Navigation
विद्यालयमा हुने ‘बुलिङ’ ले खतरामा बालबालिका Tanka Dhakal | Jul 22, 2024

१३ वर्षीय एक किशोर कम बोल्छन् । घरका सदस्यसँग पनि खासै बोल्दैनन् । साथीभाइबाट टाढै रहन्छन् । एकान्त मन पराउँछन् । प्रायः कोठामा एक्लै बस्छन् । निहुँरिएर बस्छन् । बस्दा औँला खेलाइरहन्छन् । आमाले पटकपटक बोलाउँदा पनि उत्तर नदिई बस्छन् । केही भन्दैनन् । केही बोल्दैनन् ।

download-1720778252.pngउनको व्यवहारमा आएको परिवर्तनलाई आमाबुबाले किशोरावस्थाको बदलाव भनेर बुझे । तर, पछि आमाले छोराको डायरीबाट उनको समस्या थाहा पाइन् । छोराले भोगिरहेको दुःखबारे थाहा पाइन् । ती किशोरलाई आफ्ना मनका कुरा डायरीमा लेख्ने बानी छ । त्यही डायरीबाट आमालाई छोरा कस्तो समस्याबाट गुज्रिरहेको छ भन्ने थाहा भयो । “छोराले सबै कुरा डायरीमा लेख्ने गर्छ,” आमाले भनिन्, “एक दिन उसको डायरी देखेँ । पढ्दै जाँदा उसले भोगिरहेको पीडा थाहा पाएँ ।”

छोराले आफूलाई स्कुलबाट निकालिदिन भनेर निवेदनसमेत दिएको आमाले खुलाइन् । गएको जेठमा ती किशोरले विद्यालय प्रशासनसँग आफूलाई त्यहाँबाट निष्कासन गरिदिन अनुरोध गरेका थिए । माग पत्रको शैलीमा उनले आफ्नै कपीका पानामा लेखेको निवेदनमा आफूलाई विद्यालयले निकाल्नु पर्ने कारणहरू बुँदागत रुपमा पेश गरेका थिए । निवेदनमा उनले लेखेका थिए, “अबको दुई वर्षभित्र म आफैँले आफ्नो ज्यान लिन सक्छु, त्यसैले कृपया मलाई विद्यालयबाट निकालिदिनुस् ।” 

note-to-self-1721545204.jpg
बालकको हस्तलिखित निवेदनको एक अंश । नोट : हस्तलिपिबाट बालकको परिचय खुल्न सक्ने भएकाले हामीले हस्तलिपि परिवर्तन गरेका छौं  ।

किशोरले आफ्नो कुनै भविष्य नदेखेको भन्दै पीडा पोखेका थिए । विद्यालयका शिक्षक तथा साथीले आफूलाई मन नपराउने र उनीहरूको व्यवहारले आफू दुःखी भएको उनले निवेदनमा खुलाएका थिए ।

निकै अप्ठ्यारोबाट गुज्रिरहेका उनले विद्यालयको प्रतिष्ठा जोगाउनका लागि भए पनि आफूलाई ‘खराब विद्यार्थी’ भनेर निकालिदिन आग्रह गरेका थिए । आफूलाई ‘खराब विद्यार्थी’ प्रमाणित गर्न उनले  निवेदनको पाँचौँ पेजमा कक्षाका साथीहरूलाई हस्ताक्षरसमेत गराएका थिए । 

त्यस्तै, आफूलाई ‘जेन्डर न्युट्रल’ वातावरणमा पढ्न मन रहेको र आफ्ना लागि त्यही नै उपयुक्त हुने उनले निवेदनमा स्पष्ट पारेका थिए । सो निवेदन पाएपछि विद्यालयले अभिभावकसँग पनि सम्पर्क गर्‍यो । त्यसपछि छोराको डायरी हेरेकी आमालाई छोराको पीडा छर्लङ्ग भयो।

ललितपुरको एक निजी विद्यालयमा कक्षा आठमा पढ्ने ती विद्यार्थीले विद्यालयबाट निस्किनुलाई आफूले भोगिरहेको समस्याको समाधान ठाने । समस्याबाट बाहिर उम्किने एक मात्र उपायका रूपमा देखे ।

उनले विद्यालयमा बुझाएको निवेदन र त्यसपछि परिवारका सदस्यले पहिचान गरेको त्यसको कारण गम्भीर छ । त्यो हो, ‘बुलिङ’ । 

“बाबु साथीहरूले जिस्कायो भनेर रुन्छ, हामीलाई त यसबारे केही थाहा छैन । स्कुलले नै सहयोग गर्छ कि । बाबुलाई समस्या नहोस् भन्ने त चाहन्छौँ तर हामीसँग जानकारी र पैसा केही छैन ।” 

निस्फिक्री भएर खाने, खेल्ने, पढ्ने, रमाउने कलिलो उमेरमा उनी किन आफ्नै ज्यानको शत्रु बन्न खोजे त ?

उनले आफ्नो ज्यान लिन सक्ने चेतावनी यसै दिएका रहेनछन् । उनलाई त्यसो सोच्न बाध्य बनाइएको रहेछ । अनि, उनलाई त्यस्तो सोच्न बाध्य बनाउने उनकै साथी, सहपाठी र शिक्षक रहेछन् ।

विद्यालयमा साथीहरूबाट बुलिङमा परेकाले नै उनले त्यहाँबाट निस्कनुलाई अन्तिम विकल्पका रूपमा देखेका रहेछन् । त्यसो नभए आफैँ आफ्नो ज्यानको दुश्मन बन्न सक्ने उनले निवेदनमा उल्लेख गरेका रहेछन् । सो कुराले आफूलाई झस्काइरहने उनकी आमाले बताइन् । “छोरालाई आत्महत्याको विचार आउने गरेको थाहा पाएदेखि डरले सताइरहन्छ,” उनले भनिन्, “साथीभाइबाट ‘बुली’ भएकाले मेरो छोरा यो अवस्थामा पुग्यो ।”

अभिभावकको साथसहयोगले बिस्तारै उनको अवस्थामा सुधार हुँदै छ । तर, उनले विशेष मनोसामाजिक परामर्श भने पाएका छैनन् ।

विद्यालयस्तरमा विद्यार्थी बालबालिकाको मनोसामाजिक समस्या तथा त्यसको समाधानमा त्यति ध्यान दिइँदैन । त्यसबारे त्यति कुरा पनि हुने गरेको छैन । त्यसमाथि कक्षाका साथी तथा शिक्षकबाट समेत गरिने हेपाहा खालको व्यवहारले बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्छ भन्ने विषयमा पनि ख्याल गरिएको पाइँदैन । 

बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद २ को १३ मा ‘पोषण तथा स्वास्थ्यको अधिकार’ बारे उल्लेख गरिएको छ । जसअन्तर्गत ‘राष्ट्रिय मापदण्ड अनुरूपको शारीरिक तथा मानसिक स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उमेर र परिपक्वताअनुसार शरीर, प्रजनन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी पाउने अधिकार हुनेछ’ भनेर लेखिएको छ । तर, त्यसलाई स्पष्ट पार्ने र कम्तीमा मनोसामाजिक अवस्थाको मूल्यांकन गरी आधारभूत सेवा प्रदान गर्ने व्यवस्था भने अहिलेसम्म छैन । 

काठमाडौंको एक सरकारी विद्यालयमा कक्षा सातमा अध्ययनरत विद्यार्थी पनि आत्महत्याको जोखिममा रहेको खुलासा भयो । उनले आफ्नो कपीमा लेखेको एउटा नोटबाट त्यो कुरा बाहिर आयो । जसमा उनले ‘आफूमाथि भएकोजस्तो व्यवहार अरू कसैलाई नहोस् र कोही पनि त्यस्तो अवस्थाबाट गुज्रिनु नपरोस्’ लेखेका थिए ।  “आत्महत्या समाधान होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि म त्यो गर्ने अवस्थामा पुगिसकेँ,” आफ्नो पीडा त्यस नोटमा पोखेका थिए ।

note-to-self-2-1721545204.jpg
बालकको हस्तलिखित निवेदनको एक अंश । नोट : हस्तलिपिबाट बालकको परिचय खुल्न सक्ने भएकाले हामीले हस्तलिपि परिवर्तन गरेका छौं ।

१२ वर्षीय उनको पीडा र अवस्था थाहा पाएपछि कक्षा शिक्षकले एक मनोविमर्शकर्तासँग सल्लाह गरे । केही समय ती मनोविमर्शकर्ताले सहयोग पनि गरे । तर, आवश्यक स्रोत नहुँदा विद्यार्थीले निरन्तर रूपमा मनोपरामर्श पाउन सकेका छैनन् । विद्यालयसँग स्रोत छैन, अभिभावकसँग न जानकारी छ न पैसा । “बाबु साथीहरूले जिस्कायो भनेर रुन्छ,” विद्यार्थीकी आमाले भनिन्, “हामीलाई त यसबारे केही थाहा छैन । स्कुलले नै सहयोग गर्छ कि । बाबुलाई समस्या नहोस् भन्ने त चाहन्छौँ तर हामीसँग जानकारी र पैसा केही छैन ।” 

विद्यालयमा ‘बुलिङ’

यी दुई विद्यार्थीको पृष्ठभूमि फरक छ । तर, उनीहरूको समस्या भने उस्तैउस्तै छ । उनीहरू साथीभाइ, सहपाठी र शिक्षकबाट हेपिनुको कारण पनि लगभग उस्तै छ । त्यो हो, उनीहरूको हाउभाउ र रुचि आफ्नो उमेर समूहका छात्रभन्दा केही भिन्न हुनु । उनीहरूलाई ‘लैंगिकताको सामाजिक नियमभन्दा बाहिर’ को व्यवहार देखाएको भन्दै साथीहरूले जिस्काउने मात्र नभएर हेप्ने, होच्याउने, भद्दा टिप्पणी गर्ने रहेछन् । साथीहरूको असंवेदनशीलताका कारण उनीहरूमा निराशा बढ्दै गयो । पटकपटक दोहोरिरहने साथीहरूको दुर्व्यवहार र धम्कीबाट आजित भएर उनीहरूमा आत्महत्याको सोच पलायो । यसो हुनुको पछाडि ‘बुलिङ’ नै मुख्य कारण थियो ।

अंग्रेजी भाषाको ‘बुलिङ’ शब्दको नेपालीमा मिल्ने शब्द भेट्न कठिन छ । नेपालीका बदमासी, हेपाइ, दादागिरीलगायत शब्दबाट यसलाई बुझ्न सकिन्छ । बुलिङ बालबालिका वा किशोरकिशोरीले गर्ने यस्तो व्यवहार हो, जसमा उनीहरूले आफ्ना साथीभाइलाई पीडा हुने गरी व्यवहार गर्छन् । उनीहरूलाई बिझ्ने गरी बोल्छन् । अरूलाई दुःख दिँदा आनन्द महसुस गर्छन् । जो एक किसिमको समस्यामूलक व्यवहार हो ।

धम्क्याउनु, जिस्काउनु, गिज्याउनु, हेप्नु, हेला गर्नु, तर्साउनु, पिट्नु, चिमोट्नु आदि क्रियाकलाप बुलिङभित्र पर्छन् । त्यस्तै, सामाजिक सञ्जालमा अश्लील शब्द वा भाषा प्रयोग गरेर दुःख दिनु पनि यसमै पर्छ । शारीरिक र मानसिक रूपमा अरूलाई पीडा दिने र आफू आनन्द महसुस गर्ने समस्यामूलक व्यवहार नै बुलिङ हो । 

विद्यालयमा सँगै पढ्ने सहपाठी र अन्यबाट सधैँजसो दोहोरिने हेपाइले यी दुई विद्यार्थीजस्तै अरू विद्यार्थीको पनि आत्मसम्मानमा ठेस पुर्‍याइरहेको हुन सक्छ । हेप्दा प्रयोग हुने शब्द र बेहोराले उनीहरूको आत्मविश्वालाई कमजोर बनाइदिन्छ । केही त मनोबल घटेर ‘डिप्रेसन’ अर्थात् ‘अवसाद’ को सिकार बनेका उदाहरण पनि छन् ।

कसैको हेपाइ, कसैको दादागिरी अर्कोका लागि जीवनभरिको दुःख बन्न सक्ने कुरामा कमैले हेक्का राखेका हुन्छन् । त्यस्तो दुर्व्यवहार गर्नेमा विद्यार्थी मात्र नभई कहिलेकाहीँ त शिक्षक पनि त्यति नै जिम्मेवार हुन्छन् । जसले गर्दा पीडितहरू विद्यालय र यो समाजमा आफ्नो लागि कुनै स्थान नरहेको महसुस गरिरहेका हुन सक्छन् ।

नेपालको कानुन वा आधिकारिक दस्ताबेजहरूमा बुलिङलाई नै किटान गरेर समेटिएको अवस्था छैन । तर, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ मा बालबालिकामाथि हुने हिंसालाई परिभाषित गर्ने क्रममा बुलिङका पक्षलाई भने समेटिएको छ । त्यसमा ‘विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक वा असर पुर्‍याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिनुलाई’ हिंसा भनिएको छ । 

त्यस्तै, विद्युतीय वा अन्य माध्यम प्रयोग गरी सताउने वा कष्ट दिने, क्रूर वा अमानवीय व्यवहार गर्नुलाई पनि हिंसा भनिएको छ । केन्द्रीय बाल कल्याण परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले कानुनमा बुलिङ शब्द प्रयोग नभए पनि त्यसलाई समेटेको बताए । “बालबालिकासँग मर्यादित व्यवहार नहुनु नै बुलिङ हो,” उनले भने, “हाम्रो कानुनले शब्दको उच्चारण नगरे पनि बुलिङलाई समेटेको छ ।”

ऐनमा भनिएअनुसार बुलिङ बालबालिकामाथि हुने हिंसाभित्र पर्छ । यसले मनोसामाजिक रूपमा उनीहरूलाई आघात पुर्‍याउँछ । त्यो अवस्था आउन नदिन बालबालिकासम्बन्धी ऐनको दफा ५७ मा हरेक विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूले बाल संरक्षण मापदण्ड बनाउनुपर्ने भनिए पनि त्यो अवस्था छैन । यदि भइदिएको भए माथि उल्लेख गरिएका दुई घटनाका विद्यार्थी त्यो अवस्थामा पुग्दैन थिए होलान् । 

हेपिँदा आफ्नै ज्यानको शत्रु 

कानुनमा उल्लेख भए पनि विद्यालयहरूमा बाल संरक्षण मापदण्ड बनाइएका छैनन् । त्यसैले, सानै उमेरमा बालबालिकाले पनि आत्महत्या गरेका घटना सार्वजनिक हुने गरेका छन् । गएको साउन ७ मा कोटेश्वरमा रहेको ‘न्यु भिजन’ विद्यालयकी एक छात्राले आत्महत्या गरिन् ।

कक्षा पाँचमा अध्ययनरत उनी ११ वर्षकी थिइन् । विद्यालयबाट फर्किएको केही समयपछि उनले घरमै आत्महत्या गरिन् । घटनापछि प्रहरीले उठाएको मुचुल्कामा उनको शरीरमा कुनै चोट नदेखिएको उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पनि बालिकाको मृत्युको कारण आत्महत्या रहेको खुल्यो ।

बालिकाले कुनै नोट नछोडेकाले आत्महत्याको यकिन कारण थाहा नभएको प्रहरीको भनाइ छ । “मैले कक्षा शिक्षकसँग विद्यालयमा केही भएको थियो कि वा त्यस्तो कुनै संकेत देखिएको थियो कि भनेर बुझ्दा सामान्य रहेको पाएँ,” विद्यालयका प्रधानाध्यापक गणेश भट्टराईले भने, “राम्रो विद्यार्थी थिइन् । नसोचेको घटना भयो ।”

घटनाबारे विभिन्न हल्ला भए पनि विद्यालयमा त्यस्तो केही नभएको प्रधानाध्यापक भट्टराईले बताए । “कसैले जिस्क्याउने, धम्क्याउने, हेप्ने गरेको पाइनँ तर पनि घटना भयो,” उनले भने, “यस घटनाले हामीलाई सजग बनाएको छ ।” 

कोटेश्वरजस्तै आत्महत्याको कारण नखुलेको अर्को घटना सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ मा भयो । जसमा ११ वर्षीय बालकले आफ्नो ज्यान आफैँ लिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार उनले साउन १७ मा आत्महत्या गरेका थिए । उनको ‘मानसिक स्वास्थ्य ठीक नभएको भनी बुझिएको’ प्रहरीले आफ्नो विवरणमा लेखेको छ । त्यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–११ का नौ वर्षीय बालकले पनि जेठ ११, २०८० मा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुको कारण ‘खुल्न नसकेको’ प्रहरीले जनाएको छ । 

तर, लाउँलाउँ खाउँखाउँ भन्ने कलिलो उमेरका बालबालिकाले यसरी आत्महत्याको बाटो रोज्नुका पछाडि केही न केही कारण अवश्य हुने मनोचिकित्सकहरू बताउँछन् । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य युनिटमा कार्यरत डा. अमित झाका अनुसार केटाकेटीमा मनोसामाजिक समस्या देखिने वा आत्महत्यासम्म पुग्ने अवस्था आउनुमा शारीरिक र भावनात्मक कारणमात्र नभई यौन हिंसा वा दुर्व्यवहारसँगै बुलिङ पनि एक हो । “बुलिङको कुरा हामीले विद्यालय स्तरमा नै समेट्नुपर्छ,” उनले भने, “यो सामान्य व्यवहार होइन भनेर सिकाउनुपर्छ । अहिलेसम्म बाहिर आएका घटना त ठूलो समस्याको एक सानो भाग मात्र हुन् । अधिकांश घटनाबारे त हामीले जानकारी नै पाउँदैनौँ ।” 

शक्तिको सन्तुलन नमिल्नुलाई बुलिङको मुख्य कारण ठान्छन्, डा. झा । “जहाँ शक्तिको सन्तुलन मिल्दैन त्यहाँ बुलिङ हुन्छ अनि स्कुलमा यसको सम्भावना धेरै छ,” उनले भने, “केही विद्यार्थीले बल प्रयोग गरी उमेरमा साना वा कमजोर विद्यार्थीलाई हेप्ने, धम्की दिने गर्छन् । एकपटक होइन, दुईपटक होइन, पटकपटक त्यस्तो गर्छन् ।” विद्यालयमा दादागिरी देखाउने त्यस्ता विद्यार्थीका कारण पीडित विद्यार्थीमा एन्जाइटी वा डिप्रेसनको समस्या निम्तिन सकिने डा. झाको भनाइ छ । “कलिला बालबालिकाको आत्मसम्मानमा ठेस लाग्छ जसका कारण उनीहरूलाई तनाव हुन्छ,” उनले भने, “तनावले डिप्रेसन निम्त्याउँछ । डिप्रेसन बढ्दै जाँदा बालबालिका गम्भीर खालको मनोरोगबाट ग्रस्त हुन सक्छन् । पीडित विद्यार्थी उपचारका लागि अस्पतालको शय्यासम्म पुग्न सक्छन् । त्यति मात्र नभई आत्महत्याको प्रयास गर्न सक्छन् ।”

बालबालिका तथा किशोरकिशोरीमा हुने आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको ‘अमेरिकन एकेडेमी अफ चाइल्ड एन्ड एडोलेसेन्ट साइकाइअट्री (एएसीएपी) ले उल्लेख गरेको छ । त्यस्तै, एएसीएपीले कम उमेर समूहकाले गर्ने आत्महत्याको अर्को प्रमुख कारणमा बुलिङलाई  समेटेको छ ।

नेपाल प्रहरीका अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा देशभर ७९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । त्यसमा बालक २६६ र बालिकाको संख्या ५२९ रहेको नेपाल प्रहरीको तथ्यांक छ । “अधिकांश बालबालिकाले झुन्डिएर आत्महत्या गरेका छन्,” तत्कालीन केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए, “केहीले विष खाएर आफ्नो ज्यान लिएका छन् ।” झुन्डिएर आत्महत्या गर्नेको संख्या ७३० रहेको छ भने त्यसमा २४५ बालक र ४८५ बालिका रहेका छन् । त्यसैगरी प्रहरीका अनुसार विष खाएर १६ बालक र ४४ बालिकाले मृत्युको बाटो रोजे ।

अहिलेसम्म नबुझिएको ‘बुलिङ’

प्रहरीको तथ्यांकले सानो उमेरका बालबालिकाले आत्महत्या गर्ने ठूलो आँकडा देखाए पनि त्यसको कारण भने केलाउन सकेको छैन । बुलिङसँग त झन् त्यसको सम्बन्ध खोज्नका लागि कुनै काम नै भएको देखिँदैन । त्यससम्बन्धी अनुसन्धान राष्ट्रियस्तरमा भएको छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास शाखाकी उपसचिव सविता अर्यालले बालबालिकामा हुने बुलिङ र त्यसले पार्न सक्ने मनोसामाजिक असरलाई केन्द्रित गरेर कुनै कार्यक्रम वा नीति नरहेको बताइन् । 

यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बुलिङलाई नै केन्द्रित गरेर परिषद्‍बाट राष्ट्रियस्तरमा कुनै अनुसन्धान भएको छैन । परिषद्ले सन् २०२० मा सार्वजनिक गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्याको विचार आउने गरेको पाइएको थियो । सो सर्वेक्षणमा १८ वर्ष माथिका ९ हजार २ जना र १३ देखि १७ वर्ष उमेरका ५ हजार ८ सय ८८ किशोरकिशोरी सहभागी थिए । १३ वर्षमुनिका बालबालिकाको मानसिक स्वास्थ्यको अवस्थासँगै उनीहरूमा आत्महत्याको विचारसहितका पक्ष भने सो सर्वेक्षणले समेटेको छैन ।

राष्ट्रियस्तरमा बुलिङका सम्बन्धमा अनुसन्धान नभए पनि काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. मेघराज दंगाल र ऐश्वर्य रानी सिंहले विद्यालयस्तरका बालिकाहरूमा बुलिङबारे जानकारी र त्यसको प्रभावका सम्बन्धमा गरेको अध्ययनले आधाभन्दा बढीलाई यसबारे जानकारी नरहेको देखाउँछ । सो अनुसन्धान सन् २०२० मा प्रकाशित भएको थियो । “अनुसन्धानले बुलिङका कारण आफूहरूमा एन्जाइटी, डिप्रेसनलगायत मनोसामाजिक असर परेको बताउने बालिकाको संख्या एकतिहाइभन्दा बढी रहेको थियो,” डा. दंगालले भने, “तर, नेपाली परिवेशलाई विश्लेषण गर्दा अझै पनि बुलिङ र त्यसले निम्त्याउन सक्ने मनोसामाजिक प्रभाव प्राथमिकतामा परेको देखिँदैन ।”

यस विषयमा संवेदनशील हुनुपर्ने भए पनि निकै कम प्राथमिकतामा मनोसामाजिक स्वास्थ्य परेको उनको भनाइ छ । “बुलिङबारे धेरै अभिभावकले ख्याल नै गरेका छैनन्,” उनले भने, “यस विषयमा सबै सचेत हुनुपर्छ । विशेषगरी अभिभावक ।”

डा. दंगालले भनेजस्तै ३४ वर्षीया वर्षा सापकोटालाई बुलिङबारे थाहा नै छैन । काठमाडौं, कुलेश्वरकी उनी ९ वर्षको छोराकी आमा हुन् । उनको छोरा कक्षा ४ मा पढ्छन् । “नेपालमा पनि बुलिङ हुन्छ र ! विदेशमा हुन्छ भन्ने त सुनेको हो तर यहाँ पनि त्यस्तो छ भन्ने थाहा छैन,” उनले भनिन्, “विद्यालयबाट हामीलाई केही भनिएको छैन । हामीलाई पनि नेपालमा यो समस्या छैन जस्तो लागेको थियो ।”

वर्षा मात्रै होइनन्, आफ्नो छोरा बुलिङकै कारण आत्महत्याको सोचसम्म पुगेको थाहा पाएपछि झस्किएकी हुन्, १३ वर्षीय किशोरकी आमा । उनलाई पनि यसबारे अझै र स्पष्ट जानकारी छैन । “उसको भाइको कानमा आएर तेरो दाइ त यस्तोउस्तो भनेर साथीले भन्दा रहेछन्,” उनले सुनाइन्, “त्यही सिको गरेर भाइले पनि दाइलाई गिज्याउन थालेको रहेछ । यसरी साथीभाइले जिस्काएकै कारण राम्रोसँग हाँसखेल गर्ने छोरो बोल्दै नबोल्ने भयो भन्ने थाहा नै भएन । तर, अबचाहिँ यसबारे सतर्क भएका छौँ ।”

Bullying-Nepal-1721541530.png

Helpline-Bullying-Nepal-1721547677.jpg
Read our Republishing Policy here.

Comments