Navigation
वैदेशिक रोजगारी : आस देखाएर निराश बनाउने Ranjita Adhikari | Sep 04, 2024

घोराही उपमहानगरपालिका वडा–१५ निवासी ३६ वर्षीय सन्तबहादुर शाही २०७६ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । त्यहाँ राम्रै काम पाएका थिए । कम्पनीले सेवासुविधा पनि सोचेकै जस्तो दिएको थियो ।

तर, समय बित्दै गएपछि उनीप्रति कम्पनीको व्यवहार बदलिँदै गयो । भिसाको म्याद सकिँदै गएपछि कम्पनीले अनेक बहानामा उनलाई दुःख दिन थाल्यो । “कहिले तलब रोकिदिने, कहिले खानेबस्ने व्यवस्थामा लापरबाही गर्ने,” त्यो तीतो अनुभव सुनाउँदै सन्तबहादुर शाही भन्छन्, “यस्ता समस्या त कति भोगेँ, भोगेँ । पटक–पटक भोगेँ ।”

features-1719398032.pngयस्तै हो परदेशमा भनेर सानातिना समस्या सहेर उनी दत्तचित्त  भएर आफ्नो काममा लागिरहे । तर, त्यतिमा मात्रै उनको समस्या टरेन । ठूलो समस्या त उनको भिसाको म्याद सकिएपछि आयो ।

उनी तीनवर्षे कामदार भिसामा मलेसिया पुगेका थिए । “भिसाको म्याद सकिए पनि कम्पनीले मलाई काम लगाउन छाडेन,” उनी भन्छन्, “घर फर्किने समय भइसक्दा पनि कम्पनीले मलाई घर फर्किन दिएन ।” 

कम्पनीले शाहीलाई घर आउन त दिएन, उल्टै काम गरेको तलब पनि समयमा नदिने, कहिले कामै गर्न नदिनेजस्ता दुःख दिइरह्यो । सेवासुविधाको साटो शारीरिक र मानसिक पीडा दिइरह्यो । नेपाल फर्कन नपाएर उनी छटपटिए । उनलाई आफ्नो देश फर्कंनका लागि कम्पनीले ‘एक्जिट भिसा’ समेत दिएन ।

एकातिर घर फर्किन नपाउनुको वेदना, अर्कोतिर श्रम शोषणमा परेको पीडाले उनलाई पिरोलिरह्यो । “हामीजस्ता गरिब, निर्धानिमुखाको श्रम शोषण गरेको देख्दा मनै भाँचिन्थ्यो,” उनी सुनाउँछन्, “कम्पनीले आफ्नो स्वार्थका लागि हाम्रो श्रमको अनुचित लाभ उठायो ।” 

शाही लामो समय परदेशमा एक्लै अनेकन समस्यासँग जुधिरहे । तर, पछि सहनै नसक्ने पीडा हुन थाल्यो । ‘अबचाहिँ घरमा नभनी भएन’ भन्ने लाग्यो उनलाई । अनि, सबै समस्या दाङमा रहेकी आफ्नी श्रीमती रमिता शाहीलाई सुनाए ।

बिरानो देशमा श्रीमान्ले भोगिरहेका समस्याले श्रीमतीको मन कटक्कै खायो । उनले तुरुन्तै त्यसबारे कारबाही चलाउने विचार गरिन् । अनि, जिल्ला प्रशासन कार्यालय घोराहीमा रहेको सुरक्षित आप्रवासनमा सम्पर्क गरिन् ।

वैदेशिक रोजगारीमा श्रीमानले भोगेका सम्पूर्ण समस्या त्यहाँ सुनाइन् । सूचना केन्द्रले उनको समस्या प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मा पठायो । पीएनसीसीका प्रतिनिधि र नेपाली कूटनीतिक नियोगको टोलीले कम्पनीसँग सम्पर्क गर्‍यो । संवाद गर्‍यो ।

यति गरेपछि समस्या समाधान भयो । कम्पनीले सन्तबहादुर शाहीलाई उनले नियमित पाउनुपर्ने तलब र भत्ता दियो । नेपाल फर्कनका लागि एक्जिट भिसा पनि दियो । अनि, उनी नेपाल फर्किए ।

०००

घरको आर्थिक अवस्थामा टेको लगाउन शोभादेवी बानियाँले वैदेशिक रोजगारीमा जाने निधो गरिन् । घोराही उपमहानगरपालिका वडा–१० नारायणपुर निवासी उनले त्यसका लागि स्थानीय एजेन्टसँग कुरा गरिन् । बानियाँको हातमा कुनै सीप थिएन । तर, पनि एजेन्टले कुवेतको एक राम्रो कम्पनीमा पठाउने आश्वासन दिए । उनी ढुक्क भइन् ।

एजेन्टको विश्वास गरी उनले वैदेशिक रोजगारीमा जान चाहिने कागजपत्र बनाइन् । विदेश जाने प्रक्रिया अघि बढाइन् । विदेश जाने पक्का भएपछि परिवारसँग बिदवारी भएर हवाईयात्रामा निस्किइन् । तर, उनी चढेको हवाईजहाज यूएईमा रोकियो । यूएईमा हवाईजहाज मात्र रोकिएन, शोभादेवी बानियाँको वैदेशिक रोजगारीको यात्रा पनि त्यही रोकियो । विदेशमा गएर काम गर्ने र परिवारको आर्थिक अवस्था उकास्ने उनको सपना चकनाचुर भयो । 

परदेशमा अल्मलिइन् । “कहाँ जाने कता जाने रनभुल्लमा परेँ,” उनी भन्छिन्, “छाँगाबाट खसेजस्तै भएँ ।” जेनतेन एजेन्टलाई सम्पर्क गरिन् । आफ्नो समस्या सुनाइन् । एजेन्टले यूएईमा रहेका एक जनासँग बस्ने व्यवस्था मिलाइदिए । तर, न काम दियो, न अर्को देश नै पठायो । “निकै दुःख कष्टका साथ त्यहाँ हप्तौँ बिताएँ,” उनी भन्छिन्, “दुई महिनाजति कष्टकर जीवन गुजारेँ त्यहाँ ।” 

केही सीप नलागेपछि उनले आफ्नो समस्या सबैलाई भन्न थालिन् । गुहार माग्न थालिन् । एक जना सञ्चारकर्मीमार्पmत उनको समस्या घोराही उपमहानगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालय घोराहीको हाताभित्र सञ्चालित सूचना केन्द्रसम्म आइपुग्यो ।

सूचना केन्द्रले पीएनसीसीमा सम्पर्क गर्‍यो । पीएनसीसी र नेपाली नियोगहरूको दबाबमा एजेन्टले बानियाँलाई नेपाल फर्कन लाग्ने खर्च बेहोर्‍यो । नेपाली नियोगले भने कागजपत्र बनाउन सहयोग गर्‍यो । सूचना केन्द्रमा उजुरी आएको करिब एक हप्तापछि शोभादेवी नेपाल फर्किइन् ।  

विदेश जानेको लर्को 

देशमा रोजगारीका अवसर नहुँदा बर्सेनि लाखौँ नेपाली बिदेसिन बाध्य भएका छन् । बेरोजगारीबाट आक्रान्त अधिकांश नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता बन्न पुगेको छ । राम्रो रोजगारी र कमाइको आसमा हरेक दिन लगभग दुई हजार हाराहारीमा नेपाली युवा महिला र पुरुष वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ मानिस बिदेसिएका छन् । तीमध्ये धेरैजसो वैदेशिक रोजगारी र अध्ययनका लागि बिदेसिएका हुन् । त्यसमा पुरुषको संख्या १७ लाख ९९ हजार ६ सय ७५ रहेको छ भने ३ लाख ९० हजार ९ सय १७ महिला छन् । 

आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्सका रूपमा भित्रियो । नेपाल सरकारले संस्थागत रूपमा १११ देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । तर, पछिल्लो समय अफगानिस्तान, इराक, लिबियामा जान रोक लगाएको छ । त्यस्तै, व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान भने १७८ देश खुला छन् ।

कोभिड–१९ महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरूको संख्यामा केही कमी देखिए पनि पछिल्लो समय विदेश जानेको संख्या पुरानै लयमा फर्किएको छ । कोरोनाकालमा १ लाख ६६ हजार ६ सय ९८ मा झरेको संख्या आर्थिक वर्ष २०७८/७९ मा ह्वात्तै बढेर ६ लाख ३० हजार ९७ मा पुगेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा बिदेसिनेको संख्या ६ लाख ४१ हजार थियो भने २०७३/७४ मा ६ लाख ४३ हजार श्रम स्वीकृति जारी भएको तथ्यांक छ । गत आर्थिक वर्षको साउनमा २५ हजार ४ सय २८ नेपालीले श्रम स्वीकृति लिएकोमा चालु आर्थिक वर्षको साउनमा त्यो संख्या बढेर ६३ हजार ४२ पुगेको तथ्यांकले देखाउँछ ।

कोरोनाकालमा मलेसियाले दुई वर्ष कामदार लगेन । त्यसपछि खुला भएको मलेसिया जानेको संख्या दिनानुदिन बढिरहेको छ । आगामी दिनमा मलेसिया जानेको संख्या अझै बढ्ने अनुमान विज्ञहरूको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को साउनमा सबैभन्दा बढी श्रम स्वीकृति मलेसियाका लागि जारी भएको छ । त्यहाँका लागि २४ हजार ४ सय ८४ श्रम स्वीकृति जारी भएको तथ्यांक छ । त्यसैगरी, कतारमा १२ हजार ५ सय ७०, संयुक्त अरब इमिरेट्समा ८ हजार १ सय ४०, साउदी अरेबियामा ६ हजार ७ सय ५, कुवेतमा ४ हजार २ सय ८४ श्रम स्वीकृति जारी भएको तथ्यांकले देखाउँछ । यी पाँच देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत ओगटेका छन् । 

तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् । त्यस्तै, धनुषा, सिरहा, महोत्तरी, झापा र मोरङ जिल्लाका मानिस वैदेशिक रोजगारीमा धेरै गएको तथ्यांक रहेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये करिब दुई तिहाइ अदक्ष रहेको पनि तथ्यांकमा छ ।

नेपालमा रोजगारीका पर्याप्त अवसर नहुँदा बाध्यतावश चर्को ब्याजमा ऋण लिएर, घरखेत बेचेर विदेश जानेहरू धेरै छन् । त्यस्तै, वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएकाहरूको संख्या पनि निकै छ । हातमा सीप र आफू जाने देशको भाषा ज्ञान नहुँदा दुःख पाउनेहरू त्यति नै छन् ।

राम्रो कमाइको आसमा विदेश जाने तर परदेशमा रगतपसिना बगाउँदा पनि त्यसको उचित प्रतिफल नपाएर निराश घर फर्किने पनि थुप्रै छन् । सीपबिना विदेश गएकाहरूले त्यहाँ दुःख पाउने गरेका छन् । भरपर्दो एजेन्ट वा म्यानपावरमार्फत नजाँदा वाचा गरिएको काम, ठाउँ र तलब नपाएकाहरूको विदेश बसाइ पनि त्यस्तै कष्टकर हुने गरेको छ ।  

मृत्युमा मोलमोलाइ 

वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेका दाङ, बंगलाचुलीका एक युवकको २०७८ भदौमा मृत्यु भयो । श्रम स्वीकृति पाएर विदेशमा श्रम बेच्न गएका उनको शव नेपाल ल्याउन घरपरिवारलाई हम्मेहम्मे पर्‍यो । २५ लाख रुपैयाँ दिए घरसम्म शव ल्याउनका लागि पहल गरिदिने भनेर एजेन्टले घरपरिवारसँग ‘बार्गेनिङ’ गर्न थाले । 

परिवारका सदस्य सहयोग खोज्दै सुरक्षित आप्रवासन परियोजना ‌(सामी)मा आएपछि शव निःशुल्क घरसम्म ल्याउन सहयोग गरेको सामी कार्यक्रम संयोजक बसन्ता पुन बताउँछिन् । “ती दलाल उनका आफ्नै आफन्त भएकाले नाम ठेगाना गोप्य राखिएको छ,” उनी भन्छिन्, “तर, सामीको प्रयासमा युवकको शव निःशुल्क नेपाल ल्याइयो ।”

आप्रवासी हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष हेमराज बुढाथोकी पछिल्लो समय बिचौलियाहरूले समस्या पार्ने गरेको बताउँछन् । जिल्लामा यो वर्ष साउनयता ८३ वटा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या सामीमा अभिलेख भएका छन् । जसमा २१ वटा समाधान भइसकेका छन् । त्यसमा पनि सबैभन्दा बढी ठगीका मुद्दा आउने गरेको बुढाथोकी बताउँछन् । “तर, यसमा हामीलाई प्रहरीले पनि सहयोग गरिरहेको छ,” उनी भन्छन्, “वैदेशिक रोजगारीको नाममा ठगी गर्नेहरूलाई प्रहरीले पछिल्लो समय पक्राउ गरिरहेको छ ।” 

विदेशमा मृत्यु हुनेहरूको शव र उनीहरूले पाउने राहतमा पनि बिचौलिया लाग्ने गरेको सामी कार्यक्रम संयोजक बसन्ता पुन बताउँछिन् । “विदेशमा कुनै कारणवश मृत्यु भएकाहरूको परिवारले पाउने आर्थिक सहायता प्राप्तिमा बिचौलिया सलबलाउने गरेका छन्,” उनी भन्छिन्, “यसतर्फ विदेशमा गएकाहरूको परिवार र आफन्त सजग हुनुपर्छ ।” 

दाङमा बढ्यो बिदेसिनेको संख्या 

पछिल्लो समय अध्ययनका लागि बिदेसिने युवाको संख्या दाङमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार रोजगारीका लागि विदेश जानेको हाराहारीमै अध्ययन भिसामा जानेहरूको संख्या पनि रहेको छ ।

२०७९ साउनदेखि हालसम्म दाङबाट राहदानी बनाउन प्रशासन कार्यालय जानेहरूमध्ये ३ हजार १ सय १ पुरुष र १ हजार ६ सय १७ महिला गरी ४ हजार ७ सय १८ जना अध्ययन र रोजगार भिसामा बिदेसिन खोजेको देखिएको छ । 

जिल्ला प्रशासन कार्यालयको रेकर्डमा यही अवधिमा कामदार भिसामा विदेश जान ५ हजार ६ सय २१ जनाले राहदानी बनाएका छन् । जसमा पुरुष ४ हजार ६ सय ८२ र महिला ९ सय ३९ छन् । कामदार भिसामा जानेहरूभन्दा अध्ययन भिसामा बिदेसिन खोज्ने महिलाहरूको संख्या यो वर्ष ६ सय ७८ ले बढी छ ।  

वर्षमा ४१ जनाले ज्यान गुमाए

बितेको एक वर्षमा वैदेशिक रोजगारीको क्रममा दाङका ४१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकाका छन् । 

तुलसीपुरका १५ जना, घोराहीका १२ जना, बबई गाउँपालिकाका पाँच जना, लमहीका तीन जना, राप्ती, गढवा, शान्तिनगर, दंगीशरणका एक–एक जना छन् ।

अन्य स्थानका तर जिल्लामा मृत्युसम्बन्धी उजुरी परेका दुई जना गरी ४१ जना रहेका छन् । हृदयाघात, आत्महत्या, दुर्घटनालगायत विभिन्न कारणले वैदेशिक रोजगारीमा नेपालीहरूले ज्यान गुमाउने गरेका छन् । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments