Navigation
सम्बन्धलाई मोलामोल गरेर पैसा असुल Ranjita Adhikari | Sep 23, 2024

सामान्य चिनजानकै आधारमा कसैसँग नजिक हुने र सबै आनीबानी र सम्पत्ति थाहा पाएपछि पैसा असुल्नकै लागि गलत आरोप लगाएर बार्गेनिङ हुने घटना सार्वजनिक हुन थालेका छन् ।

व्यक्तिगत र निजी सम्बन्धलाई दुरुपयोग गरेर बार्गेनिङ गरी अकुतम सम्पत्ति कमाउने लोभमा महिलाहरू यस्ता घटनामा संलग्न भएको पाइएको छ ।

घटना नं. १ 

दाङको गढवा गाउँपालिका–६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने ३५ वर्षकी अनुष्का सिंह भनेर चिनिने कृष्णा गहतराज पुर्पक्षका लागि थुनामा छिन् ।features-1719398032.png

तुलसीपुर उपमहानगरपालिकाका प्रेमबहादुर खड्का (४९) लाई बलात्कारको आरोपमा फसाइदिने भन्दै पटक पटक रकम असुल गरेको आरोपमा उनी मंसिर १६, २०७९ मा पक्राउ परेकी थिइन् ।

प्रहरीमा दिएको जाहेरीअनुसार रकम दिन इन्कार गरेपछि अनुष्काले खड्काकी छोरीको मोबाइलमा म्यासेज गरेर ५ करोड रुपैयाँसम्म रकम माग गर्दै नदिएमा गुन्डा प्रयोग गरी बलात्कार गर्न लगाइदिने धम्की दिएकी थिइन् ।

कृष्णालाई सहयोग गरेको आरोपमा प्रहरीले लुद्रबहादुर केसी, कृष्णकुमारी बस्नेत र तुलसीराम विश्वकर्मालाई पनि पक्रेर मुद्दा चलाएको थियो । तर दाङ जिल्ला अदालतले कृष्णालाई पुर्पक्षमा पठाएर अरू तीनै जनालाई जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । 

उनीहरूले खड्कासँगबाट ३० लाख रुपैयाँ नगद नै बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सामाजिक लोकलाजका कारण सुरुमा आफूले सकेजति रकम दिएको तर उनको आत्मबल बढेर ठूलो रकम मागेपछि रकम दिन इन्कार गरेको खड्काको जाहेरीमा उल्लेख छ । बार्गेनिङ गरेअनुसारको थप पैसा माग्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका तत्कालीन प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले बताए ।

घटना नं. २

घोराही उपमहानगरपालिका १० का दिनेश घर्ती मगरलाई राम्रो चिनजान भएकी छिमेकी शर्मिला नेपालीले साउन २५, २०७९ मा घर बोलाउँछिन् ।  शर्मिलाले बिहानै कल गरेर राति घरमा कोही हुँदैनन्, एक्लै हुन्छु आउनुहोला भनेपछि घर्ती मगर त्यहाँ पुग्छन् ।

“एक दिन बिहान फोन गरेर आजराति घरमा कोही हुँदैनन्, मेरो घरमा आउनुहोला भनेको हुँदा म उनको घरमा गएँ,” घर्ती मगरले जिल्ला प्रहरी कार्यालय दाङमा दिएको उजुरीमा उल्लेख छ, “हामी दुवै जना बसिरहेको अवस्थामा ढोका ढकढकाउँदै उनका अरू साथी तथा आफन्त गरी ६ जनाले मलाई कुटपिट गरि तँलाई जबरजस्ती करणीको मुद्दा लगाइ तेरो जिन्दगी बर्बाद पारिदिन्छु भने ।”   

घर्ती मगर डर त्रासमा परेर उनीहरूले भनेको मान्न तयार हुन्छन् । जग्गा पास गर्न समय लाग्ने भएपछि ती पुरुषसँग उनीहरूले पटक–पटक गरेर नगद र चेकसमेत गरी ११ लाख २० हजार रुपैयाँ लिन्छन् । आफूसँग भएको पैसा उनीहरूलाई दिइसकेपछि मात्रै पीडित पुरुष प्रहरीकोमा पुग्छन् । उनको उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरी अदालतमा पेस गर्छ । 

भदौ २३, २०७९ मा दाङ जिल्ला अदालतले दिएको आदेशअनुसार घोराही–१० बस्ने शान्ता नेपाली, विमला डाँगी र पवित्रा डाँगी एक एक लाख रुपैयाँ धरौटीमा हिरासतमुक्त भएका छन् भने घोराही १० कै पूजा भन्ने शान्ता नेपालीले एक लाख धरौटी रकम भुक्तान गर्न नसक्दा थुनामा पठाइएको छ । 

त्यही घटनामा घोराही–१४ का दिलीपबहादुर वली र घोराही–१० की शर्मिला भन्ने प्रमिला नेपाली जनही ५ लाख रुपैयाँ धरौटी तिर्र्न नसक्दा पुर्पक्षका लागि कारागारमै रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

घटना नं. ३

प्यूठानको स्वर्गद्वारी नगरपालिका १ स्थायी ठेगाना भई घोराही १५ बस्ने सीतादेवी थापा, घोराही १ सिमलतारा घर भई घोराही १५ बस्ने खुमा वली र घोराही ५ धर्ना घर भई घोराही १५ मै बस्ने सुष्मा परियारले घोराहीका एक जना वकिललाई भेटेर अंश मुद्दा लडिदिन आग्रह गर्छन् ।

वकिललाई छलफलका लागि भन्दै होटलको कोठामा लैजान्छन् । त्यसपछि उनीहरूले वकिलले आफूहरूलाई बलात्कारको प्रयास गरेको आरोप लगाउँछन् । 

“घरायसी मुद्दा छ, तपाईँ कानुनको बारेमा जानेको मान्छे भनी होटलमा बोलाए , सोही होटलको क्याबिनमा बसी बियर र मासु खाँदै मुद्दाको बारेमा बताए,” प्रहरीमा परेको जाहेरीमा उल्लेख छ, “कुराकानी गर्दै गर्दा रात पर्‍यो । सीतादेवी  खाटमा पल्टिइन् । मैले काउन्टरमा पैसा तिरिसक्दा र अरू दुई जना बाहिर गइसक्दा पनि सीतादेवी खाटबाट उठिनन्, मैले उनलाई उठ भन्न जाँदा मेरो इज्जतमा हात हाल्ने, तँलाई जबरजस्ती करणीको मुद्दा हाल्छु भन्दै होटलबाट निस्किइन् ।”

जाहेरीअनुसार अर्को दिन खुमा वलीले सीताले बलात्कारको उजुरी दर्ता गर्ने तयारी गरेको भन्दै वकिललाई छलफलमा बोलाउँछिन् । “प्रतिष्ठामा आँच आउँछ भन्ने डरले उनीहरूले बोलाइएको होटलमा पुगेँ, होटलमा सीता, खुमा र सुष्मासँग छलफल गर्दा कुरा मिल्छ तपाईँले ५० लाख रुपैयाँ दिनुपर्छ भने,” ती वकिलले जाहेरीमा लेखेका छन्, “मसँग भएको एक लाख रुपैयाँ नगद तत्काल दिएँ र  १७ लाख रुपैयाँको चेक दिएँ ।”

भाकामा पैसा नपाएपछि ती महिलाहरूले पैसा माग्दै निरन्तर धम्की दिन्छन् । गुन्डा लगाएर भए पनि पैसा असुल्ने भन्दै धम्की दिइरहन्छन् । अन्ततः ती वकिल असोज २ गते प्रहरीको सम्पर्कमा जान्छन र उनीहरूविरुद्ध उजुरी दिन्छन् ।

त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर असोज १९, २०७८ मा जिल्ला अदालत दाङमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरको अभियोगमा मुद्दा दर्ता गरेको थियो । यो मुद्दामा अदालतले तीनै जनालाई दोषी ठहर गर्दै सजाय पनि तोकेको छ । 

हनी ट्र्याप अर्थात् विभिन्न बहानामा पुरुषसँग नजिक हुने, मायाप्रेमको नाटक गरेर शारीरिक सम्बन्धसमेत राख्ने र त्यसैलाई आधार बनाएर बलात्कारको मुद्दा लगाइदिने भन्दै धम्की दिएर मोटो रकम असुल्ने गरेको घटना सार्वजनिक हुने गरेका थिएनन् । तर आर्थिक वर्ष २०७८/२०७९ मा एउटा र २०७९/२०८० मा दुईवटा हनी ट्र्यापका उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा पुगेका छन् । 

प्रहरीले जिल्ला अदालतमा तीनवटै घटनाका आरोपितलाई आपराधिक लाभ कसुरको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ । “दाङमा अहिलेसम्म तीनवटा घटनामा पीडितलाई फसाएर आर्थिक लाभ लिएको देखिएको छ,” जिल्ला अदालत दाङका तत्कालीन स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले भने, “पीडितले इज्जत, मानसम्मान गुमाउन नचाहने हुँदा यस्ता घटना बाहिर आएका थिएनन् ।”

स्रेस्तेदार भण्डारी भन्छन्, “फसाउन खोज्नेहरूले धेरै आर्थिक लाभ लिन खोज्ने र पीडितहरू आफ्नो क्षमताले धान्न नसक्ने भएपछि क्रमशः सार्वजनिक हुने गरेका छन् ।” गौतमका अनुसार यी तीनै पीडितले सजिलो हुँदासम्म आफैंले सामना गरेको र अन्तिम अवस्थामा मात्र प्रहरीको सहयोग लिन आएका हुन् ।

यस्ता घटना दाङमा मात्र सीमित छैनन् । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारी महिलाले पुरुषको सामाजिक प्रतिष्ठाको बार्गेनिङ गर्ने गरेका घटना काठमाडौंमा पनि हुने गरेको बताउँछन् । उनका अनुसार सामाजिक रूपमा प्रतिष्ठा बनाएका मानिसहरू बार्गेनिङमा पर्ने गरेका छन् ।

पुरुषको सामाजिक प्रतिष्ठासँग बार्गेनिङ गरेर महिलाले पैसा असुलेका घटनामा महिलाको हक हितका लागि बनाइएका कानुनको दुरुपयोग भएको छ । “पीडितका लागि बनाइएका आधारभूत संरचनाहरू छन्, त्यसलाई दुरुपयोग गरेर केही त्यस्ता पात्रहरूले सम्बन्ध राख्ने अनि सम्बन्धलाई पछि  व्यापारसँग जोड्ने र त्यसैबाट आर्थिक लाभ लिने काम भएको देखिन्छ,” जिल्ला अदालत दाङका न्यायाधीश कृपासुर कार्की भन्छन् । यस्ता गतिविधिले भोलि वास्तविक पीडितहरू नै समस्यामा पर्ने र न्यायबाट बञ्चित हुने अवस्था आउन सक्ने उनी बताउँछन् । 

बहिनी ठानेकीले नै फसाइन् 

माथिको घटना नं. ३ का पीडित वकिलका अनुसार उनलाई फसाउने आरोप लागेकी खुमा वली गैरसरकारी संस्थामा कार्यरत थिइन् । उनको संस्थाले सम्बन्ध बिच्छेद, मिलापत्र,सम्पत्ति दाबीजस्ता मुद्दा मामिलामा कानुनी सहयोग गर्ने गरेको थियो । 

कामकै सिलसिलामा खुमासँग चिनजान भएको बताउने ती वकिल खुमासँग बहिनीको सम्बन्ध रहेको बताउँछन् । आफूलाई फसाउने नियतले नै खुमाले दुई महिलाको सहयोगमा आफूलाई होटलमा लगेको ती वकिल बताउँछन् ।  उनका अनुसार सुरुमा ती महिलाहरूले ५० लाख रुपैयाँ मागेका थिए । पछि १८ लाख रुपैयाँ दिने सहमति भएको थियो । 

आफूलाई लागेको आरोप बाहिर आयो भने काम गरिरहेको स्थानमा गलत सन्देश जाने र प्रतिष्ठामा आँच आउने डरले पैसा दिएर कुरा मिलाउन लागेको ती कानुन व्यवसायी स्विकार्छन् । “आफूले कुनै गलत काम नगरेकाले डर लागेको थिएन,” उनी भन्छन्, “तर, इज्जतको ख्याल गरेर मिलापत्रतिर लागेँ ।”

तर पछि आफूमाथि अन्याय भएको ठानेर जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता  गरेर कानुनी उपचार खोजेको उनी बताउँछन् । आफू हिम्मत गरेर प्रहरीमा पुगेको  उनी थप्छन्, “दाङमा यस्ता घटना धेरै छन्, महिलाले पैसावाल पुरुषलाई आकर्षण गर्ने र पैसाको मोलमोलाइ गर्नेको संख्या धेरै छ ।”

जसरी पनि धनी हुने चाहनाले अपराध 

कुनै पनि तरिका र मूल्य चुकाएर भए पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकता समाजमा बढ्दै गएको छ । पीडितका लागि बनाइएको विशेष आधारभूत संरचनाहरू छन्, त्यसलाई दुरुपयोग गरेर केही त्यस्ता पात्रहरूले रिलेसन राख्ने अनि रिलेसनलाई पछि गएर व्यापारसँग जोड्ने र त्यसैबाट आर्थिक लाभ लिने काम भएको माथिको तीनवटा घटनाबाट देखिन्छ । 

यी घटनाका पीडकहरूले एक पटक पैसा लिएपछि पनि पटक–पटक पीडितसँग पैसा मागेको देखिन्छ । तीनवटै घटना विवरण केलाउँदा एक पटक पैसा पाइसकेपछि फेरि पनि पैसा झार्ने लोभमा फसेकाले नै उनीहरूको अपराध कर्म सार्वजनिकसमेत भएको छ । 

घटना नं. १ का पीडित खड्का र आरोपीहरूबीच बलात्कारको आरोपमा आइन्दा ब्ल्याकमेल र बार्गेनिङ नगर्ने भनी आपसी कागज गरिएको र त्यसपछि पीडकहरूले जातीय भेदभावको अर्को मुद्दा हालिदिने भन्दै धम्क्याएरसमेत पैसा असुल्न खोजको पाइन्छ । खड्काले दिएको उजुरीमा भनिएको छ, “यस किसिमको दुःख नदिने भनेर कागज लेखी सही छापसमेत गरेका थियौँ, त्यसपछि ढुक्क भएर बसेको समयमा अनुष्का (कृष्णा) ले मेरा आफन्तसँग गएर मसँग भेट, नत्र तँउपर जातीय भेदभाव एवं जबरजस्तीको मुद्दा दर्ता गराउँछु भनी धम्काइन् ।” 

अनुष्काले घोराही बजारमा एक घडेरी तथा घर बनाउन थप रकम माग गरेर फेरि दुव्र्यवहारपूर्ण व्यवहार गरेपछि छुटकारा पाउन २ लाखको चेक दिएको समेत खड्काको उजुरीमा उल्लेख छ । 

बार्गेनिङ र धाकधम्की दिएर सजिलै पैसा कमाउने र धनी हुने गलत सोचाइका कारण हनी ट्र्यापजस्ता आपराधिक घटना हुने गरेको बताउँछन्, त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, दाङका समाजशात्रका उपप्रध्यापक नवराज सुवेदी ।  

उनी यस्ता आपराधिक घटना रोक्नका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा नै जोड दिन्छन् । भन्छन्, “कानुनको प्रभावकारी कार्यान्वयन भयो भने मानिसले गलत काम गर्न छोड्छन् त्यसैले कानुनलाई प्रभावकारी रूपमा पालना गराउन आवश्यक छ ।” उनी सामाजिक सम्बन्धमा खलल हुने खालका यस्ता खराब कामलाई निरुत्साहन गर्नु पर्नेमा पनि जोड दिन्छन् । 

गलत काम गरियो, अहिले पछुतो 

माथिको घटना नं. ३ का आरोपी सीता देवी, खुमा र सुष्मा तीनै जनालाई जिल्ला अदालत दाङले दोषी ठहर गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए । पुस २, २०८० मा जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनीहरूलाई जनही डेढ वर्षको जेल सजाय, १५ हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको हो । यसअघि उनीहरू धरौटीमा छुटेका थिए । 

पीडित वकिललाई सीतादेवी थापाले हनी ट्र्यापमा पारेकी थिइन् । श्रीमान्सँग सम्बन्धविच्छेद गरिसकेकी उनले आफ्नो मुद्दाको कागज तयार पार्ने क्रममा वकिलका बारेमा सबै कुरा थाहा पाएकी थिइन् ।  

उनीसँगैकी आरोपी खुमालाई पनि वकिलको बारेमा सबै थाहा थियो । उनीहरूले योजना बनाएरै वकिललाई फसाउन खोजेका थिए । गलत काम भन्ने थाहा हुँदा हुँदै पनि साथीहरूसँग मिलेर यस्तो काम गरेको सीता देवी बताउँछिन् । “अहिले पछुतो भएको छ, कानुनले माफी दिएन सजाय भोगिरहेको छु,” उनी भन्छिन् ।


के हो हनी ट्र्याप ?

अंग्रेजी शब्द ‘हनी’ र ‘ट्र्याप’ मिलेर हनी ट्र्याप शब्द बनेको हो । जसको नेपाली अर्थ मह र जाल भन्ने हुन्छ । महजस्तै गुलियो कुरामा कसैलाई लोभ्याएर फन्दामा पार्नु नै हनी ट्र्याप हो । 

कुनै पुरुष वा महिलाले एक अर्कालाई सामान्य चिनजान गर्ने र बिस्तारै सम्बन्धमा रहने, एक अर्काको आनीबानी थाहा पाएपछि उसको सम्पत्तिमा आँखा लगाई पैसाको बार्गेनिङ गरेर पैसा असुल्ने क्रियालाई हनी ट्र्याप भन्ने गरिएको छ ।  

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार कुनै पनि सामाजिक र आर्थिक रूपले प्रतिष्ठा कमाएका व्यक्तिलाई विभिन्न जालमा पार्ने व्यवहार नै हनी ट्र्याप हो ।

दाङमा भएका घटनालाई आधार मान्ने हो भने महिलाले आफ्नो शारीरिक आकर्षण प्रयोग गरी पुरुषलाई फसाएको देखिन्छ । प्रायः ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको पाइएको छ । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन: प्रकाशन निर्देशिका यहाँ छ ।

Comments