ताप्लेजुङको फुङलिङ नगरपालिका–२ कि सुमित्रा क्षेत्री (नाम परिवर्तन) को १६ वर्षकै उमेरमा विवाह भयो । १७ वर्षमै आमा बनेकी उनले लगातार दुई छोरी जन्माइन् । परिवारको छोराको चाहना पूरा गर्न उनी त्यसपछि पनि गर्भवती भइन् । तर त्यसपछिका चार सन्तान जन्मेर पनि बाँच्न सकेनन् । उनी गर्भवती हुने क्रम रोकिएन र उनले ९ सन्तान जन्माइन् । ९ सन्तान जन्माउँदाको पीडा उनले पछिसम्म पनि भोगिरहिन् । लगातार सन्तान जन्माएकै कारण उनको पाठेघरमा समस्या भयो । हिँड्न, काम गर्न असहज हुन थाल्यो । श्रीमानलाई सुनाए पनि आर्थिक अभावका कारण उपचार गर्न जान सकिनन् ।
पाठेघरको समस्याको पीडामा रहेकी उनले ५५ वर्षको उमेरमा चैत, २०७९ मा उपचार पाइन् । फुङलिङ नगरपालिकाले चैत ७ गतेदेखि २९ गतेसम्म गरेको शिविरमा शल्यक्रिया गरेर पाठेघर फालेपछि उनले राहत महसुस गरिन् । “धेरै छोराछोरी जन्माइयो, सुत्केरी भएको केही दिनदेखि नै काम गरियो, पानी बोकियो,” पाठेघरमा समस्या आउनुको कारण खोतल्दै उनले भनिन्, “रोग पाल्दै बस्नुपरेको थियो, अब त ढुक्क भएको छ ।”
शिविरमार्फत गाउँमै उपचार पाएकी उनलाई जिल्ला अस्पतालमै यस्तो उपचार पाउने व्यवस्था भए गाउँका अरु दिदीबहिनीले आफूलेजस्तै रोग पालेर बस्नुपर्ने थिएन भन्ने लागेको छ ।
उनले जिल्ला अस्पतालमै उपचारको कामना नगरून् पनि किन ?
उनीजस्तै गाउँका धेरै दिदीबहिनी पाठेघरको समस्याबाट पीडित छन् । त्यस्तैमध्येकी एक हुन्, फुङलिङ नगरपालिका–११ कि रामकुमारी विष्ट (नाम परिवर्तन) । उनी उमेरले ७२ पुगिन् । तर उनलाई यो उमेरमा पनि पाठेघरले दुख दिइरहेको छ । १२ वर्षमा बेहुली बनेर १७ वर्षमै आमा बनेकी उनले २५ वर्षकै उमेरमा ५ सन्तान जन्माइन् ।
पति भेडा गोठ लिएर हिँड्ने । उनले सुत्केरी भएको ७ दिनबाट नै घाँसका भारी बोक्ने, धाराबाट पानी बोक्ने साथै अन्य घरायसी काम गर्नु पर्ने परिस्थिति बन्यो । २५ वर्षकै उमेरमा उनलाई तल्लो पेट दुख्ने समस्या हुन थाल्यो । तर उनले वास्ता गरिनन् । नजिकै स्वास्थ्य संस्था नभएकोले ऊ बेलामा उपचारका लागि सदरमुकाम फुङलिङसम्म आउनुपर्थ्यो ।
तर त्यो दुखाइ पचाएरै उनी फेरि गर्भवती भइन् । उनको तल्लो पेट दुख्न थालेपछि पनि उनले थप ४ सन्तान जन्माइन् । त्यतिबेलासम्म उनीमा पाठेघर अर्थात् आङ खस्ने समस्या देखिइसकेको थियो । समयमै अस्पताल नगएपछि उनको रोग झन् जटिल बन्दै गयो । महिनावारी समयभन्दा अन्य समयसमेत रगत बग्ने मात्र होइन, पाठेघर निस्किएर डल्लो बाहिर देखिन थाल्यो ।
पति र छोराछोरीले उनको दुःख देखे पनि उपचारमा चासो दिएनन् । लगाएको लुगा रगतले भिजेको देखेपछि सामाजिक अवहेलना खेप्नुपरेको उनी स्मरण गर्छिन्, “देख्ने मान्छेले छिः छिः भन्थे, केहीले मात्रै विचरा के भएर यस्तो भएको हो भन्दै सहानुभूति दर्साए, धेरै पीडा खेप्नुपर्यो ।”
उनी जहाँ बस्यो त्यहीँ रगतको आहाल हुन थाल्यो । दैनिक हिँडडुल गर्न सकस हुँदै गयो । ओछ्यान नै परेपछि मात्र पतिले उपचारका लागि जिल्ला सदरमुकामस्थित अस्पताल ल्याए ।
डाक्टरले काठमाडौं लगेर अप्रेसन गर्न भने पनि आर्थिक अवस्था कमजोर भएका कारण उनी अप्रेसन गर्न असमर्थ भइन् । तत्कालीन समाधानका लागि डाक्टरले रिङ राखिदिए । गह्रौँ भारी नउचाल्न र धेरै काम नगर्न डाक्टरले सुझाव दिएका थिए, त्यो सुझाव मानेर उनको जीविका चल्नेवाला थिएन् ।
“पाठेघर खसिहालेमा पनि तत्कालै स्वास्थ्य संस्था जाने र उपचार गर्ने हो भने पाठेघरको अप्रेसन नै गरेर फाल्नुपर्ने अवस्थाबाट बच्न सकिन्छ ।”
तीन तीन महिनामा जिल्ला अस्पताल आएर रिङ फेर्नु नै उनको दैनिकी बन्यो । अहिले त गाउँमा अस्पताल बन्यो । रिङ फेर्न पहिलेको जस्तो ६/७ घन्टा हिँड्नु पर्दैन, अप्रेसन नै गर्न पनि सहज छ । तर उमेर र रक्तचाप बढी भएका कारण अप्रेसन गर्न डाक्टरले नमानेपछि उनले यो पीडाबाट कहिल्यै मुक्ति नपाउने भएकी छन् ।
“समय मै उपचार पाएको भए दुखाइ सहेरै जिन्दगी जिउनुपर्ने थिएन भन्ने लाग्छ,” नगरपालिकाले राखेको शिविरमा अप्रेसन नभएपछि उनी निराश भइन्, “ऊबेला शिविर आएन अहिलेको शिविरमा मिलेन, उमेर पाको भएर पन होला, दुःख भोग्दाभोग्दै मर्ने भइयो ।”
७२ वर्षकी ती वृद्धाको सामुन्ने फुङलिङ नगरपालिका–१० की दुर्गामाया लिम्बू (नाम परिवर्तन) भने आफूलाई भाग्यमानी ठान्छिन् । पाठेघर खसेको २४ वर्षपछि नगरपालिकाले गाउँमै राखेको शिविरमा डाक्टरहरूले उनको अप्रेसन गरेका थिए । उनी भन्छिन्, “यत्तिका वर्षपछि बोझ बिसाउन पाउँदा खुसी छु ।”
सुत्केरी भएको बेलामा ओखलमा धान कुट्दा पाठेघर खसेको उनलाई सम्झना छ । “काइँलो छोरो जन्मेपछि यस्तो भयो,” उनले स्मरण गरिन्, “भात पकाउन चामल थिएन । ओखलमा धान कुट्दादेखि तल्लोपेट दुख्न सुरु भयो । खासै वास्ता गरिन् । घरमा पनि सुनाइनँ ।”
फुङलिङ नगरपालिकाले शिविर आयोजना गरेर पाठेघरको समस्या भएका महिलाको उपचार गरे पनि अन्य गाउँका महिला अहिले पनि रोग पालेर बस्न बाध्य छन् । त्यस्तैमध्येकी एक हुन्– मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी मनमाया विक (नाम परिवर्तन) । “हाम्रो गाउँपालिकाले पनि शिविर ल्याउला र अप्रेसनपछि सन्च होला भन्ने आशा बोकेर बसेकी छु,” ९ सन्तानकी आमा बनेकी उनले भनिन् । उनी ५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित छिन् ।
सावधानी अपनाए रोक्न सकिन्छ पाठेघरलाई खस्न
जिल्ला अस्पताल ताप्लेजुङका एमडीजीपी चिकित्सक महेश्वर गोसाईँका अनुसार भएको स्थानबाट पाठेघर तल झर्नुलाई पाठेघर खस्नु भनिन्छ । गाउँघरमा यसलाई आङ खस्ने भनेर पनि बुझिन्छ ।
संयुक्त राष्ट्रसंघले गरेको अनुमानअनुसार नेपालमा करिब ६ लाख महिला पाठेघर खस्ने समस्याबाट प्रभावित छन् । एम्नेस्टी इन्टरनेसनलले भने नेपालका कुलमध्ये कम्तीमा पनि १० प्रतिशत महिला यो समस्याबाट ग्रसित रहेको दाबी गरेको छ । उसका अनुसार कुनैकुनै भेगमा त कुलमध्ये ३० देखि ४५ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या पाइन्छ ।
डाक्टर गोसाईँका अनुसार पाठेघर खस्ने ४ चरण हुन्छन् । पहिलो र दोस्रो चरणकोलाई रिङ लगाएर उपचार गर्न सकिन्छ । तर तेस्रो र चौथो चरणमा खसिसकेपछि अवस्था हेरेर पीडाबाट मुक्ति पाउन शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि महिला आमा बन्न सक्दैनन् ।
कम उमेरमा विवाह गर्ने र कम उमेरमै आमा बन्ने र लगातार बच्चा जन्माउने, सुत्केरी अवस्थामा पर्याप्त स्याहार नपाउने महिलामा यो समस्या धेरै हुने गरेको डा. गोसाईँ सुनाउँछन् । “बच्चा जन्मेपछि पाठेघरलाई पहिल्यै ठाउँमा पुग्न समय लाग्छ,” उनी भन्छन्, “तर तत्कालै शारीरिक परिश्रम गर्न सुरु गरेपछि पाठेघर तल झर्छ ।” पाठेघर झरे पनि तत्कालै नसुनाउने र लाज मानेर बस्ने गरेको र जटिल रूप लिन थालेपछि मात्रै उपचारका लागि आउने गरेको अनुभव उनीसँग छ । “पाठेघर विस्तारै पिसाब घर बाहिर निस्कने, घाउ हुने, पाक्ने, चिलाउने र गनाउने हुँदै जान्छ,” डा. गोसाईँ भन्छन्, “यस्तो अवस्थामा त अप्रेसन गर्न पनि रिक्स हुन्छ ।”
महिलाले सावधानी अपनाएमा र परिवारले पनि सुत्केरी महिलाको हेरचाहमा ध्यान दिने हो भने पाठेघर खस्ने समस्याबाट बच्न सकिने डा.गोसाईँको भनाइ छ । “पाठेघर खसिहालेमा पनि तत्कालै स्वास्थ्य संस्था जाने र उपचार गर्ने हो भने पाठेघरको अप्रेसन नै गरेर फाल्नुपर्ने अवस्थाबाट बच्न सकिन्छ ।”
दक्ष जनशक्ति र उपकरण अभावमा ताप्लेजुङमा हुँदैन पाठेघरको अप्रेसन
सरकारले तोकिएको अस्पतालमा निःशुल्क पाठेघर परीक्षण र उपचारको व्यवस्था गरेको छ । पाठेघर खसेर समस्यामा परेका महिलाको अप्रेसन गर्न र अस्पताल आउन जान भाडासमेत सरकारले तिरिदिने नीति छ ।
तर देशका सबैजसो जिल्ला अस्पतालमा दक्ष जनशक्ति र बजेट नहुँदा उनीहरूको उपचार हुन सकिरहेको छैन । ताप्लेजुङमा पनि उपकरणको अभाव छ ।
दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था हुने हो भने जिल्लामै पाठेघरको अप्रेसन गर्न सकिने डा.गोसाईँ बताउँछन् । “पहिलो र दोस्रो स्टेजका महिलाहरूको अन्य उपचारजस्तै रिङ राखेर, एक्सरसाइज गरेर पनि गर्न सकिन्छ,” उनी भन्छ्न्, “तेस्रो र चौथो स्टेजको अवस्था हेरेर अप्रेसन गर्नुपर्ने हुन्छ । जुन जिल्लामा गर्न असम्भव नै त होइन, तर दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था हुनुपर्यो ।”
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार स्वास्थ्य निर्देशनालयलाई आर्थिक वर्ष २०७९/०८० मा पाठेघर खस्ने समस्यासम्बन्धी शीर्षकमा प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट छुट्याएको थियो । जसबाट त्यो वर्ष विराट टिचिङ अस्पतालमै शिविर राखेर उपचार गरियो । तर त्यहाँ तराइका महिलालाई मात्रै सहज भयो ।
कोशी प्रदेशका पहाडी क्षेत्रका महिला उपचारका लागि त्यहाँ पुग्न सकेनन् । प्रदेश सरकारको रकमले नपुगेका स्थानमा अप्रेसन गर्नै पर्ने महिलाहरू भएमा स्थानीय तह र अर्थ मन्त्रालयसँग समन्वय गरेर विषेशज्ञ टोली पठाएर अप्रेसन सेवा प्रवाह गराई रहेको बस्नेतले जानकारी दिए ।
Read our Republishing Policy here.