“दिनभरि कोठामा भित्ता हेरेर बस्नुपर्छ, मोबाइल पनि छैन, म घर जान्छु,” असोज १०, २०८१ का दिन दिउँसोतिर बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा सायना (परिवर्तित नाम) ले सुरक्षित आवासबाट घर पठाइदिन प्रहरीसँग आग्रह गरिरहेकी थिइन् ।
ठमेलको म्याजिक स्पाबाट उद्धार गरेर शुभ ग्राम अवसर नेपालको सुरक्षित आवासमा राखिएकी १६ वर्षकी किशोरी सायनाले नजिकिएको दसैँ परिवारसँग मनाउन यो आग्रह गरेकी थिइन् ।
तर तत्कालीन ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्र खतरा रहेकाले अझै केही दिन सुरक्षित आवासमा नै बस्न भनिरहेका थिए । उनलाई पीडक पक्षले हानि गर्न सक्ने र फकाएर फेरि स्पामा नै काममा लैजाने जोखिम रहेको मिश्रले बताए । प्रहरीले मोबाइल चलाउन दिने, घरपरिवारसँग मोबाइलमा कुरा गर्न दिने आश्वासन दिए पनि उनी मानिरहेकी थिइनन् । जिद्दी गरेपछि प्रहरीले सायनाकी ठूलीआमालाई बोलाएर कागजी प्रक्रिया पूरा गरेर जिम्मा लगायो ।
भदौ १७ मा ब्युरोबाट खटिएको टोलीले उनीसहित ३ जनालाई स्पाबाट उद्धार गरेको थियो । उद्धारमा परेकी सायना नाबालिग हुन् । उनीजस्ता नाबालिगलाई फेसबुकलगायतका सामाजिक सञ्जालमा साथी बनाएर चिनजान गर्ने र पछि यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । उनीहरूलाई मसाजरको रूपमा काम गर्न बोलाएर जबर्जस्ती यौन व्यवसायमा लगाएकाले आफूहरूले उद्धार गरेर सुरक्षित आवासमा राखेको प्रहरी उपरीक्षक मिश्रले बताए ।
सायना फेसबुकबाट चिनजान भएको साथीको सम्पर्कबाट स्पामा काम गर्न पुगेकी थिइन् । एसईईको परीक्षा दिएर गत वर्ष नै उच्च शिक्षाका लागि काठमाडौं आएकी उनकी आमा रोजगारीको सिलसिलामा साउदी अरबमा छिन् भने बुबा अर्को विवाह गरेर बसेका छन् । काठमाडौंमा काकाकाकीसँग ४/५ महिना बसेपछि उनकी बहिनी पनि आइन् र दिदीबहिनी वसन्तपुरमा छुट्टै कोठा लिएर बस्न थाले ।
कोठामा बस्न थालेपछि खर्चको जोहो गर्न गाह्रो भइरहेको थियो । यस्तैमा ठमेलको नरसिंह चोकस्थित एक स्पामा काम भेटियो । त्यहाँ दुई महिना काम गरेकी उनले मसाज गर्न सिकिसकेकी थिइन् । उनको अन्य मसाज सेन्टरमा काम गर्नेहरूसँग पनि सम्पर्क बढ्दै गयो । उनले फेसबुकमार्फत अन्य स्पामा काम गर्ने किशोरीसँग पनि कुरा गर्न थालिन् ।
सायनाले साथीहरूले स्पामै काम गर्ने भए पनि बढी पैसा कमाइरहेको थाहा पाइन् । सायनालाई एक जना साथीले पहिले आफूसँगै काम गर्ने सपना खवासले आफ्नै स्पा खोलेको र त्यहाँ प्रशस्तै पैसा कमाउन सकिने भन्दै सुनाइन् ।
सपनाले हिमालयन आयुर्वेदिक नाम गरेको स्पा खोलेकी थिइन् । सायनासँग फेसबुकमा जोडिएकी सपनाले आकर्षक तलब दिने प्रलोभन देखाएर आफ्नो स्पामा बोलाइन् ।
‘भेट्न आऊ, सँगै काम गरौँ’ भनेर बारम्बार म्यासेज गर्न थालेपछि साथीसँगै हिमालयन आयुर्वेदिक स्पामा काम गर्न सुरु गरेको सायनाले बताइन् । जहाँ उनलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइयो ।
आफ्नोमा ग्राहक नभएको समयमा सपनाले सायनालाई नजिकैको म्याजिक स्पामा पठाउँथिन् । “धेरैजसो अरू साथीहरू जान्थे, म म्याजिक स्पामा ३ पटकसम्म गएँ,” सायनाले सुनाइन्, “मसाज गर्न भन्दै पठाए पनि ग्राहकसँग जबर्जस्ती यौनजन्य क्रियाकलाप गर्न लगाइन्थ्यो ।”
म्याजिक स्पाकी सञ्चालक आशा तामाङले एक जना ग्राहकसँग १५ सय रुपैयाँ लिएर आफूलाई ५ सय दिने गरेको सायनाले बताइन् । “त्यहाँ पहिलेदेखि नै अन्य ४ जनाले काम गर्थे, ग्राहक बढी हुँदा हामीलाई बोलाउँथे,” उनले भनिन् ।
सायनाका अनुसार म्याजिक स्पामा फूलमाया तामाङले को कुन ग्राहकसँग जाने भनेर तोकिदिन्थिन् । उनले कति जनासँग शारीरिक सम्पर्क भयो त्यसको रजिस्टरमा रेकर्ड राख्नेसमेत गरेको सायनाले बताइन् । “ग्राहकसँग गेस्ट हाउसमा जानसमेत कर गर्थे तर म गेस्ट हाउसमा गइनँ,” सायनले भनिन् “उनीहरूले भनेको नमान्दा मैले धेरै पटक गालीसमेत खाएँ ।”
काम गर्दै गर्दा फूलमायाले फुटुङस्थित आफ्नो घर खाली भएकाले बस्न आऊ भनेर सायना र उनकी साथीलाई बोलाइन् । “त्यसपछि झन् हामीलाई बढी ग्राहकहरूसँग पठाउने, जान्नँ भन्दा गाली गर्ने, घरबाट निकाल्ने धम्की दिने गर्न थाले,” सायनाले भनिन्, “आमा विदेशमा भएकाले फर्केर जाने ठाउँ थिएन, त्यसकै फाइदा उठाएर उनीहरूले विभिन्न धम्की पनि दिन थालेका थिए ।”
ह्वाट्स एपबाट चिनजान भएको व्यक्तिमार्फत भारत आइपुगेको बताएपछि प्रहरीले उनलाई मुन्डुवा सेल्टर होममा लगेर राखे । त्यहीँबाट माइती नेपालमा सहयोगमा काठमाडौं ल्याइएपछि मात्रै प्रीतिले आफूलाई वेश्यावृत्तिका लागि भारत लगेर बेचबिखन गरेको थाहा पाइन् ।
स्पा सञ्चालक आशा र सपनाले आफूलाई महिनावारी भएको बेलामा समेत यौनसम्बन्ध राख्न बाध्य पारेका सायनाले सुनाइन् । ग्राहकहरूसँग शारीरिक सम्पर्क राखेबापत ७५ प्रतिशत उनीहरूले राखेर २५ प्रतिशत मात्रै आफूलाई दिने गरेको बताउँदै सायनाले भनिन्, “जति धेरै काम गरिन्छ, त्यति नै धेरै प्रतिशतको आधारमा पैसा हुन्छ भनेर प्रलोभन देखाउँथे ।”
भदौ १७ गते मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले सायनासहित ३ जनालाई उद्धार गरेको थियो । उद्धार भइसकेपछि परामर्शको क्रममा आफूले स्पा सञ्चालकहरूले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ विपरीतको कसुर गरेको, त्यो कसुर सहेर बस्नु हुँदैन र कानुनी उपचार खोज्नुपर्छ भन्ने थाहा पाएका सायनले बताइन् ।
“मेरो नाजुक अवस्थाको फाइदा उठाई स्पा सेन्टरमा आकर्षक तलबको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाउनेविरुद्ध उजुरी दिएको छु,” ब्युरोमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम हदैसम्मको कारबाहीको माग राखेर उजुरी दर्ता गरेपछि उनले भनिन् । उनको उजुरीको आधारमा प्रहरीले स्पा सञ्चालहरूलाई पक्राउ गरी मुद्दा अघि बढाएको मिश्रले बताए ।
ह्वाट्स एपमा कल गर्नेले भारत पुर्याए
२२ वर्षीय प्रीति (परिवर्तित नाम) कान्छीआमासँग काठमाडौंमा बस्दै आएकी थिइन् । भदौको पहिलो सातातिर उनलाई अपरिचित नम्बरबाट फोन आयो । उनले सुरुवातमा वास्ता गरिनन् । तर पछि सोही नम्बरबाट बारम्बार ह्वाट्स एपमा पनि कल र म्यासेज आउन थालेपछि विस्तारै उनले ती व्यक्तिसँग कुरा गर्न थालिन् ।
प्रीतिका अनुसार ती व्यक्ति थिए नुवाकोटका अर्जुन तामाङ । कुराकानीकै क्रममा प्रीतिले कान्छीआमासँग बसिरहेको र काम खोजिरहेको बताएकी थिइन् ।
केही दिनको कुराकानीपछि अर्जुनले प्रीतिलाई काठमाडौंको माछापोखरीमा भेट्न बोलाए । टेकुबाट माछापोखरीसम्मको पठाओको भाडा पनि अर्जुनले नै तिरिदिए । चिनेको रेस्टुरेन्टमा वेटरको काम लगाइदिने वाचा गरे । एउटा गेस्ट हाउसमा लगेर जागिर लगाइदिने मान्छे भन्दै अर्को साथीसँग भेटाए । कुराकानीको क्रममा अर्जुनका साथीले विशेष कामले तत्काल भारत जानुपर्ने र फर्केपछि मात्रै जागिर लगाइदिने आश्वासन दिएको प्रीतिले स्मरण गरिन् ।
ती साथी फर्केलगत्तै अर्जुनलाई कामका लागि तत्काल भारत जानुपर्ने भन्दै एक जना महिलाको फोन आयो । तर अर्जुनले आफूलाई सन्चो नभएको र खर्चसमेत नभएको बताए । फोनमा ती महिलाले अन्य कुनै मान्छेलाई समेत पठाउन सकिने र खर्चसमेत आफूले व्यहोर्ने बताइन् । उनीहरूको कुरा प्रीतिले सुनिरहेकी थिइन् । अर्जुनले प्रीतिलाई पठाउने प्रस्ताव ती महिलासँग राखे ।
अर्जुनले प्रीतिलाई फोन गर्ने महिला आफ्नो साथी भएको र उनीसित दुई/चार दिनका लागि भारत गइदिन आग्रह गरे । फर्केपछि वेटरको काम सुरु गर्नेसमेत आश्वासन दिए । त्यस दिन अर्जुनले नै कोठासम्म पुर्याइदिए ।
त्यसको तेस्रो दिन भदौ १९ गते भारत जानका लागि भन्दै अर्जुनले टेकुमा आएर प्रीतिलाई नयाँ बसपार्क लगे । त्यहाँ किरण नाम गरेका अर्का व्यक्तिसँग चिनजान गराए । किरणले प्रीतिलाई आफ्नी बहिनी नभएको र आजदेखि तिमी नै मेरो बहिनी हो भन्दै बहिनी बनाए । प्रीति किरणसँंगै लोकल गाडी चढेर स्वयम्भू आइन्, उनीहरू त्यहींबाटै भैरहवा हुँदै दिल्ली जाने बस चढे ।
सुनौली बोर्डरमा भारतीय प्रहरीले रोकेर सोधपुछ गर्दा किरणले गंगा तामाङ नामको जन्मदर्ता देखाई गंगा तामाङ नाम भन्न लगाएर बोर्डर पार गराएको प्रीतिले बताइन् । भोलिपल्ट दिउँसोतिर दिल्लीमा किरणले दिदीहरूको कोठा भन्दै केही महिलाहरू बसेको स्थानमा लगेर राखे । सोही ठाउँमा तीन/चार दिनसम्म बस्दासमेत कामको कुनै कुरा नभएपछि प्रीतिले आफ्नो साथीलाई इमोमार्फत आफू भारत पुगेको जानकारी गराइन् । उनले अर्जुनको नम्बर र काठमाडौंबाट दिल्ली गएको बसको फोटोसमेत पठाएकी थिइन् ।
किरणले प्रीतिलाई भारतको पुना लिएर गए, जहाँ केही दिन ठूलीआमाका छोरीहरूसँग बस्नुपर्ने भन्दै एउटा घरमा लिएर गए । सोही दिन आफू बाहिर जानुपर्ने भन्दै केहीबेर कोठा बन्द गरेर बस्न भनेर किरण निस्किए । तर सो घरमा बस्दै आएका महिलाहरूको मेकअप र हाउभाउ देख्दा प्रीतिलाई आफू बेचबिखनमा परेको थाहा भइसकेको थियो । तीमध्ये एक जना महिला रक्सी र मासु खाँदै हिन्दीमा फोनमा कुरा गरेको देख्दा उनलाई झन् डर लाग्यो । ती महिला फोनकै व्यस्त भएको र अरू महिला सुतिरहेको मौका छोपेर आफू त्यहाँबाट उम्किएको प्रीति सम्झन्छिन् ।
उनलाई कुन ठाउँ जाने थाहा थिएन, सडकमा भेटेको एउटा बस चढिन् । तर हिन्दी भाषा राम्ररी बोल्न नसक्ने उनलाई बसका यात्रुले नजिकैको प्रहरीको जिम्मा लगाइदिए । त्यो दिन प्रहरीले उनलाई पुना प्रहरी स्टेसनमा राख्यो, भोलिपल्ट नेपालीहरूलाई बोलाएर प्रीतिलाई सबै कुरा सोध्न लगायो ।
प्रीतिले आफू ह्वाट्स एपबाट चिनजान भएको व्यक्तिमार्फत भारत आइपुगेको बताएपछि प्रहरीले उनलाई मुन्डुवा सेल्टर होममा लगेर राखे । त्यहीँबाट माइती नेपालमा सहयोगमा काठमाडौं ल्याइएपछि मात्रै प्रीतिले आफूलाई वेश्यावृत्तिका लागि भारत लगेर बेचबिखन गरेको थाहा पाइन् । हाल माइती नेपालको संरक्षणमा रहेकी प्रीतिले प्रहरीमा मानव बेचबिखनविरुद्ध उजुरी दर्ता गरेकी छन् ।
मानव बेचबिखनको आँकडा
सायाना र प्रीतिले भोगेका घटना केही प्रतिनिधि घटना मात्रै हुन् । सामाजिक सञ्जाललाई नै प्रयोग गरेर हुने गरेका यस्ता मानव बेचबिखनका घटना बढ्दै गएको पाइन्छ ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको माइती नेपालले मात्रै पछिल्लो १० वर्षमा ६ हजार ४ सय ३४ बालिका र महिलाको उद्धार गरेको छ । माइती नेपालको तथ्यांक हेर्दा बेचबिखनमा परेकाहरूको उद्धारको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ ।
गत वर्ष मात्रै विदेशबाट १०१ र देशभित्रबाट २ हजार २ सय ८७ गरी २ हजार ३ सय ८८ जनाको उद्धार भएको छ । यस्तै, सन् २०२२ मा विदेशबाट १ सय १७ र आन्तरिक २ हजार १ सय ८० गरी २ हजार २ सय ९७ जनाको उद्धार गरिएको छ ।
सन् २०२१ मा १ सय ४२, २०२० मा ९४, २०१९ मा ३ सय २२, २०१८ मा २ सय ५०, २०१७ मा २ सय ७३, २०१६ मा २ सय ३९, २०१५ मा १ सय ४, २०१४ मा १ सय ८३ र सन् २०१३ मा १ सय ४२ जनाको उद्धार गरेको तथ्यांक माइती नेपालसँग छ ।
पछिल्ला वर्षहरूमा बेचबिखनमा परेकाहरूमध्ये धेरैजसो बालिका र महिलाहरू सामाजिक सञ्जालमार्फत पीडकसँग जोडिएको पाइन्छ । फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक र ह्वाट्स एपबाट जोडिएर बेचबिखनसम्म पुगेका घटना बढिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन् ।
माइती नेपाल मात्रै नभई देश बाहिर र भित्रबाट उद्धार गरिएका र नेपाल प्रहरीमा उजुरी परेका घटनाहरूको विवरणले पनि बेचबिखनका लागि पीडक तथा दलालले सामाजिक सञ्जाललाई प्रमुख माध्यम बनाइरहेको देखिन्छ । पछिल्लो ७ वर्षमा बेचबिखनविरुद्ध परेका १ हजार ४ उजुरीमा १ हजार ३ सय ५ जना महिला पीडित छन् । यीमध्ये सामाजिक सञ्जालका माध्यमबाट के–कति पीडकको फन्दामा परे भन्ने छुट्टै तथ्यांक प्रहरी छैन । तर, सामाजिक सञ्जालकै सम्पर्कबाट बेचबिखनमा परेका धेरै घटना विवरण रहेको आफूहरूसँग रहेको प्रहरी उपरीक्षक मिश्र बताउँछन् ।
बेचबिखनबाट जोगिन के छन् उपाय ?
कामको आवश्यकता भएका, अभिभावकको प्रत्यक्ष निगरानीभन्दा बाहिर रहेका र सजिलै फकाउन सकिने खालका किशोरीलाई लक्षित गरेर बेचबिखन वा तस्करी गर्ने घटना पछिल्लो समय चुनौतीपूर्ण बनेको मिश्र बताउँछन् ।
उनी यस्ता आपराधिक घटना निरुत्साहित गर्नका लागि प्रहरीले तस्करी र बेचबिखनकाका घटना कसरी भइरहेका छन् र कसरी बच्ने भन्नेबारे स्थानीय तहहरूमा जानकारीमूलक कार्यक्रम सञ्चाल गर्ने, पर्चा–पम्पलेटहरू बाँड्ने, डिजिटल बोर्डहरूमार्फत जानकारी दिने, विभिन्न सार्वजनिक कार्यक्रममा समेत जानकारी दिने काम गरिरहेको दाबी गर्छन् ।
चाइल्डसेफ नेटका अध्यक्ष अनिल रघुवंशीका अनुसार सामाजिक सञ्जालबाट हुन सक्ने हिंसा वा बेचबिखनजन्य घटनाबारे बालिका, किशोरी तथा महिलाहरूमा जानकारी गराएमा केही मात्रामा भए पनि बेचबखिनमा पर्नबाट जोगिन सकिन्छ ।
उनी हिंसाका घटनाको प्रकृति र घटना भइसकेपछि कसरी त्यहाँबाट उम्कने वा बच्ने भन्ने विषयमा समेत बालिका र महिलाहरूलाई शिक्षा दिनुपर्नेमा जोड दिन्छन् । आफू पीडित भएमा अभिभावक, प्रहरी वा सम्बन्धित निकायमा जानकारी दिनुपर्छ भनेर किशोरीहरूलाई सिकाउन जरुरी रहेको उनको भनाइ छ ।
अहिले बालबालिकाको हातहातमै मोबाइल र इन्टरनेट पुगेको छ । तर कतिपय बालबालिकाका अभिभावकले आफ्ना सन्तानले इन्टरनेटमा के गरिरहेका छन् भन्ने चासो राखेको पाइँदैन । जसले गर्दा बालबालिका र किशोरी सहजै फस्ने खतरा रहन्छ । यसबाट जोगिन बालबालिकाहरूका क्रियाकलापलाई अभिभावकले निगरानीमा राख्नुपर्ने सुझाव दिन्छन् रघुवंशी ।
“उनीहरूले सामाजिक सञ्जालमार्फत कोसँग कस्तो कुराकानी वा सम्पर्क भइरहेको छ भन्ने विषयमा सधैँ चनाखो रहनुपर्ने देखिन्छ,” उनी भन्छन् ।
प्रहरी उपरीक्षक मिश्र पनि सामाजिक सञ्जालमा बालबालिका र किशोरीको सक्रियता र उनीहरूले बढाइरहेको सम्पर्कमा अभिभावकको चासो नहँदा समस्या निम्त्याएको भन्दै चनाखो हुन अभिभावकलाई सुझाव दिन्छन् ।
न्यून आय भएका र निरक्षर किशोरी बेचबिखनको जोखिममा
विश्वराम खड्का
निर्देशक, माइती नेपाल
सामाजिक सञ्जालको विस्तारसँगै आम मानिसमा यसको लत बढ्दै गएको छ, जसको बढी प्रभाव बालबालिकाहरूमा परिरहेको छ । खासगरी अभिभावकको प्रत्यक्ष निगरानीबाहिर रहेर सामाजिक सञ्जाल प्रयोग गरीरहेका बालबालिका र किशोरीहरू यसमा आउने सामग्री र सम्पर्कबाट बढी प्रभावित भइरहेका छन् । सामाजिक सञ्जाललाई माध्यम बनाएर विभिन्न खालका अनलाइन हिंसा, दुर्व्यवहार, बालिका र किशोरीहरूलाई विभिन्न प्रलोभन देखाएर बेचबिखन र तस्करीसम्मका घटना हुन थालेका छन् ।
महिला तथा बालिकामाथि भइरहेका यौन हिंसा र बेचबिखन वा विभिन्न प्रकारका हिंसामा समेत सामाजिक सञ्जाल मुख्य माध्यम बन्न थालेको छ । विशेषगरी फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सञ्जालमा आफ्नो व्यक्तिगत र दैनिक क्रियाकलाप सेयर गर्दा कमजोर व्यक्तिहरूसम्म पीडक पुग्न सजिलो भइरहेको देखिन्छ । त्यसैले व्यक्तिगत जानकारीहरू सामाजिक सञ्जालमा सेयर नगर्नु राम्रो हुन्छ ।
खासगरी एकल अभिभावकले हुर्काइरहेका वा अभिभावकबाट टाढा रहेका, न्यून आय भएका परिवार, अशिक्षित वा अपराधहरूबारे जानकारी नभएका बालिकाहरू बढी प्रभावित भइरहेको र उनीहरू बेचबिखनको जोखिममा रहेको पछिल्ला घटनाहरूले देखाउँछन् ।
फेसबुक, भाइबर, टिकटकका माध्यमबाट बालिका र किशोरी मात्र नभई महिलाहरूसमेत आन्तरिक र सीमापारिसम्म समेत बेचबिखनमा पर्ने घटना बढ्दो छ ।
उमेर र चेतनाका हिसाबले कम उमेरका बालिका वा किशोरीहरूले के गलत हो ? वा के कुराले आफूलाई हानि गर्छ भन्ने छुट्याउन सक्दैनन् । उनीहरूले मोबाइलको स्क्रिनमा देखिने सबै सत्य हो भन्ने विश्वास राख्छन् । जसले गर्दा उनीहरूलाई कसैले फकाउन चाहेमा सजिलै आकर्षित हुन सक्ने जोखिम रहन्छ ।
यसबाहेक, टिकटकमा लाइभ बस्ने, भ्युजहरू पाउनका लागि उच्शृंखल व्यवहार गर्ने, अनलाइन साथी बनाउने, भिडियोहरू बनाएर सेयर गर्नेजस्ता क्रियाकलापले समेत उनीहरू अपराधीको आँखामा परिरहेका हुन्छन् । कतिपय अवस्थामा जोखिमबारे सचेत नहुँदा अभिभावकले समेत बालबालिकाहरूको यस्ता क्रियाकलापलाई प्रश्रयसमेत दिइरहेका घटना छन् । अभिभावक वा विद्यालयबाहिर समेत बालिकाहरू अपरिचित व्यक्ति वा आपराधिक मानसिकता भएका व्यक्तिको सजिलै सम्पर्कमा आउन सक्ने भएकाले सरकारले समेत यो विषयमा चासो देखाउनुपर्ने बेला आएको छ ।
अत्यावश्यक समयबाहेक अभिभावकले परिवारमा अनुशासन कायम राख्ने, विद्यालयमा समेत शैक्षिक क्रियाकलापबाहेक फोनको प्रयोग गर्न नदिने र सरकारले समेत निश्चित उमेरसम्म इन्टरनेटको प्रयोगमा निगरानी राख्ने नीतिनियम बनाउन आवश्यक भइसकेको छ । यस्ता नियम बनाएर स्थानीय सरकारले नियम कार्यान्वयन भए नभएको निगरानी राख्नेजस्ता कामहरू गर्न सकेमा बेचबिखन हुनबाट महिला र विशेष गरी बालिकाहरूलाई जोगाउन सकिन्छ ।
(माइती नेपालका निर्देशक खड्कासँगको कुराकानीमा आधारित)
व्यक्तिगत जानकारी सञ्जालमा सेयर गर्न हुँदैन
सम्पन्न श्रेष्ठ
साइबर सुरक्षाविज्ञ
आफ्नो दैनिकी सामाजिक सञ्जालमा सेयर गर्ने प्रवृत्तिले गर्दा हामीले कुनै न कुनै रूपमा आफूलाई समस्यामा पारिरहेका हुन्छौँ । यसले खासगरी महिला तथा किशोरीहरूमाथि हिंसा तथा दुर्व्यवहारका घटनालाई प्रश्रय मिलिरहेको छ । आफ्नो व्यक्तिगत जानकारी इन्टरनेटमा उपलब्ध भएपछि निजी जीवनमा असर पर्न सक्छ भन्ने विषयमा सचेत नहुनुले समेत समस्याहरू निम्त्याइरहेको छ ।
हाम्रो सामाजिक सञ्जाल प्रयोग गर्ने तरिका यस्तो छ कि अभिभावकले प्रि–स्कुलमा पढ्ने बच्चाको समेत अकाउन्ट बनाइदिने र सामान्यदेखि सामान्य दैनिक क्रियाकलापहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको भेटिन्छ ।
बच्चा कुन स्कुलमा पढ्छ ? बानीव्यवहार कस्तो छ ? के खान मन पराउँछ वा पराउँदैन ? कमजोरीहरू के हुन् ? भन्नेजस्ता व्यक्तिगत जानकारी अभिभावकले नै सेयर गरिरहेको पाइन्छ । यसले बालबालिकाको अधिकांश जीवनशैली सार्वजनिक हुँदा गोपनीयता नै नहुने अवस्था छ ।
‘सोसल मिडिया इन्फ्लुइन्सर’ बन्ने होडका कारणसमेत कतिपयले आफूसँगै आफन्तहरूको व्यक्तिगत जीवन सार्वजनिक गरेर खतरामा पारिरहेका छन् । सामाजिक सञ्जालमा चिनिँदा फलोअर्स बढ्ने र आफ्नो दैनिक गतिविधिले धेरै मानिसको जीवनमा प्रभाव पार्ने उद्देश्यले भिडियो वा अन्य कन्टेन्ट राख्नेको संख्या अत्यधिक देखिन्छ । जसबाट बालबालिका तथा किशोरीहरू प्रभावित भइरहेका छन् ।
धेरैभन्दा धेरै लाइक वा फलोअर्स आउने लोभले व्यक्तिगत जानकारीसहितका कन्टेन्ट सेयर गर्ने, न्युड फोटो वा भिडियोहरू बनाउने वा सर्कलहरूमा सेयर गर्नेजस्ता गतिविधिमा किशोरकिशोरीहरू बढी सक्रिय देखिन्छन् । उनीहरूले नै सेयर गरेको सामग्रीका आधारमा आपराधिक सोच भएका व्यक्तिहरूले ब्ल्याकमेलिङ गर्ने, पैसा माग्ने वा अन्य खालका हिंसा गर्ने घटना पनि भइरहेका छन् ।
सामाजिक सञ्जालमार्फत कुनै घटना भएमा बालबालिका तथा किशोरकिशोरीले अभिभावकसँग खुलेर कुरा गर्न नसक्ने हुँदा उनीहरू झन् पीडित हुने गरेको पाइन्छ । तसर्थ, व्यक्तिगत जानकारीसहितका फोटो, भिडियो वा अन्य कन्टेन्ट सामाजिक सञ्जालमा सेयर गर्नु हुँदैन भन्ने विषयमा विद्यालयस्तरबाटै सिकाउनु अति आवश्यक छ ।
कसैले सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरेमा वा हिंसा तथा दुर्व्यवहार गरेमा अभिभावक, विद्यालय र प्रहरीसँगबाट सहयोग लिन सकिन्छ भनेर सबैलाई बुझाउनुपर्छ । अभिभावकले आफ्ना बच्चाहरूले सामाजिक सञ्जालको सक्रियता र गरिरहेका गतिविधिमाथि पूर्णतः निगरानी राख्न जरुरी छ । एकपटक इन्टरनेटमा पोस्ट भइसकेको सामग्री हटाउन नसकिने र त्यो सामग्री सार्वजनिक पहुँचमा पुग्छ भनेर आम मानिसमा चेतना हुन अति आवश्यक भइसकेको छ ।
आफूले सेयर गर्ने सामग्रीबाहेक कतिपय अवस्थामा ह्याक भएरसमेत व्यक्तिगत सामग्रीहरू अरूको पहुँचमा पुग्ने जोखिम रहन्छ । आफूलाई सुरक्षित राख्न पासवर्डहरू बलियो राख्ने, अपरिचित व्यक्तिसँग आफ्ना निजी र पारिवारिक तथा नजिकका आफन्तको व्यक्तिगत जानकारीहरू सेयर नगर्ने, जागिर वा अन्य कामका लागि आउने अफरहरू सिधै स्वीकार नगर्ने र कुनै निर्णय लिनुपरेमा अभिभावकको सल्लाह लिने गर्नुपर्छ ।
यस्तै आफ्नो लोकेसन, आफू गइरहेको तथा जान लागेको ठाउँका विषयमा समेत सामाजिक सञ्जालमा सार्वजनिक नगरेमा धेरै हदसम्म अनलाइनबाट हुने हिंसाबाट बच्न सकिन्छ ।
(श्रेष्ठसँगको कुराकानीमा आधारित)
यो सामग्रीको पहिलो भाग नेपालीमा : मानव बेचबिखनमा सामाजिक सञ्जालको प्रयोग
यो सामग्रीको पहिलो भाग अंग्रेजीमा : How Sex Traffickers Are Using Social Media to Lure Teenage Girls Into Prostitution
कभर तस्बिर - बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा सायना (परिवर्तित नाम)को झोला र उनलाई आफन्तको जिम्मा लगाउन तयार पारिएको कागजात । तस्बिर : मञ्जु टेलर/निमजिन
(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।