Navigation
दलित पारलैंगिकलाई विभेदमाथि विभेद Manika BK | Jan 22, 2025

तीन वर्षअघि रोशन परियार (परिवर्तित नाम) ले बालविकास शिक्षणमा नाम निकाले । लिखितमा उनको नाम पहिलो नम्बरमै निस्कियो । मौखिकका लागि अन्तर्वार्ता दिन गए । अन्तर्वार्ताका क्रममा शिक्षकले उनलाई सोधे, dei-in-focus-1719398032.png“तिमीलाई शिक्षक भन्ने कि शिक्षिका ?”

रोशनका अनुसार ती शिक्षक त्यत्तिमै रोकिएनन्, “तिमीले गर्दा स्कुलको माहोल बिग्रिन्छ, विद्यार्थी बिग्रिन्छन् । तिमीलाई यो अवसर दिन सक्दैनौँ ।’ 

सानैदेखि शिक्षक बन्ने सपना बुनेका रोशनको मन ती शिक्षकका कुराले अमिलो भयो । शिक्षक बनेर ससाना केटाकेटीलाई ज्ञानको उज्यालो दिने आशाले अन्तर्वार्ता दिन पुगेका उनका लागि दिउँसै अँध्यारो भयो । 

शिक्षकले उनको यौनिकतालाई नबुझिदिँदा उनले आफ्नो बाल्यकालको सपनालाई टुटाउनुपर्‍यो । यौनिकताकै कारण आफूले मात्र होइन, आफूजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरू यस्तो खालको विभेद भोग्नु परेको र अवसरबाट वञ्चित हुनु परेको उनी बताउँछन् । 

“अन्तर्वार्ता लिने शिक्षकमा लैंगिकताबारे बुझाइको अभाव रहेछ,” रोशन भन्छन्, “नत्र, लिखितमा एक नम्बरमा नाम निकालेको मलाई मौखिकमा फेल गराउन मिल्छ त ! अनि मौखिकमा फेल गर्नुको कारण मेरो लैंगिक पहिचान मात्र थिएन । दलित समुदायबाट भएकाले पनि ममाथि त्यस्तो अन्याय गरिएको हो ।”

उनको सानो परिवार छ । दुःखजिलो गरी बिहान–बेलुकाको छाक टार्न सक्ने परिवारले छोराछोरीले पढेपछि जागिर पाउँछन् भन्ने आशा पालेको थियो । तर, रोशन मौखिकबाट यसरी ‘फालिँदा’ परिवारको आशाभरोसामा तुषारापात भयो । परिवारले पनि उनको यौनिकतालाई नै दोष दियो । त्यसकै कारण फेल भएको भनेर उनीमाथि खनियो । 

“गाउँमा मात्र विभेद हुन्छ भन्ने लागेर सहर आएँ तर सहरमा पनि उस्तै रहेछ, यहाँका शिक्षित भनाउँदाहरू पनि जात र लैंगिक पहिचानमा विभेद गर्ने रहेछन् । पछाडिको थर र अगाडिको नाम हेर्दै दोब्बर विभेद गर्ने रहेछन्,” रोशन सुनाउँछन् ।

यौनिकताका आधारमा उनी आफूलाई पारलैंगिक पुरुषको पहिचान दिन्छन् । “मलाई कसैले भाइ या शिक्षक भन्दा गर्व लाग्छ,” उनी भन्छन्, “तर, यो कुरा कसैले बुझेनन् । अनि, मैले गाउँ छोड्ने निर्णय गरेँ ।” 

उनको जन्मिँदाको जैविक लिंग महिलाको हो । तर, पछि हुर्किने/बढ्ने क्रममा उनले आफूलाई पुरुषका रूपमा चिनाउन थाले । आफूलाई पुरुषको पहिचान दिन थाले । “सानैदेखि ममा महिलाका आनीबानी नै थिएनन्,” उनी भन्छन्, “पुरुषजस्तै थिएँ । मनभित्र पुरुष भएसि बाहिरफेर महिला बन्दा के हुन्छ ?” 

१५ वर्षको उमेरमा उनले शरीरबाट आफू महिला भए पनि मनले पुरुष भएको थाहा पाए । एसईई पास गरेपछि रोशनले शिक्षण पेसा सुरु गरेका थिए । ससाना बालबालिकालाई पढाउँथे । पढ्दै/पढाउँदै उनले कक्षा १२ को पढाइ सकाए । १२ कक्षा पास भएपछि गाउँमै खुलेको बालविकास शिक्षणमा आवेदन भरे । नाम निकाले । लिखितमा सफलता हात पारे पनि मौखिकमा भने उनलाई जात र यौनिकताका कारण असफलताको सामना गर्नुपर्‍यो । “शिक्षक पनि हाम्रै गाउँका भएकाले गाउँलेले मेरो बारेमा बताइदिएका थिए,” रोशन सुनाउँछन् ।  

समाजमा ‘माथिल्लो जात भनिएकाहरू’ ले आफ्नो परिवारलाई विभेद गरेको आफूले सानैदेखि देख्दै आएको उनी बताउँछन् । “माथिल्ला जातकाले आफ्नो घरभित्र जान नदिने, पँधेरामा जाँदा पनि छोइछिटो गर्ने, अचाक्ली विभेद गर्ने सानैदेखि देख्दै आएको हो,” उनी भन्छन्, “स्कुलमा सबैभन्दा बढी मेरै नम्बर आउँथ्यो । तैपनि कहिल्यै प्रथम श्रेणी पाइनँ । दलित भएकै कारण ममाथि यस्तो विभेद हुन्थ्यो ।”

दलित भएका कारण विभेद भोगिरहेका रोशनलाई यही कारण पनि आफ्नो पहिचान बताउन असहज लाग्थ्यो । “यसै त दलित भनेर हेपिरहेको समाजले आफ्नो लैंगिक पहिचान खुलाउँदा के भन्ला ?’” डरले उनलाई सताइरहन्थ्यो । तर्साइरहन्थ्यो । 

जसोतसो हिम्मत गरेर परिवारलाई आफ्नो पहिचानबारे बताए । परिवारले नै नबुझेको उनको भावना समाजले कसरी बुझ्थ्यो ? उनी भन्छन्, “परिवारलाई सुनाउँदा उल्टै मलाई यस्तो हुनुहुन्न भन्दै सम्झाइबुझाइ गर्न थाले ।  हामीलाई पहिलेदेखि दलित भनेर हेप्छन्, छुवाछूत गर्छन्, झन् तेरो यस्तो भन्ने थाहा पाए भने गाउँले रिसाउँछन् । मिल्छ भने त यस्तो नहुने कोसिस गर ।”

घरपरिवारका कुरा सुनेर उनको चिन्ता झन् बढ्यो । समाजका डरले महिला नै बन्ने कोसिस पनि गरे । “लामो कपाल पालेँ, सारी लगाएँ, महिलाजस्तै बन्न खोजेँ,” उनी भन्छन्, “तर, मेरा यी सबै प्रयास विफल भए । महिला बन्न सकिनँ । मनभित्र भएको पुरुषले महिला बन्नै दिएन । बरु, घर छोडेर जान्छु भन्ने सोच पलायो ।” 

घर छोडेर उनी काठमाडौँ आइपुगे । उनलाई यो हिम्मत, घर छोड्ने साहस यसै आएको थिएन । गाउँमा हुँदा महिलाविरुद्ध हुने हिंसाबारे अभियान चलाएका थिए । गलत सहनु हुँदैन, गलत हुँदा विरोध र विद्रोह गर्नुपर्छ भन्ने कुरा त्यही अभियानबाट थाहा पाएका थिए । त्यसैले आफूमाथि भएको गलत सहन सकेनन् । विद्रोह गरेर घर छोडे । अनि, लामो कपाल काटेर छोटो बनाए । सारी फालेर पाइन्टसर्ट लगाउन थाले ।

काठमाडौं आएपछि पनि उनलाई पहिचान र जातको विभेदले छोडेन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने संघसंस्थामा कामको खोजीमा भौंतारिए । तर, काम पाएनन् । यसपछि कोठामै बसेर लोकसेवाको तयारी गर्न थाले । यहाँ पनि उनको यौनिकताको विरोध भयो । ‘महिला भएर किन पुरुषजस्तो भएको’ भन्दै उनलाई केरकार गर्न थालियो । “गाउँमा मात्र विभेद हुन्छ भन्ने लागेर सहर आएँ तर सहरमा पनि उस्तै रहेछ,” रोशन सुनाउँछन्, “यहाँका शिक्षित भनाउँदाहरू पनि जात र लैंगिक पहिचानमा विभेद गर्ने रहेछन् । पछाडिको थर र अगाडिको नाम हेर्दै दोब्बर विभेद गर्ने रहेछन् ।”

पहिचान र जातका कारण उनले गाउँदेखि सहरसम्म विभेद भोगे । “६ वर्षयता एक दिन पनि सुखचैनले बस्न पाएको छैन, न त राति ढुक्कले सुत्न पाएको छु,” उनी भन्छन् । पसलमा सामान किन्न जाँदा ‘भाइ हो कि बहिनी’ भन्दै धेरैले आफूलाई जिस्काउने गरेको उनी सुनाउँछन् । 

रोशनको पहिचानसहितको नागरिकता बनेको छैन । उनका सबै कागजपत्रमा महिलाकै नाम छ । जसका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अरूजस्तै उनलाई पनि पहिचानसहितको नागरिकता बनाउन समस्या भएको छ । भन्छन्, “पहिचानसहितको नागरिकता छैन, ‘अन्य’ भनेर बनाउँदिनँ, म ट्रान्सम्यान भनेरै बनाउँछु । अहिले राज्यले यस्तो सेवा दिएको छैन ।”

२२ वर्षका उनले दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकअधिकारबारे काम गर्छन् । उनी  ‘सामरी उत्थान सेवा’ संस्थामा आबद्ध छन् । संस्थाले सातवटै प्रदेशमा केन्द्रीय समिति गठन गरेको छ । यो संस्थाले ‘दलीत क्वीयर अभियान’ पनि सञ्चालन गर्छ ।

उनको संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २५ जनामा एक सर्वेक्षण गरेको थियो । त्यसअनुसार ४४ प्रतिशतलाई पहिचानकै कारण घरपरिवारबाट निकालिएको रोशन बताउँछन् । “त्यसमा सबैजसो दलित समुदायकै छन्,” उनी भन्छन् । 

कानुनअनुसार कुनै पनि व्यक्तिलाई लिंग वा जातीय आधारमा विभेद गर्न नहुने भनिए पनि यस्ता कुरा कानुनी किताबमा मात्र सीमित भएको रोशन बताउँछन् । पछिल्लो समय संस्थामार्फत दलित समुदायका अधिकारका लागि बोलिरहँदा पनि ‘जात जनाएको’ जस्ता आरोप लाग्ने गरेको उनी सुनाउँछन् । “जसले जे भने पनि आफ्नो पहिचान र जातमा हुने विभेदबारे सधैँ बोल्नेछु, विद्रोह गर्नेछु,” उनी भन्छन् । 

यसैगरी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लामो समयदेखि काम गर्दै आइरहेकी गौरी नेपाली आफैँले पनि विभेद सहेको र नेपालमा सीमान्तकृत समुदायको अवस्था दयनीय रहेको बताउँछिन् । “दलित सामाजिक संरचनाको सबैभन्दा पिँधमा परेको समुदाय हो,” उनी भन्छिन्, “उनीहरूलाई शारीरिक, लैंगिक रूपमा मात्र नभई जातका आधारमा समेत विभेद सहनुपरेको छ । एउटा नागरिकका रूपमा पाउने सेवासुविधाबाट उनीहरू वञ्चित छन् ।”

रोजगारीको क्षमता भए पनि उनीहरू जात र पहिचानका कारणले जागिरको अवसर नपाउने अवस्थामा रहेको उनी बताउँछिन् । “अन्य समुदायलाई जसरी दलितलाई आफ्नो लैंगिक पहिचान खुलाउन त्यति सहज छैन,” उनी भन्छिन्, “उनीहरू आफूमाथि भएको विभेदलाई सहेर बस्न बाध्य छन् । उनीहरू पढ्न पाउँदैनन् । शिक्षा नै नभएपछि आफूमाथि भएको विभेदबारे थाहा पाउन सक्दैन । विद्रोह गर्न सक्दैनन् ।” 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा केही दलितहरू देखिए पनि उनीहरूले अन्य समुदायले जसरी खुलस्त सहभागिता जनाउन नसकेको उनी बताउँछिन् । “उनीहरूले आफ्नो कुरा राख्ने मौका नै पाउँदैनन्,” उनी भन्छिन्, “न्याय प्रणाली पनि उनीहरूको पक्षमा हुँदैन । दिनदिनै विभेद सहँदासहँदा उनीहरू दिक्क भइसकेका हुन्छन् ।” 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा रहेका दलितहरूका लागि भनेर छुट्टै आन्दोलन नभएकाले अब आन्दोलन नै पो गर्नु पर्ने हो कि भन्नेमा आफू पुगेको गौरी बताउँछिन् । 

यो पनि पढ्नुहोस् :

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments