सधैँजसो जेठ २, २०८१ का दिन पनि ग्राहकको प्रतीक्षामै थिइन्, रितिका । स्पामा काम गर्ने उनको आम्दानी ग्राहक आए बढ्छ, त्यसैले उनी ग्राहक हुँदा मसाजमा र नहुँदा ग्राहककै प्रतीक्षामा हुन्छिन् ।
त्यो दिन अपराह्नतिर एक हुल मान्छे उनको स्पामा प्रवेश गरे । ग्राहक हुन् कि अरु खुट्याउन नसकेकी उनी अलमलमा परिन् ।
यत्तिकैमा एउटी महिला उनको छेउमा आइन् र उमेर सोधिन् । उमेर बढाएर बताउनु भनेर स्पाकी साहुनीबाट सिकेकी उनले आफ्नो उमेर एक वर्ष बढाएर भनिन्, १७ वर्ष ।
यतिन्जेलसम्ममा उनी त्यो टोली स्पामा अनुगमन गर्न आएको हो भन्नेमा स्पष्ट भइसकेकी थिइन् । आफूले उमेर बढाएरै भनेकाले केही हुँदैन भनेर उनी ढुक्क थिइन् ।
तर १७ वर्ष उमेर बताउने उनलाई अनुगमनमा टोलीले सँगै जान आग्रह गरे । उनले अटेर गरिन् । “तिमीलाई केही हुँदैन, गएर २ घण्टामै फर्कने हो भन्नुभयो, अनि मात्र उहाँहरूसँग आएको हो,” मानव बेचबिखन तथा हिंसामा परेका महिलाहरूलाई आश्रय दिँदै आएको एउटा संस्थाको संरक्षणमा रहेकी उनले भनिन् ।
त्यस दिन जिल्ला प्रहरी कार्यालय, कास्की, पोखरा महानगरपालिका र शक्ति समूहको टोलीले लेकसाइडका सेन्टर प्वाइन्ट स्पा र न्यु भिजन स्पाबाट २-२ जना तथा हिमालय स्पा र प्यारामाउन्ट स्पाबाट १-१ जना गरी रितिकासहितका ६ जनालाई उद्धार गरेको थियो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ मा १८ वर्ष पूरा नभएका बालबालिकालाई जोखिमपूर्ण क्षेत्रमा काममा लगाउन नपाउने व्यवस्था छ । त्यसैले १८ वर्ष उमेर नपुगेका जति उद्धारमा परेका थिए ।
दुई घन्टाका लागि भनेर अनुमगन टोलीसँग आएकी रितिका तोकिएको समयमा स्पामा फर्कन पाइनन् । “केही दिनसम्म त मलाई रिस उठिरहेको थियो,” उनी भन्छिन्, “एक मन त यो सेफ होमबाट नै भागौँ भागौँ लागेको थियो ।”
विभिन्न अन्तरक्रियामा सहभागी भएपछि अहिले उनको मन बदलिएको छ । उनी १८ वर्ष पूरा भएपछि पनि स्पामा फर्किन चाहन्नन् । उनी स्पा फर्कन नचाहनुको कारण हो, त्यहाँ हुने दुर्व्यवहार । स्पामा काम थालेको एक महिनामै उद्धारमा परेकी उनी पटक पटक दुर्व्यवहारमा परेकी थिइन् ।
आफूमाथि ग्राहकले जबर्जस्ती गर्न खोजेको र आफू स्पाको कोठाबाट निस्किएर जोगिएको उनी बताउँछिन् । “त्यो मान्छेलाई एकचोटि देखेँ भने चिन्छु । नाम पनि थाहा छैन मलाई, तर त्यो मान्छेले एकदम जबर्जस्ती गर्न खोजेको थियो,” उनले भनिन्, “त्यतिबेला म बाहिर निस्किएर रोएको थिएँ, साहुनीले किन रोएको भनेर सोधिन, तर मैंले केही नि हैन भनेँ ।”
“त्यो मान्छेले मसाज गर्दै गर्दा मलाई नेगेटिभ ठाउँमा तेल लगाइदेऊ भन्यो,” हिन्दी भाषामा राखेको प्रस्ताव स्मरण गर्दै रितिकाले भनिन्, “यहाँ यस्तो हुँदैन भनेँ हिन्दी भाषामै ।”
पोखराबाट ७० किलोमिटर टाढाकी रितिकाले आफूमाथि हुन लागेको त्यो अनिष्टलाई लुकाएर राखेकी थिइन्, तर उनले गुम्साएर राखेको पीडा हामीसँगको कुराकानीमा खोतल्दै गइन्, “कस्तो भयो त्यत्रो दिनसम्म कसैलाई नभनेको आज चाहिँ भन्नु पर्यो भन्ने ‘फिल’ भइरहेको छ मलाई ।”
त्यो मान्छेलाई झापड हान्न लाग्दा उसले हातले रोकेको र ढोकाबाट बाहिर भाग्न लाग्दा कपालमा समातेर लछारेको उनले बताइन् । “ढोका तानेर भाग्न लागेको कपालमा समातेर कस्तो ‘नेगेटिभ-नेगेटिभ’ गर्यो,” उनी बोल्दै गइन्, “छातीमा समात्यो, चिच्याउन लागेको मुख पनि थुनिदियो, म कसो कसो गरेर ढोकाबाट निस्किएर रोएर बसेँ ।”
अर्कोपटक पनि फेरि त्यो मान्छे उनकै स्पामा आएको थियो । उसले रितिकालाई नै मसाज गरिदिन भनेको थियो । तर उनले अस्वीकार गरिन् । भन्छिन्, “म त गर्दिनँ भनेर भित्र पसेँ, त्यो मान्छे रिसाएर फर्कियो ।”
शारीरिक र मानसिक थकानबाट मुक्ति दिलाउनका लागि टाउकोदेखि पैतलासम्म मसाज गर्न भनेर पुग्ने स्पामा अधिकांश ग्राहक अधवैंसे पुरुष हुन्छन् भने उनीहरूलाई महिला कर्मचारीले सेवा दिन्छन् । तर स्पाभित्र रितिकालाई जस्तो दुर्व्यवहार मात्र होइन, अरु थुप्रै हुन्छ ।
कतिपय स्पामा त यौन कार्य नै हुने गरेको छ । स्पामा शरीरले शरीर मिचिदिने ‘बडी टु बडी मसाज’, यौन अंगमा मसाज र हस्तमैथुन गरिदिएर यौन सन्तुष्टि दिने ‘ह्याप्पी इन्डिङ’ हुन्छ । यो कार्य यौन शोषण र दुर्व्यवहार मात्र नभएर मानव बेचबिखनको कार्य हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन), २०६४ ले कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने कामलाई मानव बेचबिखन भनेको छ ।
हामीसँग कुराकानी गरेका केही महिला श्रमिकले बाध्यतामा परेर आफूहरूले ग्राहकसँग यौन सम्बन्धसमेत राख्ने गरेको स्विकारेका छन् । त्यस्तैमध्येकी एक हुन्- नीता (परिवर्तित नाम) ।
रितिकासहितका नाबालिगलाई प्रहरीले उद्धार गर्नुभन्दा डेढ महिनाअघि चैत २२, २०८० मा हामीले नीतालाई भेटेका थियौं । पार्लरमा काम लगाइदिने आश्वासन दिएर साथीले बोलाएपछि डेढ वर्षअघि दिनभरीको बस यात्रा गरेर उनी पोखरा आएकी थिइन् ।
आर्थिक अवस्था कमजोर भएको परिवारकी साढे १६ वर्षकी उनलाई साथीले पार्लरमा होइन, काम गर्न स्पामा पुर्याइन् । उनी कार्यरत स्पामा प्रहरीले जेठ २ मा अनुगमन पनि गरेको थियो । तर उनी १८ वर्ष पूरा भइसकेकाले उद्धारमा परिनन् ।
स्पामा काम थालेको सुरुको समयमा अलमलमा थिइन् नीता । लोग्ने मान्छेको शरीरमा तेल मालिस गर्ने भनेपछि उनलाई डर लागेको थियो । तर पनि घरको आर्थिक अवस्था सम्झेर उनी बाध्यताले यो काम गर्न तयार भइन् । उनी भन्छिन्, “पहिला पहिला डर लाग्थ्यो । यताउति शरीरमा छुन पनि अर्कै लाग्थ्यो । म के काममा परेछु त्यस्तै सोच आउँथ्यो ।”
स्पामा काम थालेको ५-६ महिना उनले मसाज मात्रै गरिन् । ग्राहकले ‘एक्स्ट्रा सर्भिस’ माग्थे । उनी अलमलमा पर्थिन । पछि साथीबाट थाहा पाइन् र अतिरिक्त रकमको लोभमा उनी ग्राहकलाई खुसी पार्न लागिन् । भन्छिन्, “स्पामा काम थालेको ५-६ महिनापछि हो मैंले ‘ह्याप्पी इन्डिङ’ गरेको ।”
अहिले त उनले नै ‘एक्स्ट्रा सर्भिस’ खोज्ने ग्राहक छान्न थालेकी छिन् । भन्छिन्, “खै बानी लागेर होला खासै दुःख लाग्दैन, हिजो आज त म आफैं आउने ग्राहकलाई ‘एक्स्ट्रा’ हुने भए मात्र गर्छु ।” मासिक ११ हजार तलब थाप्ने उनी आफ्नो आम्दानी महिनामा ४० हजारभन्दा बढी हुने बताउँछिन् । तलबभन्दा बढीको रकम ग्राहकलाई खुसी बनाएर पाएको उनी सुनाउँछिन् ।
नीतालाई भेट्नुभन्दा झन्डै एक महिना अघि हामीले फागुन २७, २०८० मा उस्तै कमजोर आर्थिक पृष्ठभूमिकी प्रबिता (परिवर्तिन नाम) लाई भेटेका थियौं । १८ वर्षको उमेर पूरा नहुँदै २०७५ सालमा पहिलोपल्ट स्पामा काम सुरु गरेकी उनले कोरोनाकालपछि घरजम गरेर छोरी जन्माएकी थिइन् ।
तर श्रीमानको माया पाउन नसकेपछि मन नहुँदा नहुँदै पनि छोरीलाई आमाको साथमा छाडेर उनले स्पामा दोस्रो ‘इनिङ’ सुरु गरेकी हुन् । “श्रीमान् हामी आमा छोरीलाई छाडेर हिँडे,” पोखराबाट गाडीमा एक बिहानको यात्रामा पुगिने ठाउँकी उनी भन्छिन्, “घर खर्च चलाउनै समस्या परेपछि म फेरि यता आएँ ।”
प्रबिताका अनुसार स्पामा उनीसँग ग्राहकले ‘ह्यापी इन्डिङ’ मात्र होइन, ‘बडी टु बडीको’ प्रस्ताव पनि गरेका छन् । केहीले त सिधै यौन सम्बन्धको प्रस्ताव राख्छन् । उनले भनिन्, “धेरैले त ‘बडी टु बडी’ को प्रस्ताव राख्छन्, ‘बडी टु बडी’ भनेको हामी पनि नांगै हुने, उनीहरू पनि नांगै हुने, ‘सेक्स’ नगर्ने ‘बडी’ले मात्र तेल दलिदिने ।”
हामीले प्रबितासँग अहिलेको भन्दा पनि २०७५ सालमा पहिलोपल्ट स्पामा काम गर्दाको अनुभव सुन्न चाह्यौं, जतिबेला उनी नाबालिग थिइन् । त्यतिबेला स्पामा काम थालेकी केही दिनमै ग्राहकबाट ‘ह्यापी इन्डिङ’ को प्रस्ताव आएको थियो, तर आफूले अस्वीकार गर्दै आएकी उनले बताइन् ।
तर एक दिन उनलाई पैसाको खाँचो परेको थियो, त्यो गर्जो टार्न उनले त्यसलाई स्विकारिन् । “मलाई एकचोटि पैसाको एकदमै खाँचो थियो,” उनले त्यो दिन स्मरण गरिन्, “त्यस्तो इच्छा छ भने हजुरको नि मन बुझ्छ मलाई पनि केही हुन्छ भनेर ‘ह्यापी इन्डिङ’ गर्नु न त भनेर २५ सयमा गरेको ।”
भर्खरै १८ वर्ष कटेकी परिता साथीले पार्लर सिक्न भनेर बोलाएपछि पोखरा आइपुगेकी हुन् । तर उनलाई पनि साथीले स्पामै लगिन् । साथीको प्रस्ताव अस्वीकार गर्दै घर फर्कन हिम्मत आएन । त्यसैले उनले जसोतसो स्पामै काम गरिरहेकी छिन् । “सुरु सुरुमा आउँदा एक्कासि केटा मान्छेहरूसँग एक्लै रुममा डर लाग्थ्यो, कहिल्यै केटा मान्छेलाई नछोएको मान्छेले केटा मान्छेको शरीर नै छुनु पर्दा, हात थरर काम्यो,” सुरुवाती दिन सम्झिइन् उनले ।
अरुले जस्तै उनले पनि स्पामा आउने हरेक ग्राहकबाट ‘ह्यापी इन्डिङ’ को प्रस्ताव सुन्नुपर्छ । त्यसरी प्रस्ताव गर्ने बढी भारतीय पर्यटक नै हुने उनको भनाइ छ । तर आफूले अहिलेसम्म ‘ह्यापी इन्डिङ’ नगरेको उनले स्पष्ट पारिन् ।
जोखिमूर्ण क्षेत्र मानेर नेपालको कानुनले मनोरञ्जन क्षेत्रमा १८ वर्षमुनिका बालबालिका श्रममा लगाउन बन्देज गरेको छ । श्रमजीवी महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ले स्पष्ट भनेको छ, “आर्थिक प्रलोभन दिई वा नदिई कसैसँग यौन सम्वन्ध स्थापित गर्न वाध्य पारेमा वा पार्न लगाएमा यौन शोषण मानिनेछ ।”
नेपालको कानुनले १८ वर्षमुनिकासँग सहमतिमै भएको शारीरिक सम्बन्धलाई पनि बलात्कार मान्छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलासँग यौन सम्बन्ध राखेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ कै उपदफा ३ (छ) ले यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई र उपदफा ३ (ज) ले बाल यौन शोषण गर्ने वा गराउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार भनेको छ । यो कसुरको सजाय प्रचलित कानुनबमोजिम जबर्जस्ती करणीका कसुरमा हुने सजाय नै हुने व्यवस्था ऐनले गरेको छ ।
यो ऐनको दफा ६६ को उपदफा ३ (ङ) ले यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरु कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्यलाई बाल यौन दुर्व्यवहार भनेको छ । यस्तो गर्नेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुनेछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी मोहनकुमार थापा नाबालिगलाई काममा लगाउनेलाई बालबालिकासम्बन्धी कसुरको मुद्दा चल्ने बताउँछन् । उनले उद्धार गरिएका बालिकाहरूको उमेर खुल्ने कागजात झिकाइरहेको र सबै अनुसन्धान सकेर मुद्दा अघि बढाउने बताए । उनले भने “दुर्व्यवहार भएको रहेछ भने दुर्व्यवहारमा मुद्दा चल्ने भयो, मानव बेचविखन वेश्यावृत्तिमा बलजफती लगाएको भए यसमा चल्छ ।”
बन्धक बनाएर शोषण
हामीले भेटेकै मध्येकी एक विपना (नाम परिवर्तन) लाई स्पा सञ्चालक आफैंले बन्धक बनाएर दुई महिनासम्म बलात्कार गरेका थिए, जति बेला उनी नाबालिग थिइन् ।
पोहोर भदौमा उनी भागेर जिल्ला प्रहरी कार्यालय कास्कीको शरणमा पुगेकी उनलाई पोखराकै एउटा संस्थाले सेफ होममा राखेको थियो । हामीले सेफ हाउसमै गएर भेटेकी उनी अहिले विदेश गएकी छिन् । स्पा सञ्चालक पुर्पक्षका लागि थुनामा छन् ।
विपनाले बताए अनुसार उनी पोखरा आउनुअघि काठमाडौंको स्पामा काम गर्थिन् । खै किन हो उनलाई पोखरा आउन मन लाग्यो र पोखरा आइन् । पोखरामा काम खोज्ने क्रममा उनको पीडकसँग भेट भयो । ३० हजार तलब दिने भनेपछि उनले ती पीडककै स्पामा काम थालिन् । उनले मसाज गर्नेदेखि रिसेप्सनको कामसमेत गरिन् ।
तर ती पीडकले उनलाई तलब दिएनन् । उल्टै शोषण गरे । “म दिक्क भइसकेको थिएँ, शारीरिक भन्दा पनि मानसिक रुपमा,” उनले भनिन्, “बाहिर जान नदिने आफ्नै अन्डरमा राख्ने, दुई महिना काम गरेको थिएँ । स्यालरी नै दिएनन् । उल्टो मेरो पैसा ब्यागबाट निकालेर लैजान्थे ।”
छैन नियमित अनुमगन
पोखराका कतिपय स्पाले नाबालिगलाई काममा लगाएको र यौन कार्य हुने गरेको जानकारी प्रहरी, स्थानीय प्रशासन र सरोकारवाला सबैलाई छ । तर त्यसलाई नियन्त्रणका लागि पहल हुन सकेको छैन । निर्देशिकाअनुसार स्पा अनुगमनको जिम्मा प्रमुख जिल्ला अधिकारी र उनी नेतृत्वमा गठित समितिको हो ।
तर, जिल्ला प्रशासन कार्यालय, कास्की मनोरञ्जन क्षेत्र भनेर दोहोरी र डान्सबारमा मात्र केन्द्रित छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले चैत २७, २०८० मा हामीसँगको कुराकानीमा स्पा केन्द्रित भएर अनुगमन नगरेको स्वीकार गरे । “कहिले रात्रिकालीन हेर्दा हामीले स्पा पनि हेर्ने गरेका छौं,” उनले भने, “अरु दिउँसोमा स्पाहरू कसरी सञ्चालन भएका छन्, दर्ता भएका छन् कि छैनन्, त्योचाहिँ विगतमा हेरेको यतिबेला हेरेको छैन ।”
गैरसरकारी संस्था राइट फर चिल्ड्रेनले पोखराका मनोरञ्जन क्षेत्रमा लक्षित गरेर कार्यक्रम गरिरहेको छ । ‘प्रयास प्रोजेक्ट’ अन्तर्गत मनोरञ्जन क्षेत्रमा भइरहेका समस्या उजागार गरेर मर्यादित बनाउने काममा क्रियाशील उसले पनि स्पालाई नै केन्द्रित गरेर काम गर्न सकेको छैन ।
प्रयास प्रोजेक्टको जिम्मेवारी सम्हालिरहेकी पशुपति चौधरी भन्छिन्, “दोहोरी, डान्सबारमा क्रियाशील भएर काम गरिरहेको संस्थालाई स्पाको समस्याबारे ज्ञात छ ।” ‘आउट रिच’ मा पुग्छन् संस्थाका कर्मचारी बेलाबेला, जहाँबाट स्पाको समस्याबारे उनीहरू जानकार छन्, तर स्पामा अनुगमनमै जान समस्या हुने गरेको छ । अलिकति खोजी नीति गर्नेबित्तिकै स्पा सञ्चालकले प्रवेश नै नदिने गरेको उनले बताइन् ।
हामीले स्पाको बेथितीका बारेमा समाचार संकलन सुरु गर्न थालेको २ महिनापछि जेठ २, २०८१ मा स्पामा अनुगमन भएर रितिकासहितलाई उद्धार गरिएको थियो । त्यसपछि फेरि जेठ ११, २०८१ मा लेकसाइडका ३ वटा स्पामा टोलीले अनुगमन गरी ५ जनाको उद्धार गरेको थियो । नेक्टर इको फुट स्पाबाट ३ जना तथा पञ्जासे स्पा एन्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट १-१ जना गरी ५ जना नाबालिगको उद्धार भयो ।
शक्ति समूहकी गण्डकी प्रदेश प्रमुख सरिता पौडेल २ पटकमा ११ जना नाबालिग उद्धार हुनुले स्पामा धेरै नै नाबालिगहरू कार्यरत छन् भन्ने संकेत गरेको बताउँछिन् । “त्यो घटनाले स्पामा अझै पनि बालिकाहरू श्रमिकको रुपमा सहभागी छन् भन्ने देखिएको छ”, उनी भन्छिन्, “सेवा लिनकै लागि पनि निर्देशिकाले १८ वर्षमुनिका बालबालिकालाई स्पामा प्रवेश निषेध गरेको छ, तर त्यहाँ बालिका नै काम गरिरहेका छन् ।”
अनुगमन हुुनुभन्दा २ महिनाअघि चैतको सुरुमै हामीले लेकसाइडकै एक स्पामा अस्मिता (परिवर्तित नाम) लाई भेटेका थियौं । कुराकानी गर्दा उनले आफ्ने उमेर १६ वर्ष मात्र भएको बताएकी थिइन् । तर दुईवटै अनुगमनमा उनको स्पा परेको छैन । त्यसैले उनी अहिले पनि स्पामै काम गर्न बाध्य छिन् ।
अधिवक्ता कुञ्जनी परियार प्यासी स्पासहितका क्षेत्रमा काम गर्ने महिला श्रमिकमाथि हुने दुर्व्यवहार नियन्त्रणका लागि कुनै विशेष कानुन नभएको बताउँछिन् । “श्रमिक महिलासँग सम्बन्धित निर्देशिकामा यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्ने भनिएको छ,” उनी भन्छिन्, “प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति बनाउने अनुगमन गर्ने, कारबाहीका लागि सिफारिस र बन्द गर्नसम्म सक्ने भन्ने व्यवस्था छ ।”
तर त्यो निर्देशिका मात्र भएकाले त्यसमा उल्लेख भएका कारबाहीहरू हुन नसकेको अधिवक्ता कुञ्जनी बताउँछिन् । उनी अनुगमन पनि फितलो भएकाले महिला श्रमिकमाथि शोषण भइरहेको बताउँछिन् । उनी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला कामदारले श्रम ऐनअन्तर्गतकै सेवासुविधा पनि नपाएको बताउँछिन् ।
पढाइ बीचमै छाडेर स्पामा काम
हामीले कुराकानी गरेका रितिकासहित अधिकांशको पढाइ एसईईसम्म पनि छैन । रितिकालाई घरबाट आमाबुबाले पढ-पढ भनेका थिए । तर ८ कक्षासम्म मात्र पढेकी उनलाई घरको कमजोर आर्थिक अवस्थाले गर्दा पढ्ने होइन, काम गरेर कमाउनुपर्छ भन्ने लाग्यो । त्यसैले काम खोज्दै पोखरा आइन् ।
पोखरामा होटलमा काम गरिरहेकी थिइन् मासिक १० हजार तलबमा । तर उनलाई साथीले स्पामा काम गर्दा धेरै कमाइन्छ भनिन् । अनि १२ हजार तलब पाउने गरी स्पमा सरेकी थिइन् । रितिका अब पढाइलाई निरन्तरता दिने योजनामा छिन् । आफूले आश्रय पाइरहेको संस्थाका कर्मचारीलाई देखाउँदै उनले भनिन्, “उहाँहरूले केही सहयोग गर्छौँ पढ भन्नुभएको छ, मलाई पनि पढ्न मन लागेको छ ।”
नीताले पनि आठ कक्षापछि पढाइमा ब्रेक लगाइन् । घरमै बस्थिन् । मिल्दापर्दा घरमा सघाउँथिन् । एक दिन पोखरा बस्ने साथीले पार्लरमा जागिर लगाइदिने बताइन् । बुबा गाउँमा पाउँदा मजदुरी गर्छन् । घरको आम्दानीको स्रोत बूढा बुबाको मजदुरी मात्रै थियो ।
घरको अवस्था देखेर पोखरा आउने निर्णय गरिन् । “पोखराजस्तो ठाउँमा आठ कक्षा पढेकोले के काम पाउने ? न नागरिकता थियो न केही थियो,” उनले भनिन्, “१२ हजार पाउने भनेपछि हुन्छ नि त भनेर त्यही काम गर्न थालेँ ।”
१० कक्षासम्म पढेकी अस्मिता पढ्ने लक्ष्यले नै पोखरा आइपुगेकी थिइन् । स्पामा कम्तीमा पनि ९ घण्टा काम गर्ने उनले पढ्नका लागि समय नै पाइनन् ।
साढे १६ वर्षकै उमेरमा स्पामा आइपुगेकी नीताले पनि ८ कक्षासम्म मात्र पढेकी छन् । गाउँमै मजदुरी गरेर पालिएको परिवारलाई केही कमाएर भए पनि मिठोमसिनो खुवाउन सकिन्छ कि भन्ने ठानेर पढाइ रोकेर काम खोज्न निस्कएको उनी सुनाउँछिन् ।
विकृति स्विकार्छन् स्पा सञ्चालक नै
सञ्चालकले नै यौनकार्य हुन्छ भनेर ग्राहक लोभ्याएको अनभुव छ रितिकासँग । “एकपटक एक जना दाइ आएको थियो, साहुनीले ‘भित्र गएर पैसा दिएर उनीहरूले मान्यो भने ‘एक्ट्रा सर्भिस’ गर्नु, मानेन भने जबरजस्ती नगर्नु भनेको छ’ भनेर उसले मसँग भन्यो,” उनले ग्राहकसँगको संवाद सुनाइन्, “तर मैंले म गर्दिनँ भनेँ ।” उनीसँग अरुले पनि जति पैसा माग्छौ दिन्छौँ भनेका थिए ।
पोखरामा कतिवटा स्पामा सञ्चालनमा छन् यकिन तथ्यांक छैन । स्पा प्रा.लि. भनेर केही व्यवसाय रजिस्ट्रर कार्यालय काठमाडौँमा दर्ता छन् । यसबाहेक अन्य व्यवसायअन्तर्गत स्पा सञ्चालनको अनुमति लिएर घरेलुमा दर्ता छन् । अन्य व्यवसायअन्तर्गत अनुमति दिएकाले घरेलुमा पनि स्पाको तथ्यांक छैन ।
स्पा सञ्चालक तथा, स्पा एसोसिएसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार एसोसिएसनमा सय हाराहारीमा स्पा सदस्य छन् । उनी उमेर नपुगेका बालिकालाई काममा लगाउन नपाउने मान्यता एसोसिएसनको रहेको दाबी गर्छन् ।
स्पाको व्यवसायका बारेमा केही नकारात्मक टिप्पणी आए पनि आफूले सञ्चालकलाई प्रश्न गर्न नमिलेको उनको भनाइ छ । “दुईचार जनाको त्यस्तो छ है भन्ने सुनेको छु मैले,” उनी आफ्नो बाध्यता सुनाउँछन्, “सुनेकै भरमा तँ त्यस्तो है भनेर औँला ठड्याउन मिल्दैन मैले ।”
स्पाको मर्म र नीतिनियमविपरीत जानेलाई कारबाही गर्न प्रमाण चाहिने तर त्यस्तो प्रमाण नभेटिएको उनी बताउँछन् । कोरोना सुरु हुनुअघि आफूहरूले नियिमित रुपमा स्पामा अनुगमन हुने गरेको भए पनि कोरोनापछि केही नगरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
स्पा सञ्चालनका लागि सरकारले मापदण्ड नतोकिदिँदा पनि समस्या रहेको एसोसिएसनकी सचिव गंगा पुन बताउँछिन् । “स्पामा अहिले कस्तो छ भने एउटा रुम लिन्छन्, त्यहाँ जस्तो पायो त्यस्तै गर्दिन्छन्,” उनी भन्छिन्, “कसैले त ‘ह्यापी इन्डिङ’ नै गर्छन् ।”
सरकारले त्यस्तो एउटा कोठामा स्पा खोल्न दिने, साउना स्टिम सबै ‘प्रफेक्ट’ भएकालाई मात्रै सञ्चालन गर्न दिनु पर्ने मान्यता बाराही स्पाकी सञ्चालकसमेत रहेकी गंगाको भनाइ छ ।
सञ्चालकले नै कामदारलाई जबर्जस्ती यौन पेसामा संलग्न गराएको पनि गंगा बताउँछिन् । “स्पा साहुले नै कतिपय अवस्थामा यौन पेसामा संलग्न गराउँछन्” स्पाको यथार्थ भन्दै उनी सुनाउँछिन्, “त्यस्ता छन् एउटा दुईटा, उनीहरू नै साँढे पल्टिन्छन्, मैले त राखेर नै कुरा गरेको हो ।”
प्यारामाउन्ट स्पाकी सञ्चालक स्मृति पौडेल आफूले ११ वर्षदेखि यो व्यवसाय गरिरहेको र कहिल्यै नीतिनियमभन्दा बाहिर गएर अनैतिक काम नगरेको दाबी गर्छिन् ।
तर उनी गल्लीगल्लीका स्पाको बोर्ड राखेर र ढोकामा चुकुल लगाएर काम गर्नेहरूले गर्दा आफूहरूको बदानामी भएको भन्दै आक्रोशित भइन् । “गल्लीमा गल्लीमा जानु, रुममा भित्र ढोका लगाएर केके गर्छन् गर्छन्, तर नाम स्पा लेखेको छ, एउटाले गर्दा लगानी गर्नेलाई धेरै गाह्रो भयो,” उनले भनिन् ।
स्पामा शोषण नै शोषण
- सरिता पौडेल
जिल्ला प्रहरी कार्यालय, कास्की, पोखरा महानगरपालिकाको लगायतको टिमले जेठ २, २०८१ म लेकसाइडका ५ वटा स्पामा अनुगमन गर्दा ४ वटा स्पामा १८ वर्षभन्दा मुनिका ६ जना बालिकाहरूले काम गरिरहेको पाएपछि हामीले उद्धार गरेका थियौं । जेठ ११, २०८१ मा फेरि लेकसाइडका ३ वटा स्पामा टोलीले अनुगमन गरी ५ जनाको उद्धार गरेको छ ।
यसले स्पामा अझै पनि बालिकाहरू श्रमिकको रुपमा सहभागी छन् भन्ने देखिन्छ । श्रमिकको रुपमा बालबालिकाहरू सेवा लिने तरिकाले पनि स्पामा प्रवेश गर्न पाइन्न भनेर निर्देशिकाले उल्लेख गरेको छ । तर त्यहाँ त बालबालिकाले श्रमिककै रुपमा काम गरिरहेको अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीले तदरुकता देखाएर बेला बेलामा यस खालको अनुगमन गर्ने, निर्देशिकाविपरीतको काम गर्नेलाई कारबाही गर्ने हो भने स्पामा बालिकाहरूलाई काममा लगाउने क्रम कम हुने थियो ।
सात वर्षदेखि कास्की जिल्लामा रहेर मनोरञ्जन क्षेत्रमा काम गरिरहेको अनुभवका आधारमा भन्नुपर्दा यो क्षेत्रमा महिलामाथि धेरै नै शोषण छ । हामीले जति पनि श्रमिक बहिनीहरू भेट्यौं । उनीहरूको कुरा सुन्दा थाहा भयो कि, यो सेक्टरमा काम गर्ने बहिनीहरूको न्यूनतम तलब नै नेपाल सरकारले तोकेअनुसारको हुँदैन । यहाँ श्रम शोषण छ, यौन शोषण छ ।
काम सुरु गरेको महिना दिनसम्म श्रमिक बहिनीहरूलाई यौन शोषणका बारेमा केही थाहा हुँदैन । जब मसाज सेवाका लागि आउने ग्राहकबाट ‘एक्स्ट्रा सर्भिस’ को माग हुन्छ तब उनीहरू अलमलमा पर्छन् । उनीहरूले दिदी तथा पुराना स्टाफसँग यसबारेमा सोधपुछ गर्छन्, अनुभवी सहकर्मीले नै बताएपछि मात्र उनीहरूले थाहा पाउँछन् ।
जतिबेला उनीहरूले थाहा पाउँछन् । त्यो बेलामा उनीहरू काम छाड्न नसक्ने स्थितिमा हुन्छन् । उनीहरू काम गर्नै पर्यो, जागिर खानै पर्यो भन्ने सोचेर त्यही बस्न बाध्य हुन्छन् ।
उद्धार भएर आएका कतिपय बहिनीहरूको परिवारसँग पनि हाम्रो भेट हुन्छ । उनीहरूसँगको कुराकानीमा आधारमा भन्नु पर्दा छोरीले के काम गरिरहेकी छ भन्ने पनि थाहा हुँदैन ।
काउन्सिलिङको क्रममा कतिपय बहिनीले अर्के काम भनेर आएको हो, स्पा भनेर आएको होइन पार्लर भनेर आएको भनेका छन् । काम गर्दै जाँदा पछि मात्र स्पा रहेछ भनेर थाहा पाउने गरेको तर त्यहाँबाट निस्किएर अन्त काम गर्ने हिम्मत जुटाउन नसकेको हामीले पाएका छौं ।
हामीले पाए अनुसार अधिकांश बालिका श्रमिकहरू गरिबी, पारिवारिक कलहले समस्यामा परेका तथा दलित र जनजाति समुदायका छन् । उनीहरू पारिवारिक पृष्ठभूमि, आर्थिक कारणले कामको खोजीमा घर छाडेर हिँडेको र यता स्पामा आइपुगेको भेटिन्छ ।
- (शक्ति समूहको गण्डकी प्रदेश प्रमुख पौडेलसँगको कुराकानीमा आधारित)
'स्पालाई जोखिमयुक्त स्थल घोषणा गर्नुपर्छ'
स्पा तथा मसाजका साथै होटल तथा रेस्टुरेन्टमा काम गर्ने महिलाहरूमाथि हुने दुर्व्यवहार र त्यसको न्यूनिकरणका लागि गर्नु पर्ने कामका बारेमा रक्षा नेपालकी संस्थापक मेनुका थापासँग गरिएको कुराकानीको सम्पादित अंश ।
नेपालमा मनोरञ्जन क्षेत्रमा काम गर्नेे महिलामाथि हिंसाको अवस्था कस्तो छ ? विशेषगरी काठमाडौँ र पोखराजस्ता पर्यटकीय सहरमा ?
यसलाई कसले कुन स्वार्थको लागि मनोरञ्जनात्मक क्षेत्र भनेर नामकरण गर्यो मैले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । खासमा यो जोखिमयुक्त क्षेत्र हो । यहाँ बाध्यताले श्रम गर्नेहरू, काम गर्नेहरू दुःखी छन्, पीडामा छन्, शोषणमा छन् । त्यहाँ शोषण गर्न जाने मात्रै खुसी होलान्, त्यो क्षेत्रबाट मनग्य धन आर्जन गर्नेहरू खुसी छन् ।
एउटा पक्ष हरपल आँसु बगाइरहेको छ, अर्को पक्ष उनीहरूको आँसुमा मस्ती गरिरहेको छ । तसर्थ यो मनोरञ्जनात्मक क्षेत्र होइन, जोखिमयुक्त क्षेत्र हो । यी जोखिमस्थलमा कम गर्ने महिलाहरूको अवस्था दयनीय छ । उनीहरूले त्यो स्थानको सट्टा मर्यादित र दिगो बैकल्पिक पेसाका लागि राज्यसँग माग गरिरहेका छन् ।
चाहे काठमाडौं होस् वा पोखरा वा अन्य कुनै सहर । त्यहाँ कार्यरत महिलामाथिको आर्थिक र शारीरिक शोषण चरमबिन्दुमा छ । सरकारले न्यूनतम पारिश्रमिक भनी तोकेको १३ हजार रुपैयाँ कहिल्यै पाएका छैनन् उनीहरूले । सबैभन्दा प्रमुख कुरा त, काम दिने रोजगारदाताले कुनै कागजी पेपर अर्थात् नियुक्ति पत्र नदिइकन काममा लगाइरहेको छन्, जुन हाम्रो संविधान र कानुनविपरीत छ ।
पछिल्लो समय महिला/बालिकामाथि कार्यक्षेत्रमा यौन दुर्व्यवहार हुने/जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको पाइएको छ, किन महिला तथा बालिका यो काममा आउन बाध्य छन् ?
२०६० को दशकमा नेपालमा आन्तरिक द्वन्द्वको समय थियो, तसर्थ द्वन्द्व पीडित/विस्थापित भएका महिलाहरू ज्यान जोगाउनका लागि आफ्नो गाउँ छाडेर सहर पस्न बाध्य थिए । आफू पालिन र बालबच्चाको पालन पोषणाका लागि यस्ता जोखिमपूर्ण क्षेत्रमा काम गर्न महिलाहरू विवश भएको पाइएको थियो ।
अहिले २०८१ मा बेरोजगारी, भूकम्प र कोरोनाबाट आक्रान्त परिवारहरू जसको समस्यालाई राज्यले सम्बोधन गरेनउनीहरू नै यो क्षेत्रमा आएका छन् ।
अर्को प्रमुख कारण नेपालको कानुनले बिहेवारी २० वर्ष पारि भने पनि ठूलो जमात बाल विवाहमा होमिइरहेको छ । बाल्यावस्थामा नै विवाह गर्ने र उमेर बढेपछि श्रीमान् श्रीमतीबीच वैचारिक द्वन्द्व आउने र डिभोर्स हुने गरेको छ । यो बेलासम्ममा महिलाको साथमा २-३ वटा बच्चा भइसक्छन् । महिलाले आफ्नो सन्तान त्याग्न नसक्ने हुँदा उनीहरू सन्तान हुर्काउनका लागि सहर पसेर जस्तो भए पनि काम गर्न बाध्य छन् ।
मनोरञ्जन क्षेत्रमा हुने यौन शोषण र श्रम शोषणका विषयमा सरकार जानकार हुँदासमेत आवश्यक अनुगमन भएको पाइएन, अनुगमन नहुनु कारण के हो ?
सबैभन्दा प्रमुख कारण सरकारले यो गहन विषयलाई प्राथमिकतामा नराख्नु नै हो । जसले ती क्षेत्र सञ्चालन गरिरहेको छ उनीहरूलाई राजनीतिक संरक्षण मिल्नु पनि हो । यो क्षेत्रको अनुगमनका लागि मनिटरिङ तथा एक्सन कमिटीको स्थापना भएको भए पनि त्यसले खासै काम गरिरहेको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन-२०७५ मा मनोरञ्जन व्यवसायका श्रमिकहरू जबरजस्ती श्रमको सिकार रहेको, आफ्नो इच्छाविपरीत यौन सेवा उपलब्ध गराउन बाध्य रहेको, नियुक्तिपत्र/करारबिनै कार्यरत रहेको, श्रम ऐनले तोकेबमोजिम न्यूनतम ज्याला र बिदाजस्ता आधारभूत सेवावाट वञ्चित रहेको एवं रोजगारदाताको दबाब र डरमा रहनुपरेको अवस्था छ भनेर प्रस्टसँग नै खुलाएको छ । तर पनि नेपाल सरकार निदाइरहेको छ ।
तपाईँले जुन क्षेत्रलाई जोखिम क्षेत्र भन्नुभयो नि, यो क्षेत्रमा कार्यरत महिलामाथि देखिएका समस्या समाधानका उपाय के हुन सक्लान् ?
जुन दिन सरकार अहिले मनोरञ्जन क्षेत्र भनेर हल्का रुपमा बुझिरहेको सवाललाई जोखिमयुक्त क्षेत्र भनी घोषणा गरेर उक्त क्षेत्रमा कार्यरत महिला तथा बालिकाका बारेमा गम्भीर बन्छ, त्यही दिन अहिले हामीले सुनिरहेको त्यो क्षेत्रभित्रको हिंसा र शोषण अन्त्य हुन्छ ।
स्रोत र साधन सम्पन्न राज्यले चाह्यो भने यो समस्या चुट्कीका भरमा समाधान गर्न सकिन्छ । राज्यले उपेक्षा गरेसम्म वा भनौँ नचाहेसम्म यो समस्या समाधान हुँदैन । मानव तस्करहरूले अहिले टार्गेट गरिरहेकै भनेको ‘कथित मनोरञ्जनात्मक क्षेत्र’मा काम गर्ने महिला तथा बालिकालाई हो । यसको रोकथाम गर्न सरकारसँगै सरोकारवाला निकाय सबै गम्भीर हुनुपर्छ ।
नेपालस्थित अमेरिकी दूतावासले तयार गरेको मानव बेचविखन प्रतिवेदन (२०२३) मा काठमाडौं उपत्यकाको मनोरञ्जन क्षेत्रमा कार्यरत १७ प्रतिशत कर्मचारी बालिका छन् भने ६२ प्रतिशत वयस्क महिलाले बाल्यकालदेखि नै काम सुरु गरेका छन् भनिएको छ, तसर्थ यसलाई जोखिमयुक्तस्थल घोषणा गर्न ढिलाइ गर्नु हुँदैन ।
(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)
Read our guidelines for Republishing this story here.