राजधानी काठमाडौंबाट ४० किलोमिटर उत्तरपूर्वमा मेलम्ची खोलाको किनारमै छ– चनौटे बजार । असार १, २०७८ मा आएको बाढीले ध्वस्त भएको मेलम्ची बजारबाट मेलम्ची खोला पछ्याउँदै माथितिर लाग्दा आउने चनौटे बजारभन्दा माथि महांकाल फाँट छ ।
यही फाँटमा जस्ताले बेरेर बनाइएको टहरोमा तिक्सानी तामाङ (३०) को बसाइ छ । ५ छोरीकी आमा उनी श्रीमान् र सन्तानसँगै यही टहरोमा दिन बिताइरहेकी छन् ।
तिक्सानी मेलम्चीमा आएको बाढीमा बेपत्ता साइली तामाङ (५०) की कान्छी छोरी हुन् । आमा साइली बेपत्ता हुनुअघि तिक्सानी आमाबाबु र दाजुभाउजू बसेकै घरमा सँगै बस्थिन् । उनले आमा बेपत्ता भएको त्यो दिन र त्यसपछि आफूले व्यहोरेको दुःखकष्टलाई भुल्न सकेकी छैनन् ।
सधैंको बर्खामा झैं त्यस दिन पनि मेलम्ची खोलामा धमिलो पानी बगिरहेको थियो । बिहानीको घरधन्दा सकेर उनी खेत रोप्न गएकी थिइन् । रोपाइँ सकेर घर फर्कंदा सिमसिमे वर्षासँगै खोलामा पानीको सतह बढिरहेको थियो । यो ठाउँका बासिन्दाले मेलम्ची खोलाले बर्खामा ल्याउने दाउरा संकलन गरेर वर्षभरिलाई जोहो गर्ने गरेका थिए । बाढी देखेपछि उनी पनि दाउरा समात्न खोलातिरै लागिन् । आमाछोरी वारिपारि बसेर दाउरा निकाल्न थाले ।
हेर्दाहेर्दै खोला बढ्न थाल्यो । खोला किनारमा दाउरा समातिरहेका गाउँले भागाभाग गर्न थाले । उनी पनि माथितिर उक्लिइन् । “खोलामा ग्यास पड्किएझैं गन्ध आइरहेको थियो, जमिन पनि भुइँचालोले हल्लाएझैं हल्लिएको थियो,” २०७२ सालको भूकम्पसमेत भोगेकी उनी बाढी आएको दिन सम्झन्छिन् ।
एकछिन अघि खोलामा दाउरा संकलन गरिरहेकाहरू पाखामा पुगिसकेका थिए । उनले माथि पुगेर हेर्दा आफू बस्दै आएको घरभन्दा पनि धेरैमाथि लेदोसहितको बाढी बगिरहेको देखिन् । उनले पारिपट्टि दाउरा बटुलिरहेकी आमालाई हेरिन् । तर खोलाबाट बाढीे धूवाँदार भएर आइरहेको थियो, केही देखिएन । उनले आमालाई खोजिन्, तर भेटिनन् ।
“आमालाई चिच्याएर भाग्नू भनेको, अरूले पनि खोला ठूलो आएपछि माथि जाऔँ भनेको रे तर सुन्नुभएन कि किन खोलामा आएको दाउरा निकाल्दै हुनुहुन्थ्यो रे,” उनी भन्छिन्, “माथिबाट ह्वात्तै बाढी आएको थियो । त्यही कतै पुर्यो होला । हेर्ने मान्छे भएनन्, पुरे पनि तान्ने मान्छे पनि भएनन् ।”
केहीबेर अघि देखेको घर र आमा छिनभरमै बिलाए । त्यसपछिको कैयौं दिन परालमा सुतेर रात कटाएको उनी सम्झिन्छिन् । “कति बिजोक, कति बिजोक हैट्,” दिक्किँदै तिक्सानी भन्छिन्, “उस्तै मान्छे भएको भए मर्ने बेला हुन्थ्यो होला..., मरिसक्थ्यो होला ।”

बाढीमा बेपत्ता भएकी उनकी आमाको शव अहिलेसम्म भेटिएको छैन । शव नै नभेटिए पनि बाढीमा मृत्यु भएको भन्दै बौद्ध धर्मावलम्बीको संस्कृतिअनुसार परिवारले उनको ‘घेवा’ गरिसकेका छन् । तर पनि उनले आमालाई भुल्न सकेकी छैनन् ।
“आमा यहीं छिन्, नदेखेको मात्र हो जस्तो लाग्छ । त्यहीँ हिँडिरहेको जस्तो लाग्छ,” औंलाले अगाडि देखाउँदै उनले भनिन्, “मनमा अनेक कुरा खेल्छन् । त्यता जाँदा कैयौं रात निदाउन सक्दिनँ ।” उनले आमा बगाएको स्थान पाल्चोकसेरा र आफू जन्मेको हेलम्बु–६ मा रहेको जन्मघर जान नसकेको बताइन् ।
उनका अनुसार आमा हुँदा र नहुँदा उनको जीवनमा आकाश–पातलको फरक छ । “आमा संसार काम गर्नुहुन्थ्यो, एकछिन हात खाली राख्नुहुन्न थियोे,” तिक्सानी भन्छिन्, “आमा हुँदा घरभरि अन्न खानेकुरा हुन्थ्यो, अहिले आमा पनि छैनन्, घर पनि छैन ।”
आमा नभएपछि संसारै नभएको जस्तो भइरहेको उनी बताउँछिन् । “दुःखसुख आफ्नो जिन्दगीको भागभोग त छँदै छ, आमा नभएपछि संसार शून्य लाग्दो रहेछ,” उनले भनिन्, “चाडबाड पनि नआवोस् भन्ने लाग्छ ।”
असार १, २०७८ को बाढीमा ५ जनाको मृत्यु भयो र २० जना बेपत्ता भए । उनीहरू सबै हेलम्बु क्षेत्रकै रहेका हेलम्बु गाउँपालिकाले जनाएको छ ।
तिक्सानीजस्तै मेलम्चीको बाढीमा परिवारजन गुमाएका परिवारहरू विभिन्न तनावबाट गुज्रिएको पाइन्छ । मेलम्ची क्षेत्र केन्द्रित रहेर प्रकृति रिसोर्सेस सेन्टरले गरेको अध्ययन (नेपालमा घाटा र क्षतिको वित्तीयको स्थानीय नेतृत्वमा मूल्यांकनः मेलम्ची बाढी २०२१ को केस नामक अध्ययन) ले पनि बाढी प्रभावितहरूमा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको छ । ५ सय ३९ घरधुरीमा गरिएको अध्ययनका सहभागीमध्ये ८५ प्रतिशत बाढी प्रभावितमा मानसिक स्वास्थ्य समस्या देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
बेपत्ता र मृत्यु भएकाका परिवारका सदस्यलाई मात्र नभई बाढीबाट व्यवसाय, घर, खेतबाली गुमाएका व्यक्तिहरूमा पनि चिन्ता, मानसिक तनाव र डरत्रासका कारण निद्रा नलाग्ने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।
बाढीमा आफन्त गुमाएकै कारण मानसिक रूपमा विक्षिप्त बनेको परिवारलाई त्यसपछिको दिनचर्यामा सामाजिक, व्यावहारिक समस्या, सांस्कृतिक अवरोध, विस्थापित र बसाइँसराइजस्ता समस्या आएका छन् । यी सबै जलवायु परिवर्तनका कारण हुने विपद् र त्यसपछि उत्पन्न हुने गैरआर्थिक क्षति हुन् । जसलाई प्रत्यक्ष रूपमा आर्थिक रूपमा तुलना गर्न सकिँदैन । तर यसको असर आर्थिक क्षतिभन्दा धेरै हुन्छ । संयुक्त राष्ट्रसंघले पनि बाढीका कारण मानव जीवन र स्वास्थ्यमा भएको क्षतिलाई गैरआर्थिक हानि मानेको छ । इसिमोडले गरेको अध्ययनले मेलम्चीको बाढीलाई मानवीय र जलवायु कारक तथा प्रक्रियाहरूको परिणाम भनेको छ ।

बाढीको ३ वर्षपछि अहिले मेलम्ची हेलम्बु क्षेत्रका बासिन्दामा मानसिक समस्या खतराको अवस्थामा पुगेको प्रकृति रिसोर्सेस सेन्टरका निर्देशक प्रवीनमान सिंह बताउँछन् । उनी भन्छन्, “बाढी प्रभावितहरू २ प्रकारका मानसिक समस्याबाट गुज्रिरहेको देखिन्छ ।”
उनका अनुसार बाढी देख्दाको त्रासले एक प्रकारको समस्या आएको छ भने बाढीमा आफन्त, जीविकोपार्जनको स्रोत, व्यवसाय गुमाएकाहरूमा भविष्य नदेख्दा अर्को खालको तनाव देखिएको छ ।
बेसहारा हुँदाको पीडा
मेलम्चीको बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ किउलका माधव भण्डारी (३२) पनि छन् । माधवलाई बाढीले बगाएको बुबा बाबुराम भण्डारीले प्रत्यक्ष देखेका थिए । पारिपट्टि खोला तर्न लागेका २ जना बाढीको बीचमा परेको देखेपछि माधवले उद्धारका लागि प्रहरीलाई फोन गरे ।
त्यसपछि माधव छिमेकी गणेश ज्योतीको ट्राउट फार्ममा धमिलो पानी आएपछि त्यसलाई बन्द गर्न भन्दै मोबाइल बाबुरामको हातमा थमाएर खोलातिर लागेका मात्र थिए । “५ मिटर पर मात्र पुगेको थियो, म उभिएर हेरिरहेको थिएँ, ए ए भन्दाभन्दै छैन । आफ्नै आँखाले देख्दादेख्दै बिलायो,” बाबुराम निःशब्द बने ।
केहीबेरको मौनतापछि उनी बोले, “त्यो आकाशबाट बर्सेको हो कि तलबाट उम्लिएको हो, खोला ठेगाना छोडेर थाहा नपाउने गरी यता (बस्तीतिर) बाट घुमेर आएर झुक्यायो ।”
गहभरि आँसु पार्दै केहीबेर मौन रहेका उनी फेरि बोले, “...लेख्या कुरा यस्तै रै’छ ।”
मेलम्ची बाढीमा बाबुरामले बुढेसकालको सहारा जवान छोरो गुमाए । साढे २ ढलानको घर, १२ रोपनी जग्गा, भैंसी फार्म, ट्राउट माछा फार्म र मिल पनि बाँकी रहेन । २०७२ सालको भूकम्पमा ढलेको घर ऋण गरेर उनले ठड्याएका थिए ।
बाढीले घर, पेसा, आयस्रोतको बाटो र घरको खम्बा मानेको छोरो गुमाएका बाबुरामकी बुहारी (माधवकी श्रीमती) र छोराको भविष्यलाई लिएर पनि चिन्तित छन् । “बुहारी त्यहीँ गाउँपालिकामा सफाइ गर्छे र घरखर्च जसोतसो चलेको छ,” उनी भन्छन्, “नातिलाई पढाएर खुट्टा टेकाउनुपर्ने त्यसले धान्न सक्ने अवस्था छैन । गर्छु भन्ने मान्छे छैन ।”
बाढीपछिको ३ वर्षमा समस्या बुझ्न थुप्रै संघसंस्था आएका भए पनि कतैबाट कुनै सहयोग नपाएकोमा उनी दुःखी छन् । भन्छन्, “समाजमा ‘कठैबरा’ भन्ने मात्र छन्, सरकार पनि हाम्रा लागि नभएसरह छ ।”
व्यावहारिक झमेलाले थपेको सकस
हेलम्बु–२ किउलको मेलम्ची खोला किनारामा माछापालन गरिरहेका गणेश ज्योति पनि सोही बाढीमा बेपत्ता भए । गणेशकी श्रीमती कान्छी माया ज्योतिले आफ्नै आँखाअगाडि श्रीमान् बगेको दृश्य अझै भुल्न सकेकी छैनन् । भन्छिन्, “खोलामा धमिलो पानी आएपछि पानी थुन्न जानुभएको थियो । पानी थुनेर फार्म छेउमै आइपुग्नुभएको थियो । १० मिटरको दूरी हुँदो हो, छोरीले मलाई माथि तानी । उहाँ देख्दादेख्दै त्यही बिलाउनुभयो ।”
बाढीमा श्रीमानसँगै बैंकमा धितो राखेको घर, माछा फार्म, खेती गुमाएकी कान्छीमायाले भोगेका समस्या बेग्लै छन् । माछापालनसँगै अरू व्यवसाय पनि गरिरहेका गणेशले जमिन धितो राखेर ऋण लिएको जानकारी भए पनि कान्छीमायालाई अरू लेनदेन थाहा थिएन ।
“गाउँको धान संकलन गरेर किनबेच पनि गर्नुहुन्थ्यो । उहाँ बितेको एक महिना नहुँदै घरमा धानको पैसा लिन आउनेहरूको लर्को लाग्यो,” उनी सम्झन्छिन्, “उनीहरूकोे भनाइ र व्यवहार सहन मुस्किल थियो । गाउँमा निस्किँदा पनि वचन लगाउँथे ।”

त्यही बेला बैंकले हप्तैपिच्छे पठाउने नोटिस र फोनले उनी दिक्दार थिइन् । उनको परिवारको बैंकको किस्ता तिर्न सक्ने अवस्था थिएन । उनी भन्छिन्, “परिवारका सबैलाई बैंकको कालोसूचीमा राख्यो । जाऊँ भने कहाँ जाऊँ, जाने ठाउँ थिएन, आकाशमा उड्नु कि धर्तीमा भासिनुजस्तो भयो ।”
गणेशको नामको ऋण जग्गाधनी आमा बेलकुमारीको नाममा सारिएको र बैंकले लिलामीको प्रक्रिया थालेकै बेला बेलकुमारीको पनि निधन भएपछि त्यो जग्गा ऋण लिँदा बैंकमा जमानी बसेका छिमेकीको नाममा सारिएको छ । छिमेकीले ऋण चुक्ता गरिदिने सर्तमा जग्गा नामसारी गरेका हुन् ।
जग्गा नामसारी गरेपछि बैंकको ताकेताबाट छुटकारा पाए पनि अहिले अरूको खेत कमाएर जीविकोपार्जन गरिरहेको कान्छीमाया बताउँछिन् । २ छोरी र १ छोराको लालनपालन शिक्षादीक्षाको जिम्मेवारी उनकै काँधमा छ । “परिवारको जिम्मेवारी उठाउने मान्छे हराए, सम्झिँदा मन भक्कानिन्छ,” उनी दुःखेसो पोख्छिन् ।
थातथलो छोड्दाको पीडा
पाल्चोक सेराको मेलम्ची खोला किनारामा रहेको जय बागेश्वरी ट्राउट फार्मबाट दिलकुमारी खड्का पनि बाढीमा बेपत्ता भइन् । उनकी बुहारी पनि बाढीमा फसेकी थिइन् । उनीहरूलाई छिमेकीले उद्धार गरे । तर दिलकुमारी भने भाग्न ढिला हुँदा सधैंलाई बिलाइन् । आमा, घर, व्यवसाय र खेती सबै बाढीले बगाएपछि उनका छोराबुहारी थातथलो छोडेर काठमाडौं सरेका छन् ।
उनका अनुसार घर र व्यवसाय भएको स्थानमा खोला कुदिरहेको छ । खेतमा बालुवाको ढिस्को थुप्रिएको छ । गाउँ फर्किन डोब छैन । “गाउँजस्तो छैन सहर, केही नभएको सुकुम्बासी जसरी बस्नुपरेको छ,” दिलकुमारीकी बुहारी मैया खड्का भन्छिन्, “गाउँको जस्तो कसैलाई समस्या परे एकजुट हुने, दुःखसुख बाँड्ने सामाजिक भावना छैन यहाँ ।”
उनीहरूको पुरानो थलोमा खोला बगिरहेको छ । बाँकी रहेको जमिनमा बालुवाको थुप्रो छ । त्यहाँ गएर बस्न सकिने अवस्था नै नभएको उनी बताउँछिन् । उनीहरूजस्तै अरु बाढी प्रभावितको स्थिति उस्तै छन् । सबैजसो परिवार थातथलो छोडेर अन्तै सरेका छन् । तर कति परिवार कहाँ सरे भन्नेबारेमा गाउँपालिकामा कुनै तथ्यांक छैन ।
इसिमोडको ‘मेलम्ची बाढी प्रकोप: क्यास्केडिङ खतरा र बहुमुखी जोखिम व्यवस्थापनको आवश्यकता’ अध्ययनले पनि प्रभावितहरू बसाइँ सर्न बाध्य हुने अनुमान गरेको छ । अध्ययनअनुसार बाढीले विभिन्न समूहहरू, विशेष गरी निर्वाहमूखी खेती गर्ने परिवारहरूलाई विस्थापित गरेको छ । बहुमूल्य खेतीयोग्य जग्गा बगरमा परिणत भएकाले उनीहरूको जीविकोपार्जनमा असर पारेको छ । जसका कारण बसाइँसराइ हुन सक्ने इसिमोडको अध्ययनमा उल्लेख छ ।
संस्कारमा अवरोध
माछा व्यवसायी ज्ञानेन्द्र कक्षपती बाढी आएपछि फसेका कामदार जोगाउन जाँदा बेपत्ता भए । उनका छोरा उपेन्द्र भन्छन्, “अन्तिम संस्कारका लागि शवको खोजी गरियो तर भेटिएन ।”
हिन्दु विधिअनुसार १२ औं दिनमा मृत्यु संस्कार सक्नुपर्ने हुन्छ । ९ दिनसम्म शव नभेटेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरेको उपेन्द्र बताउँछन् ।
अन्तिम संस्कार गर्न स्थापना गरिएका खोला किनारका संरचनाहरूमा पनि बाढीले क्षति गरेको थियो, त्यसैले बुबाको अन्तिम संस्कार काठमाडौंमा नै गरिएको उपेन्द्रले जानकारी दिए ।
“हामी साउनपछि काठमाडौं सर्यौँ, आमा २ वर्षपछि अहिले यता आउनुभएको छ । मचाहिँ व्यवहार मिलाउन एक महिनापछि फर्कें,” उपेन्द्रले भने, ‘‘आफ्नो घरखेत व्यवसाय भएको ठाउँमा बालुवा र ढुंगााको उरुङ आएर बसेको छ ।”
बाढीले उपेन्द्रको जस्तै हेलम्बु मेलम्ची भेगका स्थानीयको आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गर्ने स्थल गुमाएका छन् । हेलम्बु मेलम्ची क्षेत्रमा २० वटा भन्दै धेरै शवदाह स्थल र भवनमा क्षति भएको छ ।

मेलम्ची क्षेत्रमा १० शवदाह स्थल र भवन, मेलम्ची दोभानको कृष्ण मन्दिर र एक राधेराधे भवनमा बाढीले क्षति पुर्याएको मेलम्ची नगरपालिकाले जनाएको छ ।
त्यस्तै, हेलम्बु गाउँपालिका क्षेत्रमा बाढीले १० वटाभन्दा बढी शवदाह स्थल र भवनमा क्षति गरेको हेलम्बु गाउँपालिकाका सूचना अधिकारी टोपबहादुर अधिकारीले जानकारी दिए । त्यस्तै, हेलम्बु क्षेत्रको गणेशको मन्दिर, चनौटेको राधाकृष्ण मन्दिरलगायत सांस्कृतिक संरचना पनि बाढीमा गुमाएको उनले बताए । आफ्नो सांस्कृतिक धरोहर गुमाउँदा पनि स्थानीय बासिन्दामा तनाव रहेको उनले सुनाए ।
जोखिम बढ्दो, नीति र व्यवहार कमजोर
पछिल्लो १० वर्षको घटनाक्रम हेर्ने हो भने बाढीपहिरोबाट बर्सेनि जनधनको क्षति बढिरहेको छ । बाढीका कारण मृत्यु, चोटपटक, आर्थिक र सामाजिक अवरोधहरू निम्त्याउँछ ।
बाढीका कारण मानवीय क्षति व्यहोरेका परिवारमा परिवारजन गुमाउनु र त्यसपछि उत्पन्न कारणहरूले आघात पुग्ने अध्ययनले देखाएको छ । सामाजिक विज्ञानको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित ‘बाढी प्रकोप पीडितहरूको मनोसामाजिक आघात कम गर्नका लागि परामर्श’ नामक अध्ययनले बाढीका कारण हुने मृत्यु र सम्पत्तिको क्षतिले पुरुष र महिला दुवै मनोवैज्ञानिक घाउबाट ग्रस्त हुने देखाएको छ ।
आघात अनुभव गरेका पीडितका लागि व्यावसायिक परामर्श आवश्यक पर्ने अध्ययनको निष्कर्ष छ । विभिन्न अध्ययनहरूले प्राकृतिक प्रकोपहरू पूर्वसूचनाबिना आउने भएकाले प्रभावितमा पर्ने कष्टप्रद् अनुभवका कारण पोस्ट ट्रमाटिक डिसअर्डर देखिने गरेको अध्ययनहरूको निष्कर्ष छ ।
नेपालमा बाढीपश्चात् समुदायमा आवश्यकताअनुसार मनोसामाजिक परामर्श दिने विषयमा स्पष्ट नीति नै छैन । राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा जलवायु परिवर्तनका कारणले स्वास्थ्यमा पर्ने प्रतिकूल असर न्यूनीकरणका लागि सहकार्य एवं समन्वय गरिने उल्लेख छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ मा जोखिममा रहेका समुदाय वा समूहमा प्राकृतिक प्रकोप पीडितलगायतका लागि मानसिक स्वास्थ्य रोकथाम उपचार तथा पुनःस्थापनाको कार्यक्रम स्थानीय तहबाट सञ्चालन गरिने उल्लेख छ ।
तर, यी नीति र कार्ययोजना प्रभावकारी नभएको मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब ज्ञानेन्द्र सिग्देलले बताए । हेलम्बु मेलम्ची क्षेत्रमा बाढी आउँदा हेलम्बु गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रहेका उनी जिम्मेवार निकायले त्यसको सम्बोधन गर्न नसकेको बताउँछन् । उनका अनुसार अहिले गैरसरकारी संस्थाको भर पर्नुपरेको छ । त्यसका पनि सीमितता छन् ।
नेपालमा मनोसामाजिक परामर्शको अवस्था निकै कमजोर छ । “मनोसमाजिक परामर्श सेवा दिने विषयमा सरकारसँग स्पष्ट नीति र जनशक्ति दुवै छैन, त्यसमा तीनै तहका सरकार चुकेका छन्,” उनी भन्छन्, “स्थानीय सरकारले पनि स्वास्थ्यकर्मीलाई केही लगानी गरेर मनोपरामर्शदाता उत्पादन गर्न पहल गर्न सकिन्छ ।”
प्रकोपमा मनोसामाजिक परामर्श दिने कार्यको सुरुवात भएको कोसिस नेपालका मनोवैज्ञानिक अनुप आचार्य बताउँछन् । “समाजमा मनोसामाजिक परामर्शको आवश्यकता धेरै छ,” उनी भन्छन्, “त्यसका लागि धेरे नै काम गर्न बाँकी छ ।”
नीति र जनशक्तिको अभावका कारण प्रभावित क्षेत्रमा पुग्न नसक्दा प्रभावित व्यक्तिले परामर्श पाउँदैनन् र पाइरहेका छैनन् । प्रकोप भएका स्थानमा समुदाय स्तरमा मनोवैज्ञानिक प्राथामिक उपचारको आवश्यकता हुन्छ । केही अवस्थामा जटिल समस्या पनि हुन्छ । उनीहरूलाई काउन्सिलिङले मात्र पुग्दैन र मनोचिकित्सकलाई देखाउनुपर्ने हुन्छ ।
सरकारले कुनै स्थानीय तहमा पनि समुदाय स्तरमा भएका विपद्का समस्यालाई केन्द्रित गरेर कुनै जनशक्ति नियुक्त नगरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले बताइन् । सरकारसँग गैरसरकारी संस्थाको समन्वयमा विपद्स्थलमा मनोसामाजिक परामर्श प्रदान भइरहेको उनले बताइन् ।
हाल गरिएको प्रयास अपर्याप्त भएको उनी स्विकार्छिन् । उनका अनुसार सरकारले स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको वार्षिक लगानीअनुसार मानसिक स्वास्थ्यमा लगानी बढाउन सकिने अवस्था छैन । त्यस्तै, मानसिक स्वास्थ्य समस्या निराकरणका लागि दक्ष जनशक्तिको अभाव पनि छ ।
परामर्शको टड्कारो आवश्यकता
“प्रभावितहरूकोे जनधनको क्षति भएको हुन्छ, सँगै प्रकोपका प्रत्यक्षदर्शी भएका कारण उनीहरूको मनमा पनि गहिरो चोट पुगेको हुन्छ,” मनोवैज्ञानिक आचार्य भन्छन्, “व्यक्तिगत जीवनमा भएको हानिले झनै तनाव हुँदा मानसिक समस्या देखिन्छ ।” यस्तो अवस्थामा सुरुमा समुदायमा परामर्शको आवश्यकताको अवलोकन गरेर परामर्श सेवा दिने गरिएको उनले बताए ।
केही व्यक्तिहरूमा प्रकोपमा कारण मनमा जटिल चोट पुगेको हुन्छ । जसमा औषधि नै सेवन गर्नुपर्ने हुन्छ । तनाव र एन्जाइटीलाई परामर्श दिएर सुल्झाउन सकिन्छ । जटिल एन्जाइटी, डिप्रेसन, साइकोसिसजस्ता समस्या भएकाले भने मनोचिकित्सकलाई नै देखाएर औषधि नै चलाउनुपर्ने हुन्छ ।
हेलम्बु/मेलम्ची क्षेत्रमा बाढीपश्चात् केही गैरसरकारी संस्था मनोपरामर्शका लागि आएको सिनियर अहेब सिग्देलले बताए । सरकारका तर्फबाट भने मनोपरामर्श सेवाको काम नभएको उनले बताए ।
उनका अनुसार गैरसरकारी संस्थाले सेवा दिएका केही व्यक्तिलाई औषधि नै चलाउनुपर्ने अवस्था देखिएको थियो । बाढीका बेलामा हेलम्बुको स्वास्थ्य शाखा प्रमुख रहेका सिग्देलका अनुसार त्यतिबेला एउटा संस्था ३ दिनको कार्यक्रम लिएर पुगेको थियो । उनीहरूले करिब ४५ जनालाई परामर्श दिएका थिए ।
पबमेडको ‘बाढीपछि पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर दरको मेटा विश्लेषणात्मक अध्ययन’ ले बाढीपीडितमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) को उच्च दर रहेको देखाएको छ । जसले उनीहरूको बानीव्यवहार, रुचि र जीवनशैलीलाई असर गरेको पाइएको छ । यसले चिकित्सकीय सहायताको आवश्यकतालाई जोड दिन्छ । अध्ययनले नेपालजस्तो विकासोन्मुख देशहरूमा बाढी पीडितका लागि नीति निर्माण गरी समयमै उपचार र मनोवैज्ञानिक परिणामहरू कम गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ ।
अध्ययनले बाढीपीडितमा बाढीपछिको पीटीएसडीको व्यापकता पहिचान गर्न २३ घटनाको मेटा विश्लेषण गरेको हो । जसमा २९.४८ प्रतिशतमा पीटीएसडी उच्च दर देखिएको अध्ययनमा उल्लेख छ । अध्ययनले एसियामा पीटीएसडीको प्रकोप अन्य क्षेत्रमा भन्दा बढी रहेको पत्ता लगाएको छ । एसियामा सबैभन्दा बढी प्रकोप ५७.३५ प्राकृतिक प्रकोपसँग जोडिएको थियो । एसियाले प्राकृतिक प्रकोपको उच्च दरको अनुभव गर्दछ, महिलाहरूले बढी पीडादायी अनुभव गरेको देखाएको छ । एसियामा प्रकोपहरूको आवृत्ति र गम्भीरताले पीटीएसडीको बढ्दो घटनाहरूमा योगदान पुर्याउने देखाएको छ ।
विगत ४० वर्षमा धनी देशहरूमा संकट रोकथामका प्रयासहरूले कम मृत्युदर कायम राख्न मद्दत गरेको बाढीले जीवन र मानव स्वास्थ्यमा असर नामक अध्ययनमा उल्लेख छ । अध्ययनका अनुसार मानव क्षति रोक्न डाटा संकलन, विश्लेषण र जनसंख्या सुरक्षाको व्याख्यालाई प्राथमिकता दिन र जोखिम रोकथामका लागि कमजोरी र व्यवहार पत्ता लगाउनु महत्त्वपूर्ण छ । अप्रत्याशित बाढीको प्रभावका कारण मानवताको जोखिममा परेकाको ध्यान केन्द्रित गर्नु र स्वास्थ्यमा पर्ने असरहरूलाई सम्बोधन गर्नु आवश्यक छ ।
बाढीपहिरो, अतिवृष्टि र खडेरीजस्ता प्रभाव नेपालमा देखिएका छन् । जसका कारण स्थानीयहरू मनोसामाजिक समस्याको चपेटामा परेको र पर्दै आएका छन् । नेपालजस्तो विकासशील देश, जसले हरिगृह ग्यास उत्सर्जन न्यून गरे पनि त्यसको प्रभावको सिकार भएको छ । जसका कारण गैरआर्थिक हानिको विषय जस्तै, मनोसामाजिक असरलगायत विषयहरू अझै पनि ओझेलेमा छन् ।
मनोसामाजिक अवस्था पहिचान गर्न र उनीहरूलाई अनुकूलन गराउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट कुनै पहल भएको छैन । फलस्वरूप विपद् प्रभावितहरू स्थानीय तहबाट पाउने मनोसामाजिक सहयोगबाट वञ्चित छन् ।
यो समस्या निराकरणका लागि सुरुमा प्रकोप क्षेत्रमा कस्तो समस्या देखिएको छ भन्ने अध्ययन गर्न जरुरी रहेको डा. थापा बताउँछिन् । त्यसका आधारमा नीति बनाउने विषयमा पहल गर्ने उनी बताउँछिन् । एउटा प्रभावित स्थानीय तहबाट भए पनि सेवा सुरु गर्न सकिने र त्यसलाई विस्तार गर्न सकिने विचार राख्दै समस्याको निराकरणका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने डा. थापा बताउँछिन् ।
यो सामग्री निमजिन-कान्सा फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो । यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।