बादी किशोरीको ओसारपसार तथा बेचबिखन र उनीहरूमाथि भइरहेको अन्याय बारेको यो तेस्रो तथा अन्तिम भाग हो ।
यो श्रृंखलाको पहिलो भाग नेपालीमा : आमाबाबुले नै यौन व्यवसायमा धकेल्छन् बादी किशोरीलाई
पहिलो भाग अंग्रेजीमा : Young Badi Girls Trafficked Into Prostitution
दोस्रो भाग नेपालीमा : बादी पहिचानले नै लुटिन्छ अस्तित्व
दोस्रो भाग अंग्रेजीमा : Are Badi in Nepal Robbed of Their Identity and Existence?
यो सामग्री अंग्रेजीमा : Forced Prostitution of Badi Girls: Laws Prohibit, Practice Continues
कुनै पनि व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न वा यौन व्यवसायमा लगाउन नपाइने कानुनी व्यवस्था छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले आर्थिक लाभ लिई वा नलिई मानव ओसारपसार गर्ने र यौन व्यवसायमा लगाउनेलाई कडा सजायको व्यवस्था गरेको छ । ऐनले १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
यस्तै, विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । बालबालिकालाई विदेश लगेको भए १५ वर्षदेखि २० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
ऐनको दफा १५ को उपदफा ४ अनुसार आफ्नो संरक्षणमा वा अभिभावकत्वमा रहेको व्यक्तिलाई ओसारपसार गरेमा तथा यौन व्यवसायमा लगाएमा माथि तोकिएकोमा थप १० प्रतिशत सजाय हुनेछ ।
यो कानुनलाई आधार मान्ने हो भने कैलालीका बादी किशोरीलाई बेचबिखन गर्ने र यौन व्यवसायमा लगाउने आफन्त र अभिभावकलाई कडाभन्दा कडा सजाय हुनुपर्ने हो । तर यो कानुन बादी समुदायका लागि होइनजस्तो व्यवहारमा देखिन्छ । बादी किशोरीहरू आफ्ना आमाबुबाको प्रभावमा बेचबिखनमा परेका छन् । तर उनीहरू बेचबिखनमा परेको देख्ने र उनीहरूलाई बेचबिखनबाट जोगाउने कुनै पनि संयन्त्र छैन ।
प्रहरी इन्स्पेक्टर महेशविक्रम शाही (हामीले कुराकानी गर्दा कैलालीको बौनिया प्रहरी चौकीमा कार्यरत) यो क्षेत्रका नाबालिक किशोरीहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएका र भारत लैजाने गरेको स्विकार्छन् । पीडितका तर्फबाट उजुरी परेपछि वा प्रहरी आफैंले स्टिङ अप्रेसनबाट प्रमाण जुटाएपछि मात्र यसमा अनुसन्धान गर्ने विकल्प आफूहरूसँग रहेको उनी बताउँछन् ।
यसअघि दलित आयोग मातहतको दलित समितिले बादी समुदायसँगै हातेमालो गरेर अनुसन्धान तथा विकासका कार्यक्रमहरू गर्ने गरेको थियो । तर देश संघीयतामा गइसकेपछि स्थानीय तहलाई यो समस्या समाधान गर्ने जिम्मेवारी दिइएको छ । तर दलितका मुद्दा र समस्या समाधान गर्ने दलित समिति गठन नगर्दा स्थानीय तहको भूमिकामाथि नै प्रश्नहरू उठेका छन् ।
२०६८ सालमा मुढा बजार विकास समितिको पहलमा कैलालीको मुढा बजारमा प्रहरी बिट स्थापना गरिएको थियो । बादी समुदायको बसोबास रहेको यो ठाउँमा यौन व्यवसाय पनि हुने गरेकाले त्यसलाई रोक्न प्रहरी बिट राखिएको थियो । प्रहरीले नियमित गस्ती गर्ने गरेपछि गैरकानुनी गतिविधि रोकिने स्थानीय बासिन्दाको अपेक्षा अहिलेसम्म पूरा भएको छैन ।
मानव बेचबिखन नियन्त्रण ब्युरोका पूर्वप्रवक्ता कृष्ण पँगेनी स्रोतसाधनको अभाव र पहुँचको अभावका कारण बालिकाहरूको बेचबिखन र वेश्यावृत्तिलाई रोक्न कठिन भएको बताउँछन् ।
पीडितहरू अगाडि आउन र उनीहरूले आफूमाथि भइरहेको अपराधका बारेमा बोल्न साक्षी संरक्षण नीति महत्त्वपूर्ण छ । यो नीतिमा पीडितहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूको परिचय र अन्य व्यक्तिगत विवरण गोप्य राख्ने संयन्त्र हुनुपर्छ । आवश्यक परेमा पीडितलाई नयाँ परिचय र ठेगाना दिनुपर्छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ को उपदफा ६ मा उजुर गर्ने व्यक्तिले एकपटक दिएको बयान विपरीत हुने गरी मुद्दाको पुर्पक्षका सिलसिलामा कुनै बयान दिएमा, मुद्दा चलेपछि तथ्य ढाँटेमा, नियतवश बयान परिवर्तन गरेमा ३ महिनादेखि १ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ ।
अधिकारको क्षेत्रमा काम गर्नेहरूले ऐनको यो व्यवस्थाको आलोचना गर्दै आएका छन् । कानुन तथा नियमहरूलाई पीडित केन्द्रित बनाउनका लागि सरकारले पालेर्मो प्रोटोकल भनेर चिनिने संयुक्त राष्ट्र मानव बेचबिखन प्रोटोकल (टीआईपी) लाई सन् २०२० मा अनुमोदन गरेको छ । तर प्रोटोकलले वेश्यावृत्तिमा धकेलिने र आमाबाबुबाटै बेचबिखनमा पर्ने बादी किशोरीहरूलाई समेट्न सकेको छैन ।
मौन विद्रोह
कैलालीको मुढा बजारबाट करिब ३४ किलोमिटर दक्षिणमा बादी समुदायको बसोबास रहेको पुरानो सत्ती बजार छ । यहाँकी फूलमती बादी ४० वर्षअघि बेचबिखनमा परेकी थिइन् । लामो समयको बन्धक जीवनबाट मुक्त भएर खुल्ला समाजमा पुगौँला भन्ने कहिल्यै नसोचेको बताउने उनी अहिले आफ्नै पीडा सम्झेर भावुक हुन्छिन् ।
श्रवणशक्ति कम भएकी उनकी छोरी सजना चिसापानीको एउटा रेस्टुरेन्टमा काम गर्छिन् । रेस्टुरेन्टको काम भए पनि उनले ग्राहकलाई खुसी पार्न जे पनि गर्नुपर्छ ।
सजनालाई आफन्तले भारतमा लगेर वेश्यालयमा बेचेका थिए, जहाँ उनीमाथि दुव्र्यवहार भएको थियो । सजनाले विवाह गरेर छोरी पनि जन्माएकी थिइन् । तर उनका पति सानी छोरी र श्रीमतीलाई छाडेर हिँडे । आफ्नी छोरीको पालनपोषणका लागि उनी यौन व्यवसाय गर्न बाध्य छिन् ।
यौन व्यवसाय चलाउने व्यक्तिको हातबाट सिकार हुने सयौं युवतीमा सजना एक हुन् । यो एउटा तितो सत्य हो कि उनले आफ्नी छोरीलाई पनि सँगै राखेर यौन व्यवसाय गरिरहेकी छन् । जुन फूलमतीलाई मन परेको छैन । “जीवनमा मैले भागेको जस्तो नियति मेरी नातिनीलाई भोग्न दिने छैन,” फूलमती संकल्प गर्छिन् ।
नातिनीले आफ्नोजस्तै नियति भोग्नबाट बचाउन दृढ संकल्प गरे पनि फूलमती समाजप्रति उदास छिन् । उनी भन्छिन्, “म यो प्रथाविरुद्ध विद्रोह गर्न सक्छु किनभने उनी उनलाई यौनकर्मीको रूपमा हेर्ने समाजमा हुर्किरहेकी छन् ।”
फूलमतीले सत्तीमा दुइटा बाख्रा पालेकी छन् । उनी मुस्कुराउँछिन् तर छोरीलाई त्यो दलदलमा फस्नबाट जोगाउन नसकेको पछुतो उनलाई छ । उनको चाउरी परेको अनुहारमा देखिएको निराशाले नै यसलाई बताउँछ । “मैले गरिरहेको कामलाई सधैँ घृणा गर्थे तर मैले छोरीलाई यसमा लाग्नबाट जोगाउन सकिनँ, म यति धेरै वर्षदेखि यो बोझ बोकेर बाँचिरहेकी छु,” उनी भावुक बनिन्, “म आमाको भूमिकामा असफल भएँ ।” फूलमतीले आँखाबाट झरेको आँसु रोक्न सकिनन् ।
बादी समुदायमा प्रचलित यो प्रथाको विरोधमा समुदायकै सदस्यहरूबाट आवाज उठिरहेको छ । जुन कालो बादलमा हुने चाँदीको घेराजस्तो हो । यशोदा बादी (परिवर्तित नाम) जस्ता अभियानकर्ताहरूको अभियानले यो सुमदायमा सकारात्मक परिवर्तन देख्न धेरै समय लाग्दैन ।
यशोदालाई उनकै काकाकी छोरीले भारतमा बेचेकी थिइन् । भारतको एउटा अञ्जान गाउँमा छ वर्षसम्म यातनाको सामना गरेकी उनलाई एक जना पुरुषले उद्धार गरेका थिए ।
यशोदाले उनै पुरुषसँग जीवन बिताउने निर्णय गरिन् । उनीहरू दुवैले नेपालका सुदूरपश्चिमका गाउँहरूमा बेचबिखन र यौन व्यवसायको विरोधमा कामहरू गरे । उनीहरू पुस्तौंदेखि चल्दै आएको प्रथाको विरोधमा सडकमै उत्रिए । उनीहरूले थालेको अभियानकै कारण कैलालीको बलचौरका बासिन्दाले बेचबिखन र यौन व्यवसाय उन्मूलन गर्ने घोषणा गरे ।
यौन व्यवसाय पूर्ण रूपमा उन्मूलन नभए पनि सत्तीबाट करिब १० किलोमिटर टाढाको राजापुर, जुन कुनै बेला देहव्यापारका लागि कुख्यात थियो, त्यहाँ अहिले सकारात्मक परिवर्तन देखिएको छ ।
विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस क्षेत्रका ४० जना महिलाहरूले एउटा समूह बनाएका छन् । समूहसँग एउटा कोठा छ जहाँ उनीहरू भेटघाट र विभिन्न विषयमा छलफल गर्छन् । उनीहरूले आवश्यक परेको बेलामा सहयोग गर्न बचत कोष पनि स्थापना गरेका छन् ।
उनीहरूको कोठाको भित्तामा सरस्वतीको ठूलो पोस्टर टाँसिएको छ । भित्तामा नै ठुल्ठूला अक्षरमा सबै सदस्यहरूको नाम पनि लेखिएको छ । नाम फरक भए पनि भित्तामा लेखिएको सबै सदस्यको थर एउटै छ ‘नेपाली’ । जसले उनीहरूले परिवर्तन चाहेको बुझ्न सकिन्छ ।