नुनमा आयोडिन बढी भएको भन्दै यसलाई पुनरावलोकनको माग संघीय संसदमै उठेको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क निमजिनले सातै प्रदेशबाट आयो नुनको प्याकेट र असनमा बिक्री भइरहेको ढिके नुनको नमुना परीक्षण गर्दा सरकारले तोकेको मात्राभन्दा बढी आयोडिन भेटिएको थियो ।
यसै प्रसंगलाई उल्लेख गर्दै फागुन २२, २०८१ को संसद बैठकमा सांसद कान्तिका सेजुवालले भनिन्, "भान्सामा खाना पकाउने बेलामा, नुन हाल्ने बेलामा होस् वा खाने बेलामा जहिल्यै झस्किनु पर्ने अवस्था छ ।"
विश्व स्वास्थ्य संगठनले नुनमा १५ पीपीएम आयोडिन हुनु पर्ने मापदण्ड तोकेको छ । छिमेकी देश भारतमा पनि १५ पीपीएम मात्रै तोकिएको छ । यी दुबै देशमा उत्पादन स्थलमा ४० पीपीएम तोकेको छ ।
नेपालमा भने उपभोक्ताले किन्दा ३० पीपीएम र उत्पादनमा ५० पीपीएम आयोडिनको मात्रा तोकिएको छ । निमजिनले नमुना संकलन गरी परीक्षण गरेको नतिजाअनुसार १० नमुनामध्ये ८ वटा ३० देखि ४० पीपीएम पाइएको थियो भने एउटा नमुनामा ४१.५ र अर्को एउटामा ५२.२ पीपीएम पाइएको थियो ।
सांसद सेजुवालले अध्ययनबाट हाम्रो भान्साको नुनमा ५२.२ पीपीएम देखिएको बताइन् । उनले भनिन्, "यो त डब्लुएचओले तोकेको भन्दा तीन गुना बढी भयो । विज्ञहरूले हाम्रो घर घरमा थाइराइड बढ्नुको एउटा यही आयो नुन भन्ने छ ।"
काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टरका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले आयोडिनको मात्रा बढी भएका कारण थाइराइड देखिने गरेको बताएका थिए ।
गलगाड नियन्त्रण गर्न २०५७ सालमा नुनमा आयोडिनको मात्रा तोकिएको थियो, यसलाई पुनरावलोकन नगर्दा नेपालीहरू आयोडिन बढी भएको नुन प्रयोग गर्न बाध्य छन् ।
निमजिनको खोज पढ्नुहोस् - नुनमा झेल : उत्पादनमा हुनुपर्ने आयोडिनको मात्रा भान्सामा, रोगको जोखिम