हामी गोरखाको धार्चे ताकेर अघि बढ्दै छौँ । हाम्रो अगाडि शव वाहन गुडिरहेको छ । जंगलबीच रहेको हरस्याङ खोला पुगेपछि शव वाहन घच्याक्क रोकियो । किन रहेछ भनेर पछिल्लो गाडीमा रहेका हामी ओर्लियौँ अनि चालकछेउ पुगेर बुझ्यौँ । उनले जवाफ दिए, “अब यो गाडी अगाडि बढ्न सक्दैन, यसको ढाड भाँचिन्छ । यस्तो पहाडमा चल्ने गाडी नै होइन यो ।”
मलेसियामा कार दुर्घटनामा परी ज्यान गुमाएका सन्तबहादुर सुनारको शव घर पुर्याउन वैदेशिक रोजगार बोर्डले पठाएको बा १९च २९८७ नम्बरको गाडी त “टु–ह्वील” रहेछ । अब पर्यो आपत् ! राति साढे ८ बजेको समय छ । पुग्नु छ अझै तीन घण्टा टाढा । गाडी फिर्ता गरेर शव आफैं बोक्ने स्थिति पनि छैन । खाँदाखाँद ६ जना बसेको अर्को गाडीमा काठको बाकस बोक्न मिल्दैन ।
मृतकका दाइ दिनेश सुनारले शव बुझ्ने सबै प्रक्रिया सकेपछि जनवरी १० मा (पुस २६, २०७९) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव वाहन निस्कँदा दिउँसो २ बजिसकेको थियो ।
घरमा गाउँले र आफन्तले दिउँसैदेखि शव कुरिरहेका थिए । केही युवा त शव बोक्न भनेर खोरलाबेंसीमा झरिसकेको खबर थियो । कठ्यांग्रिँदो चिसोमा उनीहरू कसरी पर्खिबसेका होलान् भन्ने सम्झेर पनि दिनेश तनावमा पर्थे ।
सबै परिस्थिति र बाध्यता सुनाएर दिनेशले अनुनय गरेपछि चालक अघि बढ्न तयार भए ।
शव वाहनमा सन्तका तीन आफन्त बसेका थिए । दिनेशलगायत हामी पछि–पछि अर्को गाडीमा थियौँ ।
न्याउली खोला पुगेपछि शव वाहन रोकियो । हामीले फेरि ओर्लेर के भयो भनेर सोध्यौँ । शव वाहनका चालकले “अब गाडी अगाडि जाँदैन” भन्ने जवाफ दिए । शव वाहनमा रहेका आफन्तको ओठतालु सुकेको थियो । उनीहरूले “कसरी हुन्छ, जाऔँ न” भन्दै गुहारे । त्यसपछि चालकले सडकमा “ढुंगा हाल्नुपर्यो” भने । दायाँ–बायाँबाट ढुंगा उठाउँदै सडकमा बिछ्याएपछि शव वाहन गुड्यो ।
आरूघाट गाप–३ सोतीस्थित न्यु चुम भ्याली गेस्ट हाउसमा खाना खान रोकियौँ । खाना खाने क्रममा शव वाहनका चालकसँग कुरा भयो । पहाडको यस्तो कच्ची सडकमा पनि किन टु–ह्वील गाडी ल्याएको भनेर सोध्दा उनको जवाफ थियो, “फोर–ह्वील ल्यायो भने त दुःख पाइहाल्छ नि ! नजाने ठाउँमा पनि गाडी लग् भन्छन् । एक जनाले त मलाई जसरी हुन्छ पुर्या, काँधमा बोकेर भए पनि घर पुर्याउनुपर्छ समेत भने ।”
ती चालकको भनाइअनुसार बोर्डमा पहिले शव बोक्ने फोर–ह्वील वाहन थियो । चालकले “धेरै दुःख पाएपछि” गाडी सबै टु–ह्वील बनाइएको हो । काठमाडौँमा वैदेशिक रोजगार बोर्डले दिनेशलाई आफैं गाडी छान्नू भनेर सूची देखाएको त रहेछ । सबै टु–ह्वील गाडीको सूचीबाट कहाँ फोर–ह्वील पाउनु !
खाना खाइसक्दा १० बजिसकेको थियो । हिँड्न तम्तयार भयौं । हामी ऊह खोला पुगेपछि शव वाहन चालकले “अब यो गाडी माथि जान सक्दैन” भनेपछि दिनेश फेरि पिरोलिए । उनी हामी चढेको फोर–ह्वील गाडीका चालकलाई सोध्न थाले । यताका चालकले “यतिको बाटोमा टु–ह्वील चलाइहाल्छ नि, अँध्यारोमा ड्राइभर डराएको मात्र हो” भनेपछि फर्किए । उनले उताका चालकलाई बिन्ती बिसाएपछि शव वाहन अघि लाग्यो ।
केहीबेरमा अलि उकालो सडक आइपुग्यो । फेरि ती चालकले “अब गाडी जाँदैन फर्कन्छु” भन्न थाले । मृतकका आफन्तले “यति राति कहाँ जानुहुन्छ, तपाईंलाई माथि (माछीखोला बजारमा) बस्ने व्यवस्था गर्छौं” भनेर फकाए । त्यति राति बीचबाटामा अर्को गाडी भेटिने सम्भावना थिएन । शव वाहनका चालकलाई फकाउँदै अघि बढ्नुको विकल्प भएन ।
चालकलाई मनाउँदा र सडकमा ढुंगा बिछ्याउँदा त्यहाँ पनि २० मिनेटजति समय गयो । बल्लतल्ल मञ्जुर भएर चालकले गाडी अगाडि बढाइरहेका थिए । केही मिनेट नबित्दै फेरि शव वाहन रोकियो । ती चालकले “अब त जाँदै जाँदिनँ” भन्दै अड्डी कस्न थाले ।
हामी जंगलको बीचमा छौँ, तल बुढीगण्डकी सुसाइरहेको छ । मध्यरात छ । गाडी नै त्यहीँ रोकिएपछि कसरी शव घर पुर्याउने भनेर दिनेश सबैभन्दा बढी तनावमा छन् । केही उपाय लाग्छ कि भनेर हामीले पनि ओर्लेर हेर्यौँ । उबडखाबड सडक रहेछ ।
हामी रनभुल्ल परिरहेका बेला बत्तिँदै आइचर ट्रक आइपुग्यो । ट्रकमा रहेका ड्राइभर र उनका साथीले ओर्लिएर अलपत्र हामीसँग सोधखोज गर्न थाले । हामीले समस्या सुनाएपछि सडकलाई गाडी चल्न सक्ने गरी सम्याउन सघाए । मृतक सन्तका आफन्तलाई ती युवाप्रति भरोसा लाग्यो होला, “सँगै जाऔँ भनेर अनुरोध गरे । उनीहरूले आनाकानी गरेनन् । त्यसपछि तीनवटा गाडी सँगसँगै गुड्न थाले ।
अप्ठेरो ठाउँ आइपुगेपछि शव वाहन रोकिन्थ्यो । ट्रकका ड्राइभर र उनका साथीहरूले बाटाको उबडखाबड मिलाउन सघाउँथे, कतिपय ठाउँमा त आफैं शव वाहन चलाएर अप्ठेरो ठाउँ कटाइदिए । शव वाहनका चालक भने बारम्बार “यति टाढा छ भन्ने थाहा पाएको भए त म आउने थिइनँ” भनिरहेका हुन्थे । सकेसम्म प्रयास गर्ने र सहयोग पुर्याउने भन्दा पनि कसरी हुन्छ उम्कने दाउमा उनी रहेको बोलाइबाटै बुझिन्थ्यो ।
मृतकका आफन्तले शव गाउँ पुर्याउनुको सास्ती पहिले नै अड्कल नगरेका होइनन् । उनीहरूले पशुपतिमै अन्तिम संस्कार गर्नका लागि छलफल पनि गरेका थिए । मृतककी श्रीमती, साना छोराछोरी र वृद्ध बुबाआमालाई गाउँबाट काठमाडौं ल्याउँदा अझ बढी दुःख हुने देखियो । त्यसैले शव लिन सन्तका दाइ दिनेश दुई आफन्तसहित काठमाडौं आएका थिए ।
शव वाहन जसोतसो माछीखोला पुग्दा रातिको ११ बजे भएको थियो । गाउँमा जाने सडकको ट्र्याक त थियो तर अप्ठेरो । त्यसैले शव वाहन अघि बढ्न सक्दैनथ्यो । मृतकका आफन्तले शव वाहनका चालकका लागि त्यहीँ बस्ने बन्दोबस्त मिलाइदिए ।
गाडीको आवाज सुनेर अलि माथिबाट गाउँलेहरू जूनकिरीझैँ टर्च बालेर ओर्लिए । माछीखोला हुँदै बेसीबाट शव बोकेर ठाडै पहाड चढ्नुपर्ने रहेछ । शव बोक्ने तयारी भइरहेका बेला नजिकै एउटा ट्र्याक्टर आइपुग्यो । मृतकका आफन्तले शव पुर्याइदिन अनुरोध गर्दा साहुले “ट्र्याक्टरले लास बोक्दैन” भनेर मानेनन् । तर चालकले सन्तलाई चिनेका रहेछन् । पन्छिन उनको मनले मानेन । साहुको नाइँनास्तिलाई बेवास्ता गर्दै ट्र्याक्टरमा शव राख्न लगाए । गाउँलेसँगै हामी घनघस्याको भन्दा पनि ठाडो र अप्ठेरो उकालो चढ्यौँ । सन्तको घर पुग्दा बिहानको ४ बजेको थियो ।
वैदेशिक रोजगारीमा रहेको कुनै नेपालीको उतै मृत्यु भयो भने शव काठमाडौं ल्याइपुर्याउन परिवारजनले यसै पनि हैरानी बेहोर्नुपर्छ । काठमाडौं आइसकेको शव घरगाउँ पुर्याउन पनि सहज छैन भन्ने यो दृष्टान्तले देखाउँछ ।
विदेशबाट नेपाली कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि सडक पुग्ने ठाउँसम्म ढुवानीका लागि गाडी उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले नै भनेको छ । यो सुविधा श्रम स्वीकृति लिएर रोजगारीमा गएका कामदारका लागि मात्र हो । बोर्डले गाडी त उपलब्ध गराउँछ तर अलि भिरालो र उबडखाबड सडकमा चल्नै नसक्ने । चालकहरू पनि कोसिस गर्नेभन्दा पनि उम्किने दाउमा हुन्छन् ।
यस्तै भोगाइ स्याङ्जाका ज्ञान रानाले सुनाए । साउदी अरबमा मृत्यु भएका दाइ जिजुप्रसाद रानाको शव लिन गत पुस १७ मा उनी काठमाडौं आएका थिए । वैदेशिक रोजगार बोर्डले शव वाहन व्यवस्था गर्यो । त्रिभुवन विमानस्थलबाट शव लिएर हिँडेको गाडी साँझ ५ बजे तनहुँको दुलेगौडा पुगेपछि चालकले “हामीले पुर्याउने यहाँसम्म मात्र हो” भने ।
शव पुर्याउनुपर्नेछ, स्याङ्जाको हरिनास गाउँपालिका–१ स्थित साझागाउँ । राति अबेर घर पुर्याउँदा परिवारजन र गाउँलेलाई थप दुःख हुन्छ भन्ने सोचेर ज्ञानले चालकसँग ढिपी गरेनन् र दुलेगौडामै बास बस्ने निधो गरे । अर्को दिन बिहान चिनेको चालकसँग कुरा गरेर ज्ञानले शव घर पुर्याए । त्यस गाडीको भाडामा उनको ८ हजार रुपैयाँ खर्च भयो ।
वैदेशिक रोजगार बोर्डकी तत्कालीन सूचना अधिकारी मैया कँडेल (हाल श्रम मन्त्रालय) ले शव ढुवानीका लागि आवश्यकताअनुसार टु–ह्वील र फोर–ह्वील गाडी प्रयोग हुने व्यवस्था रहेको बताइन् । उनले हामीलाई माघ १०, २०७९ मा आवश्यकता अनुसार टु-ह्वील र फोर-ह्वील गाडी प्रयोग भइरहेको दाबीसहितको लिखित कागज नै उपलब्ध गराइन् ।
तर कँडेलले दिएको सूचनाले हामीलाई चित्त बुझेन । किनकी हामीले शव बोक्न एउटा पनि गाडी फोर-ह्वील नरहेको एकीन गरिसकेका थियौं । त्यसैले हामीले गाडीको सूचिसहितको विवरण मागेर फेरि निवेदन दियौँ । कँडेलले नै माघ १३, २०७९ मा दिएको गाडीको सूचीमा एउटा पनि फोर-ह्वील गाडी भेटिएन ।
बोर्डका अनुसार शव ढुवानीका लागि बोर्डले टेन्डर खुलाएरै चार कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार २० वटा शव वाहन छन् । तर सचिवालयले उपलब्ध गराएको विवरणमा सबै टु–ह्वील मात्र छन् ।
वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष ०७९/८० मा ३ सय ९३ जनाको शव घर ठेगानासम्म पुर्याएको तथ्यांक छ ।
यसमा १ करोड ३६ लाख ३२ हजार १ सय ५७ रुपैयाँ खर्च भएको छ । यसले एउटा शव ढुवानी गर्दा करिब ३५ हजार रुपैयाँ खर्च भएको देखाउँछ । सेवाग्राहीले पाउने सेवा भने सरकारको खर्चअनुसार भएको पाइँदैन ।
Read our guidelines for Republishing this story here.