Navigation
हाते ट्रयाक्टर चलाउँदै महिला किसान Tanka Dhakal | Jan 27, 2025

पर्यटकीय नगर पोखराबाट नजिकैको सानो गाउँ धम्पुसकी ज्ञानु भण्डारी (३८) करेसाबारीमा पस्न झरी रोकिने प्रतीक्षामा छिन् । तीन एकर जग्गामा तरकारी खेती गरेकी उनी भन्छिन्, “यो सानो टुक्रा features-1719398032.pngजमिनले मलाई आफ्नै खुट्टामा उभिने शक्ति दिएको छ ।”

झरी रोकिएपछि उनी बारीमा पसेर सिमी र भिन्डी टिप्न थालिन् । “यी तरकारीहरू मेरो जीविकोपार्जन मात्र होइन, आत्मनिर्भर हुने माध्यम पनि हुन्,” सिमी टिप्दै गर्दा उनले भनिन् । 

स्थानीय तहको सानो सहयोगमा पनि निरन्तरको कडा परिश्रम र प्रतिबद्धताबाट साना महिला किसानले के उपलब्धि हासिल गर्न सक्छन् भन्ने भण्डारी एक उदाहरण हुन् । थोरै जमिनमा लगाएको तरकारी खेतीले उनको जीविकोपार्जन मात्र भएको छैन, सन्तानको शिक्षादीक्षालाई पनि सहयोग पुगेको छ ।

उनका श्रीमान् वैदेशिक रोजगारीमा हंगेरीमा छन् । यस्तो स्थितिमा उनलाई साना किसानको रूपमा आफूलाई स्थापित गर्न त्यति सजिलो थिएन । परिवारकै सदस्य र गाउँलेले उनको कदमको आलोचना गरेका थिए । “हाम्रो समाजले हामीजस्ता महिलालाई सम्मान गर्दैन, जो आत्मसम्मानमा बाँच्न चाहन्छन्,” उनी दुःखी सुनिन्छिन् ।

Green-beans_Kaski-1737968851.jpg
बारीमा फलेको बोडी टिप्दै ज्ञानु भण्डारी । तस्बिर : टंक ढकाल/निमजिन

माछापुच्छ्रे हिमालको काखको गाउँकी भण्डारीले घरको सबै जिम्मेवारीसँगै खेती पनि सम्हालेकी छन् । बिहान ४ बजे उठ्ने उनी सबै जिम्मेवारी पूरा गरेर राति १० बजे सुत्छिन् । “कडा मिहिनेत गर्नुपरे पनि सन्तुष्ट छु,” हँसिलो मुहारसहित उनले भनिन् । 

महिलामा जमिनको स्वामित्व

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २०२३ मा निकालेको ‘कृषि खाद्य प्रणालीमा महिलाको स्थिति’ प्रतिवेदनअनुसार विश्वभरका महिलाको प्रमुख पेसा कृषि र खाद्य प्रणालीहरू हुन् । धेरै देशमा पुरुषको तुलनामा महिलाका लागि जीविकाको प्रमुख माध्यम पनि कृषि र खाद्य प्रणाली नै हो ।

प्रतिवेदनले महिला र उनीहरूका परिवारको लागि कृषि महत्त्वपूर्ण हुँदाहुँदै पनि उनीहरूका लागि यो सिमान्तकृत रहेको र पुरुषको तुलनामा काम गर्ने स्थिति निक्कै नै खराब रहेको पनि जनाएको छ । 

“यदि समाजले महिलाको सशक्तीकरण गर्न र लैंगिक खाडल भर्न सकेमा उनीहरूको स्थिति सुधार हुन सक्नेछ,” प्रतिवेदनको सन्देश स्पष्ट र सामान्य भए पनि महिला र उनीहरूको परिवारको कल्याण, भोकमरीको अन्त्य, आम्दानी र क्षमता बढाउन त्यति सहज छैन । त्यसको एउटा कारण हो– जमिनको स्वामित्व । 

नेपालका ग्रामीण क्षेत्रका भण्डारीजस्ता महिलाहरूले आफ्ना सन्तानको हेरचाह गर्ने र परिवारका सदस्यलाई खुवाउन भान्साको काम गर्ने मात्र होइन, खेतबारीको पनि जिम्मेवारी लिनुपरेको छ । उनीहरूको खेतीकिसानी परम्परागत निर्वाहमूखी मात्र हो । खेतीयोग्य जमिनको एक तिहाइ अर्थात् ३४.३ प्रतिशत जमिनमा स्वामित्व भए पनि पछिल्लो कृषि गणनाअनुसार खेती, जग्गा र श्रमसम्बन्धी निर्णय गर्ने अधिकार महिलासँग छैन । 

नेपालको स्थिति विश्वका धेरै ठाउँसँग मिल्दोजुल्दो छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम विश्व संरक्षण अनुगमन केन्द्रका अनुसार कृषि श्रममा ४५ प्रतिशत (अफ्रिका र एसियाका केही भागमा ६० प्रतिशतसम्म) महिलाहरू छन् ।  जसमा अधिकांश साना किसान छन् ।

अफ्रिकामा महिलाहरूले ८० प्रतिशत खाद्यान्न उत्पादन गर्छन् तर उनीहरूसँग १५ प्रतिशत मात्रै खेतीयोग्य जमिनको स्वामित्व छ । 

हाते ट्र्याक्टरको सहयोग

परिवार र समुदायको आलोचनासँग लड्दै आफूलाई साना किसानका रूपमा स्थापित गर्न भण्डारीले निक्कै ठूलो संघर्ष गरिन् ।

नेपालमा परम्परागत रूपमा गोरु नारेर हलो जोत्न महिलाहरूलाई अनुमति छैन । गोरु र राँगाबाट खेतबारी जोत्ने काम पुरुषको हो भन्ने मान्यता छ । 

तर अहिले अधिकांश पुरुषले रोजगारीका लागि गाउँ छाडेपछि यी सबै जिम्मेवारी महिलाको काँधमा आएका छन् । 

तर एउटा संयोग नै मानौँ, माछापुच्छ्रे गाउँपालिकाले खेतबारी जोत्न किसानलाई साना हाते ट्र्याक्टर वितरण गरेको छ । जसको लाभ साना महिला किसानले पाएका छन् ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. २ का वडाध्यक्ष गणेश आचार्य भन्छन्, “सुरुमा हाम्रो कार्यक्रम महिलाहरूप्रति लक्षित थिएन, तर यो अहिले आएर महिला किसानका लागि लाभदायक भएको छ ।” पुरुषहरू कामको खोजीमा खाडीका देशमा वा अन्य सहरमा पसेका बेला महिलाहरूले हाते ट्याक्टरको उपयोग गरेको उनी बताउँछन् । 

Dhampus-Village-Kaski-1737967389.jpg
धम्पुस गाउँ । तस्बिर : टंक ढकाल/निमजिन

५० देखि ७० हजार रुपैयाँसम्म पर्ने यी हाते ट्र्याक्टरमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने गरेको छ भने किसानले ५० प्रतिशत लगानी गर्दै आएका छन् । “किसानले आधा रकम मात्र तिरे पुग्छ, आधा रकम हाम्रो बजेटबाट जान्छ,” प्रवक्ता आचार्यले भने । 

स्थानीय सरकारको सहयोगमा स्थानीय महिला किसानले हाते ट्र्याक्टर, उन्नत जातको बीउ, र प्रविधिमा लगानी गरेका छन् । जसले उनीहरू परम्परागत पारिवारिक खेतीका लागि गर्नेबराबरको परिश्रमले नै व्यावसायिक तरकारी खेती गर्न सक्षम भएका छन् । 

प्रेरणदायी प्रेरणा

भण्डारीले ६ वर्षअघि तरकारी खेती सुरु गर्न २७ हजार रुपैयाँ खर्च गरेर हाते ट्र्याक्टर किनेकी थिइन् । “सुरुका केही वर्ष मैले यसलाई चलाइनँ, ट्र्याक्टरबाट जोत्न गाउँका पुरुषहरूलाई लगाएँ,” भण्डारीले भनिन् ।

तर एक दिन गोलभेँडाको झाङ नजिकै बसेकी उनले आफैँले ट्र्याक्टर कसरी चलाउने होला भनेर सोचिन् र सिक्न थालिन् । “मैले आफैंले ट्र्याक्टर चलाउन थालेको एक वर्ष भयो, अब म आफैं सन्तुष्ट छु, अब म अरूसँग भर पर्नु पर्दैन, म पूर्णरूपमा आत्मनिर्भर छु,” भण्डारीले भनिन् । भिरालो जमिनमा उनलाई खेती गर्न सजिलो भएको छ । 

भण्डारीको सफलताबाट गाउँका अरू महिला पनि ट्र्याक्टर किनेर यान्त्रिक सहयोगमा खेतीपाती गर्न प्रेरित भए । त्यसैमध्येकी एक हुन्– सार्दिखोलाकी प्रमिला अधिकारी (३१) । “म बाहिर जाने सोचमा थिएँ, तर भण्डारीजस्ता महिलाबाट प्रेरित भएर खेतीकिसानीमा लागेँ, ट्र्याक्टर किन स्थानीय सरकारबाट अनुदान पनि पाएँ,” अधिकारीले भनिन् । आफ्नै जमिन नभएकी उनले गाउँमा भाडाको जमिनमा काँक्रो र अरू तरकारी फलाएकी छन् । 

माछापुच्छ्रे गाउँपालिकाका अनुसार पछिल्लो ६ वर्षमा ३० जना किसानले हाते ट्र्याक्टर किन्न सहयोग पाएका छन् र यस्तो सहयोगमा पाउनेमा अधिकांश महिला छन् । “हामीले तरकारी खेती गर्न टनेल बनाउन र उन्नत बीउ वितरण गर्न किसानलाई सहयोग गरिरहेका छौँ,” गाउँपालिकाका प्रवक्ता आचार्यले भने, “किसानले खेती गरेर जीविकोपार्जन गर्न खोजेका छन् र यसले हाम्रो खाद्य प्रणालीलाई पनि सुधार गरिरहेको छ ।”

चलाउन गाह्रो

जनसांख्यिक संरचनामा आएको परिवर्तन र ७४ प्रतिशतभन्दा बढी महिला कृषिमा संलग्न भएको स्थितिमा भण्डारी र अधिकारीजस्ता महिलाका लागि हाते ट्र्याक्टर अति उपयोगी भएको छ तर यो उनीहरूको आवश्यकताका लागि भने उपयुक्त होइन ।

इन्धनबाट चल्ने हाते ट्र्याक्टरले कृषिमा श्रम घटाएको भए पनि यो महिलामैत्री छैन । “यो केही गह्रौँ छ,” ट्र्याक्टरको इन्जिन स्टार्ट गर्ने प्रयास गर्दै भण्डारीले भनिन्, “यसको तौल ५० किलो छ, यहाँबाट तल झार्न उता लैजान अरूको सहयोग चाहिन्छ ।” 

भिरालो पहाडका खेतबारीमा यो ट्र्याक्टरलाई एक्लै कान्लोबाट झार्न सकिँदैन । “हामीलाई केही सानो ३० किलोसम्म तौलको भयो भने चलाउन सजिलो हुन्छ,” भण्डारीले भनिन् । 

अधिकारीको पनि उस्तै अनुभव छ । ७ हर्सपावरको हाते ट्र्याक्टर उनी लामो समयसम्म चलाउन सक्दिनन् । “यो सहयोगी छ, तर हामीजस्ता एक्लै काम गर्नुपर्ने महिलाका लागि त्यति उपयुक्तचाहिँ होइन,” अधिकारीले भनिन्, “अलि हलुका ट्र्याक्टर राम्रो हुने थियो, जसले हाम्रो जीउ यसले जस्तो दुखाउँदैन थियो ।” 

कृषि व्यवस्थापनलाई अनुकूलन गर्न र कठिनाइ कम गर्न महिला किसानले दिगो कृषि यान्त्रीकरणको वकालत गरिरहेका छन् । हालैको एक अध्ययनले नेपालका साना किसानका लागि हल्का ५ देखि ९ हर्सपावरका मिनी टिलर बढी उपयुक्त हुने देखाएको छ । अध्ययनकर्ता गोकुलप्रसाद पौडेल भन्छन्, “पहाडमा दुई वा चारपांग्रे ट्र्याक्टर चलाउन गाह्रो हुन्छ, खेत साना भएकाले र प्रायः महिलाहरूद्वारा सञ्चालित हुने भाएकाले हामीले मिनी टिलरहरू उपयुक्त छन् भनेर पायौँ ।”

किसानबाट पाएको प्रतिक्रियाप्रति स्थानीय सरकार सचेत छ । जनप्रतिनिधिहरूले पनि भविष्यमा किसानलाई महिलामैत्री हाते ट्र्याक्टर तथा मिनी टिलर वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

माछापुच्छ्रे गाउँपालिका–४ की महिला वडासदस्य श्रीदेवी विक जो महिला किसान पनि हुन्, उनले किसान साथीसँग ट्र्याक्टर चलाउन सिकिन् । त्यसपछि मात्र उनले यो ट्र्याक्टर आफूले चाहेको जस्तो रहेनछ भन्ने बुझिन् । “यो ट्र्याक्टर चलाउँदाको कठिनाइबारे मलाई थाहा छ, त्यसैले त मैले भविष्यमा हलुका मिनी टिलर वितरण गर्नुपर्छ भनिरहेकी छु,” विकले भनिन्, “जनप्रतिनिधिहरू आउँदा दिनमा किसानबाट आएको प्रतिक्रियाअनुसार काम गर्न तयार छन् ।” 

भविष्यको पर्खाइमा

हाते ट्र्याक्टरबाट भएको फाइदा बेफाइदा, भविष्यमा हल्का मिनी टिलरको आवश्यकताका बारेमा हामीसँग कुराकानी गरिरहँदा भण्डारीले हरियो सिमी, भिन्डी र गोलभेँडा टिपेर बजार पठाउने तयारी गरिरहेकी छन् ।

“हामीलाई बजारको समस्या नै छैन, खुद्रा बिक्रेताले आएर यो सबै किन्छन्,” उनले भनिन् । उनीसँगको कुराकानी सक्दा सूर्य डाँडामा लुक्नै लागेका थिए, गोधूली प्रकाशमा अनुहार चम्किलो पार्दै भण्डारीले थपिन्, “शनिबार पनि तरकारी बेच्न किसानको बजारमा पुग्छुु ।” 

भण्डारीकी छोरी अञ्जली (१६) ले कक्षा ११ मा भेटेरिनरी साइन्स पढिरहेकी छन् । नजिकै बसेर हाम्रो कुराकानी सुुन्दै उनले आमालाई सघाइरहेकी छन् ।

Anjali-Bhandari_dhampus_Kaski-1737967877.jpg
अञ्जली भण्डारी । तस्बिर : टंक ढकाल/निमजिन

छोरीलाई देखाउँदै भण्डारीले केही दिनअघिको एउटा घटना स्मरण गरिन्, “एक दिन उनलाई स्कुल जाने बेलामा दिन मसँग पैसा भएन, मसँग गोलभेँडा थियो, मैले गोलभेँडा दिएँ, जुन यिनले खुद्रा बिक्रेतलाई दिइन् र पैसा लिइन्, हाम्रो समस्या समाधान भयो ।” आमा छोरी दुवैको मुहारमा हाँसो देखियो । 

“यो खेतबारी मेरो जीवन हो र हाते ट्र्याक्टरले खेती सहज बनाइरहेको छ, भविष्यमा हामीले सजिलै प्रयोग गर्न सक्ने उपकरण पाउँला भन्ने आशा छ,” भण्डारी विश्वस्त सुनिइन् । 

Gyanu-Bhandari-Dhampus-Kaski-at-farmers-market-1737968233.jpg
किसान बजारमा उपभोक्तालाई तरकारी बेच्दै ज्ञानु भण्डारी । तस्बिर : टंक ढकाल/निमजिन

भोलिपल्ट बिहान भण्डारी तरकारी बोकर पोखराको किसान बजारमा पुगिन्, जहाँ उनले प्रत्यक्ष रूपमा उपभोक्तालाई नै तरकारी बेच्दै छिन् । “म बिहान ४ बजे उठेर तरकारीको भारी लिएर यहाँ आइपुगेको हुँ, म यसमा पनि खुसी छु,” उनी मुस्कुराइन् र व्यापारमा व्यस्त भइन् । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments