Navigation
विपद् प्रभावितहरू बेचबिखनको उच्च जोखिममा Ruma Rijal | Oct 25, 2024

एक घण्टा पूजामा बसेको ५ हजार दक्षिणा पाइने सुनेपछि सुनसरीकी कुसुम (परिवर्तित नाम) लोभिइन् । मिठोमसिनो मुखमा र नयाँ लुगा आङमा नपरेकै धेरै भएको थियो । च्यातिएको ठाउँ सिलाउँदा सिलाउँदा स्कुले पोसाकको रूप नै फेरिएको थियो ।

investigation-1719398034.pngभदौ ३०, २०७७ को राति बास बस्न आएकी चिनजानकी दिदी मोरङकी मनिका ढकालको मोबाइल चलाउन पाएपछि कुसुमलाई मोबाइल बोक्ने रहर पनि जागेको थियो । कुसुमकै घरमा बास बसेकी मनिकाले दुई जना पूजामा बस्ने र त्यसबापत् आउने १० हजारले मोबाइल किनिदिने आश्वासन दिइन् ।

कोरोना महामारीका कारण देश लकडाउन भएर बुबाले रोजीरोटी गुुमाएर परिवार समस्यामा परेको थियो । यस्तो बेलामा पूजामा बसेर पैसा पाइने र मोबाइल किनिदिने लोभ देखाएपछि कुसुम लोभिएकी थिइन् । “मसँग विराटनगर हिँड, त्यहाँ ठूलो पूजा हँुदै छ, कन्या केटीलाई टीका लगाएर ५ हजार रुपैयाँ दिन्छन्,” कुसुम अझै सम्झन्छिन् ।

Nepal_Trafficking_Disaster5-1729835406.jpg
विपद्पछिको विपन्नताले महिला तथा बालबालिका उच्चजोखिममा पर्ने गरेका छन् । तस्बिर : रुमा रिजाल/निमजिन

कुसुमलाई फकाएको ४ दिनपछि ती दिदीले असोज ३, २०७७ का दिन फोन गरी ‘भोलि बिहानै जानुपर्छ तयार हुनु’ भनेकी थिइन् । नभन्दै भोलिपल्ट असोज ४, २०७७ का दिन बिहानै उनले कुसुम ओछ्यानमै हुँदा उनकी आमाको मोबाइलमा फोन गरेर नजिकै चोकमा बोलाइन् ।

“दिदीले फोन गरी ‘बहिनी म शिवचोकमा मारुती भ्यानमा आइपुगेँ, तिमी छिटो तयार भएर म भएको ठाउँमा आऊ त’ भनी मलाई भनेको हुँदा हतारहतार गरी म दिदी भएको ठाउँमा पुगेँ,” कुसुमले प्रहरीसँगको बयानमा भनेकी छन् ।

उनलाई इटहरीसम्म भ्यानमा र त्यहाँबाट भारतीय सीमासम्म मोटरसाइकलमा तथा गाडीबाट फारबिसगन्जको सिमराहीसम्म पुर्‍याएका थिए । त्यहाँ पुगेपछि आँत्तिएर फारबिसगन्जको बस चढेर फर्केको र राति सीमामा साना हातका अनुगमनकर्तालाई भेटेर आफूले सबै कुरा भनेको कुसुमले बताएकी छन् ।

फारबिसगन्जमा कुसुम आँत्तिनुअघि नै उनको घरमा रुवाबासी सुरु भइसकेको थियो । कुसुमकी आमाले छोरी भान्जीसँग विराटगनर गएको थाहा पाएकी थिइन् । उनले पटकपटक भान्जीलाई फोन गरिन् तर फोन लाग्दै लागेन । छोरी फर्कने बाटो हेर्दाहेदै झमक्कै साँझ पर्‍यो । भर्खरै १७ वर्ष लागेकी छोरी नफर्केपछि कुसुमका बुबाआमाको होसहवास् नै उड्यो । के गर्ने, कसो गर्ने केही सोच्नै नसकेको र घरमा रुवाबासी सुरु भएको कुसुमकी आमा स्मरण गर्छिन् ।

Nepal_Trafficking_Disaster9-1729836987.jpg
सुनसरी भण्टाबारी सीमाको सूचना केन्द्र । तस्बिर : रुमा रिजाल/निमजिन

छोरीसँग सम्पर्क हुन नसकेपछि टोल विकास संस्थामार्फत प्रहरीकोमा जाने तयारी गर्दैगर्दा बेलुकी ७ बजेतिर कुसुमी आमाको मोबाइलमा फोन आउँछ । “फोनमा अपरिचित व्यक्तिले ‘नमस्कार म साना हात नामक संस्थाबाट बोल्दै छु । आज तपाईंले छोरीलाई कहाँ पठाउनुभएको थियो ?’ भनेर सोध्छन्,” कुसुमकी आमाले भनिन्, “यो सुनेर हामी त छाँगाबाट खसेजस्तै भयौँ ।”

कुसुमलाई बेचबिखनका लागि भारत लगेको भन्दै प्रहरीले मनिकासहित सप्तरीका डाक्टर प्रेम भन्ने सुमितकुमार मण्डल र सप्तरीका शुभम साहविरुद्ध मानव बेचबिखन तथा ओसारपासर मुद्दा दर्ता गरेको थियो । जसमा जिल्ला अदालत मोरङले कुसुमलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले भारत लगेको ठहर गर्दै मनिका र सुमितलाई जनही ७ वर्ष कैद सजाय तोकेको छ । शुभम भने फरार रहेकाले उनको मुद्दा मुल्तवीमा छ ।

विपद्का कारण समस्यामा परेका परिवारका सदस्यले समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरू खोजिरहेका हुन्छन् । आफ्नो गर्जो टार्ने उपाय खोजिरहेका उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार गर्ने गिरोहले सजिलै फसाएर बेचबिखन गर्ने जोखिम धेरै हुन्छ । कुसुम यस्तै जोखिममा परेकी थिइन् । 

कुसुमजस्तै धरानकै रजनी र सरिता (परिवर्तित नाम) पनि झन्डै बेचिन पुगेका थिए । देशमा कोरोना महामारीले सबैतिर काम ठप्प भएपछि रजनीका बुबाको पनि रोजीरोटीको बाटो गुम्यो । ५ जनाको परिवार आर्थिक अवस्था एकदमै दयनीय हुँदै गयो ।  

Nepal_Trafficking_Disaster7-1729835408.jpg
 
रजनीलाई प्रहरीले बाटोबाट उद्धार गरेको थियो । तस्बिर : रुमा रिजाल/निमजिन

ज्याला मजदुरीबाहेक आम्दानीको स्रोत थिएन । नागरिकता नभएकाले रजनीको परिवारले राहत पनि पाएन  । यो परिवार समस्यामा छ भन्ने थाहा पाएपछि रजनीलाई कामम लैजान्छु भनेर उनकी आमासँग ललनले प्रस्ताव राखेका थिए । ललनको यो परिवारसँग सामान्य चिनजान थियो ।

आपत्तमा परेको बेला छोरीले काम पाउने आश्वासन पाएपछि रजनीकी आमा फुरुङ हुँदै छोरी पठाउन तयार भइन् । तर रजनीले जान मानिन् । त्यसपछि उनले नै सरिताको कुरा निकाल्छिन् । ललनले दुवै जनालाई काम लगाइदिने आश्वास दिन्छन् र मोटरसाइकलमा राखेर लैजान्छन् ।

वैशाख २७, २०७७  मा लहान जाँदै गर्दा ललन चेकिङमा पर्छन् ।  त्यो चेकिङ सीमानाकाको पनि थिएन । बराहक्षेत्र नगरपालिकाको पकली रूपनगर सडक खण्डमा प्रहरीले चेकिङ गर्दा मोटरसाइकलमा चालकसँगै १३ वर्षीया रजनी र १४ वर्षीया सरिता पनि थिए । कोरोना समयमा मोटरसाइकलमा ३ जना सवार भएको देखेर सशस्त्र प्रहरीले सामान्य सोधपुछका लागि उनीहरूलाई रोकेको थियो । जब प्रहरीले सोधपुछ गर्न थाल्यो, सामान्य ठानेको अवस्था गम्भीर हुन पुग्यो ।

रजनी र सरिताका अनुसार बाइकमा लैजानेले आफूहरूलाई कसैले सोधेमा ‘बुबा बिरामी भएकाले धरान गएर आएका हौं, हाम्रो घर जनकपुर हो भन्नू’ भनेर सिकाएका थिए ।

प्रहरीले अदालतमा बुझाएको घटना विवरणअनुसार सोधपुछका क्रममा बाइक चालक डराएका थिए । प्रहरीले केरकार गर्न लागेपछि उनीहरूको कुरा बाझिएको र थप केरकार गरेपछि किशोरीहरूले काम लगाइदिने भनेर ल्याएको बताएका थिए ।

त्यसपछि प्रहरीले दुई किशोरीलाई उद्धार गरी उनीहरूलाई बाइकमा लैजाने महोत्तरी, जलेश्वरका २८ वर्षीय ललन मण्डललाई पक्राउ गरेको थियो । किशोरीहरूलाई लिन कोशीको पुलपारि बसेका सिरहाको नवराजपुरका २१ वर्षीय महेशप्रसाद यादव, मोटरसाइकल उपलब्ध गराउने महोत्तरीका २७ वर्षीय सुशील साह भनिने सुशील साफीलाई पक्राउ गरेर प्रहरीले जिल्ला अदालत सुनसरीमा जेठ २१, २०७७ मा बेचबिखनको मुद्दा दर्ता गर्‍यो ।

त्यो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सुनसरीका न्यायाधीश सुमनकुमार न्यौपानले भदौ २८, २०७९ मा ललनलाई दोषी ठहर गरी अरूलाई सफाइ दिन्छन् । असोज ५, २०७९ मा अदालतले ललनलाई १० वर्ष १ महिनाको कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएअनुसार ललन अहिले जेलमा छन् ।

ललनले रजनीको आमासँग चिनजान रहेको र आफू धरानमा औषधि किन्न जाँदा भेट्ने क्रममा उनले लकडाउनले गर्दा खानको समस्या परेकाले छोरीलाई लैजानू भनेर पठाएको अदालतमा बयान दिएका थिए ।

विपद्ले निम्त्याउँछ थुप्रै जोखिम

माइती नेपाल विराटनगरकी गीताञ्जली शर्माका अनुसार मानव बेचबिखनको उच्च जोखिममा पर्नेमा विपद् तथा हिंसाबाट प्रभावित बढी छन् । विपद्बाट प्रभावित भएको विषय सुरुमै बाहिर नआउने भए पनि कुनै न कुनै रूपमा यसबाट प्रभावित हुने गरेका घटना धेरै रहेको शर्मा बताउँछिन् ।

Nepal_Trafficking_Disaster8-1729835409.jpg
मानव बेचबिखनको उच्च जोखिममा पर्नेमा विपद् तथा हिंसाबाट प्रभावित बढी छन् । तस्बिर : रुमा रिजाल/निमजिन

विराटनगरमा साना हात संस्थामार्फत १५ वर्षदेखि मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सीमा निगरानी कार्यक्रम चलाइरहेका विवश श्रेष्ठका अनुसार कमजोर अवस्थालाई अवसरमा परिणत गर्ने र फाइदा कमाउनेहरूबाट कुसुमजस्ता किशोरी उच्च जोखिममा छन् ।

विपद्ले मानिसलाई आर्थिक संकट, खान, लगाउनको दुःख मात्रै नभई अरु जोखिममा पनि पार्ने गर्छ । सामाजिक अभियन्ता मञ्जिता उपाध्यायका अनुसार पनि विपद्को घटनाले कुनै न कुनै रूपमा महिला तथा बालबालिका जोखिममा पर्छन् । यसमा बेचबिखनको उच्च जोखिम रहन्छ ।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता गौतम मिश्र प्राकृतिक विपत्तिका बेलामा मानिस झनै आर्थिक अभावमा हुने भएकाले बेचबिखनमा पर्ने सम्भावना बढी हुने बताउँछन् । २०७२ सालको गोर्खा भूकम्प होस् वा २०८० को जाजरकोट भूकम्प अनि कोशीको बाढी, झापाको आगलागी होस् वा तराईमा हुने हरेक वर्षको डुबान नै । यस्ता विपद्बाट प्रभावित परिवार जोखिममा परेका मिश्र बताउँछन् ।

उनका अनुसार २०७२ सालको भूकम्पमा ९ हजार बढीको ज्यान गएको थियो, त्यसमा कति परिवारले कमाउने व्यक्ति नै गुमाए र घरवारविहीन पनि भए । त्यसपछि आश्रितहरू कामको खोजीमा लागे ।

“त्यस्तै कोभिड माहामारीले अर्को विपत्ति ल्याइदियो, धरैको आर्थिक अवस्था कमजोर हुन पुग्यो,” मिश्र भन्छन्, “प्रभावितहरू रोजगारको खोजीमा आफू बसेको ठाउँभन्दा अन्यत्र ठुल्ठूला सहरमा सञ्चालित होटल, रेस्टुरेन्ट, खाजाघर, डिस्को, डान्स बारहरूमा काम खोज्न बाध्य भएको देखिन्छ ।” उनका अनुसार रोजगारीमा लाइदिने बहानामा हिंसा गर्ने, कम ज्याला दिने, वेश्यावृत्तिमा लगाउने र यौनशोषण गर्नेसम्मका घटना प्रहरीमा दर्ता भएका छन् ।

वेश्यावृत्तिका लागि शरीरको नापजोख

मनिका ढकालले प्रहरीमा दिएको बयानअनुसार चिनजानका सुमितकुमार मण्डलले उनको उचाइ सोधेका थिए । उनले ५ फिट ३ इन्च बताएकी थिइन् ।

भदौ ३०, २०७७ का दिन सुमितले विराटनगरस्थित आफ्नै कोठामा लगेर मनिकाको उचाइ नापे । उचाइ ५ फिट १ इन्च मात्र भयो । त्यसपछि सुमितले ५ फिट ३ इन्च अग्लो मान्छे चाहिएको भन्दै घरमा कोही अरु दिदीबहिनी छैनन् भनेर मनिकालाई सोधेका थिए ।

सुमितले प्रहरीमा दिएको बयानअनुसार मनिकाले एउटी चिनजानकी बहिनी रहेको बताएकी थिइन् । त्यसपछि उनले एक जना भाइलाई मोटरसाइकल दिएर मनिकालाई उनले भनेको ठाउँमा पुर्‍याउन लगाएका थिए र मनिका कुसुमको घर बास बस्न पुगेकी थिइन् । त्यही रात उनले कुुसुमलाई पूजामा बस्न विराटनगर गएमा ५ हजार रुपैयाँ दक्षिणा पाइने सुनाएकी थिइन् ।

‘अँध्यारो कोठामा लैजान्छन्, कालो टीका लगाएका, हातमा तरवार बोकेका मान्छेहरू आएर तिम्रो पूजा गर्छन्, त्यो बेला तिमी एकरत्ति पनि नहल्लिकन सिधा टाउको गरेर बस्नू, पूजा धेरै बेर हुँदैन, त्यसलगत्तै तिम्रो हातमा ५ हजार रुपैयाँ दक्षिणा दिन्छन् । तर मैले भनेको यो कुरा तिमीले कसैलाई सुनायौ भने देवता रिसाएर पूजा सफल हुँदैन, चुइँक्क कसैलाई कुनै माध्यमबाट नसुनाउनू है’ भनेर मनिका दिदीले फकाएको कुसुमले बताइन् । मनिकाले अदालतमा दिएको बयानअनुसार सुमितले उनलाई यही कुरा बताएका थिए ।

कुसुमका अनुसार कसैलाई पनि नभन्नू भन्दै पूजामा बस्न नापजाँच गर्नुपर्छ भनेर इन्ची टेपले शरीरको उचाइ र मोटाइ नापेकी थिइन् । उचाइ नापेपछि मनिकाले फोटो खिचेर कसैलाई म्यासेन्जरमा पठाएको आफूले देखेको कुसुमले प्रहरीसँगको बयानमा भनेकी छन् ।

शरीरको नाप लिएका कारण कुसुमले आफूलाई बलि दिन पो भारत लगेका हुन् कि भन्ने आशंका गरेको उनकी आमाले बताइन् । तर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले भने कुसुमलाई वेश्यावृत्तिमा लगाउनका लागि शरीरको नापजाँच लिएको ठहर गरेको छ ।

‘... प्रतिवादीहरूले भारतको कुनै व्यक्तिलाई चाहिएको मानिस भनी एक युवतीको उचाइ, मोटाइसमेत नापजोख गरी निजलाई आर्थिक प्रलोभन देखाई भारत लानुको उद्देश्य ती अमूक भारतीयलाई आवश्यक परेको यौनशोषण वा वेश्यावृत्तिको लागि नै हो भन्नेमा सन्देह देखिँदैन,’ फैसलामा भनिएको छ, ‘एक १७ वर्षकी जवान बालिकालाई उचाइ, मोटाइ, तौलसमेत गरेर लानुको मुख्य उद्देश्य नै यौनकार्यका लागि हो भनी मान्न सकिने देखिन्छ ।’

मुद्दा चलाउन मान्दैनन् पीडित

कोरोनाकालमै संखुवासभाकी समिरा (परिवर्तित नाम) ले बाल्यकालमै आमाबुबा गुमाइन् । उनी आमाबुबाको निधनपछि एक्ली थिइन् । कामको खोजीमा भारत गएका दाइको अत्तोपत्तो थिएन ।

उनी सामान्य चिनजानको एक व्यक्तिसँग नजिकिइन्, जसलाई उनले अंकल भन्थिन् । तर तिनै व्यक्तिले समिरालाई झापा हुँदै जोगवनी कटाउन लागेको अवस्थामा माइती नेपालले फेला पारेर उद्धार गरेको थियो । “माया गरेको जस्तो लाग्ने, बेलाबखत यसो खर्च दिने, हालखबर बुझ्ने भएकाले मलाई यतिको मान्छेले नराम्रो गर्दैन भन्ने ठानेको थिएँ,” समिरा पश्चाताप गर्छिन् ।

उद्धारमा संलग्न माइती नेपालकी गीताञ्जली शर्मा भन्छिन्, “१४ वर्षकी समिरालाई एक जनाले भारतमा काम लगाइदिने भन्दै सीमा पार गर्न लागेको थियो, सोधपुछका क्रममा बेचबिखनको उच्च जोखिममा परेकाले तुरुन्त माइती नेपालले शरणमा राख्यौँ र लैजानेलाई प्रहरीको जिम्मा दियौँ । तर समिराका आफन्तले मुद्दा गर्न मानेनन् ।”

शर्माका अनुसार ती व्यक्तिले यौन शोषणा गरेको समिराले बताएकी थिइन् । बलात्कारको मुद्दा अघि बढाउने भन्दा समिराले मानिन् । उनी ६ महिना माइती नेपालको संरक्षणमा बसेर सिलाइकटाइ तालिम लिएर फर्केकी छन् ।

आमाबुबा गुमाएकी समिरलाई ‘तिमी एक्लै छौ, मसँग हिँड, काम लाइदिउँला, सँगै राखौँला, भारतमा तिमी जतिकी राम्री केटीले मज्जाले पैसा कमाउन सक्छौ’ भनेर ती व्यक्तिले प्रलोभनमा पारेको पाइएको शर्माले बताइन् ।

पीडित परिवारलाई जेलबाटै धम्की

कुसुम बेचबिखनबाट जोगिइन्, उनलाई बेच्न लैजानेहरूले सजाय भोगिरहेका छन् । तर सजाय पाएर कारगार चलाएन भएकाका परिवारले धाकधम्की दिने गरेको कुसुमका बुबाले बताए । “पीडक पक्षबाट विगतका वर्षमा धेरै नै धम्की आयो,” उनी भन्छन्, “जेलबाट मेरा आफन्तलाई निस्कन त दे चाख्लास्सम्म भनेका छन्  ।”

“छोरीलाई भारत बेच्न लाँदै गर्दा पक्राउ परेकाहरू अहिले त जेलमा छन्,” उनी भन्छन्, “उनीहरू ७ वर्षको जेल सजाय भोगेर आएपछि हामीलाई अप्ठ्यारो पो पार्लान् कि भन्ने डर छ ।”

रजनी र सरिताको  परिवारलाई यही पीर छ । “छोरीहरू अहिले पनि यतै छन्, बाटो ढुकेर केही नराम्रो पो गर्छन् कि भन्ने डर भइरहन्छ,” रजनीकी आमा भन्छिन् ।

रजनी र सरिताको बेचबिखनको मुद्दामा ललन दोषी ठहर भएर थुनामा परे पनि अरु ३ जनाले सफाइ पाएका छन् । “नानीहरूलाई लगेर होटलमा जिम्मा लगाउने बन्दोबस्त गरिदिने मान्छेले सफाइ पाएको छ, उसले कुनै बेला टुप्लुक्क आएर केही नराम्रो पो गर्ने हो कि भन्ने डर छ,” रजनीकी आमा भन्छिन् ।

(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments