मलेसियाको के के मेटल प्रोसेसिङ कम्पनीको वर्कसपमा वेल्डिङ गरेको भाग सफा गर्ने काम (ग्रिन्डर) मा व्यस्त थिए– दाङका सन्दीप चौधरी (२६) ।
काम गरिरहेकै ठाउँमा आएर कम्पनीका अर्का एक कर्मचारीले उनलाई कार्यालयमा हिँड भने । एकाएक कार्यालय जाऊँ भनेपछि सन्दीप अलि आत्तिए । अनि, कम्पनीमै कार्यरत पुराना एक नेपाली कामदारलाई साथ लिएर उनी ती कर्मचारी पछ्याउँदै कार्यालयमा पुगे ।
पहिलो पटक मलेसियामा पुगेका सन्दीपलाई कार्यालयमा रहेका कर्मचारीले स्थानीय भाषामा केके भने उनले पटक्कै बुझेनन् । उनीसँगै गएका पुराना नेपाली कामदारले उल्था गरिदिएपछि सन्दीप समस्याको भुमरीमा परेजस्तै भए । “खोइ, कम्पनीका मेनेजर हुन् कि इन्चार्च हुन्, उनले ‘तिम्रो खुनमा खराबी छ, काम गर्न मिल्दैन, अब घर फर्किनुुपर्छ भने,’ अनि म आत्तिएँ” सन्दीपले सुनाए ।
सन्दीप मलेसिया गएको सवा २ महिना मात्र भएको थियो । कम्पनी प्रमुखको कुराले उनी अलमलमा परे । ती कर्मचारीले आफ्नो कम्प्युटरतिर बोलाएर सन्दीपलाई एउटा फोटो देखाए । फोटो हेर्न कम्प्युटरनजिक पुगेका उनलाई ती कर्मचारीले नजिक पर्न भने दिएनन् । सन्दीपले भने, “म नजिक पुगें, ती कर्मचारी पर सरे ।”
त्यसपछि ती कर्मचारीले ‘तिम्रो खुनमा यस्तो रोग देखियो, यहाँ यसको औषधि पाइँदैन, काम गर्न पनि मिल्दैन, घर जाऊ र उतै (नेपाल) औषधि पनि गर’ भनेको सन्दीपले बताए ।
ऋण काढेर मलेसिया गएका सन्दीपले ती कर्मचारीलाई आफ्नो पीडा पोखे । “मलाई अहिलेसम्म यस्तो केही भएको छैन, काम गर्न सक्छु भन्दा उनले पटक्कै मानेनन्, ‘यो सरुवा रोग हो, यहाँ बस्न मिल्दैन’ भनेपछि मेरो केही उपाय लागेन,” सन्दीपले फर्कनुको बाध्यता सुनाए ।
कम्पनीका कर्मचारीले कम्प्युटरमा देखाएको त्यो फोटो के थियो ?
“खुट्टा सुन्निएको फोटो थियो, त्यो हात्तीपाइले रोगको हो,” सन्दीप आश्चर्य प्रकट गर्दै प्रश्न गर्छन्, “म यहाँ (नेपाल) बाट मेडिकल पास भएर गएको हुँ, त्यहाँ (मलेसियामा) कसरी फेल भएँ ?”
सन्दीपको खुट्टा सुन्निएको थिएन र अहिले पनि छैन । मलेसियाबाट फर्केर आएपछि सन्दीपले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर हात्तीपाइले रोगको परीक्षण गर्दा पनि अस्पतालले रोग भएको पुष्टि गर्न सकेन ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार हात्तीपाइले रोग फाइलेरिया परजीवीबाट लाग्छ र यो परजीवी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्छ ।
एउटै रोगको रिपोर्ट नेपाल र मलेसियामा कसरी फरक ?
सन्दीप मलेसिया जानुअघि भएको स्वास्थ्य परीक्षणमा कुनै खराबी देखिएको छैन । चिकित्सकले उनलाई ‘कामका लागि योग्य’ र ‘रोजगारीमा जान सक्ने’ भनेर लेखेका छन् । रिपोर्टमा स्वास्थ्य परीक्षण गर्ने संस्थाको स्पष्ट नाम, ठेगाना, फोन, वेबसाइट, इमेल छैन ।
रिपोर्टको सिरानमा ‘मलेसिया मेडिकल रिपोर्ट फर फरेन वर्कर’ र एमसी रिफरेन्स नम्बर ८५८५४ उल्लेख छ । अन्त्यमा, डाक्टरको नाम विनया थापा, हस्तक्षर र पावर्ड वाई बेस्टिनेट उल्लेख छ ।

फेब्रुअरी ११, २०२४ मिति उल्लेखित उनको मेडिकल रिपोर्टमा ‘ही इज फिट टु वर्क’ र अर्को नम्बरमा ‘रिकमेन्डेड द्याट ही बी कन्सिडर्ड फर इम्प्ल्वाइमेन्ट’ भनिएको छ । उक्त रिपोर्टमा म्याद स्वास्थ्य परीक्षणको ३ महिना अर्थात् मे ११, २०२४ सम्म थियो ।
वैदेशिक रोजगार विभागका अनुसार स्वास्थ्य परीक्षण गर्ने संस्था २ सय २३ वटा छन्, जसमध्ये मलेसिया जाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाकै संख्या ३६ छ । यी संस्थाहरूले कामदार वैदेशिक रोजगारमा जानुअघि स्वास्थ्य परीक्षण गर्न पाउने अनुमति लिएका छन् ।
सन्दीप नेपाल फर्केर हात्तीपाइले रोग भए/नभएको थाहा पाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा साउन १७, २०८१ (जुलाई १, २०२४) मा ‘सर्कुलेटिङ फिलारियल एन्टिजेन’ परीक्षण गरेका थिए । सोही दिन आएको रिपोर्टमा हात्तीपाइले रोग देखिएको छैन । जसबाट नेपालमा स्वास्थ्य परीक्षण पास गरेर गएका जोकोही श्रमिक पनि मलेसियामा स्वास्थ्य परीक्षणमा फेल भएर घर फर्कनुपर्ने देखिन्छ ।
“परीक्षण मेथोड (विधि) र इक्विपमेन्ट (उपकरण) फरक परेर पनि हुन सक्छ,” अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “कहिलेकाहीँ परीक्षण गर्दा सिम्टम (लक्षण) नेदेखिएर पनि दुई ठाउँमा फरक भएको हुन सक्छ ।’
स्वास्थ्य सेवा अन्तर्गतको एनटीडी तथा भेक्टर बर्न डिजिज कन्ट्रोल शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोका अनुसार नेपालका सरकारी अस्पतालहरुमा हात्तीपाइले रोगको एन्टिजेन र माइक्रोप्लेरिया टेष्ट हुने गर्छ र वैदेशिक रोजगारसम्बन्धित मेडिकल संस्थाहरुले यस प्रकारको टेष्ट गरेको जानकारीमा आएको छैन ।
त्यो टेष्ट गर्ने किट ती संस्थाहरुमा नभएको पनि उनको भनाइ छ । एन्टिजिन टेष्टमा हात्तीपाइले रोगको प्रकृति र माइक्रोफ्लेरिया टेष्टमा रोगको तत्कालीन अवस्था हेरिन्छ । “एन्टिजिन टेष्ट गर्दा पोजिटिभ देखिए त्यो अरुमा सर्न पनि सक्छ, नसर्न पनि सक्छ, तर माइक्रोफ्लेरिया टेष्टमा पोजिटिभ देखिए अरुमा सर्छ ।”
महतोका अनुसार मलेसियाले यस प्रकारको टेष्ट नगरी नन स्पेसिफिक टेष्ट तथा ग्रुप टेष्ट गर्छ, जुन नेपालको विधिभन्दा फरक छ । “मलेसियाले कामदारको के कस्तो टेष्ट गरियो भनेर रिपोर्ट दिने गरेको छैन, जसबाट त्यहाँ के भएको भनेर हामीले यहाँ टेष्ट नगरी थाहा पाउन सक्दैनौं,” महतोले भने ।
सन्दीपलाई मलेसियाबाट फर्काउने कम्पनीले कुन–कुन विषयमा स्वास्थ्य परीक्षण गरियो र रिपोर्ट कस्तो आयो भनेर कुनै कागजात दिएको छैन । उनका अनुसार मलेसियामा दुई पटक स्वास्थ्य परीक्षण गराइएको थियो । मलेसियामा त्यहाँको स्वास्थ्य मन्त्रालयकोतर्फबाट विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने निकाय फोमेमाले दिएको रिपोर्टमा ‘मेडिकल अनफिट’ भन्ने मात्र उल्लेख छ ।
हामीले सेप्टेम्बर १०, २०२४ मा (भदौ २५, २०८१) मा मलेसियास्थित फोमेमालाई सन्दीप र त्यहाँ पुगेका नेपाली श्रमिकको स्वास्थ्य परीक्षणबारे सोधेका थियौँ । फोमेमाले सेप्टेम्बर १८ (असोज २) मा पत्रमार्फत सन्दीपको स्वास्थ्यबारे भन्न नमिल्ने बताउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य अवस्थाबारे दुई पेजमा जानकारी गराएको छ ।

२०२० देखि जुन २०२४ सम्मको परीक्षणअनुसार मलेसियामा नेपाली श्रमिकमा टीबी, हेपाटाइटिस ‘बी’ र सिफलिस (एक प्रकारको यौनरोग), हेपाटाइटिस ‘सी’, हात्तीपाइलेलगायत सरुवा रोग पाइएको फोमेमाले जनाएको छ ।
फोमेमाका अनुसार सन् २०२० देखि २०२४ सम्मको स्वास्थ्य परीक्षणको रिपोर्टअनुसार नेपालीमा सबैभन्दा धेरै टीबी, हेपाटाइटिस ‘बी’ र सिफलिस रोग देखिएको छ । यी रोग सरुवा भएको र सरुवा रोग देखिएका कामदारलाई अयोग्य घोषणा गर्ने गरेको फोमेमाले स्पष्ट पारेको छ ।
२०२३ डिसेम्बरदेखि २०२४ को जुनसम्म ७ महिनाको अवधिमा गरेको स्वास्थ्य परीक्षणमा ९० जना नेपाली कामदारमा हेपाटाइटिस ‘सी’ र ५ सय ५० जना नेपाली कामदारमा हात्तीपाइले रोग भेटिएको फोमेमाको तथ्यांक छ ।
उसका अनुसार नसर्ने रोगमा मधुमेह र हाइपरटेन्सन (उच्च रक्तचाप) पनि पाइएको छ । सन् २०२३ मा यी समस्या ३ हजार जनामा र २०२४ को जुनसम्म २ हजार ४ सय ९० जनामा भेटिएको छ ।
मधुमेह र हाइपर टेन्सन जस्ता नसर्ने रोग देखिएका कामदारले स्वस्थ जीवनशैली अपाउनुपर्ने र पुरानो रोग भएकाहरूले चिकित्सकद्वारा सिफारिस औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।
फोमेमाका अनुसार पुरानो रोग भएका कामदार, जसको रोग नियन्त्रणमा छ, तिनीहरू मलेसियामा काम गर्न योग्य हुनेछन् । मलेसियाले सक्रिय स्वास्थ्य व्यवस्थापन प्रणालीलाई महत्त्व दिने भन्दै फोमेमाले रोग नियन्त्रित अवस्थामा भएका विदेशी कामदार रोजगारीका लागि योग्य हुने स्पष्ट पारेको छ ।
नेपाल सरकारले असार २०, २०८१ मा राजपत्रमा अध्यावधिक गरेको संक्रामक रोगको सूचीमा ५२ वटा रोग छन् । जसमा टीबी २ नम्बरमा र हेपाटाइटिस ‘बी’ १९ नम्बरमा छन् । त्यो सूचीमा सिफलिसबारे उल्लेख छैन । त्यस्तै, सूचीको २५ नम्बरमा हेपाटाइटिस ‘सी’ र ३३ नम्बरमा हात्तीपाइले (लिम्फाटिक फिलाराइसिस) छ ।
मलेसियाको स्वास्थ्य निकाय ‘फोमेमा’ को पछिल्लो साढे ३ वर्षको तथ्यांकले भन्छ- नेपाली कामदारमा देखिएका प्रमुख सरुवा रोगहरूमा टीबी, हेपाटाइटिस ‘बी’, सिफलिस, हेपाटाइटिस ‘सी’ र हात्तीपाइले देखिएको छ ।
मेडिकल फेल भएर फर्किनेमा सन्दीप एक्ला छैनन् र फर्कने नेपालीमा हात्तीपाइले मात्र देखिएको पनि छैन । सुनसरीको दुहबीका सञ्जय उराउ (२६) मंसिर २७, २०७९ मा मलेसिया गएकोमा मेडिकल फेल भएर फागुन, २०७९ मा फिर्ता आए ।
छातीमा दाग देखिएको भनेर छोरालाई कम्पनीले फिर्ता पठाएको र अहिले छोरा काम गर्न भारत गएको उनकी आमा चन्द्राकुमारीले बताइन् । नेपालमा युनिभर्सल डाइग्नोस्टिक सेन्टरमा मेडिकल गरेर गएका उनी मलेसियामा स्वास्थ्य परीक्षण गर्दा फेल भएका थिए । उनकी आमाका अनुसार सञ्जयलाई सानैमा निमोनिया भएको थियो ।
फोमेमाको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार स्वास्थ्यका कारण वार्षिक रूपमा नेपाली कामदार कम्तीमा २ हजार ९ सय र बढीमा ५ हजार २ सय ६० जना कामका लागि अयोग्य (अनफिट) भएका छन् । अयोग्य कामदारलाई मलेसियाले फर्काउने गरेको छ ।
आप्रवासी कामदारको अधिकारका लागि वकालत गर्ने एक संस्था ‘पिपुल फोरम’ ले गत आर्थिक वर्षमा मेडिकल फेल भएर फर्केका २ महिलासहित २६ जना कामदारलाई वैदेशिक रोजगार विभागमा कानुनी सहयोग गरेको बताएको छ । जसमा मलेसियाबाट फर्केका सबैभन्दा धेरै १५ जना छन् भने अरु कुवेत र युएईका छन् ।
तुलसीपुर–१०, दाङका कृतु चौधरीले आफू १० वर्षअघि मलेसियाबाट मेडिकल फेल भएर फर्किनुपरेको बताउँदै त्यतिबेला के गर्ने भन्ने कतैबाट केही जानकारी नपाएको सुनाए । “त्यति बेला कहाँ उजुरी गर्ने, क्षतिपूर्ति के पाउने भन्ने मलाई केही थाहा थिएन र कसैले पनि भनेनन्,” आफन्त सन्दीप चौधरीलाई सहयोग गर्न काठमाडौं आएको बेला भेटिएका कृतुले भने, “मेरो पैसा त्यत्तिकै डुब्यो ।”
वैदेशिक रोजगार विभागमा बेमेलको मेलमिलाप
सन्दीप ग्रिल वेल्डिङ कामका लागि मासिक १५ सय मलेसियन रिंगिट (४५ हजार रुपैयाँ) तलबमा मे १९, २०२४ (जेठ ६, २०८१) मा मलेसिया गएका थिए । उनी जुलाई ३०, २०२४ (साउन १५, २०८१ ) मा मलेसियाबाट बल्लतल्ल खर्च जुटाएर स्वदेश फर्किएका हुन् ।
सन्दीपले मलेसिया जानका लागि दाङकै मनोज चौधरीलाई ४ लाख ५ हजार रुपैयाँ नगद बुझाएको बताए । “४ लाख रुपैयाँ मैले सय कडा ३ प्रतिशत ब्याजमा ऋण लिएको थिएँ, बाँकी अरू पैसा मसँग थियो, अब त्यो ऋण कसरी तिर्ने ?” सन्दीप चिन्तामा छन् ।
मनोजले भने सन्दीपसँग ४ लाख लिएको र त्यसमा १५ हजार आफूले राखेर अरू सबै रकम काठमाडौं तीनकुनेको संयोग ओभरसिज प्रालिलाई बुझाएको बताए । संयोग ओभरसिजबाटै सन्दीप मलेसिया गएका थिए । उनको स्वास्थ्य परीक्षण ए क्वालिटी हेल्थ केयर एन्ड डायग्नोस्टिक प्रालिले गरेको थियो । स्वास्थ्य परीक्षणका लागि उनले १० हजार रुपैयाँ बुझाएका थिए ।
जेठ २६, २०७२ मा सरकारले सोही वर्षको असार २१ देखि लागू हुने गरी मलेसिया र खाडीका ६ देशमा फ्री भिसा र फ्री टिकटको निर्णय गरेको छ । जसअनुसार कामदारले सेवा शुल्कका लागि १० हजार रुपैयाँभन्दा बढी मेनपावर कम्पनीलाई तिर्नु पर्दैन । सन्दीपसँग १० हजार रुपैयाँ मात्र लिन पाउने ठाउँमा मेनपावर कम्पनी र उसका एजेन्टले ४ लाख रुपैयाँभन्दा बढी लिएका थिए ।
यस्तै, नेपाल र मलेसियाबीच भएको श्रम सहमतिअनुसार मलेसिया जाने कामदारको नेपालमा गरिएको स्वास्थ्य परीक्षणको शुल्क रोजगारदाताले सोधभर्ना गर्नुपर्ने व्यवस्था छ । नेपाल सरकारले मलेसियाका लागि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ तोकेको छ । जब कि १० हजार रुपैयाँ तिरेका सन्दीपले त्यसको सोधभर्ना पाएनन् ।
सन्दीपले आफू मेडिकल फेल भएर फर्किएपछि साउन ३० गते मेडिकल गर्ने संस्था, मेनपावर एजेन्ट मनोज र मेनपावर कम्पनी संयोग ओभरसिजविरुद्ध ४ लाख ५१ हजार रुपैयाँ खर्चको प्रमाणसहित वैदेशिक रोजगार विभागमा उजुरी गरे ।

सन्दीपले मलेसिया जाँदा एजेन्ट मनोजमार्फत दिएको ४ लाख ५ हजार रुपैयाँ र मलेसियाबाट आफूले टिकट काटेर फर्किंदाको हवाई टिकटको १ हजार ६ सय ५० रिंगिट (४६ हजार २ सय रुपैयाँ) सहित ४ लाख ५१ हजार रुपैयाँ क्षतिपूर्ति मागेका थिए ।
“मलेसिया पुगेको ३ महिनामा स्वास्थ्य परीक्षण गराउँदा मेडिकल फेल भनी कम्पनीले मलाई स्वदेश फिर्ता गरिदिएकाले स्वदेश फर्की सम्बन्धित मेनपावरमा सम्पर्क गर्दा कुनै वास्ता नगरेकाले बाध्य भई न्यायका लागि सम्मानित विभागको शरणमा आएको छु,” उनले विभागमा दिएको उजुरीमा लेखेका छन् ।
उनको उजुरीपछि वैदेशिक रोजगार विभागले मलेसियामा कामदारले करार सम्झौताबमोजिम काम, तलब, सेवासुविधा कम्पनीमा नपाएको भन्दै मेनपावर कम्पनीलाई लिखित जवाफसहित उपस्थित हुन साउन ३१ मा ७ दिने पत्र काटेको थियो । त्यसपछि गलत उजुरी गरेको भन्दै मेनपावर र एजेन्ट मनोजले आफू र आफन्त कृतु चौधरीलाई धम्क्याएर मिल्न दबाब दिएको सन्दीपले बताए ।
दबाबकै बीच भदौ ६ गते १ लाख रुपैयाँ क्षतिपूर्ति बुझेर मिलापत्र गर्न बाध्य भएको उनले सुनाए । “फेरि मुद्दा हाल्छु भन्न थाले, के के गर्लान् भन्ने डर लाग्यो र मिलापत्र गरेँ,” मिलापत्र गरेपछि सन्दीपले भने, “अब यहाँ (काठमाडौं) बसेर लडिदिने मान्छे पनि भएन, दाङबाट आउँदा–जाँदा खर्च मात्र हुने भयो, त्यही हुनाले मिलेँ ।”
उनले पाएको १ लाख क्षतिपूर्ति उनको खर्चको एक चौथाइ पनि होइन, जबकि वैदेशिक रोजगार ऐन, २०६४ अनुसार उनले खर्च भएको सबै रकमको क्षतिपूर्ति पाउनुपर्छ । मेडिकल फेल भएर स्वदेश फिर्ता भएका कामदारलाई वैदेशिक रोजगारमा जाँदा र फर्किंदा लागेको खर्च फिर्ता दिनुपर्ने ऐनमा उल्लेख छ ।
त्यस्तै, सुनसरी, दुहबीका एजेन्ट विनोदकुमार उराउलाई ३ लाख १० हजार रुपैयाँ नगदै दिएर शेर्पा इन्टरनेसनल मेनपावर कन्सल्टेन्सी प्रालिमार्फत मलेसिया उडेका सुनसरीका सञ्जय उराउले पनि खर्च भएको रकम फिर्ता पाएका छैनन् ।
मलेसियाबाट फिर्ता भएपछि उनले नक्कली मेडिकल गरेको र बिमासमेत नगराई विदेश पठाएको भन्दै चैत १९, २०७९ मा जिल्ला प्रशासन कार्यालय, सुनसरीमा विनोदकुमारविरुद्ध वैदेशिक रोजगार ठगी मुद्दा दर्ता गरे ।
आमाछोराले काठमाडौं आएर मेनपावर कम्पनी र एजेन्ट विनोदकुमार विरुद्ध वैदेशिक रोजगार विभागमा पनि उजुरी दिए ।
आमा चन्द्राकुमारीले विभागमा कात्तिक १३, २०८० मा दिएको उजुरीमा मलेसिया जाँदा लागेको खर्च ३ लाख १० हजार रुपैयाँ र हर्जाना १ लाख ५५ हजार गरी कुल ४ लाख ६५ हजार क्षतिपूर्ति माग गरेकी थिइन् ।

उजुरीपछि मेनपावर कम्पनीले दुई पटक गरेर ७५ हजार रुपैयाँ फिर्ता गरेको र बाँकी रकम एजेन्टले नै दिने भनेको चन्द्राकुमारीले बताइन् । “तर एजेन्टले एक पैसा पनि दिएनन्,” उनले भनिन्, “उजुरीका लागि आमाछोरा चार पटक काठमाडौं धाउँदा उल्टै ४० हजार रुपैयाँ खर्च भयो ।” चन्द्राकुमारीले एजेन्ट विनोदकुमारलाई हदैसम्मको कारबाहीको माग राखेको भए पनि कुनै कारबाही भएको छैन ।
विनोदकुमारले भने सञ्जयलाई विदेश पठाउन आफूले कुनै नक्कली काम नगरेको र उनीबाट लिएको रकममा आफूले १५ हजार रुपैयाँ मात्र राखेर अरु सबै मेनपावर कम्पनीलाई बुझाएको बताए । “मैले पाएको कमिसन १५ हजारमा २५ हजार थप गरेर ४० हजार रुपैयाँ फिर्ता दिन्छु भन्दा उनीहरूले मानेका छैनन्,” विनोदले भने, “उनीहरूले खर्च भएको सबै चाहियो भन्छन्, मेडिकल फेल भएको केस हो, मेरो दोष छैन, मैले अरु दिन सक्दिन ।”
दाङका सन्दीपले १ लाख रुपैयाँ पाए पनि उनी र मेनपावर कम्पनीबीच भएको मिलापत्रमा कति रकम लेनदेन भयो भन्ने उल्लेख छैन ।
संयोग ओभरसिजका अधिकृत रविन घिमिरेले आपसी सहझदारीमा सन्दीपको माग पूरा गरिदिएकोे दाबी गरे । “उहाँले जे खोज्नुभएको हो, त्योसम्बन्धी माग हामीले पूरा गरिदियौं,” घिमिरेले थपे, “कोही व्यक्तिलाई पीडित बनाउनु छैन, राम्रो हुँदाको अवस्थामा दुई पैसा सबैले कमाइ गर्ने हो, उहाँलाई के चाहिएको हो, त्यो माग पूरा गरिदिएको हो ।”
उनले सन्दीपसँगबाट मेनपावरले लिएको रकम र उनलाई क्षतिपूर्ति दिएको रकम खुलाउन मानेनन् । तपाईंहरूले उहाँलाई कति दिएर मिलापत्र गर्नुभएको भन्ने प्रश्नमा घिमिरेले भने, “यससम्बन्धी त म केही बोल्दिनँ ।”

श्रम अदालतकी सदस्य (न्यायाधीश) निशा बानियाँ मेलमिलाप गराउँदा रकम खुलाउनै पर्ने बताउँछिन् । “रकम नखुलाई मेलमिलाप गर्न पाइँदैन,” वैदेशिक रोजगार न्यायाधीकरणकी पूर्व सदस्यसमेत रहेकी उनले भनिन्, “यति रकम दिने र यति रकम लिने भन्ने उल्लेख हुनुपर्छ । वैदेशिक रोजगार विभागमा मेलमिलाप गराउँदा विभागका कर्मचारीको रोहबरमा हुनुपर्छ ।”
विभागका निर्देशक लोकनाथ भुसालले उनीहरू आफैं मिलून् भनेर छाड्ने गरेको बताउँदै अबदेखि मिलापत्र कागजमा रकम उल्लेख गर्न लगाउने बताए । “हामीले दुई पक्ष मिलून् भनेर छाडिदिन्छौं र ९० प्रतिशत केसमा मिलापत्र भएका पनि छन्, नमिलेका केसमा थप कानुनी प्रक्रिया अघि बढाउँछौैं”, भुसालले भनिन्, “यो मिलापत्रमा लेनदेनको रकम उल्लेख भएको रहेनछ, अबदेखि गर्न लगाउँछौं ।”
कामदारबाट मेनपावर कम्पनीले लागतभन्दा बढी रकम लिएको स्विकार्दै उनले यसमा कानुनी समस्या रहेको समेत औंल्याए । उनले भने, “एजेन्ट र मेनपावरलाई जोड्न सकिएको छैन, कानुनी ग्याप यहींनेर छ ।”
विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार मेडिकल फेलका केसहरू विभागमा फाट्टफुट्ट आउने गरेका छन् । “राम्रोसँग मेडिकल गर्न त्यो रेटले पुग्दैन र व्यवसायीहरू चिटिङ गर्छन्”, सुवेदीले भने, “राम्ररी मेडिकल गर्ने हो भने त यो समस्या पनि आउने थिएन ।”
पिपुल फोरमका निःशुल्क कानुनी सहायता कार्यक्रममा पूर्वसंयोजक अधिवक्ता सुदीप देवकोटाले कामदारले आफ्नो तरिकारले मेडिकल संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न नसक्ने भन्दै एजेन्ट वा मेनपावर कम्पनीले तोकेकै संस्थामा गएर गराउनुपर्ने बाध्यता रहेको बताए । “त्यही हुनाले मेडिकल फेल भएको केसमा मेडिकल संस्था र मेनपावर कम्पनी दुवैलाई उजुरी दिनुपर्ने भएको छ,” देवकोटाले भने ।
समाधान के ?
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ अनुसार विदेशमा मेडिकल फेल भएका कामदार स्वदेश फर्केको मितिले ९० दिनभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड वा वैदेशिक रोजगारसम्बन्धी कामकाज गर्ने अधिकारप्राप्त श्रम तथा रोजगार कार्यालयमा निवेदन दिन सक्ने कानुनी प्रावधान छ ।
मेडिकल फेल भएर फर्किएका उजुरीहरू सुन्न सरकारले छुट्टै स्वास्थ्य विशेषज्ञ समिति पनि तोकेको छ । यो समिति मन्त्रालय मातहत सिंहदबारमा छ । जहाँ कामदारलाई गेट पास लिएर पुग्न, गुनासो राख्न र सुनुवाइ गर्न सहज छैन ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित कार्यदलको प्रतिवेदन, २०८१ ले वैदेशिक रोजगार सम्बन्धी अधिकांश स्वास्थ्य संस्थाहरुले मापदण्ड पूरा नगरेको औंल्याएको छ ।
ती संस्थाहरुलाई अनिवार्य रुपमा मापदण्ड अनुसार सञ्चालन गराउन र गुणस्तरीय समितिबाट अनुगमन सुनिश्चित गर्न सुझाव दिएको छ । डा. दीपेन्द्ररमण सिंहको अध्यक्षता गठित कार्यदलले मंसिर ११, २०८१ मा उक्त प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई बुझाइ सकेको छ ।
एकातिर नेपालका स्वास्थ्य संस्थाको मापदण्ड पूरा छैन भने अर्कोतिर मलेसियामा फरक विधि र प्रविधिको प्रयोग गरेर स्वास्थ्य परीक्षण गरिन्छ । जसका कारणले पनि नेपाली श्रमिक स्वास्थ्य परीक्षणमा फेल हुने गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको एनटीडी तथा भेक्टर बर्न डिजिज कन्ट्रोल शाखाका प्रमुख गोकर्ण दाहालले सन्दीपकै जस्तै घटना अरू पनि भएको उनले सुनाए । “त्यहाँबाट हात्तीपाइले रोगका १०–११ वटा केस हामी कहाँ पनि आएका छन्,” दाहालले भने, “नेपाल र मलेसियामा टेस्टलाई कसरी एकरूपता दिने भनेर पनि त्यहाँको स्वास्थ्य विभागमा मौखिक कुराकानी गरेका छौं ।”
मैले ४ लाख लिएर १५ हजार राखेको हुँ : मनोज चौधरी
सन्दीपले मलेसिया जाने भनेपछि मैले उनीसँग ४ लाख लिएर १५ हजार रुपैयाँ राखेको हुँ । उनी फिर्ता भए र अहिले यो कुरा मिलिसकेको छ । फेरि कसरी आयो ? १/२ दिन कुर्नु भनेर मैले पैसा पनि चेकमार्फत खातामा हाल्दिसकेको छु । मैले उनलाई पछि १ लाख रुपैयाँ दिएको हुँ । मैले अरू ठाउँमा जान्छौ भने पनि पठाउँछु भनें तर उनी आफैं अर्को ठाउँ गइसके भन्ने थाहा पाएँ ।
यसमा मेरो पनि गल्ती होइन, उनको पनि गल्ती होइन । मेडिकल फेल भएर आएका हुन् । उल्टो तलब पाइनँ, टाइममा पाइनँ, इदर/उदर भनेर वैदेशिक रोजगार विभागमा निवेदन दिएका रहेछन् । तलब समयमै दिने गरेको थियो । कम्पनीमा ८० हजार खाएर बच्थ्यो ।
मैले मलेसिया जानुअघि नै फर्कनुपरेमा श्रमको र टिकटको पैसा काटिन्छ भनेको थिएँ । त्यतिखेर ओके–ओके भने । अब उताबाट फर्काइदियो के गर्ने ? काम त त्यही कम्पनीमा गरेका थिए । हात्तीपाइले लागेको छ भनेर रिपोर्ट आएको थियो ।
मैले खासै धेरै मान्छे विदेश पठाएको छैन । मैले पठाएर मेडिकल फेल भएर फर्केका सन्दीप मात्रै हुन् । अरू फर्केका छैनन् ।
(सन्दीपलाई मलेसिया पठाउने मनोजसँगको कुराकानीमा आधारित ।)
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।