती महिला, नवजात शिशु र बालबालिकाहरूका लागि खतरा निम्त्याउने जनाएको छ ।
‘जलवायु परिवर्तनको प्रभावबाट मातृ, नवजात शिशु र बाल स्वास्थ्यको सुरक्षा कार्यको आह्वान अध्ययन’ मा जलवायु परिवर्तन मातृ, नवजात शिशु र बाल स्वास्थ्यको लागि बढ्दो खतरा हो र यसलाई बेवास्ता गर्न नहुने भनी उल्लेख छ । अध्ययनमा मातृ, नवजात शिशु र बच्चाको जीवन र कल्याणका लागि विगतका प्रगतिहरूको सुरक्षा गरिनुपर्ने उल्लेख छ ।
३७ हप्तामा भ्रूणको शारीरिक बनावटको सबै सिस्टमहरू विकसित भइसकेका हुन्छन् । ३७ हप्ताअघि जति छिटो जन्मियो त्यति उनीहरूको शारीरिक बनावट कम विकसित हुन्छ । त्यसकारण फोक्सो राम्रोसँग विकसित नहुँदा सास फेर्न समस्या हुने, मुटुले काम नगर्ने, ब्रेन विकसित नहुँदा त्यसले गर्ने अर्डरहरूअनुसार काम गर्न समस्या हुने, आन्द्रा राम्रो नबन्दा पाचनमा समस्या हुन्छ । हरेक सिस्टम अविकसित भएको हुनाले बाहिरको वातावरणमा एडजस्ट हुन समस्या हुन्छ ।
नेपालमा समयपूर्व जन्म र नवजात शिशुको मृत्युदर रोकथामका लागि केही कार्यक्रमहरू भइरहेका छन् । समयपूर्वको जन्मबाट जटिलता उत्पन्न भएका शिशुको उपचारका लागि सरकारी अस्पतालमै विशेष नवजात शिशु केयर युनिट (एसएनसीयू) ६१ रहेको परिवार कल्याण महाशाखाकी स्त्रीरोग विशेषज्ञ डा. गौरी प्रधान श्रेष्ठले जानकारी दिइन् ।
तर स्त्रीरोग विशेषज्ञ डा. स्वराज राजभण्डारीका अनुसार जिल्ला अस्पतालमा प्रि–म्याचुअर युनिट छैन । मेडिकल कलेजहरूमा र अस्पतालहरूमा पनि पर्याप्त मात्रामा प्रि–म्याचुअर युनिट र एनआसीयू छैनन् । त्यसकारण नियो नेटल (नवजात शिशु) लाई बचाउन गाह्रो छ ।
“नियो नेटलको विन्डो पिरियड १ घण्टा हुन्छ । त्यो समयमा एनआईसीयूमा राख्न सकिएन भने हाम्रो देशका लागि गाह्रो छ,” डा. स्वराज भन्छिन, “हाम्रोमा नियोनेटोलोजिस्टको कमी छ । अर्को साधन छैन । त्यसैले यसलाई चुनौतीका रूपमा लिएका छौं ।”
काठमाडौंमा पनि आवश्यक मात्रामा एनआईसीयू नभएको उनी बताउँछिन् । डा. स्वराजका अनुसार थापाथली प्रसूति तथा स्त्रीरोग अस्पतालमा ३५ शय्याको एनआईसीयू (१० शय्याको भेन्टिलेटरसहितको एनआईसीयू) छ ।
नीति ल्याउन अझै अध्ययनको खाँचो
विश्वभर नै गर्मीले गर्भवती महिलालाई प्रभाव परेका विषयहरू बहसमा आउन थालेका छन् । तर यससम्बन्धी पर्याप्त अध्ययन र अनुसन्धान अझै भएको छैन । एना बोनेलसहितले गरेको अध्ययनले अत्यधिक गर्मी र गर्भावस्थाबीचको सम्बन्धबारे अझै धेरै अनुसन्धान आवश्यक रहेकोमा जोड दिएको छ ।
नेपालमा पनि यो मुद्दामा विस्तारै छलफल र विमर्श हुन थालेको छ । वातावरणीय प्रभावका कारण गर्भवतीमा अप्रत्यक्ष असरहरू परेको भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउँछन् । प्रत्यक्ष प्रभाव परेको छ छैन भनेर यकिन गर्न विस्तृत अध्ययनहरूको खाँचो उनी औंल्याउँछन् ।
नेपालमा प्रिटर्म बर्थ भइरहेको तर यसमा वातावरणीय प्रभावको विषयमा यसै भन्न सक्ने अवस्था नरहेको परिवार कल्याण महाशाखा डा. गौरी बताउँछिन् । उनी भन्छिन्, “वातावरणीय असरको विषयमा अध्ययन भएको छैन, अध्ययन गर्न हामीसँग स्रोतसाधन पनि छैन ।”
वातावरणीय परिवर्तनले गर्भवतीमा असर परेको विषयमा विश्वभर कुरा उठ्ने गरे पनि नेपालमा यसबारेमा कुनै अध्ययन र नीति छैन । विश्व स्वास्थ्य संगठन, युनिसेफलगायतका संस्थाहरूले अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसियाका केही देशमा महिला तथा बालबालिकाहरूलाई अत्यधिक गर्मीबाट जोगाउने अनुकूलनका रणनीतिहरू खेज्ने प्रयास भइरहेको छ ।
युनिसेफको सहयोगमा बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बालबालिका र गर्भवती महिलाहरूलाई गर्मीसम्बन्धी स्वास्थ्य जोखिमहरूबाट जोगाउन तातो सम्बन्धित रोगहरूमा राष्ट्रिय दिशानिर्देशन बनाइएको छ ।
दिशानिर्देशनमा गर्मी तनावबारे सचेत हुने, आफैंलाई सुरक्षित राख्ने, गर्मी तनावका लक्षणहरू पहिचान गर्ने, आफू र अरूलाई जोगाउने प्रयास गर्ने, कुनै व्यक्तिमा गम्भीर लक्षण देखिएमा व्यक्तिलाई स्वास्थ्य केन्द्रमा लैजाने विषय समावेश छ ।
अध्ययनले बढ्दो जलवायुसम्बन्धी जोखिमहरूको सामना गर्न, मातृ स्वास्थ्यको रक्षा गर्न स्वास्थ्य प्रणाली सुदृढीकरण, सहरी योजना, सामाजिक सुरक्षा र जलवायु परिवर्तन न्यूनीकरणलाई जोड्ने बहुक्षेत्रीय दृष्टिकोणको आवश्यकतालाई जोड दिन्छ । यसमा जनस्वास्थ्य सञ्चारमा सुधार, स्वास्थ्य सेवा प्रणालीको तयारीमा सुधार, पानी र बिजुलीको अभावजस्ता व्यावहारिक अवरोधलाई सम्बोधन गर्ने आवश्यक रहेको देखाइएको छ ।
यी पहलहरू विशेषतः ग्रामीण र सामाजिक आर्थिक रूपमा विपन्न महिलाहरूमा केन्द्रित गरे मातृ र भ्रूण स्वास्थ्य दुवैमा गर्मीको लहरको प्रतिकूल प्रभावहरूलाई कम गर्न सक्ने उल्लेख छ ।
यो सामग्री निमजिन-कान्सा फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो । यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।