Navigation
भारतीय दलालको चंगुलमा नेपाली श्रमिक Laxmi Chaudhary | Nov 11, 2024

धनुषाको मिथिला नगरपालिका वडा नं.९ बेंगाडावरका २० वर्षीय चन्दन मण्डल गत माघमा राम्रो कमाइ गर्ने आसमा भारतको श्रीनगर पुग्छन् । राम्रो आम्दानी र निरन्तर काम हुने र कश्मीर पनि घुम्न पाइने उनको investigation-1719398034.pngआशा त्यहाँ पुगेपछि निराशामा बदलिन्छ ।

माघ २५, २०८० मा नेपाल–भारतको सीमानाका सोनवर्षा हुँदै भारत छिरेका उनीसहित ४२ जनाले श्रीनगरमा हुँदै दुःख पाउँछन् । उनीहरूलाई न्यूनतम मानवीय सुविधा पनि नदिई श्रममा लगाइन्छ । आफूहरूको साथमा रहेको पैसा, गहना र मोबाइल सबै काम लगाउने ठेकेदारले खोसेर राखेको मण्डलले बताए ।

भारतमा सजिलै काम पाइने, खाली बस्न नपर्ने र मनग्गे आम्दानी हुने भन्दै नेपालीहरूलाई झूटो आश्वासनमा परेर भारत लैजाने गरिएको छ । कामदार संकलन गर्न गाउँगाउँमा भारतबाट बिचौलियाहरू आउने र उनीहरूले केही स्थानीय बासिन्दाहरूलाई नै प्रयोग गरेर बेरोजगार युवालाई विभिन्न आश्वासन दिँदै भारतका विभिन्न ठाउँमा लगेर काममा लगाउने गरिन्छ । सहजै काम नपाइने, पाए पनि एक/दुई दिन काम हुने र बाँकी समय खाली बस्नुपर्छ । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्नेहरू नै त्यस्तो आश्वासनमा फस्न पुग्छन् ।

यस्तै गिरोहको आश्वासमा परेर मण्डल भारत पुगेका थिए । उनीसहितका ४२ जनालाई भारत लैजानुअघि उतैबाट आएका ठेकेदारले जनही ५ देखि ७ हजार रुपैयाँ दिएका थिए । श्रीनगरमा पुगेपछि आफूहरूलाई बन्धक बनाएर काममा लगाएको र ७ हजारमा किनेर ल्याएको बताएको मण्डलले जानकारी दिए ।
त्यसपछि उनी सर्लाहीका सरोज सदासँगै भागेर घर आइपुगेका थिए । नेपाल फर्केर उनले दिएको जानकारीका आधारमा श्रीनगरबाट अरू ३६ जनाको जेठ ३, २०८१ मा उद्धार गरिएको थियो । जसमा महोत्तरीका २३ जना, सर्लाहीका ११ र धनुषाका २ जना छन् । उनीहरू १५ देखि ४४ वर्ष उमेरका छन् । केही बिरामी भएर तथा भागेर पहिल्यै आइसकेका थिए ।

kashmir_ma_faseka_nepaliEdited-1731303131.jpg
उद्धार गरिएका नेपाली श्रमिक । तस्बिर सौजन्य : सरोज राय

मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था शान्ति पुनस्र्थापना गृह धनुषाका संयोजक रिना झाका अनुसार अधिकांश ठेकेदारले राम्रो आम्दानी र राम्रो रोजगारीकै प्रलोभन देखाएर भारत लैजाने गरेका हुन्छन् । कतिपय अवस्थामा बालबालिकालाई समेत रोजगारीका लागि लैजाने गरिन्छ ।

रोजगारदाताबाट कमिसन पाउने र अझ श्रमिकको ज्यालामा समेत कमिसन पाउने भएकाले त्यस्ता गिरोहका सदस्यलाई नेपाली श्रमिक कमाउने माध्यम बनेका छन् । जसको मार भने श्रमिकलाई नै पर्छ । भनेअनुसारको काम नपाउने, राम्रो खाना र बस्ने ठाउँ नपाउने तथा कठोर परिश्रम गर्नुपर्ने समस्या श्रमिकलाई छ ।

ती ४२ जनाले पनि यस्तै समस्या भोगेका थिए । जसमध्येका एक हुन् महोत्तरीको बर्दिबासका रामएकवाल सदा । बर्दिबासमा उनलाई भेटेर भारतीय ठेकेदारले अरू युवा खोज्न भनेका थिए । ठेकेदारले जानुअघि नै ५–७ हजार रुपैयाँ दिने भनेपछि विश्वास गरेर आफूले साथीहरूलाई पनि भनेको र भारत गएको उनी सुनाउँछन् ।

पोहोरको असार/साउनतिर सीमावर्ती क्षेत्र भारतको मधवापुरका ठेकेदार ललन यादवले जनकपुरधाम उपमहनगरपालिकाका वडा नं. ७ मुहसर बस्तीका झप्सा सदासहितका १२ जनालाई भारतको गुजरातमा पुर्‍याए । कपास उद्योगमा १०–१२ किलोका कपासको पोका उठाउने पर्ने भनेर गएका झप्सालाई त्यहाँ पुगेपछि क्विन्टल बढीको कपासका बोरा बोकेर ४० फिट माथि लैजानुपर्ने काम लगाइयो । बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नुपर्ने र महिनामा १० हजार भारतीय रुपैयाँ मात्र दिने भनेपछि उनीहरूले नेपाल फर्कन चाहे ।

तर ललनले नेपालबाट गाडी भाडा हालेर ल्याएको र खर्च गरेको भन्दै काम सकेर मात्र फर्कन पाउने भने । उनले जबर्जस्ती ती १२ जनालाई काममा लगाए । झप्सा स्मरण गर्छन्, “हामी काम गर्न सक्दैैनौँ, घर फर्किन्छौँ भन्दा पनि फर्किन नदिने र जबर्जस्ती अबेरसम्म काम लगाउने गरेका थिए, काम गरेको पैसा सबै ठेकेदार ललनले नै लिने गरेका थिए ।”

क्विन्टल उचाल्नै नसक्ने उमेरका किशोरहरूलाई कुटेरै काममा लगाएको झप्सा बताउँछन् । खाना बस्न पनि राम्रो नभएकाले एक रात मौका छोपेर उनीहरू भागे र अहमदावाद पुगे । अहमदावादमा केही दिन होेटलमा काम गरेपछि खर्च जोहो गरेर घर फर्किएको उनले सुनाए । कोही भने अहमदावादमै काम गर्ने भन्दै बसेका थिए । अहिले स्वदेशमा ज्यालामजदुरी गरिरहेको बताउने झप्सा भन्छन्, “नेपालमा रोजगारी पाएको भए त्यहाँ किन जानुपथ्र्याे र ? यहाँ त पावर र पहुँचवालाले मात्र रोजगारी पाउँछन् ।”

काम सुरु गरेको भोलिपल्टैदेखि यातना

सर्लाहीको मलंगवासँगै जोडिएको भारतीय बजार सोनवर्षाबाटै गाडी रिजर्भ गरेर मण्डलसहितका ४२ जनालाई श्रीनगर नजिकैको बडगाममा लगिएको थियो । एउटा गोदामजस्तो घरमा लगेर भोलिपल्टदेखि नै भारतीय ठेकेदारहरूले यातना दिन सुरु गरेको चन्दन बताउँछन् ।

मानसिक डर पैदा गर्न उनीहरूलाई कहिले लठ्ठी त कहिले बेल्टले पिट्ने गरेका थिए । त्यति मात्र नभएर थुकेको थुकसमेत चाट्न लगाउने र खानामा थुक फाल्ने, लगाएको कट्टु खोल्न लगाउने, मालिस गर्नसमेत लगाउने गरेको चन्दन् बताउँछन् । त्यति मात्र नभएर सधैँ डर देखाउने र ‘बढी बोल्यो भने मारेर फाल्दिन्छौँ’ भनेर धम्कीसमेत दिने गरेका थिए ।

नाला बनाउने सजिलो काम भनेर लगेर दैनिक फरक फरक स्थानका ठूला भवनको छत ढलान गर्ने काममा खटाउने गरेको चन्दन बताउँछन् । डेढ महिनासम्म चरम यातना सहेर काम गरे पनि एक दिन मौका छोपेर भागेको उनले सुनाए । चन्दन भन्छन्, “चरम यातनाको सीमा पार भइसकेको थियो, त्यसकारण एक दिन मौका छोपेर म र मेरो साथी सरोज त्यहाँबाट भाग्यौँ ।”

ढलान गरिरहेको बेला कम्पाउन्डको पर्खाल चढेर भागेका उनीहरू १० मिनेट टाढाको एउटा सैनिक क्याम्पमा पुगेका थिए । चन्दनका अनुसार उनीहरूले सैनिक क्याम्पको ढोकामा उभिएका सैनिकलाई समस्या सुनाए । तर ती सैनिकले उनीहरूलाई ‘आतंकवादी’ को आशंका गरे ।

“गोर्खाली भनेका नेपाली नै हुन् भनेर ठूलो आस बोकेर आर्मी क्याम्पमा पुगेका थियौं, त्यहाँ त झन् हामीलाई आतंकवादी हो जस्तो गर्न थाल्यो,” चन्दन सम्झन्छन्, “त्यसपछि सबै समस्या सुनाएर बिन्ती गरेपछि प्रहरीमा जाऊ भन्यो ।”

उनीहरूले बाटोमा एक जना ट्राफिक प्रहरीलाई भेटेर सारा कुरा सुनाए । ती ट्राफिकले एउटा ट्रकमा चढाएर जम्मुतर्फ पठाइदिए । “घण्टौं हिँड्दा भोक लागिसकेको थियो । ती ट्रकवालाले दुईवटा बिस्कुट दिए र हामी त्यही खाएर बाँकीको बाटो पार गर्न तयार भयौं,” चन्दन भन्छन्, “मलाई ठाउँहरूको नाम याद छैन । ती ट्रकवालाले हामीलाई अर्को ट्राफिककहाँ राति करिब ९ बजेतिर छाडिदिए ।”

ट्राफिकलाई चन्दनले सारा कुरा बताएपछि उनलाई ५५० र सरोजलाई २५० भारतीय रुपैयाँ दिएर एउटा पिकअपमा चढाइदियो । त्यो पिकअपले उधमपुरस्थित रेल्वे स्टेसनमा छाडिदियो । त्यहाँ ७० रुपैयाँमा रेलको टिकट काटेर उनीह्रू जम्मुका लागि निस्किए ।

जम्मुबाट फेरि अर्को रेलमा दिल्ली आइपुगे । त्यहाँ आइपुग्दा उनीहरूसँग पैसा सकिइसकेको थियो । चन्दन भन्छन्, “बिनापैसा दिल्लीबाट ट्रेनमा बस्यौँ । बाटोमा कतै नपरे पनि बिहारको सोनपुरमा टिकट जाँच भयो र ओर्लियौँ र त्यहाँबाट फेरि जयनगरका लागि अर्को ट्रेन समात्यौँ ।”

जयनगरमा रेलबाट उत्रिएपछि हिँडेरै जनकपुरसम्म आइपुगेको उनले सुनाए । नेपाल प्रवेश गरेपछि ठूलो लडाइँ जितेर आएको महसुस भएको उनले बताए ।

चन्दन अहिले ट्रक चालकका रूपमा काम गरिरहेका छन् र रोजगारीका लागि विदेश जाने तयारीमा छन् ।  उनी भन्छन्, “नेपालमा सहजै रोजगारी पाउने भए कसैलाई आफ्नो गाउँठाउँ छोडेर काम गर्ने रहर हुँदैन, यहाँ एक दिन काम गरेर दस दिन खाली बस्नुपर्छ, कसरी घर गुजारा चल्छ ? त्यसकारण अपरिचित व्यक्तिको सम्पर्कमा भएपछि काम गर्न भारत पुग्ने गर्छन् बेरोजगार नेपालीहरू ।”

उद्धारमा भारतीय संस्थाको सहयोग

श्रीनगरमा अलपत्र नेपाली श्रमिकलाई उद्धार गर्नेमध्येका एक हुन्, सरोज राय । भागेर आएका चन्दनले श्रीनगरमा नेपाली श्रमिकलाई बन्धक बनाएर काम लगाएको जानकारी गराए पनि उनीहरूका परिवार सहयोग खोज्दै विभिन्न निकायमा पुगेका थिए ।

चन्दन स्मरण गर्छन्, “घर आएपछि सहयोग खोज्दै सांसद (रघुवीर महासेठ) को घर गयौँ, सीडीओ कार्यालय गयौँ, कतैबाट केही भएन, यस्तैमा सरोज सर (सरोज राय) को नम्बर पाएँ र उहाँलाई भेटेपछि उहाँले नै हामीलाई सहयोग गर्नुभयो ।”

Nepal-workers-rescued-from-India-ii-1731303652.jpg
उद्धारपछि घर फर्कने क्रममा नेपाली श्रमिक । तस्बिर सौजन्य : सरोज राय

श्रीनगरमा अलपत्रमा रञ्जित चौधरीका भाइ राजीवले चन्दन आउनुअघि नै साउदी अरबबाट फोन गरेर सरोजलाई आफ्ना दाजुका बारेमा जानकारी गराउँदै उद्धार गर्न आग्रह गरेका थिए । तर त्यतिखेर थप जानकारी पाउन नसकेको र चन्दन आएपछि सबै कुरा प्रस्ट भएको सरोजले बताए ।

सरोजका अनुसार सुरुमा उनले श्रीनगरमा अलपत्र भएकाहरूको नाम संकलन गरे । उनले कश्मीरमा नेपाली मजदुर फसेको भन्दै उद्धारका लागि पहल गर्न वैशाख १७, २०८१ मा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसकै आधारमा मन्त्रालयले भारतस्थित नेपाली दूतावासमा जानकारी गराएको थियो ।

त्यसपछि अभियन्ता सरोज, चन्दन र मजदुरका केही आफन्त भारत गएका थिए । भारतीय गैरसरकारी संस्था किन इन्डिया र भारतीय प्रहरीसहितको सहयोगमा यो उद्धार भएको थियो । नेपालीलाई बन्धक बनाएर राखिएको ठाउँ देखाउन चन्दनलाई भेष बदलेर श्रीनगर लगिएको थियो ।

चन्दनसँगै सादा पोसाकमा गएका भारतीय प्रहरीले नेपाली रहेको यकिन गरेपछि वैशाख २८, २०८१ को बिहान ४ बजे छापा मारेर उनीहरूको उद्धार गरिएको थियो । सरोजका अनुसार उनीहरूलाई राखिएको ठाउँमा बाहिर र भित्र दुवैतर्फबाट ताला लगाएर ढोका बन्द गरिएको थियो । भुइँतलाका २ वटा कोठामा कोचाकोच गरेर उनीहरूलाई राखिएको थियो ।

सुरुमा उद्धार गर्न आएको भन्न्दा उनीहरूले नपत्याएको र पछि टिममा आफन्त पनि देखेपछि मात्र विश्वास गरेको सरोज सुनाउँछन् । “त्यहाँको अवस्था दर्दनाक थियो, सबैले आफ्नो दुःखेसो पोख्न थाले, कुटपिट गरेको घरभित्रै पिसाव फेराउनेलगायतका यातना दिएका कुराहरू सुनाउन थाले,” सरोजले भने, “कामदार नभागोस् भनेर बाहिरबाट लक गरेर ठेकेदार पनि भित्रै सुत्ने गरेका थिए ।”

नेपालीहरूले त्यहाँ ८५ दिन काम गरेका थिए । उता जानुअघि घरपरिवारलाई दिएको ५–७ हजार रुपैयाँबाहेक उनीहरूले थप एक सुको पनि पाएनन् । उनीहरू जेठ ३, २०८१ म घर आइपुगेका थिए ।

उनीहरूलाई काम लगाउने ६ जना भारतीय पनि त्यहाँ थिए । तर ४ जना भागे भने २ जनालाई भारतीय प्रहरीले पक्राउ गर्‍यो । “हामीले ठेकेदारलाई नचिनेका कारण ४ जना भाग्न सफल भए, २ जना मात्र समात्न सक्यौं । तर, प्रमुख ठेकेदारलाई नै समात्न सफल भयौं,” सरोजले भने । उनका अनुसार पक्राउ परेकामा बन्दी बनाउने ठेकेदार मुख्तकिम आलम र सजाद छन् भने आलमका बाबु जमाल र मलिमसहित ४ जना अझैं फरार छन् । उनीहरूका बारेमा नेपाली श्रमिकको उजुरी दर्ता गरेपछि भारतीय प्रहरीले आवश्यक कारबाही अघि बढाएको सरोजले बताए ।

उनीहरूको उद्धारमा सहजीकरण गर्ने मानव बेचबिखनविरुद्ध काम गर्दै आएको भारतीय संस्था किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार उनको संस्थाले ७ सयभन्दा बढी नेपालीको उद्धार गरिसकेको छ । उनका अनुसार बिहारबाट नेपालाका तराई मधेशका गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर भारत लैजाने गरेका छन् ।

तथ्यांक नहुँदा समस्या

अभियन्ता सरोजका अनुसार ठेकेदारहरूले ४२ जनालाई भारत लैजानुभन्दा ५ जना महिना पहिला नै नेपालको वस्तुस्थितिबारे बुझेर गएका थिए । “उनीहरूले बढीजस्तो विपन्न परिवारलाई निसाना बनाउने गर्छन् । त्यसमा पनि मुसहर जातिलाई बढी । उनीहरूको व्यवसाय नै नै यही हो तर हामीसँग उनीहरूविरुद्ध कुनै दस्ताबेज छैन,” सरोज भन्छन् ।

Letter-from-foreign-ministry-1731303685.jpg
परराष्ट्र मन्त्रालयको पत्र ।

उनका अनुसार नेपालबाट फकाएर लैजाने सप्तरीसँगै जोडिएको भारतको अररिया जिल्लाका ठेकेदारहरू थिए ।

सरकारले राहदानी प्रयोग गरेर विदेश जानेहरूको तथ्यांक राखे पनि भारत जाने कामदारको कुनै पनि विवरण कतै हुँदैन । उनीहरूको रोजगारी र स्वास्थ्यको कुनै सुरक्षा हुँदैन । “नेपाली नागरिकता भएका सबै नेपाली हुन् तर राहदानी भएका र नभएका कामदारसँग किन यति ठूलो विभेद किन ?” सरोज प्रश्न गर्छन् ।

भारत गएका कामदारले यातना भोग्नुपर्ने यस्ता समस्याबाट पार पाउनका लागि श्रम स्वीकृति लिएर मात्रै भारत पठाउने नीति बनाउनुपर्ने सुझाव उनी दिन्छन् ।

स्थानीय प्रशासनलाई भारत जाने कामदारका बारेमा कुनै जानकारी हुँदैन । श्रीनगरमा अलपत्र नेपालीको उद्धार भएर घर आइपुगेपछि पनि प्रशासनले यसबारेमा कुनै जानकारी नभएको बतायो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाली अलपत्र परेको र उनीहरूको उद्धार गरिएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

श्रमिकको उद्धारका लागि आफन्तले प्रशासनमा आग्रह गरेका थिए नि भन्ने प्रश्नमा उनले भने, “यस्तो समस्या बोकेर आएकालाई कार्यालयले सहयोग नगर्ने कुरा हुँदैन, उहाँहरूले यहाँ आएर कसलाई कुरा गर्नुभयो केही थाहा भएन ।”

व्यवसायको प्रलोभनमा पनि हुन्छ ओसारपसार

व्यवसायको प्रलोभनमा पारेर पनि नेपाली युवालाई भारतमा ओसारपसार गरिन्छ । नवलपरासीको कावासोती नगरपालिका वडा नं. २ का ४७ वर्षीय लीलाराम चापागाईँ यस्तै ओसारपसारमा परेका छन् ।

विदेशबाट फर्केर गाउँमा पसल गरिरहेका उनी घाटामा चलिरहेका थिए । त्यही बेला साथीले भारतमा धेरै पैसा कमाइने काम छ भन्दै उनलाई जेठ ९, २०८१ का दिन मुजफ्फरपुरमा रहेको मोर्डन फेसन नेटवर्किङ कम्पनीमा लगे ।

House-of-Lilaram-1731303552.jpg
लीलाराम चापागाईँको घर । तस्बिर सौजन्य : लीलाराम चापागाईँ

कपडा प्याकिङको काम भनेर गएका उनीसँग व्यवसायको तालिमका लागि भन्दै १० हजार रुपैयाँ प्रवेश शुल्क मागियो । होस्टलमा राखेर प्रशिक्षण दिन थालेपछि मात्र चापागाईँले नेटवर्किङ बिजनेस रहेछ भनेर बुझे ।

तालिम सकेपछि डेढ लाख तिरेर सदस्य बन्नुपर्ने र आफूले अरू ३ जनालाई सदस्य बनाएपछि १ लाख २० हजार फिर्ता पाइने कम्पनीको नियम रहेको र आफू मुनिकाले सदस्य थप्दै गएपछि कमिसन पाइने आश्वासन दिएको उनले बताए ।

उनीहरूले भनेको काम नेटवर्किङ हो र यस्तो काम नेपालमा गैरकानुनी रहेको बुझेकाले आफू १० हजार माया मारेर घर फर्केको चापागाईँले बताए । “१० हजार डुबे पनि २ लाख रुपैयाँ नडुबाउने निश्चय गरेर म ७ दिनको तालिम सकेपछि पैसा लिएर आउँछु भन्दै फकिएँ,” लीलारामले भने ।

उनका अनुसार उनीसँगै त्यहाँ तालिम लिनेमा अधिकांश नेपाली युवा थिए । उनी भन्छन्, “एक दिन त सेमिनारमै ६ सय नेपाली थिए ।” उनले दिएको यो संख्याबाटै झूटो आश्वासमा भारत पुग्ने र ठगिने र समस्यामा पर्ने नेपालीको संख्या धेरै रहेको बुझ्न सक्छौँ ।

त्यहाँ तालिम लिनेले पछि नेपाल फर्किएर आफ्नै नातागोता तथा साथीभाइलाई प्रलोभनमा पारेर भारत लैजाने र फसाउने गरेको उनी बताउँछन् । “त्यस्तो आश्वासन र प्रलोभनमा परेर ठगिने ठाउँमा कोही पनि नजाऔँ, त्यो ठगी धन्दा हो, मान्छेलाई झुक्याउने धन्दा हो,” चापागाईँ सुझाव दिन्छन् ।

bhithamod_naka_mahottariEdited-1731303585.jpg
नेपाल–भारतको सीमानाका । तस्बिर : लक्ष्मी चौधरी/निमजिन

उनका अनुसार मुजफ्फरपुरको खवडा मनकामना बाबा मन्दिर नजिक रहेको कम्पनीको हलमा तालिम दिइन्थ्यो । त्यसको केही दूरीमा बसाइका लागि होस्टलको व्यवस्था थियो ।

तालिम स्थलबाट होस्टल र होस्टलबाट तालिम हलसम्म लैजान कम्पनीकै मान्छे आउने गरेका थिए । कसैसँग गफगाफ गर्न दिइँदैन थियो । यतिसम्म कि तालिममा प्रयोग भएको नोटबुक ल्याउन दिइएन, त्यहाँ बसुन्जेल मोबाइल पनि बोक्न नपाएकाले कुनै तस्बिर नभएको चापागाईँले बताए ।

(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments