Navigation
देहातबाट हराउँदै हटिया Madhuri Mahato | Aug 09, 2024

पर्साकी वैजन्तीदेवी थारू ढकिया बुन्न सिपालु छिन् । थरीथरीका रङ्गीचङ्गी ढकिया बनाउने गरेकी उनले फुर्सद हुँदा कहिल्यै पनि हात खाली राख्दिनन् ।

“आजबाट हो र ? सानै उमेरदेखि ढकिया बनाउन थालेकी हुँ,” ६८ वर्षीया उनी भन्छिन्, “सानोमा पढाइ छोडेर घरको काममा लागियो । त्यही बेला हो ढकिया बुन्न सिकेको । त्यसपछि त कति बुनियो बुनियो ।”

dei-in-focus-1719398032.pngसाथीसंगीसँग खेल्दै, रमाउँदै वैजन्तीदेवीले मनग्गे ढकिया बुनिन् । ढकिया बुन्न अहिले पनि छोडेकी छैनन् । “उमेर पुगेपछि बिहे भयो, घरगृहस्थीतिर लागियो,” उनी सुनाउँछिन्, “तर, ढकिया बुन्नचाहिँ छोडिनँ ।”

वैजन्तीदेवीका चार सन्तान छन् । “तीन छोरी र एउटा छोरा छ, पढाइलेखाइ सकाएर सबै जागिरे भइसके, सबैको बिहे पनि भइसक्यो,” उनी भन्छिन्, “छोरीहरू आ–आफ्नो घरमा छन् । छोरा श्रीमती र बच्चासँग वीरगन्जमा बस्छ । घरमा हामी बूढाबूढी मात्र छौँ ।”

सानै उमेरमा सिकेको ढकिया बुन्ने सीप र कलालाई उनले अहिले पनि त्यति नै माया गर्छिन् । त्यसैले घरधन्दाबाट फुर्सद हुनेबित्तिकै उनी ढकिया बुन्नतिर लागिहाल्छिन् । उनको त्यो सीप र कला बेच्ने ठाउँ बनेको छ, हटिया अर्थात् हाटबजार । हप्तामा दुई दिन लाग्ने हटियामा उनले आफूले बुनेका ढकिया बेच्ने गरेकी छन् ।

Hatiya_NIMJN_1-1723177202.jpg
ढकिया । तस्बिर : माधुरी महतो/निमजिन

“आफूले बुनेका ढकिया हाटबजारमा लगेर बेच्छु,” उनी सुनाउँछिन्, “अब त पहिलाजस्तो हटिया पनि लाग्दैन । अहिले हाटबजारका लागि ठाउँ जति फराकिलो भएको छ, बजार त्यति नै सानो हुँदै गएको छ ।”

उहिले साथीसंगीबीच ढकिया बुन्ने प्रतिस्पर्धा नै चल्ने वैजन्तीदेवी सम्झन्छिन् । “उहिले उहिले साथीहरूसँग ढकिया बुन्ने प्रतिस्पर्धा नै चल्थ्यो,” उनी सम्झन्छिन्, “त्यसरी प्रतिस्पर्धा गरेर बुनेको ढकिया बजारमा लगिन्थ्यो । कसको बढी बिक्री हुन्छ भन्ने प्रतिस्पर्धा पनि हुन्थ्यो । तर, अहिले पहिलाजस्तो हटिया नै लाग्दैन ।”   

हटिया ढकिया बिक्री गर्ने थलो मात्र नभएर गाउँघरका विवाहयोग्य केटाकेटी हेर्ने, कुरा गर्ने, साथीसंगीसँग रमाइलो गर्ने ठाउँ पनि हुन्थ्यो । “चाडपर्वका बेला हाटबजारको रौनक नै अर्कै हुन्थ्यो,” वैजन्तीदेवी सम्झिन्छिन्, “शृंगारको सामानदेखि भाँडावर्तनसमेत हटियामा पाउँथे । चाहिने  सामान खरिद गर्न हामी साथीसहेली जम्मा हुन्थ्यौँ । हाटबजार घुम्थ्यौँ । खानेकुरा खान्थ्यौँ ।”

हटिया वैजन्तीदेवीजस्ता थुप्रै महिलाहरूका लागि माइती पक्षलाई भेट्ने स्थान पनि बन्थ्यो । हटियामा उनीहरूले माइतीसँग सुखदुःख बाँड्ने अवसरसमेत पाउँथे । “तर, अहिले सबै हराएको छ,” दुःखी हुँदै उनी भन्छिन्, “पहिलाजस्तो केही छैन । उहिलेको हाट बजार नै हरायो । हामीजस्ता बूढाबूढीको भावना पोख्ने ठाउँ हरायो । लामो समयदेखि भेट नभएका साथीलाई भेट्ने थलो हरायो ।”

थारू समुदायको संस्कृति र परम्पराको रूपमा रहेको ढकिया बुन्ने कामलाई निरन्तरता दिँदै आएकी वैजन्तीदेवीलाई हटियाजस्तै बिस्तारै ढकिया बुन्ने काम पनि हराउने हो कि भन्ने चिन्ता छ । “पहिला हटिया हुँदा थुप्रै थरीका ढकिया बुन्ने र बेच्ने गरिन्थ्यो,” उनी भन्छिन्, “तर, अहिले यी सामान बेच्ने थलो नै नहुँदा आउने पुस्ताले ढकिया बुन्ने नै छोड्ने हो कि भन्ने चिन्ता लाग्छ ।”

तराई मधेशका जिल्लामा ठाउँअनुसार हटिया लाग्ने गर्छन् । जहाँ देहातका शिल्पीहरूले बनाएका सामग्री किनबेच हुन्छन् । अन्नसहित अन्य विभिन्न वस्तु खरिदबिक्रीका लागि जमघट हुने स्थान बन्छ, हटिया । जो तराई मधेशका ग्रामीण बस्तीको बजार नै हो ।

“तर, विगतमा हटियाको रौनकै अर्कै थियो,” पर्साका प्रकाश थारू भन्छन्, “किसानहरूले आफ्नो उत्पादन बेच्ने, सामान  साट्ने मात्र होइन, हटिया मनोरञ्जन, भलाकुसारी र साथीभाइलाई भेट्ने संगमस्थल बन्थ्यो ।”

Hatiya_NIMJN_3-1723177421.jpg
हातले बुनेका सामग्रीहरू । तस्बिर : माधुरी महतो/निमजिन

पहिलाजस्तो हाटबजार नलाग्दा अन्नपात होस् वा फलफूल जुनसुकै उत्पादन बिक्री गर्न गाह्रो भएको उनी बताउँछन् । ६५ वर्षीय प्रकाश थारू भन्छन्, “पहिला टाढा होस् वा नजिक सबै जना आफ्नो उत्पादन लगेर हाटबजार जान्थ्यौँ, त्यही बेच्थ्यौँ । अनि, घरका लागि आवश्यक सामान आफूसँग भएको सामानसँग साटेर ल्याउँथ्यौँ ।”

तर, बिस्तारै मधेशबाट हटिया हराउँदै गएको ७२ वर्षीय जगमोहनप्रसाद महतो थारू पनि बताउँछन् । “पुराना हटिया ठूला सहर वा जिल्लातिर सर्दा हटियाको मौलिकता नै हराएको छ,” उनी सुनाउँछन् ।

पहिलाका हाटबजार गाउँभन्दा टाढा र हरेक दिन नलागेर दिन तोकेर लाग्ने गरेको जगमोहनप्रसाद बताउँछन् । “हटियामा नुनदेखि सुनसम्म नपाए पनि धान, गहुँ, तरकारी, फलफूललगायत अरू उत्पादन र सामान किनबेच र साटासाट गरिन्थ्यो,” उनी सम्झन्छन्, “आफ्ना उमेर समूहका साथीहरूसँग रमाइलो गर्ने, सामान किन्ने, थरीथरीका खानेकुरा खाने गरिन्थ्यो । मनका कुरा साटेर मन पनि हल्का गरिन्थ्यो । तर, अब त्यस्तो अवस्था र व्यवस्था रहेन ।”

अहिले गाउँघरमा हटियाको रौनक पहिलाजस्तो नभए पनि चौतारामा बसेर हटिया हुँदाका दिन सम्झिँदै गफिँदा मन प्रफुल्लित हुने गरेको उनी बताउँछन् । “देहातको सुवास हो, हटिया,” जगमोहनप्रसाद भन्छन्, “जहाँ सामाजिक, सांस्कृतिक र पारम्परिक सबै कुरा देखिन्थ्यो । मधेशका गाउँबाट हटिया हराएपछि देहातको सुवास पनि हराएको छ ।”

हटिया नहुँदा सबैभन्दा बढी मर्कामा किसान परेको उनी बताउँछन् । आफ्नो उपज हाटबजारमा बिक्री गरी केही आयआर्जन गर्ने गरेका किसानको हातबाट त्यो अवसर पनि खोसिएको उनको भनाइ छ । उनलाई लाग्छ, पछिल्लो समय किसानले पाउने त्यो लाभ बिचौलियाको हातमा पुगेको छ । किसानले पाउनुपर्ने लाभ बिचौलियाले लिई रहँदा किसानले आफ्नो उपजको बिक्रीबाट फाइदा उठाउन सकिरहेका छैनन् ।

Hatiya_NIMJN_2-1723177203.jpg
पर्साको ग्रामीण भेगमा लागेकाे तरकारी बजार । तस्बिर : माधुरी महतो/निमजिन

“यस पृष्ठभूमिमा ग्रामीण बजारमार्फत कसरी स्थानीयवासीले लाभ बटुल्न सक्छन् भन्नेतिर स्थानीय सरकारले ध्यान दिन जरुरी छ,” स्थानीय प्रकाश थारू भन्छन्, “कृषि बजारको व्यवस्थामा पनि सुधार ल्याउन आवश्यक छ । यसो गर्न सकियो भने मात्रै ग्रामीण अर्थतन्त्र उँभो लाग्न सक्छ ।”

त्यस्तै, परम्परागत देहाती हाटबजारलाई गाउँलेको जनजीविकासँग जोडेर जीवन्त बनाउन सकियो भने यी बजारहरू देहातका आर्थिक मेरुदण्ड बन्न सक्ने जगमोहनप्रसाद महतो थारू बताउँछन् । भन्छन्, “सहरी आवश्यकतालाई देहातको श्रम र परम्परागत सीपसँग जोड्न सकियो भने जनशक्ति पलायन हुनबाट रोक्न सकिन्छ र परम्परागत ज्ञानको संरक्षणमा पनि बल पुग्नेछ ।”

यस्ता हाटबजारलाई उत्पादक तथा उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने माध्यमका रूपमा लिइन्छ । ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको प्रवर्द्धनका लागि यस्ता हटिया आवश्यक रहेको जगमोहनप्रसादको भनाइ छ । “ग्रामीण भेगमा लाग्ने कुनै पनि हाटबजारमा स्थानीय उत्पादन खरिदबिक्री गर्ने किसानलाई सबै किसिमका सुविधा दिन आवश्यक छ,” उनी भन्छन्, “यसो गर्दा देहातमा हटिया जीवित रहन्छ । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् । र, हाम्रो कला, सीप, संस्कृति र परम्पराको पनि संरक्षण हुन्छ ।”

Read our guidelines for Republishing this story here.

Comments