Navigation
बादी पहिचानले नै लुटिन्छ अस्तित्व Sonam Lama | Aug 28, 2024

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुड्ने सवारीसाधनको हर्न र मान्छेहरूको भीडले कैलालीको लम्की बजार जीवन्त देखिन्छ । लम्कीबाट करिब १३ किलोमिटर पश्चिममा यस क्षेत्रको सबैभन्दा पुरानो बस्ती छ– मुढा बजार ।

बादीहरूको बाक्लो बसोबास रहेको यो एउटा सानो बस्ती हो । जहाँ मानिसहरू हरेक दिन आउने र जाने गर्दछन् । मुढा बजारका व्यक्तिगत घरमै खोलिएका भट्टी र भोजनालयमा ग्राहकहरू खानाको खोजीमा मात्र आएका हुँदैनन्, उनीहरू सबथोक खोज्दै यहाँ पुगेका हुन्छन् ।

investigation-1719398034.pngनेपालमा वेश्यावृत्ति अपराध भए पनि मुढाका बादी समुदाय पुस्तादेखि नै यो काममा संलग्न छन् । आमाबाबु नै आफ्ना किशोरी छोरीहरूलाई भारतका वेश्यालयमा बेचेर कलंकित बनेका छन् ।

यहाँका भट्टी र होटलहरूमा किशोरीलाई यौन व्यवसायसँग परिचित गराउने काम भइरहेको छ । “वास्तवमा यहाँ दुईवटा तरिका छन्, या त किशोरीहरू आफैँ यौन व्यवसायमा सामेल हुन इच्छुक हुन्छन् वा भावनात्मक रूपमा प्रभावित भएर यो गर्न बाध्य हुन्छन्,” मुढाकी ६२ वर्षीया गायत्री बादी भन्छिन् ।

केहीबेरको कुराकानीपछि गायत्रीले मलाई उनको कोठामा लगिन् । झ्यालमा पर्दा लगाइएको उनको कोठामा एउटा पलङबाहेक केही थिएन । कोठाको तस्बिर लिँदा खोज्दा उनी क्यामेरामा पर्नबाट जोगिन खोजिइन् ।

Gayatri-Badi-in-her-home-in-Muda-Bazar-1724320035.JPG
आफ्नो कोठामा गायत्रीदेवी । तस्बिर : सोनाम लामा/निमजिन

गायत्री यौनकर्मी हुन् । नातिनीहरूले भने आफ्नो बाटो नपछ्याएको उनी बताउँछिन् । “हाम्रो गाउँका हरेक घरका छोरीहरू सानै उमेरदेखि यौन व्यवसायमा लागेका छन्, आमाबुबाहरू छोरीको कमाइ खान्छन्,” उनी भन्छिन्, “यदि आवश्यक पर्‍यो भने छोरीलाई धन्दामा लगाउन भारत पनि लैजान्छन् ।”

यो समुदायका बाबुआमा छोरी जन्मेकामा खुसी हुने बताउँदै गायत्री थप्छिन्, “छोरी गोरी र राम्रो शरीरकी भए माग बढ्छ र कमाइ पनि हुन्छ ।”

पहिला पहिला किशोरीहरूलाई उनीहरूका बाबुआमा तथा छिमेकीहरूले बेचबिखन गर्ने गरेका थिए । “अहिले बेचबिखनका घटना कम भएका छन्, तर किशोरीहरू आमाबुबाको साथमा लागेर वा एक्लै सीमा पार हुन्छन्,” गायत्री खुलासा गर्छिन् ।

गायत्रीका अनुसार मुढामा २०–२५ जना किशोरीहरू यौन व्यवसायमा लागेका छन् । जसमा केही नाबालिग पनि छन् । उनीहरूले दिनमा १५–२० जना ग्राहकलाई खुसी पार्नुपर्छ । एक जना ग्राहकबाट ३ हजार रुपैयाँ लिन्छन् । जसमध्येबाट प्रतिहजार १ हजार कोठाको भाडा तिर्नुपर्छ । किशोरीका आमाबाबुले १ हजार लैजान्छन् भने किशोरीले १ हजार मात्रै पाउँछन् ।

आफू यौन व्यवसायामा संलग्न भएको समयको स्मरण गर्दै गायत्रीले मादक पदार्थ सेवन गरेर आएका ग्राहकबाट दुर्व्यवहार हुने सम्भावना धेरै रहेकाले हिजोआज निक्कै गाह्रो भएको बताइन् । आफ्नो समयमा उनले यौनकर्मीहरूलाई एचआईभी परीक्षण र औषधिहरू निःशुल्क उपलब्ध गराएको दाबी गरिन् ।

केही वर्षअघि कट्टीपुरमा रहेको एउटा सरकारी विद्यालयले छोराछोरीलाई पढ्न पठाउनका लागि बादी समुदायलाई आग्रह गरेकोबाटै मुढाको दुर्दशा बुझ्न सकिन्छ । त्यतिबेला केही अभिभावकले छोरीहरूलाई विद्यालय छुटाएर यौन व्यवसायमा लगाएका थिए । त्यसपछि विद्यालयले छोरीहरूलाई पढ्न पठाउन आग्रह गर्दै पत्र लेखेको थियो । अहिले पनि कट्टीपुरको विद्यालयको विद्यार्थी हाजिरी पुस्तिकाअनुसार पढाइ छाड्ने बादी छात्राको संख्या धेरै छ ।

“यो दुःखद् हो कि एउटी यौनकर्मीले अर्की यौनकर्मी बनाउँछे,” गायत्री भन्छिन्, “यौनकर्मीको छोरीले यौनकर्मीबाहेक अरु केही बन्न खोजेको बिरलै भेटिन्छ, किशोरीहरूलाई विद्यालय पठाएर वा अन्य विकल्प नदेखाएसम्म यो घिनलाग्दो प्रवृत्ति अन्त्य हुने छैन ।”

मुढामा मदिरा पसल चलाउने गायत्रीका ग्राहक अधिकांश भारतबाट कारमा आउने हुन्छन् । मंसिर, २०७९ मुढामा स्थानीय लालबहादुर बोहरालाई रक्सीले मातेर आएका व्यक्तिहरूले रातिको समयमा कुटपिट गरेर हत्या गरेका थिए ।

बोहराकी श्रीमती पुनमका अनुसार निजी कारमा आएका ती व्यक्तिहरूले रातिको समयमा होहल्ला नगर्न आग्रह गर्दा कुटपिट गरेका थिए । “मेरा श्रीमानको भोलिपल्ट बिहान नेपालगन्जको अस्पतालमा निधन भयो, मैंले प्रहरीमा उजुरी पनि गरेँ तर त्यो अर्थहीन थियो,” बोहरा भन्छिन्, “राजमार्गमा सीसीटीभी क्यामेरा जडान गरिएको छ, प्रहरीले चाहेको भए त्यो हेरेर अपराधीलाई पक्रन सक्थे तर केही गरेनन् ।”

Poonam-Bohara-showing-injuries-from-a-picture-of-his-dead-husband-1724323940-1724394444.jpg
पुनम बोहोरा मोबाइलमा रहेको तस्बिरमा आफ्ना मृत पतिको शरीरका चोट देखाउँदै । तस्बिर : सोनाम लामा/निमजिन

त्यो घटनापछि, जिल्ला प्रहरी कार्यालय, बर्दगोरिया गाउँपालिका र स्थानीय बासिन्दाबीच मुढामा यौन व्यवसाय नियन्त्रण गर्ने सम्झौता भएको थियो । तथापि यहाँ यौन व्यवसाय नियन्त्रण भएको छैन । “हामीले विगतमा पनि यस्ता गतिविधि रोक्ने प्रयास गरेका थियौँ, तर सफल हुन सकेनौँ, हामी न त ग्राहकलाई होटलमा खाना खान जान रोक्न सक्छौँ न त बिनाउजुरी प्रहरीलाई छापामा मार्न आग्रह गर्न सक्छौं,” बर्दगोरिया गाउँपालिका–१ का वडाध्यक्ष मिथुन गौतम भन्छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले केही वर्ष पहिला चेकपोस्ट स्थापना गरे पनि त्यसको सकारात्मक प्रभाव परेन । यौन व्यवसाय र ओसारपसार नियन्त्रणका लागि विगतमा यस्ता प्रयास भए पनि सफल हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । “मुढाका बादीले यसैबाट दाम कमाएका भने उनीहरू किन यसलाई छाड्न मान्छन् र ?” बोहरा प्रश्न गर्छिन् ।

प्रभावशाली व्यक्तिहरूको संरक्षणमा यहाँ गैरकानुनी कामहरू भइरहेको स्थानीय बासिन्दालाई लागेको छ । उनीहरू प्रभावशाली व्यक्तिले संरक्षण गरेकै कारण केही गर्न नसकेको उनीहरू बताउँछन् । “देशको कानुनले निषेध गरेको यौन व्यवसाय र जबर्जस्ती वेश्यावृत्ति सञ्चालन गर्न देशकै सबैभन्दा कमजोर मानिएको समूहले कसरी यस्तो शक्ति पाएको छ ? यो सोच्ने कुरा हो,” वडाध्यक्ष गौतम भन्छन् ।

Poonam-Bohara’s-eatery-located-in-Muda--1724324449.JPG
पुनम बोहोराको मुढा बजारमा रहेको होटल । तस्बिर : सोनाम लामा/निमजिन

बोहोराका अनुसार निजी गाडीमा यहाँ धेरै मानिस आउँछन्, उनीहरूले यहाँ पिउने र रातभर होहल्ला गर्ने हुँदा स्थानीय बासिन्दालाई धेरै सास्ती छ । मुढामा आएका ग्राहकले नै बोहराका श्रीमानलाई कुटपिट गरेर हत्या गरेका थिए । त्यो घटनापछि प्रहरीले बाहिरी मान्छेलाई मुढामा प्रवेश गर्न रोकेको थियो ।

बोहरामाथि आक्रमण भएपछि प्रहरीले बर्दगोरियाका घर र पसलबाट अवैध मदिरा बरामद गरेको थियो । घटनापछि मुढामा यौन व्यवसाय नियन्त्रण गर्ने भनेर गरिएको सम्झौता स्थानीय बासिन्दाको आक्रोश कम गर्नका लागि मात्रै भएको बोहरा बताउँछिन् । बाहिरी मानिसलाई केही समयका लागि मात्रै प्रवेश निषेध गरिएको र अहिले मुढामा पहिलाजस्तै यौन व्यवसाय भइरहेको बोहराको दाबी छ ।

मनोरञ्जनकर्ताका रूपमा बादी

बदनाम मुढामा २०५२–५३ सालतिर बादी समुदायको बसोबास सुरु भएदेखि नै यौन व्यवसाय हुने गरेको हो । आफूहरूमाथि हुने गरेको भेदभावविरुद्ध नेपालगन्जमा संघर्ष गरेपछि उनीहरूमध्ये केही मुढामा र केही सुर्खेतमा बसाइँ सरेका थिए । बसाइँ सरेपछि बादीहरू रोजगारी र श्रमका लागि भारत जान थाले ।

बादीहरू प्राचीन नेपालका शासकहरू र कुलीनहरूलाई मनोरञ्जन प्रदान गर्ने र नाचगान गर्ने मनोरञ्जनकर्ताका रूपमा चिनिन्छन् । बादी शब्द संस्कृत शब्द वाद्यवादकबाट आएको मानिन्छ । वाद्यवादकले मादल, तबला, सारंगीजस्ता बाजा र ती बाजा बजाउने व्यक्तिलाई जनाउँछ । शासक र कुलीन परिवारलाई मनोरञ्जन प्रदान गर्दासम्म उनीहरू विभेदमा थिएन । तर शासक र कुलीन वर्गको पतनसँगै उनीहरूले दरबारको छत्रछाया गुमाए । उनीहरूले आर्थिक चुनौतीको सामना मात्र गर्नु परेन, उनीहरूको सामाजिक हैसियतमा पनि ठूलो धक्का लाग्यो । उनीहरूमाथि गैरदलित र दलित समुदायबाट भेदभाव भयो ।

बादीहरू मनोरञ्जन गराउने कलाकार भएकाले ठाउँठाउँमा घुमन्ते जीवन बिताउँथे । “परिणामस्वरूप उनीहरूको कुनै पनि जमिनमा पहुँच थिएन,” बादी समुदायका बारेमा अनुसन्धान गरेका गोपाल नेपाली भन्छन्, “पछि जग्गाको हक र स्वामित्वमा विवाद भयो र उनीहरू र सरकारबीच सम्झौता भए पनि बादीलाई कहिल्यै जग्गा उपलब्ध गराइएन ।”

Glimpses-of-Badi-community’s-‘petticoat’-protest-with-Rama-Badi,-one-of-the-Badi-activists-who-led-the-protest-1724323089.JPG
आन्दोलनका तस्बिरहरू बादी समुदायले अहिले पनि भित्तामा सजायर राखेका छन् । तस्बिर : सोनाम लामा/निमजिन

साउन ३१, २०६४ मा २३ जिल्लाका बादी समुदायको प्रतिनिधित्व हुने गरी काठमाडौंमा राष्ट्रिय सम्मेलन भयो । त्यसको भोलिपल्ट १२ बुँदे घोषणा पत्रसहित बादी समुदायले काठमाडौं केन्द्रित आन्दोलन थाले । असोज १५, २०६४ मा सरकार र बादी समुदायबीचको वार्तामा सचिवस्तरीय कार्यदल बनाउने सहमति भयो । असोज २८, २०६४ मा कार्यदलको प्रतिवेदनलाई सैद्धान्तिक सहमति प्रदान गर्दै २ पक्षबीच दुईबुँदे सहमति भयो ।

सहमतिको पहिलो बुँदा थियो, “२०६४ साल असोज १५ गते दुवै पक्षबीच भएको सहमतिबमोजिम गठित सचिवस्तरीय कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनलाई सैद्धान्तिक सहमति प्रदान गर्ने । बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरू भाँड, बदेनी, पातर आदि शब्दहरूको प्रयोगमा तुरुन्त रोक लगाउने र देशभरिका बादी समुदायहरूलाई नागरिकता दिने व्यवस्था तत्काल मिलाउने ।”

यस्तै, दोस्रो बुँदा थियो, “उक्त प्रतिवेदनमा उल्लेख भएबमोजिम बादी समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउनेसमेतका विषयहरूलाई बँुदागत रूपमा कार्यान्वयन गराउन नेपाल सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृतको संयोजकत्वमा गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या ५५ बादी समुदायको पहिचान र अवस्था मन्त्रालयका अधिकृतस्तरका प्रतिनिधिहरूका साथै बादी समुदायका एक जना महिलासहित दुई जना प्रतिनिधिसमेत सम्मिलित एक कार्यदल नेपाल सरकारले तत्काल गठन गर्ने ।”

तर यो सम्झौता कागजमै सीमित रह्यो । बादी बालबालिकालाई छात्रवृत्ति दिने सम्झौता भएको भएपछि उचित शिक्षाको अभावमा बादी किशोरीहरू यौन व्यवसायमा संलग्न छन् ।

मुढाका बादीसँग धनसम्पत्ति छ, उनीहरूको मानसिकता परिवर्तन गर्नुपर्छ । बालकन्या माध्यामिक विद्यालयका प्रधानाध्यापक भूमिप्रसाद शर्मा बादी समुदायका विद्यार्थीको विद्यालय छाड्ने दर बढेको बताउँछन् । यसमा दुइटा कारण हुन सक्ने उनी बताउँछन् । पहिलो, बादी समुदायको जीवनस्तर बढेको हुन सक्छ । दोस्रो, बादी समुदायका बालबालिकाले आफूले चाहेको भन्न सक्दैनन् ।

हामीे बलचौरमा बसेर स्थानीय बासिन्दासँग कुराकानी गरिरहँदा विद्यालय पोसाकमा केही विद्यार्थी उदास अनुहार लिएर बस स्टपबाटै घर फर्किरहेका थिए । घरबाट विद्यालय पुग्न उनीहरूले दैनिक २० मिनेटको गाडी यात्रा गर्नुपर्छ । तर यो ठाउँमा सार्वजनिक यातायातले बिरलै रोकेर यी विद्यार्थीलाई चढाउँछन् । त्यस दिन कुनै पनि गाडी नरोकिएकाले विद्यालय जान नपाएको उनीहरूले बताए । सधैँजसो यस्तो हुने गरेको बताउँदै सामाजिक कार्यकर्ता यशोदा बादी (परिवर्तित नाम) ले भनिन्, “समुदायका बालबालिकामाथि यस्तो भइरहेको देख्दा दुःख लाग्छ ।”

परापूर्वकालदेखि नै दलितले आधारभूत अधिकार, साधनस्रोतको उपभोग गर्न पाएका छैनन् । दलितहरूले गैरदलितबाट भेदभावको सामना गर्छन् । तर बादीहरूका लागि भेदभाव अझै खराब छ किनकि उनीहरूले तथाकथित उच्च वर्गीय दलितहरूबाटै थप भेदभावको समाना गर्नुपर्छ । यो भेदभाव उनीहरूको चाहना र जीवनशैलीमा देखिन्छ । “हामीले यससँगै बाँच्न सिकेका छौँ, बादी यौनकर्मीका रूपमा हामीलाई तुच्छ हेरिन्छ, विद्रोहपछि बादी समुदायको हक–अधिकारका लागि काग गर्ने संस्थाहरू कम हुँदै गएका छन्,” यशोदा भन्छिन् ।

Defunct-police-beat-located-opposite-Badi-community-in-Muda-was-established-for-patrolling-13-years-ago-1724322564.JPG
मुढा बजारमा रहेको  प्रहरी बिट । तस्बिर : सोनाम लामा/निमजिन

बादी समुदाय उत्थान विकास समितिका तर्फबाट कार्यक्रम लिएर भरत नेपाली २०७२ सालमा मुढामा पुगेका थिए । बादी समुदायलाई तालिम दिनुका साथै उनीहरूलाई व्यवसाय सुरु गर्न केही रकम पनि प्रदान गरिएको थियो । तर मुढाको असली रूप देख्न उनलाई दुई/चार दिनको बसाइँ नै पर्याप्त भयो । हरेक दिन उनले भड्किलो शृंगारपटार गरेका बादी किशोरीहरूलाई देखे । “मैंले एक दिन पनि उनीहरूलाई भड्किलो शृंगारपटारबिना देखिनँ,” उनी सम्झन्छन् ।

नेपालीले बादी किशोरी ममता (परिवर्तित नाम) ले भोगेको घटना सुनाए । उनका अनुसार ममता एक जना केटासँग भागेकी थिइन् । अभिभावकहरूले उनीहरूलाई खोजे र भेट्टाए । त्यसपछि छुटाएर किशोरीलाई यौन व्यवसायमा लगाइदिए । “यौन व्यवसायमा लगाएर पैसा कमाउने सोचले किशोरीहरूलाई बारम्बार सताइन्छ,” नेपाली भन्छन्, “यो यति सामान्य भइसकेको छ कि यसलाई अनैतिक ठान्नुभन्दा पनि यसबाट आउने पैसामा उनीहरूको ध्यान छ ।”

मुढामा यौन व्यवसाय अन्त्यका लागि धेरै प्रयास भएका छन् । नजिकै प्रहरी चौकी स्थापना भए पनि गस्ती गर्ने प्रहरी छैनन् । “प्रहरी र स्थानीय प्रशासनले यसबाट फाइदा लिइरहेका छन् भने उनीहरूले किन यसलाई बन्द गर्छन् ?” नेपाली प्रश्न गर्छन् ।

उच्च स्तरका अनुभवी र प्रभावशाली व्यक्ति मातहत चल्ने यो व्यवसायको जालो अनन्त रहेको र यो यहाँ मात्रै सीमित नरहेको नेपाली बताउँछन् । “किशोरीहरूलाई भारतमा सहरमा लगिन्छ र महँगो दाममा बेचिन्छ,” उनी भन्छन्, “यहाँ नयाँ अनुहारलाई पेसामा लगाउने र ग्राहक बनाउने सुरुवाती काम हुन्छ ।” एउटी किशोरीलाई व्यावसायिक यौनकर्मीका रूपमा स्थापित गराएर ठूलो रकम लेनदेन हुने गरेको उनको दाबी छ ।

यो सामग्री अंग्रेजीमा : Are Badi in Nepal Robbed of Their Identity and Existence?

यो सामग्रीको पहिलो भाग नेपालीमा : आमाबाबुले नै यौन व्यवसायमा धकेल्छन् बादी किशोरीलाई

यो सामग्रीको पहिलो भाग अंग्रेजीमा : Young Badi Girls Trafficked Into Prostitution

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments