एउटा दलित परिवारमा २० वर्षअघि छोराको रूपमा जन्मिएकी थिइन्– शालु । उनी जन्मिएपछि परिवारले छोराकै रूपमा स्याहारसुसार गरे, हुर्काए र बढाए । पितृसत्तात्मक सोचले भरिएको परिवार र समाज उनी छोरा भएकोमा खुसी थिए । छोरीपछि छोरा जन्मिएकोमा बाबुआमाले उत्सव नै मनाए ।
तर उमेर बढेसँगै शालुको आनीबानी पुरुषको जस्तो नभई महिलाको जस्तो देखिन थाल्यो । सुरुमा त परिवारले बच्चा त हो, भनेर बेवास्ता गरे । तर दिनहुँ छोरामा आएको परिवर्तनमा परिवारको ध्यान तानिँदै जान थाल्यो । “किन केटीजस्तो भएको तँ ?” उनी सझिन्छिन्, “केटा जसरी हिँड्, केटाजस्तो व्यवहार देखा न भनेर आमा दिदीहरूले भन्नुहुन्थ्यो ।”
छोरा जन्म्यो भनेर उत्सव मनाउने परिवारले त्यही छोराको व्यवहार, आनीबानी, काम, पोसाक छोरीकै रोज्दा त्यसलाई स्विकार्न सकेन ।
“त्यतिबेला मलाई छोटो कपाल लामो बनाउन मन लाथ्यो, शृंगारिएर हिँड्न मन लाग्थ्यो,” उनी भन्छिन्, “सँगै पढ्ने केटीहरूकै जस्तो स्तन भइदिएहुन्थ्योजस्तो लाग्थ्यो ।” तर उनलाई परिवारले छोराको जस्तो व्यवहार गर्न, लुगा लगाउन दबाब दिन थाले । परिवारको कुरा सुनेर उनले पनि पुरुषकै व्यवहार देखाउने प्रयास गरिन् । तर उनको हाउभाउ, हिँडाइ अनि व्यवहार केटाको जस्तो हुनै सकेन ।
उनी स्कुलमा केटासँग नभई केटी साथीसँगै बस्न रुचाउँथिइन् । केटीकै शौचालयमा जान चाहन्थिन् । तर परिवार र समाजले छोरा भनेकाले उनले कहिल्यै आफ्नो इच्छा पूरा गर्न सकिनन् । उनी भित्रभित्रै आफैंलाई दोष दिन्थिन् ।
“हर्मोन खाएपछि शारीरिक रूपमा धेरै कमजोर भएँ, एक्कासि भोक लाग्ने, भित्रभित्रै पेट दुख्ने, शरीर पूरै गलाउनेजस्तो हुने, उभिन नसक्ने, थकाइ धेरै लाग्ने हुन थाल्यो ।”
आफूलाई किन छोरी मान्छेको लुगा लगाउन मन लागेको, छोरी बन्न मन लागेको भन्ने उनलाई थाहा थिएन । १६ वर्षको उमेरमा बल्ल उनले यसलाई बुझिन् र आफूले नै आफैंलाई पहिचान गरिन् । छोराछोरी भएको, भाइबहिनी भएकोमा उनका बाबुआमा र दिदी धेरै दुःखी भए, बिस्तारै उनले परिवारलाई पनि बुझाउँदै गइन् ।
मन महिलाको भए पनि उनीको शरीर महिलाको थिएन, बोली महिलाको थिएन । उनको शरीरको छाला कडा थियो, स्वर धोत्रो थियो, स्तन पनि देखिँदैन थियो र अनि कपाल पनि छोटै थियो ।
त्यसपछि उनले मनजस्तै शरीरलाई पनि महिला नै बनाउने सोचिन् । उनलाई साथीले हर्मोनको औषधि दिइन् । यसपछि बिस्तारै उनको स्वर, छाला, कपालमा परिवर्तन देखियो, दाह्रीजुँगा पनि पातलिन थाल्यो ।
औषधिले उनको शारीरिक रूपमा परिवर्तन गरे पनि उनको स्वास्थ्यमा समस्या देखियो । उनलाई रिस उठ्ने, भोक र निद्रा धेरै लाग्ने, पेट दुख्ने, टाउको दुख्ने हुन थाल्यो । “हर्मोन खाएपछि शारीरिक रूपमा धेरै कमजोर भएँ,” उनी सम्झिन्छिन्, “एक्कासि भोक लाग्ने, भित्रभित्रै पेट दुख्ने, शरीर पूरै गलाउनेजस्तो हुने, उभिन नसक्ने, थकाइ धेरै लाग्ने हुन थाल्यो ।”
उनले तीन वर्ष हर्मोन प्रयोग गरिन् । एउटा पत्ता हर्मोन औषधि उनले ७५ रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा किनिन् । उनी डाक्टरको सल्लाह र सुझावबिनै नीलो रंगको हर्मोनको पिल्स प्रयोग गरेको बताउँछिन् । डाक्टरको सल्लाहबिना हर्मोन पिल्स खाएकाले नकारात्मक असर गरेको ठानेर उनले अहिले भने औषधि प्रयोग गर्न छाडेकी छन् ।
हर्मोन प्रयोगबाट अरूको तुलनामा उनको थोरै मात्र शारीरिक परिवर्तन भयो । उनले चाहे जसरी स्तन बढेन । त्यसपछि उनले भारत पुगेर स्तन सर्जरी गरेकी छन् । स्तन सर्जरी गर्न साढे तीन लाख खर्च भएको र त्यो रकम सानोतिनो काम गरेर किस्तामा तिरिरहेको उनी बताउँछिन् ।
आफूलाई महिलाको रूपमा पहिचान गर्न थुप्रै वर्ष लागेको उनी बताउँछिन् । पुरुषको अनुहारलाई बदल्न धेरै संघर्ष गरेको बताउँछिन् उनी । “सामाजिक, आर्थिक सबैसबै खाले चुनौतीसँग लड्दै मैले पारलैंगिक महिला पहिचान बनाएकी छु,” शालु भन्छिन्, “ढुक्कसँग पारलैंंगिक महिला भन्ने हिम्मत आएको छ । तर मेरो पहिचानको लडाइँ भने रोकिएको छैन ।”
आफ्नो स्वर, तन्तुहरू, कपाल, छाला र आफ्नो शारीरिक अंगहरू परिपक्क बनाउन यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले हर्मोनको प्रयोग गर्ने नीलहीरा समाजका एलिन भण्डारी बताउँछन् । पारलैंगिक पुरुष भनेर चिनाउने उनले पनि आफ्नो शारीरिक अंगको विकासका लागि हर्मोन प्रयोग गरेका थिए ।
समाज र परिवारले उनलाई छोरी भनेको थियो । स्तनको विकासलाई रोक्न र महिनावारी रोक्न आफूले डाक्टरको परामर्शमा हर्मोनको प्रयोग गरेको उनले बताए । उनी भन्छन्, “हर्मोनको बारेमा थाहा नहुँदा मैले आफ्नो स्तन बाइन्डरले कस्थेँ, हर्मोन थेरापी सुरु गरेपछि दाह्रीजुँगा पलाउन थाले, बिस्तारै महिनावारी रोकिँदै गयो र स्वर पनि फेरियो ।”
डाक्टरको परामर्शअनुसार हर्मोन थेरापी गर्दा आफूलाई धेरै सहज भएको उनी बताउँछन् । डाक्टरको परामर्शबिना जथाभावी औषधि प्रयोग गर्दा आफ्नै साथीहरू समस्यामा परेको उनले देखेका छन् ।
एक अध्ययनका ४० प्रतिशत सहभागीले १ देखि ३ वर्षसम्म हर्मोनको प्रयोग गरेको पाइएको थियो । धेरैजसोले हर्मोन थेरापीको बारेमा अनलाइन र साथीहरू मार्फत जानकारी प्राप्त गरेको बताएका थिए ।
नेपाल परिवार नियोजन संघअन्तर्गतको क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी स्वस्तिका लामा डाक्टरको सल्लाहबिना हर्मोनको सेवन गर्दा ज्यानको जोखिम हुने चेतावनी दिन्छिन् । उनी कार्यरत क्लिनिकले हर्मोन थेरापीसम्बन्धी काम गर्छ ।
हर्मोन विशेषज्ञ डा.सुनील पोखरेल शारीरिक परीक्षणबिना हर्मोनको प्रयोग गर्नै नहुने बताउँछन् । लुकीछिपी वा साथीभाइको देखासिकी गरेर यस्तो औषधि सेवन गर्दा शारीरिक अनि मानसिक समस्या देखापरेको उनी बताउँछन् । परिवार र समाजले स्वीकार नगरेको अवस्थामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले हर्मोनको प्रयोग गरेको हुने सक्ने उनलाई लाग्छ ।
बजारमा सस्तो मूल्यमा सजिलै पाइने भएकाले पनि आफू खुसी हर्मोन औषधि लिने गरेको भन्दै उनी सरकारले नै जथाभावी हर्मोन औषधि बिक्रीलाई नियन्त्रण गर्नुपर्ने बताउँछन् ।
Read our Republishing Policy here.