Navigation
गैँडा संरक्षणमा चुनौती बन्दै विद्युतीय धराप Tanka Dhakal | Apr 23, 2024 10 mins to read

२०७९ को माघको पहिलो हप्ता चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एकसिङ्गे गैँडाको माउ र हुर्किंदै गरेको बच्चा तस्करले विद्युतीय धरापमा पारेर मारे । बस्ती नजिकैको मन्दिर क्षेत्रबाट बिजुलीको नांगो तार (ग्याभिन तार) बिछ्याएर गैँडाको सिकार गरिएको थियो । यस घटनालाई गैँडा संरक्षण प्रयासमा नयाँ चुनौतीका रूपमा लिइएको छ । “गैँडा मार्नका लागि नयाँ तरिका प्रयोग गरेको देखियो,” चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्छन्, “यो निकै चिन्ताको विषय हो ।”

तस्करले गैँडा मार्न अपनाउने तरिकामा आएको परिवर्तनले संरक्षणकर्मी चिन्तामा छन् । उनीहरू चिन्तित हुनुको प्रमुख कारण यो जनावरको अस्तित्वमाथिको खतरा हो । विश्वमा सेतो गैँडा, एकसिङ्गे गैँडा, कालो गैँडा, जाभन गैँडा र सुमात्रन गैँडा गरी पाँच प्रकारका गैँडा पाइन्छन् ।

नेपालमा पाइने एकसिङ्गे गैँडा हो । यसको प्रमुख बासस्थान भारत र नेपाल हो । भुटानको वन क्षेत्रमा पनि यी गैँडा जाने गरेका छन् । विश्वमा अहिले ४०१८ हाराहारीमा एकसिङ्गे गैँडा रहेको तथ्यांक छ । यसमध्ये नेपालमा ७५२ वटा गैँडा रहेको तथ्यांक छ भने बाँकी ३ हजारभन्दा बढी गैँडा भारतमा छन् । भारतको असमस्थित काजिरंगा राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै २६१३ तथा नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वडा गैँडा रहेको तथ्यांक छ ।

सन् १९८० को दशकदेखि लगातार संख्या बढेको देखिए पनि अझै एकसिङ्गे गैँडा ‘इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन)' को ‘रेड लिस्ट’ मा छ । आईयूसीएनले विश्वभरि लोप हुने खतरामा रहेका जनावर, वनस्पतिलगायत प्रजातिको सूची बनाउने गर्छ । आईयूसीएनले रेड लिस्टका सन्दर्भमा अहिलेसम्म १५७१०० भन्दा बढी प्रजातिहरूको अध्ययन गरेको छ । जसमा ४४ हजारभन्दा बढी प्रजाति चाहिँ लोप हुने खतरामा छन् । आईयूसीएनको विलुप्त हुने जोखिममा रहेका प्रजातिको सूचीमा उभयचर, स्तनधारी, चरा आदि रहेका छन् । त्यो सूचीमा एकसिङ्गे गैँडा पनि छ ।

चोरीसिकारजस्ता आपराधिक क्रियाकलाप विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणमा चुनौती बनेका छन् । यो प्रजातिको संरक्षणमा गम्भीर खतराका रूपमा कायमै छन् ।

चितवन राष्ट्रिय निकुञ्जको आहालमा खेल्दै गरेको गैँडा । तस्बिर : टंक ढकाल

चोरीसिकारका कारण नेपालमा गैँडाको संख्या सन् १९६५ तिर घटेर करिब एक सयमा सीमित हुन पुगेको थियो । जबकि, त्यसको डेढ दशकअघिसम्म चितवन राष्ट्रिय निकुञ्जसहित नेपालका जंगलमा ८ सय गैँडा फेला परेका थिए । गैँडा गस्ती, राष्ट्रिय निकुञ्जको स्थापना तथा चोरीसिकार नियन्त्रणका लागि निरन्तर प्रयासका कारण गैँडाको संख्या बढेर ७५२ पुगेको पछिल्लो पटक सन् २०२१ मा भएको गणनाले देखाएको छ । गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा फेला परे । तीमध्ये वयस्क ५२० वटा, अर्धवयस्क ९६ वटा अनि बच्चा १३६ वटा रहेका छन् । नेपालमा सन् १९५० को गणनायता पछिल्लो पटक नै सर्वाधिक संख्यामा गैँडा गनिएका हुन् ।

एकसिङ्गे गैँडाको संख्या उत्साहजनक रूपमा बढेको घोषणा गर्दा संरक्षणकर्मी पनि उत्साहित भए । साथै, संरक्षणमा चुनौती थपिएको उनीहरूको बुझाइ थियो । संरक्षणकर्मी चोरीसिकारलाई गैँडा संरक्षणको स्थायी समस्या ठान्छन् । त्योबाहेक जलवायु परिवर्तनका कारण वासस्थान, घाँसेमैदान र पानीका स्रोतमा भएको संकुचनलाई पनि सरंक्षणमा देखिएको चुनौतीका रूपमा लिइएको छ ।

घाँसेमैदान र बासस्थानमा मिचाहा प्रजातिको फैलावट तथा आकस्मिक बाढीसहितका जलवायुजन्य गतिविधिले गैँडा संरक्षणमा चुनौती बढाउन सक्ने डा. गणेश पन्त बताउँछन् । डा. पन्तले यसबारे अध्ययनसमेत गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सूचना अधिकारी भएर कामसमेत गरिसकेका डा. पन्त भन्छन्, “अनुकूलनका प्रयास अपनाइएन भने जलवायु परिवर्तनको प्रभाव गैँडाको संरक्षणमा थप समस्या सिर्जना गर्ने कारक बन्न सक्ने हाम्रो अध्ययनबाट देखिएको छ । चोरीसिकार, मानव वन्यजन्तु द्वन्द्वलगायत स्थायी कारणलाई पनि बिर्सन भने हुँदैन ।”

खाग, खुर आदि अंगका लागि हुने चोरीसिकारका कारण गैँडा मारिनु चिन्ताजनक रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । त्यसमाथि तस्करले चोरीसिकारमा अपनाउने तरिकामा आएको परिवर्तनले चिन्ता झन् बढाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका वडा–२ सेहरी गाउँनजिकै नारायणी नदीको किनारमा माघ ६, २०७९ मा माउ र सानो गैँडा मारिए । त्यसका लागि तस्करले बिजुलीको नांगो तार धरापका रूपमा प्रयोग गरे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सो घटनामा संलग्न भएको आरोपमा जेठ १२, २०८० मा तीन जनालाई पक्राउ गर्‍यो । रामग्राम नगरपालिका–१८ धरमपुर मन्दिर टोलका कृष्णबहादुर महतो, सिखाराम थारू र होमबहादुर बिकलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू हिरासतमा छन् । बाँकी कानुनी प्रक्रिया भइरहेको राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत चपरचुलीमा बडेला खोलानजिकै ६ र १८ वर्षका दुई पोथी गैँडा कात्तिक ३०, २०८० मा मारिएको अवस्थामा भेटिए । तस्करले खाडल खनेर गैँडा मारे । यो चोरीसिकारको पुरानो तरिका हो । सो घटनाको अनुसन्धान भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यी दुई घटनाले गैँडा चोरीसिकार अपराधमा पुरानोसँगै नयाँ तरिका प्रयोग भइरहेको देखाएको छ । जसले गैँडा संरक्षणमा चुनौती थपेको विभागले बताएको छ ।

चोरीसिकारमा विद्युतीय धराप नयाँ तरिका हो ?

“होइन, यसअघि चितवन राष्ट्रिय निकुञ्जनजिकै जगतपुरमा २०६३ सालमा तस्करले विद्युतीय धरापमा पारेर गैँडा मारेका थिए,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्की भन्छन्, “तर, खागसहित महत्त्वपूर्ण अंग तस्करीको उद्देश्यले धेरैपछि विद्युत् प्रयोग गरेर तस्करले गैँडा मारेका हुन् ।”

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा तस्करले गाउँनजिकै रहेको मन्दिरको विद्युत् लाइनबाट नांगो तार जोडेर दुई गैँडा मारेपछि निकुञ्ज प्रशासन झस्किएको हो । “बस्तीमा गैँडा आउने र खेतीबाली नाश गर्ने अवस्थामा वन छेउका बासिन्दाले आक्रोशमा विद्युतीय धराप राख्दा यसअघि पनि गैँडा मर्ने गरेका थिए,” पछिल्लो घटनाको अध्ययन गरिरहेका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन्, “तर, ती घटनामा गैँडाका खाग, खुरलगायत अंग सुरक्षित हुन्थे । अहिले माउको खाग काटेर लगिएको छ । त्यसैले यस घटनामा तस्करकै संलग्नता पुष्टि हुन्छ । यो चिन्ताको विषय हो ।”

वन क्षेत्र आसपासका गाउँलेले विद्युतीय धराप राख्ने र त्यसका कारण गैँडा मारिएका घटना छन् । गएको असोजमा पनि चितवनको कुमरोज सामुदायिक मध्यवर्ती वननजिकै खैरहनी नगरपालिका वडा–१२ मा स्थानीयले आफ्नो बंगुर फारममा लगाएको विद्युत्को तारबाट करेन्ट लागेर एउटा गैँडा मरेको थियो । “यस्ता घटना मानव वन्यजन्तु द्वन्द्वको उपज हुन्,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक कार्की भन्छन्, “विभाग यसमा सजग छ । तर, सेहरीको घटनाले हामीलाई झस्काएको छ ।”

पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा यस अवधिमा कुल ३२१ गैँडा मरेका छन् । त्यसमध्ये ३२ वटा गैँडा तस्करले मारेका हुन् । त्यसमा पनि दुई वटामा हतियारका रूपमा विद्युत् प्रयोग गरिएको हो । तर, यो अवधिमा विद्युतीय धरापमा परेर अरू ८ वटा गैँडा पनि मरेका छन् ।

के यो गैँडा तस्करीको तरिकामा परिवर्तनको संकेत हो ?

चितवनको घटनालाई आधार मानेर विद्युत्लाई हतियारका रूपमा तस्करले प्रयोग गर्ने संस्कार नै बसिसकेको भन्न नसकिने अध्ययन टोलीका संयोजकसमेत रहेका प्रवक्ता कार्की बताउँछन् । “तर, त्यसको सम्भावना बलियो देखिएको छ,” उनी भन्छन् ।

६ सदस्यीय अध्ययन टोलीका अर्का सदस्य हुन्, सहायक अनुसन्धान अधिकृत रूपक महर्जन । उनी विभागअन्तर्गतको वन्यजन्तु अपराध नियन्त्रण शाखामा रहेर काम गर्दै आएका छन् । “वन्यजन्तु अपराध नियन्त्रण विशेषगरी गैँडा तस्करी नियन्त्रणमा दुई दशकभन्दा लामो अनुभवमा यस्तो देखिएको छैन,” उनी भन्छन्, “विद्युत्लाई हतियारका रूपमा प्रयोग गरेर खाग तस्करी भएको घटना दुर्लभ नै हो ।”

गैँडा पाइने जंगलका अधिकांश क्षेत्रमा विद्युत् पुगेको महर्जन बताउँछन् । भन्छन्, “अब त तस्करले त्यसलाई नै हतियार बनाउने डर बढ्यो ।” चितवन राष्ट्रिय निकुञ्जका अनुसार यो वर्ष हालसम्म १४ वटा गैँडा मरेका छन् । त्यसमध्ये तीनवटा करेन्ट लागेर मरेका हुन् । दुइटालाई भने तस्करले मारेको देखिएको छ ।

संरक्षणकर्मी रामपृत यादव नेपालमा राष्ट्रिय निकुञ्ज स्थापनाको प्रयासदेखि नै संरक्षण क्षेत्रमा सक्रिय छन् । चितवन घटनालाई उनले तस्करले विद्युत्लाई हतियारका रूपमा प्रयोग गर्न थालेको संकेतका रूपमा बुझेका छन् । “पहिले गैँडा आउने बाटोमा खाल्डो खनेर त्यसमा गैँडा परेपछि हतियार प्रयोग गरेर मार्थे,” उनी भन्छन्, “त्यसपछि धारिलो हतियार र गोली प्रयोग गर्न थाले ।”

यादव २०२७ सालदेखि संरक्षण कार्य गरिरहेका छन् । उनी चितवन राष्ट्रिय निकुञ्ज स्थापनाका लागि बनाइएको तत्कालीन समितिका समस्यसमेत थिए । “भाला, गोली हुँदै तस्करको आँखा अब विद्युतीय धरापमा पुगेको देखियो,” उनी भन्छन्, “तस्करले स्थानीय परिवेशको राम्रो अवलोकन गरेर विद्युतीय धराप बनाएको जस्तो देखिन्छ । यस्तो सम्भावना अरू मध्यवर्ती क्षेत्रमा पनि हुन सक्छ । किनकि, सबै क्षेत्रमा विद्युत् पुगेको छ ।”

गैँडा चोरीसिकारको अवस्था कस्तो छ ?

अवस्था सुधार भएको छ । तर, तस्करीका घटना रोकिएका छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की केही वर्ष शून्य चोरीसिकार कायम गर्न सफल भए पनि फेरि तस्करीका घटना बढ्न थालेको बताउँछन् । गैँडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जले पाँच आर्थिक वर्ष (२०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७) शून्य चोरीसिकारी वर्ष मनाएको थियो । अर्थात्, त्यसबेला तस्करले गैँडा नमारेको विभाग बताउँछ । तर, गतवर्ष देशभर चोरीसिकारका कारण चार गैँडा मरे ।

संरक्षणकर्मी डा. शान्तराज ज्ञवाली बासस्थानको विनाश, त्यसको वहन क्षमतालगायत विषयमा ध्यान दिइनुपर्ने बताउँछन् । “यसको अर्थ चोरीसिकार नियन्त्रणका लागि काम गर्नु हुँदैन भन्ने होइन,” वन्यजन्तुको बासस्थानबारे जानकार उनी भन्छन्, “यो त नियमित रूपमा गरिरहनुपर्छ । तस्करी स्थायी समस्या हो । तस्करले समय क्रमसँगै नयाँनयाँ विकल्प अपनाएर गैँडा मार्ने गरेका छन् । अहिले विद्युत् प्रयोग गर्न थालेको देखियो । यसमा संरक्षणकर्मी चनाखो भइरहनुपर्छ ।”

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वन्यजन्तु अपराध नियन्त्रणमा सहयोग गर्दै आएको छ । सीआईबीका अनुसार २०७४ पछि यो वर्ष पहिलो पटक गैँडाको असली खाग तस्करबाट बरामद भयो । २०७० देखि हालसम्म सीआईबीले नियन्त्रणमा लिएका १६ वटा खागमध्ये तीन वटा मात्रै असली खाग रहेको पुष्टि भयो । प्रहरी निरीक्षक हिरेन्द्र रोकाया गएको पुस २० मा काठमाडौँबाट गैँडाको असली खाग बरामद गरिएको बताउँछन् । “तस्करीमा संलग्नहरूको सञ्जाल पछ्याउँदै जाँदा १५ जना पक्राउ गर्न सफल भयौँ,” उनी भन्छन्, “गैँडा मार्नेदेखि आखेटोपहार (खाग) बिक्री गर्नेसम्म पुग्न अनुगमन र अनुसन्धान निरन्तर जारी राख्नुपर्ने देखिन्छ ।”

के भइरहेको छ, के गर्न सकिन्छ ?

“अपराध गर्ने तरिका फेरिएको देखियो,” विभागका प्रवक्ता कार्की भन्छन्, “अब अनुगमन, निगरानी र त्यसका लागि प्रयोग गरिँदै आएका प्रविधि तथा रणनीतिमा परिवर्तन गर्नुपर्ने भएको छ ।” गैँडा संरक्षणमा अपराधीभन्दा अघि बढेर उनीहरूका रणनीति बुझेर प्रतिक्रियात्मक काम गरिनुपर्ने उनी बताउँछन् । भन्छन्, “विदेशमा गैँडालगायत ठूला जनावर मार्न तस्करले साइलेन्ट गन प्रयोग गरेका उदाहरण छन् । त्यो पनि नेपाल आउने हो कि भनेर हामी सचेत हुनुपर्ने देखियो ।”

चितवन राष्ट्रिय निकुञ्जमा चरिरहेको गैँडा । तस्बिर : टंक ढकाल

संरक्षणकर्मीलाई झुक्याउन पनि तस्करले नयाँ तरिका प्रयोग गरेको हुन सक्ने भन्दै विभागले अध्ययन भइरहेको जनाएको छ । संरक्षण प्रयासलाई प्रभावकारी बनाउन वन्यजन्तु विशेषगरी गैँडालाई लिएर अपराधको प्रवृत्ति परिवर्तन भएको छ । त्यसअनुसार सजग रहनु भनेर मातहतका निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र, सम्बद्ध सुरक्षा निकायलाई सचेत गराइएको कार्की बताउँछन् ।

त्यस्तै, समुदायमा आधारित संरक्षण प्रयासलाई केन्द्रमा राखिनुपर्ने संरक्षणकर्मी रामपृत यादवको भनाइ छ । “प्रशासन र सुरक्षाकर्मी चाहिन्छ तर चोरीसिकार नियन्त्रणमा प्रमुख भूमिका समुदायको हुन्छ,”
पाँच दशकदेखि संरक्षण प्रयासमा सक्रिय उनी भन्छन्, “विशेषगरी मध्यवर्ती क्षेत्रका बासिन्दाको सहभागितालाई निरन्तर केन्द्रमा राखिनुपर्छ । उनीहरूलाई तस्करको फेरिएको रणनीतिबारे बुझाउनुपर्छ । अनि, मात्रै संरक्षण प्रयास सफल हुन सक्छ ।”

कानुनी व्यवस्था कस्तो छ ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गैरकानुनी तरिकाले जनावर मार्ने गतिविधि गर्नेलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवानावा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ । तर, मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले आफ्नो बाली तथा चौपाया जोगाउन वा आत्मरक्षाका लागि अरू कुनै विकल्प नभएको अवस्थामा हातहतियार प्रयोग गर्न वा अन्य कुनै उपाय गर्न सकिनेछ र त्यस्तो गर्दा कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा कसुर नमानिने सोही ऐनमा उल्लेख छ ।

छिमेकी देश भारतमा भने वन्यजन्तु (संरक्षण) कानुन, १९७२ तथा विद्युत् कानुन २००३ अनुसार किसानहरूलाई विद्युतीय तारबार राख्न वर्जित छ । यस्तै अमेरिकामा राज्यअनुसार विद्युतीय तारबारको व्यवस्था र सीमा फरक छन् । विद्युतीय तारबारको व्यवस्था र त्यसका आधारभूत आधारहरू पहिले नै निर्धारण गरिएको पाइन्छ ।

नेपालमा सजाय र कसुरको दायरामा ऐन स्पष्ट भए पनि विद्युतीय धराप र त्यसले वन्यजन्तु मात्रै नभएर वरपरका बासिन्दामा पार्न सक्ने घातक जोखिमबारे मौन छ । झापाको बिर्तामोडमा माघ २७, २०७९ मा जंगली हात्तीबाट जोगिनका लागि आफैँले थापेको विद्युतीय धरापमा परेर स्थानीय खेम श्रेष्ठको मृत्यु भयो । यस्तै बर्दियाको ठाकुर बाबा नगरपालिकामा असोज, २०७८ मा बँदेल मार्न राखिएको विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

यस्ता घटनाको विवरण संकलन आफूहरूको दायरामा नआउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्त बताउँछन् । तर, यो किसिमका घटना नहुन भनेर विशेषगरी तराईका राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा दुई दशकदेखि विद्युतीय तारबार (झड्का लाग्ने) गर्ने गरिएको छ । त्यसको स्पष्ट मापदण्ड वा कानुनी आधार छैन । “विद्युतीय तारबारका लागि कुनै पनि कानुन छैन,” डा. पन्त भन्छन्, “यो मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि आवश्यकताका आधारमा अपनाइएको उपाय मात्रै हो ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सन् १९९० को दशकदेखि निकुञ्ज आसपासका क्षेत्रमा विद्युतीय तारबारका लागि भएको खर्चको यकिन विवरण छैन । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०५४ सालयता देशका विभिन्न स्थानमा करिब साढे तीन सय किलोमिटर विद्युतीय तारबारका लागि १२ करोड ३८ लाख १२ हजार १० रुपैयाँ खर्च भएको छ । कोषका अनुसार २०५४ सालमा बर्दिया राष्ट्रिय निकुञ्जबाट विद्युतीय तारबारको सुरुवात भएको हो । हालसम्मको लागत करिब २० करोड रुपैयाँभन्दा बढी हुन सक्ने भन्ने कोषसँग त्यसको यकिन तथ्यांक भने छैन ।

लागतको यकिन विवरण नै नभएको बताए पनि तारबार गर्न भने रोकिएको छैन । गत वर्ष कोशीटप्पु राष्ट्रिय निकुञ्जमा विद्युतीय तारबार लगाइएको थियो । त्यसमा खटिएका इन्जिनियर बिक्की लाखाका अनुसार विद्युतीय तारबार र विद्युतीय धरापमा भिन्नता छ । “तारबारमा ४ देखि १० भोल्टसम्मको विद्युत् प्रवाह हुन्छ, त्यो पनि डिसी करेन्ट अर्थात् केही छिन विद्युत् आउने केही छिन जाने,” उनी भन्छन्, “धरापमा भने तस्करहरूले सिधै बिजुलीको लाइनबाट हुक गरेर नांगो तार बिछ्याउने गर्छन् । जुन मानव र जनावरका लागि घातक हुन्छ ।”

Read our guidelines for Republishing this story here.

Comments