काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निःसन्तान उपचार केन्द्रमा उपचारलाई आएका राकेश (नाम परिर्वतन) को विवाह भएको १० वर्ष भयो तर पनि उनी बाबु बनेका छैनन् ।
विवाह भएको १५ दिनमै वैदेशिक रोजगारीका लागि साउदी अरब गएका उनी ५ वर्षपछि एक महिनाको बिदामा घर आएका थिए । दम्पतीबीच बच्चा जन्माउने योजना बनेको थियो तर गर्भ बसेन ।
३५ वर्षका उनी अब भने साउदी नफर्कने गरी घर आएका छन् । आफूहरूले बच्चाको चाहना गरे पनि गर्भ नबसेका कारण उपचार खोज्दै उनी पत्नीलाई लिएर थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेका थिए । तर डाक्टरले केन्द्रमा पठाएको उनले बताए । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै निःसन्तान दम्पतीको उपचार गर्ने छुट्टै केन्द्र छ ।
निःसन्तान उपचार केन्द्रमा परीक्षण गर्दा उनमा ‘एजस्पर्मिया’ देखियो । एजस्पर्मिया भनेको शुक्रकीट हुँदै नहुने अवस्था हो । एजस्पर्मिया प्रमाणित गर्न एक महिनाको अन्तरालमा दुई पटक स्पर्म परीक्षण गर्दा दुवै पटक शुक्रकीट ‘निल’ आएको हुनुपर्छ ।
१० वर्ष अरबको गर्मीमा काम गरेका कारण राकेशले आफ्नो प्रजनन् क्षमता नै गुमाएको उनको उपचारमा संलग्न केन्द्रकी स्त्रीरोग विशेषज्ञ डा. ज्वाला संग्रौलाले बताइन् । उनका अनुसार राकेशको एजस्पर्मियाको उपचार सम्भव नै भएन । राकेशका दम्पतीलाई वैकल्पिक उपायका रूपमा शुक्राणु दान लिन सुझाएको उनले बताइन् ।
सामान्य तापक्रममा जन्मेहुर्केका नेपाली पुरुषहरूले खाडीको चर्को गर्मीमा लामो समय काम गर्दा बाबु बन्ने क्षमता गुमाउँदै गएको पाइएको छ । डा. संग्रौलाका अनुसार केन्द्रमा आउनेमध्ये आधा पुरुषमा राकेशको जस्तै निःसन्तानपन हुने समस्या देखिने गरेको छ ।
उच्च तापक्रमले शुक्रकीट उत्पादन र शुक्रकीटको संख्यामा कमी हुने हुँदा उनीहरूमा ‘बाँझोपन’ देखिन गरेको हो । केन्द्रकै भ्रूणविज्ञ डा. विनिता थापाका अनुसार उच्च तापमा रहँदा शुक्रकीट उत्पादनमा कमी हुन्छ, उत्पादन भएको शुक्राणुको बनावट कमसल हुन्छ र शुक्राणुको गतिशील क्षमता (मोर्टिलिटी) पनि कम भएकाले अण्डामा पुग्न असफल हुन्छ । जसले गर्भाधान हुने सम्भावना न्यून हुने उनी बताउँछिन् ।
निःसन्तान उपचार केन्द्रका डा. संग्रौला र डा. थापाको अनुभवसँग ठ्याक्कै मिल्छ– नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग र जैविक रसायन विभागले गरेको अध्ययनको निष्कर्ष । उक्त अध्ययनले खाडी मुलुकमा जाने कामदारहरूमा अत्यधिक गर्मी एक्सपोजरले असामान्य शुक्राणुका कारण बाँझोपन निम्त्याउने देखाएको छ ।
पुरुषमा देखिएको वीर्य असामान्यको ढाँचा र जोखिम कारकहरूको विषयमा पूर्वी नेपालमा निःसन्तानपन देखिएका दम्पतीमा गरिएको एक विश्लेषणात्मक अध्ययनमा सहभागी १ सय ८६ जना निःसन्तानपन समस्या भएका पुरुषमध्ये ४६ प्रतिशत खाडीबाट फर्किएका रहेको पाइएको छ । तीमध्ये ११ प्रतिशतमा एजस्पर्मिया थियो, २७ प्रतिशतमा असामान्य शुक्राणु आकार र २३ प्रतिशतमा शुक्राणु गतिशीलता कमजोर रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सन्तानको रहर गरेर तर सन्तान प्राप्त गर्न असफल दम्पतीको उपचार गर्ने निजी क्षेत्रको वात्सल्य आईभीएफ सेन्टरमा उपचारमा आउने दम्पतीमध्ये ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिलामा समस्या देखिने गरेको छ ।
समस्या देखिएका प्रायः पुरुष वैदेशिक रोजगारमा गएका हुने सेन्टरका भ्रूण विशेषज्ञ डा. सुरेश यादव बताउँछन् । उनले उपचारका लागि आएका केही दम्पतीका समस्या पनि सुनाए ।
उनका अनुसार पेसेन्ट १ को शुक्रकीट गणना २० लाख मात्र थियो । जबकि सामान्य अवस्थामा शुक्रकीट गणना १ करोड ५० लाख हुनुपर्छ । जसमध्येका ४२ प्रतिशत गतिशील हुनुपर्छ । तर उनका गतिशील शुक्रकीट हुनुपर्नेमा त्यो पनि एकदमै कम थियो । शुक्रकीटको बनावट सामान्यतः ०४ प्रतिशत हुनुपर्नेमा ०१ प्रतिशत थियो ।
यस्तै पेसेन्ट २ मा शुक्रकीट गणना धेरै न्यून थियो, शुक्रकीटको गतिशीलता पनि एकदमै कम थियो । साथै शुक्रकीटको बनावटमा पनि समस्या थियो ।
पेसेन्ट ३ मा शुक्रकीट गणना ८० लाख थियो । शुक्रकीटको गतिशीलता एकदमै कम थियो । उनलाई आईभीएफ गर्न सुझाएको डा. यादवले जानकारी दिए । उनका अनुसार यी तीनैवटा समस्या भएका व्यक्ति कामको सिलसिलामा खाडी पुगेर फर्किएका थिए ।
उपचारका लागि निःसन्तान उपचार केन्द्रकी डा. थापासँग पुगेका एक दम्पतीको एउटा बच्चा ११ वर्षको छ । उनीहरूले दोस्रो बच्चा जन्माउने योजनामा छन् । यो ११ वर्षका बीचमा पुरुष केही महिनाको छुट्टीमा ४ पटक घर आए । तर गर्भ बसेन । त्यसपछि उनीहरू उपचारका लागि अस्पताल आएको डा. थापाले जानकारी दिइन् ।
उनका अनुसार उपचारका क्रममा पुरुषको शुक्रकीट १० लाख मात्र देखियो, त्यसमा पनि गतिशील शुक्रकीट २–३ वटा मात्र थिए । ती पुरुषमा शुक्रकीट कम हुनुको कारण उच्च ताप हुन सक्ने डा. थापा बताउँछिन् ।
तापक्रम र प्रजनन क्षमताको सम्बन्ध
तापक्रमले शुक्रकीट बन्ने प्रक्रियामा असर गरी शुक्रकीट उत्पादन कम हुने र माइटोकोन्ड्रियामा असर गर्दा शुक्रकीटको गतिशीलतामा प्रभाव पार्ने वात्सल्य आईभीएफ सेन्टरका भ्रूणविज्ञ डा. यादवले बताए । उनका अनुसार शुक्रकीटलाई तीन (हेड, मिड र टेल) भागमा विभाजित गरेर हेर्न सकिन्छ । शुक्रकीटको मध्य भागमा सेलको पावरहाउसका रूपमा परिचित माइटोकोन्ड्रिया हुन्छ । माइटोकोन्ड्रियाले कोषिकाको अस्तित्व र कार्यका लागि आवश्यक ऊर्जा उत्पादन गर्दछ ।
माइटोकोन्ड्रियामा इनर्जी फर्मेसन (शक्ति उत्पन्न) हुन्छ । त्यसका लागि आवश्यक एटीपी (सेलुलर स्तर प्रयोग र भण्डारणका लागि ऊर्जाको प्राथमिक स्रोत) उत्पन्न हुन्छ । जसरी हामीलाई काम गर्र्न शक्ति चाहिन्छ त्यसैगरी शुक्रकीटलाई पनि गतिशील हुन शक्ति चाहिन्छ । माइटोकोन्ड्रियाले इनर्जी सिन्थेसिस (शक्ति संश्लेषण) गर्ने डा. यादवले बताए ।
उनका अनुसार माइटोकोन्ड्रियाले शक्ति संश्लेषण गर्दा यसलाई पनि उचित तापक्रम र हाइड्रोजनको सम्भावना (पीएच) चाहिन्छ । यदि यो घटबढ भयो भने शुक्रकीटले आवश्यक शक्ति बनाउन सक्दैन र विस्तारै काम गर्न बन्द गर्छ ।
विश्वका विभिन्न भुगोलमा जन्मिएका मानिसको तापक्रम सहने क्षमता त्यही अनुसार विकास भएको हुन्छ । उसको शरीरमा बन्ने शुक्रकीटले पनि त्यही तापक्रममा काम गर्छ । नेपालीहरू औसतमा ३२ देखि ३७ डिग्री सेन्टिग्रेटमा हुर्केका हुन्छन् ।
खाडी मुलुकमा काम गर्न जाँदा कम्तीमा ४५ डिग्री सेन्टिग्रेटको तापक्रम सहनुपर्ने हुन्छ । औसत ३५ डिग्री सेन्टिग्रेटमा काम गर्ने माइटोकोन्ड्रियाले एकैपटक ४५ डिग्री सेन्टिग्रेटमा पुग्दा क्षमताअनुसार काम गर्दैन । जसका कारण शुक्रकीटको गतिशीलता खाडीका देशमा ५/७ वर्ष बस्दा घट्दै जाने डा. यादव बताउँछन् ।
उच्च तापमा दिनभर काम गर्दा टेस्टिकल पार्ट (मानिसको प्रजनन प्रणालीको एक भाग) तात्छ । त्यसले पनि शुक्रकीटको गतिशीलता घट्दै जाने उनले जानकारी दिए ।
तापक्रमले शुक्रकीट बन्ने प्रक्रिया (स्पर्म माइट्रोजेनेसिस) लाई पनि असर गर्छ । जसले शुक्रकीट उत्पादनमा हानि गर्छ । लामो समय उच्च तापमा बसेमा विस्तारै विस्तारै शून्यमा पुग्न सक्ने उनले बताए । डा. यादवका अनुसार सबैको अवस्था शून्यमा पुगिसकेको हुँदैन । तर धेरै व्यक्तिहरूमा शून्य नै भेटिन्छ । शून्य भेटिनेमा खाडी मुलुकबाट फर्किएर आएका बढी छन् ।
गर्मीमा काम गर्नुपर्ने, सरसफाइमा ध्यान नदिने, कामको तनाव, भित्री बस्त्र कसिलो लगाउने, अस्वस्थ्यकर जीवनशैलीले पनि एजस्पर्मिया हुन सघाउने निःसन्तान उपचार केन्द्रकी भ्रूणविज्ञ डा.थापा बताउँछिन् ।
बढ्दो नेपाली, चढ्दो पारो
खाडीमा लामो समयसम्म चरम गर्मी हुन्छ । अधिकांश भागमा वर्षमा १०० देखि १५० दिन अधिकतम दैनिक तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि हुन्छ ।
इरान, कुवेत, ओमान, साउदी अरेबिया र यूएईको तापक्रम सन् २०२१ मा ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यी क्षेत्रमा लगातार तापक्रम बढिरहेको र यो प्रवृत्ति कायम रहे यस शताब्दीको अन्त्यसम्ममा यो क्षेत्रमा बसोबास गर्न नसकिने अनुमान गरिएको कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसले मध्यपूर्वमा जलवायु परिवर्तन र जोखिम शीर्षकमा गरेको अध्ययनमा उल्लेख छ ।
विज्ञहरूले सन् २०५० सम्ममा यो क्षेत्रको तापक्रम ४ डिग्री सेल्सियस बढ्ने भविष्यवाणी गरेका अध्ययनमा उल्लेख छ । अध्ययनका अनुसार चरम मौसमी घटनाको असर अनुभव गर्ने पहिलो व्यक्ति आप्रवासी कामदारहरू हुने देखिन्छ ।
भाइटल साइन्सले गरेको खाडीको अत्याधिक तापक्रम र आप्रवासी श्रमिकहरू शीर्षकको अध्ययनले खाडीमा चरम तापक्रमका कारण आप्रवासी श्रमिकहरूको स्वास्थ्यमा विध्वंशकारी परिणाम निम्त्याउने उल्लेख छ ।
वेट-बल्ब ग्लोव टेम्प्रेचर (डब्लूबीजीटी)लाई आधार मान्दा दुबईमा प्रत्येक वर्षको मेदेखि अक्टोबरसम्म श्रमिकहरू उच्च तापक्रमको जोखिममा रहन्छन् । ४ महिना (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर) मा तापक्रम सबैभन्दा उच्च रहन्छ । लामो समयसम्म चरम गर्मीको सामना गर्नाले आजीवन उपचार गर्नुपर्ने स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउने जोखिम रहन्छ ।
जलावायु परिवर्तनका कारण खाडीको तापक्रम बढ्ने र त्यसले स्वास्थ्यमा समस्या झनै बढाउने चेतावनी आइरहे पनि त्यहाँ जाने नेपालीको संख्या घटेको छैन ।
आर्थिक वर्ष २०८०⁄८१ मा वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ७०.९१ प्रतिशत युवा खाडीका देशमा पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । श्रम सम्झौता भएका १४९ देशमा जान ७ लाख ४१ हजार २ सय ९७ जनाले श्रम स्वीकृति लिएकोमा खाडी जाने मात्रै ५ लाख २५ हजार ६ सय ९३ जना छन् ।
जसमध्ये यूएईमा सबैभन्दा धेरै १ लाख ९३ हजार ४ सय ३८ जना पुगेका छन् । त्यस्तै, १ लाख ४१ हजार ५ सय २ युवा श्रमिक साउदी अरेबिया पुगेका छन् । सोही अवधिमा १ लाख ३४ हजार ६ सय ६९ कतार गएका छन् । ४० हजार ३ सय ६८ कुबेत, ९ हजार ८ सय ६ बहराइन र ५ हजार ९ सय १० जना ओमनमा पुगेका छन् ।
यो तथ्यांकले स्वास्थ्यसम्बन्धी जटिल समस्या हुनेको संख्या बढ्ने देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल विश्वव्यापी तापक्रम वृद्धिका कारण यस्ता समस्या झनै बढ्ने निश्चित रहेको बताउँछन् ।
निःसन्तानपनको अध्ययन र तथ्यांकको अभाव
हाल निःसन्तानपनको समस्या लिएर अस्पताल आउनेहरू बढिरहेका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् । अहिले १०० दम्पतीमध्ये २५ दम्पतीमा निःसन्तानको समस्या देखिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७७⁄७८ मा ४ हजार ९७४ बिरामीहरू निःसन्तानपन उपचारमा आएको अस्पतालको तथ्यांक छ । त्यस्तै, २०७९⁄८० मा ८ हजार ३ सय ९ जना र २०८०⁄८१ मा ९ हजार ११ जना सेवा लिन आएको अस्पतालको तथ्यांक छ । तर राष्ट्रिय स्तरमा निःसन्तानपनको अवस्था कस्तो छ भन्ने कुनै तथ्यांक छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन उमेरका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानको अनुभव गर्ने गरेका छन् । प्रजनन क्षमता भएको महिलासँग कम्तीमा १ वर्षसम्म यौन सम्बन्ध राख्दा गर्भधारण नभएमा पुरुषमा समस्या भएको मानिन्छ । संगठनका अनुसार विश्वभरका १०० जोडी निःसन्तान दम्पतीको विवरण हेर्ने हो भने ५० जोडीको महिला र ५० जोडीको पुरुषमा समस्या हुने गरेको छ ।
नेपालमा भएका अध्ययनहरूको आधारमा निःसन्तानपन ठूलो समस्याका रूपमा देखा परिरहेको परिषद्का अनुसन्धान अधिकृत डा. धिमाल बताउँछन् । यसको एउटा कारक वातावरण हो भनेर बुझ्न सकिने उनी बताउँछन् ।
वातावरणीय प्रभावका कारण प्रजनन क्षमतामा ह्रास आउने मुद्दा उठिरहेको भए पनि नेपालमा अध्ययन नभएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल बताउँछन् । “हिटमा काम गर्दा असर हुन्छ भन्ने सुनेको हो । तर त्यसैले गर्दा यत्तिकोमा असर भएको छ भन्ने केही पनि तथ्यांक छैन,” उनले भने, “त्यस्तो तथ्यांक भए हामी नीति निर्माणका लागि प्रयोग गर्छांै । तर यही विषयमा अध्ययन भएको सुनेको छैन ।”
प्रजनन् दर घट्नुमा निःसन्तानपनको भूमिका
२०७८ को जनगणनाअनुसार नेपालको प्रजनन् दर १.९ मा झरेको छ । राष्ट्रिय जनसंख्या नीति २०७१ अनुसार २०९० सालसम्ममा कुल प्रजनन दर २.१ मा झार्ने लक्ष्य थियो । तर १२ वर्षअघि (२०७८) नै सरकारले राखेको लक्ष्यभन्दा तल झरेको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।
“सरकार परिवार योजनाको रूपमा परिवार नियोजनमा केन्द्रित रहेको अवस्था हो । तर अब निःसन्तानमा पनि केन्द्रित हुन जरुरी छ,” स्त्रीरोग अस्पतालका निर्देशक डा. अधिकारी भने, “अहिले हाम्रो जन्मदर घटिसकेको छ ।”
जन्मदर घट्नुको कारण र त्यसमा निःसन्तानपनको अवस्थालाई खोजी गर्नुपर्ने उनी बताउँछन् । यही गतिमा जन्मदर घट्ने हो भने जनसंख्यामा असन्तुलन हुन्छ । त्यसमा निःसन्तानपन पनि एक कारण रहेको उल्लेख गर्दै उनी उपचार केन्द्र व्यवस्थित गर्नुपर्ने अवस्था आइसकेको बताउँछन् ।
“परिवार नियोजनको साधन उपलब्ध गराएका कारण बच्चा कम जन्मेका भन्ने भ्रम छ । त्यो बिल्कुलै होइन,” महाशाखा प्रमुख डा. लाल भन्छन्, “अहिले सबैभन्दा कम जन्मदर भएका देश कोरिया, जापान, चीन हुन् । यी देशहरूमा नेपालमा भन्दा धेरै कन्ट्रासेफ्टिी प्रिभिलेन्स रेट (सीपीआर) छ ।”
उनका अनुसार समग्रमा जन्मदर घट्नुमा परिवार नियोजनको साधनको भूमिका ५ प्रतिशत पनि छैन । त्यसकारण परिवार नियोजनकै कारण मात्र जन्मदर घटेको होइन । घट्दो जन्मदरमा निःसन्तानपनको समस्या कति छ भनेर खोजी हुनुपर्नेमा डा. लाल जोड दिन्छन् ।
नेपालको प्रजनन दर सरकारको नीतिभन्दा तल झरिसकेका कारण १० वर्षपछि यो अवस्था भयावह हुनु स्वाभाविक रहेको डा. धिमाल बताउँछन् । त्यसमा केही हदसम्म निःसन्तानपन पनि जोडिएको छ ।
अहिले निःसन्तानपनलाई समस्याको रूपमा हेर्न थालेको छ । निःसन्तान उपचार केन्द्रहरू विस्तार गर्ने सरकारकै योजनामा छ । तर त्यो प्रयास पर्याप्त नभएको उनी बताउँछन् ।
निःसन्तानपनको विस्तृत अध्ययन गर्न पनि जरुरी छ । स्थानीय तहगत तथ्यांक भए मात्र उपचार विस्तार गर्ने खाका कोर्न सकिने भएकाले अध्ययन गर्नुपर्नेमा डा. धिमालले जोड दिए ।
बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित १९९० र २०१९ बीचको २ सय४ देश र क्षेत्रहरूमा पुरुष बाँझोपनको विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय बोझ : रोग अध्ययनको विश्वव्यापी बोझको विश्लेषण नामक अध्ययनले पुरुष निःसन्तानपन एक विश्वव्यापी प्रवृत्ति रहेको देखाएको छ । पुरुष प्रजनन स्वास्थ्य र प्रजनन क्षमता कमजोर बन्दै जानुले प्रजनन स्वास्थ्यका लागि खतराको संकेत गरेको अध्ययनको निष्कर्ष छ ।
महँगो तर न्यून प्रभावकारी सेवा
निःसन्तानपनको उपचार महँगो छ । यसमा प्रयोग हुने उपकरण र प्रविधि नै महँगो हुने भएकाले उपचार शुल्क पनि महँगो हुने डा. अधिकारी बताउँछन् । उनका अनुसार बिरामीको अवस्थाअनुसार शुल्क निर्धारित हुन्छ ।
ओवुलेशन इन्डक्सन-टाइम इन्टरकोर्स (ओआईटीआई) हुने अवस्थामा न्यूनतम शुल्कमा उपचार हुन्छ । इन्ट्रायुट्रिन गर्भाधान (आईयूआई) गर्दा करिब १० हजारमा उपचार हुन्छ ।
तर इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) गर्न कम्तीमा पनि डेढ लाख रुपैयाँ खर्च लाग्छ । निःसन्तापनको उपचारमा आएका १ सय जनामध्ये २/३ जनामा आईभीएफ नै गर्नुपर्ने उनले जानकारी दिए ।
आईभीएफ विधिद्वारा गरिने उपचार प्रक्रियामा आवश्यक हर्मोनको एउटै औषधिलाई ८ हजार रुपैयाँसम्म पर्छ । यस्तो औषधि उपचार प्रक्रियामा दिनमै दुई/तीनवटा समेत प्रयोग गर्नुपर्र्छ ।
अस्पतालमा लाग्ने खर्चभन्दा पनि काठमाडौं बाहिरबाट आउने बिरामीलाई आउने जाने र काठमाडौं बस्नुपर्दा धेरै खर्च लाग्ने डा. थापा बताउँछिन् । उनका अनुसार निःसन्तनापन उपचारको प्राकृतिक वा कृत्रिम विधि दुवै अवस्थामा महिनावारीको दोस्रो दिनदेखि उपचार प्रक्रिया सुरु हुन्छ । त्यसका लागि काठमाडौंमा नै बस्नुपर्ने बाध्यता हुँदा पनि काठमाडौंबाहिरबाट आउने बिरामीलाई यसले खर्च बढाउँछ ।
सरकारले कर छुट गरेर सस्तोमा औषधि ल्याइदिने वा बिमा कार्यक्रममा निःसन्तानपनको उपचारलाई पनि समावेश गरेर औषधिको व्यवस्थापन गरेमा सस्तोमा सेवा दिन सकिने प्रसूति अस्पतालका निर्देशक डा. अधिकारी बताउँछन् ।
निःसन्तानपन उपचार खर्चिलो हुनुका साथै सफलता दर पनि न्यून छ । ओआईटीआई विधिबाट नियमित शारीरिक सम्पर्कमा रहे प्राकृतिक रूपमा हुने सफलता दरभन्दा केही बढी हुन्छ । आईयूआई गर्दा पहिलो पटकको सफलता दर १० देखि १५ प्रतिशत हुन्छ । यो पनि व्यक्तिअनुसार फरक पर्न सक्छ । केहीमा ५ प्रतिशत मात्र हुने अवस्था पनि रहन्छ । यदि दोहोर्यायो भने सफलता दर बढेर ४० देखि ४५ प्रतिशतसम्म पुग्न सक्छ ।
आईभीएफ गर्दा आफ्नै साइटबाट अण्डा र शुक्रकीट भए ३२ देखि ४० प्रतिशत सफलतादर रहन्छ । अण्डा वा शुक्रकीट दाताबाट हो भने ६० देखि ६५ प्रतिशतसम्म रहन्छ । शतप्रतिशत कुनै पनि तरिकामा हुँदैन ।
अर्को उपाय शुक्रकीट फ्रिजिङ
वैदेशिक रोजगारमा रहँदा उत्पन्न हुने पुरुष बाँझोपनको समस्या समाधानका लागि शुक्रकीट फ्रिजिङ गर्न सकिन्छ । शुक्रकीट जम्मा गर्नु नै पुरुषको प्रजनन क्षमता जोगाउने सबैभन्दा सफल विधि रहेकाे डा. थाप बताउँछिन् । यो शुक्राणु भण्डारण गर्ने विधि हो ।
केन्द्रमा शुक्रकीट फ्रिजिङ गर्ने सुविधा पर्याप्त छ । फ्रिजिङ गर्न प्रतिमहिना ३ हजार शुल्क लाग्ने डा. थापाले बताइन् । फ्रिजिङ दम्पतीको रुचिअनुसार जति समय पनि गर्न सकिने र आफूले चाएको समयमा गर्भधारण गर्न सकिने उनले बताइन् ।
प्रसूति अस्पतालमा फ्रिजिङ गर्न रुचि भएका धेरै दम्पतीहरू आइपुग्छन् । तर सामाजिक लान्छनाका कारण धेरै दम्पतीहरू शुक्रकीट फ्रिजिङ गर्न हिच्किचाउने डा.संग्रौला बताउँछिन् ।
उनका अनुसार शुक्रकीट फ्रिजिङ गरेर श्रीमान् वैदेशिक रोजगारमा हुँदा श्रीमतीले नेपालमा गर्भधारण गर्न मिल्छ । केही दम्पतीले फ्रिजिङ गरेर श्रीमान् वैदेशिक रोजगारमा हुँदा नेपालमा बच्चा जन्माएको उदाहरण पनि छ ।
तर श्रीमान् विदेशमा भएका बेला नेपालमा श्रीमती गर्भवती हुँदा समाजले अनेक लान्छना लगाउने डरले अस्पतालमा बुझ्न आएकाहरूले यो विधि प्रयोग गर्न नमानेको उनले बताइन् । परिवारले स्वीकृति नदिएका कारण केही दम्पती पछि हटेको उनले बताइन् ।
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।