पोखरा – सुनसरी धरानका अनिश (परिवर्तित नाम) ले बाल्यकालमा आमाबुबाको न्यानो मायाको अनुभूति गर्न पाएनन् । सडक बालकका रूपमा हुर्किएका उनी साथीभाइको लहैलहैमा लागेर लागूऔषधको कुलतमा फसे ।
केही पैसाको लालचमा परेर उनले लागूऔषध ओसारपसार र बेचबिखन थाले । लागूऔषध ओसारपसार गरिरहेकै बेला गत वैशाखको अन्तिम साता पक्राउ परेका उनी आफैँ लागूऔषधको अम्मली बनिसकेका थिए ।
धरानबाट साढे ४ सय किलोमिटर पश्चिम गोरखाका सुमन (परिवर्तित नाम) को कथा पनि अनिशको जस्तै छ । १२ वर्षको उमेरमै चुरोटको अम्मली बनेका सुमन लागूऔषधको प्रयोगकर्ता हुँदै कारोबारी नै बने ।
सुमनलाई जिन्दगीको उर्वर समयमा आफू कसरी लागूऔषधको दलदलमा फसेँ भन्ने पनि सम्झना छैन । २ दशकअघि चुरोट तान्ने साथीहरूसँग हिमचिम बढ्दै जाँदा थाहै नपाई लागूऔषधमा फसेको उनी सुनाउँछन् ।
किशोर अवस्थामा नै लागूऔषधको कुलतमा फसेर जीवन बर्बाद बनाउने धरानका अनिश र गोरखाका सुमन मात्र छैनन् । गृह मन्त्रालयले गरेको नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशभर १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता छन् ।
जुन सर्वेक्षणले लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत देखाएको छ । जसलाई आधार मान्दा अहिले देशभर करिब १ लाख ६७ हजार लागूऔषध प्रयोगकर्ता छन् ।
सर्वेक्षणअनुसार लागूऔषध प्रयोग गर्नेमा १५ देखि २९ वर्ष उमेर समूहका मात्रै ७६.७ प्रतिशत छन् । यो तथ्यांकले लागूऔषध प्रयोग गर्नेमा अन्य उमेर समूहभन्दा किशोरहरूको संख्या बढी देखिन्छ ।
किशोर अवस्थामा नै लागूऔषधको दुर्व्यसनीमा फसेका कतिपय पछि गएर आफैँ कारोबारी पनि बन्ने गरेको पाइन्छ । लागूऔषध प्रयोगकर्ताहरूले यसको खोजीमा सीमापारसम्म पुग्ने गरेको र उताबाट ल्याएर नेपालका बजारमा बेच्ने गर्छन् । खुल्ला सिमानाका साथै नयाँ नयाँ प्रकृतिका लागूऔषध बजारमा आइरहेकाले नियन्त्रणमा चुनौती थपिएको नेपाल प्रहरीले पनि स्वीकार गरेको छ ।
नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालयको तथ्यांकअनुसार पनि १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरहरूको लागूऔषध मुद्दामा संलग्नता बढी देखिएको छ ।
पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा गण्डकी प्रदेशभरिका ११ जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा १६ देखि २५ वर्ष उमेर समूहका २५६ लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । यस्तै २०७७/०७८ मा ३०४ मुद्र्दा दर्ता भएका छन् । २०७८/०७९ मा २८६ मुद्दा, २०७८/०८० मा २३१ र २०८०/०८१ माघ मसान्तसम्मको तथ्यांकमा १०५ मुद्दा यो उमेर समूहको छ ।
लागूऔषध खोज्दै सीमापारि
सुमन आफूले भारतीय बजारमा गएर पनि लागूऔषध किनेको बताउँछन् । “बोर्डरमा पनि लिन जान्थेँ । ल है चाचा जी, भाइजान, के हुन्छ ? भनेर खोज्दै जान्थ्यौँ,” उनी भन्छन्, “त्यहाँ मेडिकल नै हुन्छ । त्यहाँ पुगिसकेपछि कहाँ माल पाइन्छ ? भनेर सोध्ने र चाख्दै हिँड्ने हो क्या हामीले । चाखेर हेर्ने हो ।”
उनले नेपाल–भारत सीमाबाट लागूऔषध पोखरामा ल्याएर बेच्न पनि थालेका थिए । “सुरुमा नेक्स हो कि के थियो त्यो ल्यायौँ । ३५ सेट ल्यायौँ, सानो खालको हुन्छ । त्यसबाट ६–७ हजार आयो,” उनी भन्छन् ।
५ हजारमा किनेको लागूऔषध पोखरा आइपुग्दा १५ हजारसम्ममा बिक्री हुन्थ्यो । तर धेरै समय उनले प्रहरीको आँखा छल्न सकेनन् । भैरहवामा सामातिन पुगे । “बसपार्कमा ६५ सेट सामान पनि समातियो । सुनौली बोर्डरमा समातिएँ । ९० दिन त्यहाँको जेलमा बसेँ, ९० दिनपछि यहाँ ल्याएर फेरि थप ९० दिन राखियो,” सुमन भन्छन्, “त्यसपछि कारागारमा चलान भएँ । कति बसेँ मैले बिर्सिएँ । त्यहाँभित्र पनि चिनेका दाइहरू भेटिन्थे ।”
दुईचार पैसाको प्रलोभनमा परेर लागूऔषधको कुलतमा फसेका धरानका अनिश प्रोफेसनल लेभलकै कारोबारी नै बन्ने अवस्थामा पुगेको प्रहरीले अनुसन्धानका क्रममा पाएको भ्वाइस अफ चिल्ड्रेन सुनसरीका संयोजक थापा बताउँछन् । विराटनगर जोगवनी नाकासम्मै पुगेर लागूऔषध ओसारपसार गरेको प्रहरीसँग बयानको क्रममा अनिशले खुलाएका थिए । सीमापारि पुगेर लागूऔषध ल्याउँदा दोब्बर नाफा हुने भएकाले पनि नाकासम्म पुग्ने गरेको बयानका क्रममा उनले सुनाएका थिए ।
१७ चोटि सुधार केन्द्र बसिसकेको बताउने पर्वतका प्रेम (परिवर्तित नाम) लाई कुनै समय पोखराका सुधार केन्द्रले नै आश्रय दिन मान्दैनथे । “यस्तोसम्म पनि भइसकेको थियो कि पोखराको कुनै पनि सुधार केन्द्र मलाई राख्न तयार भएनन् । पैसा नै तिरेर बस्छु भन्दा पनि राख्न कोही राजी भएनन्,” उनी भन्छन्, “यो सुध्रिँदैन भन्ने स्थितिमा पुगेका थिए सबै । पोखराका सुधार केन्द्रले लिन नमानेपछि म चितवन पुगेँ ।”
अहिले ३५ वर्ष पुगेका प्रेम १५-१६ वर्षको उमेरमै लागूऔषधको कुलतमा फसेका हुन् । चुरोट हुँदै दुव्र्यसनमा फसेका प्रेम गाँजा, ब्राउन सुगरलगायत उच्च कोटिका लागूऔषध सेवन गर्न पुगे । “यी सब हुँदै टीटीसम्म पुगेँ । झ्याप्पै माथि बढियो,” उनी भन्छन् ।
लागूऔषधको तलतलले सताएपछि कारोबार पनि गरेका थिए उनले । “यतै केटाहरूसँग लिने, नपाए बोर्डरमै जाने । त्यतिबेला त बोर्डरमै पनि पुग्नु पर्दैनथ्यो । हेटौँडामै पाइन्थ्यो,” उनी भन्छन्, “त्यहाँ पाइन्छ भन्ने थाहा पाइसकेपछि प्रयोग गर्ने साथीहरू मिलेर जान्थ्यौँ । त्यतिबेला प्रहरीको पनि त्यति धेरै छापा हुँदैन्थ्यो ।”
लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ नेपाल प्रहरीले सधैँजसो चेकिङ कडा पारेर लागूऔषध ओसारपसार तथा बेचबिखन नियन्त्रणको काम गरिरहेको बताउँछन् । तर भारतसँगको खुल्ला सिमानाले गर्दा र नयाँनयाँ खालका लागूऔषध बजारमा आइरहेकाले नियन्त्रण गर्न चुनौती थपिएको बताउँछन् ।
“नेपालको सबै नाका खुल्ला छ । यसले गर्दा सजिलै लागूऔषध ओसारपसार गर्न सक्छन्,” उनले भने, “दिनदिनै नयाँनयाँ प्रकारको लागूऔषध भित्रिरहेको छ ।”
मानव स्वास्थ्य उपचारमा प्रयोग हुने डाइजिपाम, ब्रुफिन, नर्फिन, फेनेरागनजस्ता औषधि सजिलै पाइने भएकाले लागूऔषध प्रयोगकर्ताले प्रयोग गरिरहेको उनले बताए ।
इन्टरनेट भुक्तानीले कारोबारमा सहज
केही वर्षयता प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गइरहेको मोबाइल बैँकिङ सेवाले लागूऔषध प्रयोगकर्तालाई नगद बोक्नुपर्ने झन्झट हटेको छ । मोबाइल बैँकिङले अन्य कारोबारमा जस्तै लागूऔषध कारोबारीलाई पनि सहज बनाइरहेको छ ।
वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई ठूला लागूऔषध कारोबार मोबाइल बैँकिङका माध्ययमबाट भएको थियो ।
एउटा मोबाइल बैँकिङ एपमार्फत २ लाख २० हजार ३ सय रूपैयाँ भुक्तान भइसकेको र बाँकी रकम लागूऔषध बुझिसकेपछि पोखरामै बुझ्ने क्रममा कारोबारमा संलग्न २ जनालाई पक्राउ गरिएको थियो ।
दोस्रो कारोबारमा १ लाख ६० हजार रूपैयाँ भुक्तानी गरेर कारोबार गर्ने क्रममा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । यो घटनामा संलग्न ४ जना अझै फरार छन् ।
पढाइ त्यागेर नसाको लत
लागूऔषध प्रयोग गर्ने युवाहरूले पढाइ नै छाडेर आफ्नो जिन्दगी नै बर्बादीतिर धकेलेका छन् । जिन्दगीको धेरैजसो ऊर्वर समय लागूऔषधको नसामै बिताएका पर्वतका प्रेमका बुबा नेपाल प्रहरीमा थिए । तनहुँको एक बोर्डिङ स्कुलमा पढ्दापढ्दै होस्टलबाट भागेका प्रेम त्यसपछि फेरि स्कुल छिरेनन् ।
स्कुलबाट भागेपछि उनको संगत लागूऔषध सेवन गर्नेसँग झनै बाक्लिँदै गयो । साथीभाइको लहैलहैमा लागेर चुरोटको सर्कोबाट सुरु भएको लत लागूऔषधसम्म पुग्यो । “३ कक्षा पढ्दासम्म त म हरेक क्लासमा फस्र्ट आउँथेँ, ४–५ कक्षामा आइसकेपछि पढाइ बिग्रिँदै आयो,” सुमन सम्झिन्छन् ।
पढ्दापढ्दै रमाइलोका लागि साथीहरूसँग मिलेर तथा घरमा दाजुहरूले खाएको देखेर लागूऔषधको लतमा लागेर पढाइ त्याग्नेहरू पनि छन् । पोखराका सुजन भन्छन्, “सुरुमा घरमा दाइले खानुहुन्थ्यो । कहिले काहीँ दाइले पसलमा लिन पनि पठाउनुहुन्थ्यो । त्यो लिन पठाउँदा मैले पनि खाएँ ।”
११ कक्षाको पढाइ त्यागेका उनी अब लागूऔषधको नसा छोडेर पढाइमा केन्द्रित हुने सोच बनाएको बताउँछन् । उनलाई पढाइ बिगारेर छरछिमेकीको चियोचर्चाको पात्र हुनुपर्दा नराम्रो लागेको छ ।
लागूऔषधले निम्त्याएको अपराधको बाटो
२०६८ सालको एउटा घटना, जुन घटनाले प्रेम प्रहरीको फरार अभियुक्तको सूचीमा परे । नसामा लठ्ठिएका उनले एक जनालाई खुकुरी प्रहार गरेर सख्त घाइते बनाएका थिए । अदालतले सजाय सुनाएपछि १० वर्षसम्म प्रहरीको आँखा छल्दै हिँडे ।
त्यसबेला भागेर बोर्डरमा लुकेर बसेको उनले सुनाए । “जहाँ माल सस्तोमा पाइन्छ । त्यतै बसेँ । त्यतातिर त यहाँ २५ सय रूपैयाँमा पाइने माल १०० रूपैयाँमा नै छ्पापछ्याप्ती पाइने । झन् बढी प्रयोग गर्न थाले, झन् सजिलो भयो मलाई,” उनले सुनाए ।
कोभिड १९ संक्रमण रोक्न सरकारले २०७६ मा देशव्यापी लकडाउन घोषणा सजाय भुक्तान गर्ने मनस्थिति बनाएर पोखरा आएका थिए । पोखराबाट प्रहरीले समाइहाल्यो ।
झन्डै २ वर्ष जेल बसेर रिहा भएका प्रेमले लागूऔषधबाट मुक्ति पाउन सकेनन् । रिहा भइसकेपछि फेरि लागूऔषध प्रयोग गर्न पुगे । “यसबाट मुक्ति पाउनुपर्छ, लाइफ बनाउनुपर्छ । स्वास्थ्य पनि ख्याल राख्नुपर्छ भनेर सहयोग मागेँ । म सुधार केन्द्र १६ चोटि बसिसकेको छु,” उनले भने । उनी १७ वर्षको उमेरमा पहिलो पटक रिह्याब पुगेको बताउँछन् ।
पोखराको सबैजसो सुधार केन्द्रमा वर्षौं बिताइसकेका प्रेम अहिले ‘रिचमण्ड’ नामक सुधार केन्द्रमा वार्डेनको काम गर्छन् ।
पारिवारिक विखण्डन नै मूल कारण
लागूऔषध प्रयोगका कारण युवाहरूमा शारीरिक, मानसिक, पारिवारिक र सामाजिक असर देखिने गरेको छ । भलै कतिपय युवा पारिवारिक र सामाजिक कारणले नै यसको कुलतमा फसेका छन् ।
प्रहरीले पक्राउ गरेर २५ दिन हिरासतमा राखेपछि जिल्ला अदालत सुनसरीले अनिशलाई परिवारको जिम्मा लगाउन आदेश दिएको थियो । तर अनिशलाई जिम्मा लिन कोही पनि आएनन् । त्यसैले उनलाई लागूऔषध प्रयोगकर्ताहरूको पुनस्र्थापनामा काम गरिरहेको संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ सुनसरीले जिम्मा लिएको थियो । ‘भ्वाइस अफ चिल्ड्रेन’ सुनसरीका संयोजक भरत थापाका अनुसार अनिशले प्रहरीमा दिएको बयानअनुसार पारिवारिक विखण्डनले नै उनी यो कुलतमा फसेको देखिन्छ । “उनका बुबाले तीन चार जना बिहे गरेर पारिवारिक जिम्मेवारी निर्वाह गर्न नसक्दा उनको जिन्दगी नै छिन्नभिन्न बन्न पुग्यो,” थापाले भने ।
केही समय संस्थाकै निगरानीमा रहेका अनिश अहिले सौतेनी दिदीकोमा बस्छु भन्दै निस्किएका छन् । “अभिभावक नभएको र सम्पर्कमा पनि नआएको कारणले हामीलाई ह्यान्डओभर गरिएको थियो । उसको सौतेनी दिदी पर्ने हुनुहुँदो रहेछ धरानमै । अहिले उतै गएर बसेका छन्,” थापाले सुनाए, “अब बेचबिखन गर्दिनँ भनिसकेपछि उनी दिदीकोमा बसिरहेका छन् ।”
पढाइ छोडेर यसै बरालिइरहेका गोरखाका सुमन कुलतमा फसेकै बेला एक किशोरीसँग प्रेममा परे । सुमनले खराब साथीको संगत छोडेर घरगृहस्थीको बाटो रोजे । तर गृहस्थी लामो सयम टिकेन । “भाग्यमा जे लेखेको छ त्यहीँ हुँदो रहेछ । म विवाह गरिसकेपछि बदलिइसकेको पनि हो । डोल्पाजस्तो ठाउँमा पनि पुगेर काम गरेँ । घर बनाउने, यार्सागुम्बा टिप्ने काम गर्न गएँ,” उनी सम्झिन्छन्, “यता मेरो श्रीमती अर्कैसँग हिँडिछ ।” छोरी जन्माएर श्रीमतीले छाडेको उनी बताउँछन् ।
विवाहपछि लागूऔषधको नसा छोडेर व्यावहारिक बाटोमा अघि बढेका सुमन श्रीमतीले साथ छोडेपछि पुनः लागूऔषधकै दलदलमा फर्किए । लागूऔषधले जीवन बर्बाद भएको जान्दाजान्दै पनि सेवन चटक्कै छोड्न सकेका छैनन् उनले । “पहिला जसरी त खादिनँ । तर मात्रा घटाउँदै छु । अगाडि बढ्दै छु, आफ्नो टाउकोमा जिम्मेवारी आइसकेपछि सबै गर्नैपर्ने रहेछ,” उनी भन्छन् ।
१० वर्षअघि जतिबेला श्रीमतीको कोखमा छोरी हुर्कदै थिइन्, आमाबुवाले भनेको एउटा वाक्य सुमन अझैँ पनि बेलाबेला सम्झिन्छन् । “दुई मुखबाट बढेर तीन मुख हुँदै छ । अब सुध्री ! मनमा चसक्क हुने क्या !” उनी भन्छन् ।
लागूऔषधले सुमनको जिन्दगी नै भताभुंग भयो । परिवारमा बिग्रह आयो । तैपनि त्यो नसाको लत अझै छुट्न सकेको छैन । परिवारमा पनि आफ्नो भविष्यप्रति सबै चिन्तित हुँदा पश्चाताप हुने उनी बताउँछन् ।
रोजगारीको सिलसिलामा उनकी दिदी दुबईमा छिन् । सुमनलाई नसा त्याग्न हौसला पनि दिँदै आएकी छन् उनैले । “सबै खर्च दिदीले गर्नुहुन्छ । भाइ राम्रो बन, भाइका लागि सबै खर्च म गर्छु भन्नुभयो । दिदीको कुराले आँसु नै आयो,” उनी भन्छन्, “थामेर बसिरहेको छु । ग्लानि भइरहेको छ । मनै अर्कै हुन्छ ।”
सुमन ८ महिनासम्म सुधार केन्द्र बसेर केही समयअघि घर फर्केका हुन् । लागूऔषधको नसा त्यागेर सामान्य जिन्दगीमा फर्किएर तनहुँको डुम्रेस्थित आफ्नै जग्गामा व्यावसायिक कुखुरापालन गर्ने सोच बनाएको उनी बताउँछन् ।
भविष्य बनाउने सपना
पोखरा नयाँगाउँका यानेश गुरुङ अहिले २२ वर्ष पुगे । ४ महिनादेखि सुधार केन्द्रको चौघेरामा मन बाँधेर बसिरहेका यानेश फुटबल खेलाडी बन्न चाहन्छन् ।
पहिलो उपचार गराइरहेका उनी लागूऔषध छोडेर सकभर मन भुलाएर व्यस्त राख्ने सोचिरहेको छन् । “यहाँ सरहरूसँग परामर्श लिइरहन्छु । अहिले म मेन्टल्ली, फिजिकल्ली दुवै रूपमा आफूलाई स्वस्थ्य महसुस गरिरहेको छु । कहिलेकाहीँ नकारात्मक सोच पनि आउँछ । तर त्यसलाई व्यवस्थापन कसरी गर्ने ? भनेर पनि सिकिरहेको छु,” उनी भन्छन्, “म यहाँ आउनुअघि घरमा विश्वास गर्ने वातावरण पनि बिग्रिसकेको थियो । अहिले त परिवारको पनि साथ सहयोग पाइरहेको छु ।”
सबै कुरा पहिलेकै अवस्था आउनेमा उनी विश्वस्त छन् । “नसारहित भएर बाँच्नुको मज्जा बेग्लै छ । सबैको विश्वास पनि पाउन सकिन्छ । नसा खाने मान्छेलाई कसैले विश्वास गर्दैन । फिजिकल, मेन्टल दुवै पक्ष हानि हुन्छ,” उनले भने ।
उत्सुकता जागेर लागूऔषध चाखेका पोखराका सुजनलाई नसाको बानी नै पर्यो । साथीभाइ पनि नसा लिने नै खोजी गर्न थाले । उनीहरूसँग घुलमिल हुँदै गएँ । त्यस्तै साथीहरूको संगत बढ्यो । “खान थालेपछि खान्नँ भन्दा पनि मनले नमान्दो रहेछ,” उनी भन्छन् ।
सुुरुमा सुजनलाई परिवारले थाहै नदिई सुधार केन्द्र ल्याएका थिए । सुधार केन्द्र राखेको ५ दिनमै उनी भागे । अहिले मानसिक रूपमा आफूलाई स्थिर पाउने गरेको सुजन बताउँछन् ।
नसा त्यागेर नसाविरुद्ध लड्न सिकाइरहेका प्रदीप
पोखरा–९ का प्रदीप बस्नेत २०५० को दशकमा लागूऔषधको नसामा चुर्लुम्मै डुबेका थिए । झन्डै एक दशक लागूऔषधबिना बाँच्नै नसक्ने अवस्थामा पुगेका प्रदीप अहिले लागूऔषध चटक्कै त्यागेर अरूलाई पनि दुर्व्यसनी त्याग्न हौसला बढाइरहेका छन् ।
२०६२ सालमा खुलेको ‘रिचमण्ड फेलोसिप पोखरा’ नामक सुधार केन्द्रले प्रदीपको जिन्दगी नै बदलिदियो । अहिले उनी यसै संस्थामा आबद्ध भएर लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना जगाउँदै आएका छन् । “लागूऔषध छोड्न पहिला आफैँले अठोट गर्न सक्नुपर्यो । त्यसपछि मात्रै छोड्न सकिन्छ । रिह्याब बसेर मात्रै हुँदैन,” उनी भन्छन् ।
लागूऔषधविरुद्ध किशोरहरूलाई सचेतना जगाउँदै प्रदीपले व्यावसायिक पाटो पनि अघि बढाइरहेका छन् । लागूऔषध छोडिसकेपछि पनि समाजमा पुनस्र्थापना हुन पहिला आफू तयार हुनुपर्ने उनी बताउँछन् ।
परिवारमै हुनुपर्छ लागूऔषधबारे सचेतना
लागूऔषध नियन्त्रणमा काम गरिरहेको नौलो घुम्तीका कार्यक्रम संयोजक ओम गुरुङ लागूऔषधको जन्जाल अनौठो तरिकाले जेलिएको बताउँछन् । “लागूऔषधमा फस्नेहरू ‘देख्दा रमाइलोका लागि खाएको, लहलहैमा खाएको’ भनेर भन्छन् । यहाँ बस्दै जाँदा विभिन्न किसिमको कन्फिल्टहरू भेट्छौँ,” उनी भन्छन्, “खोतल्दै जाँदा कतिपय बेला त्यो व्यक्तिलाई नै कहाँबाट लतमा फस्यो भन्नै थाहा हुँदैन ।”
कुनै घटनाले मानसिक रूपमा प्रभाव पारेर त्यसलाई सहज रूपमा लिन नसक्दा सहाराका लागि लागूऔषधलाई विकल्प बनाउनेहरू पनि भेटिने गरेको उनले सुनाए । लागूऔषधमा फसेकालाई परिवारको सहारा धेरै चाहिने हुनाले उपचारका क्रममा परिवारलाई समेत काउन्सिलिङ गरिरहेको उनी बताउँछन् ।
कमजोर पारिवारिक पृष्ठभूमिका मात्रै नभई सम्पन्न परिवारका पनि कुलतमा फस्ने गरेको उनले सुनाए । जनप्रतिनिधिदेखि एमबीबीएस अध्ययन गरिरहेका पनि यसको सिकार हुन पुगेको उनले जानकारी दिए । “जानेर नजानेर लागूऔषधमा फस्यो । सर्पोटका रूपमा लागूऔषधलाई चलायोे,” उनी भन्छन् ।
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरी प्रहरीले लागूऔषध रोकथामका लागि भरपूर प्रयास गरिरहेको बताउँछन् । ग्रामीण भेगदेखि सहरी इलाकामा पर्चा, पमप्लेट दिने, लागूऔषधसम्बन्धी टोलटोलमा गएर किशोरदेखि समाजमा चेतना फैलाउने काम भइरहेको छ । यद्यपि प्रहरीले मात्रै रोकथाम गरेर सम्भव नहुने उनी बताउँछन् । “परिवारले पनि चासो लिनुपर्छ । परिवारले पनि ध्यान नदिएको हो कि जस्तो लाग्छ । उनीहरूलाई परिवारले नै स्कुलिङ गर्नुपर्छ,” चौधरीले भने, “हामीले हाम्रो तर्फबाट गर्ने काम त एकदमै गरिरहेका छौँ ।”
परिवारले बच्चाको आवश्यकता बुझेर उसको आवश्यकताअनुसार पैसा दिनुपर्ने उनको सुझाव छ । “पैसा पनि बच्चालाई कति दिने हो ? उसको खाँचो कति हो ? उसको आवश्यकता पूरा हुने मात्रै खर्च दिने हो भने कहाँबाट किनेर ल्याउँछ,” उनी भन्छन्, “त्यसैले अभिभावक नै अलि चनाखो हुनुपर्छ । पैसा छ भन्दैमा छोराछोरीलाई धेरै दिन हुँदैन भन्ने सुझाव गर्छु ।”
(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)
Read our guidelines for Republishing this story here.